युरोपमा राता मान्छेहरूको मार्चपास्टबीच जनयुद्ध दिवस


पोर्चुगल : नेपाल कम्युनिस्ट पार्टीलाई केपी–पीकेमण्डलीको सामाजिक दलाल फासिवादी सरकारले लगाएको प्रतिबन्ध चिर्दै देशभर र विदेशमा पनि २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताह साताव्यापी विविध कार्यक्रमका साथ मनाउने क्रम जारी छ ।

युरोपबाट प्राप्त समाचारअनुसार २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलको वार्षिक साधारणसभा लिस्बन सहरमा राता मान्छेहरूले मार्च पास्ट गर्दै भव्य रूपमा सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको साधारणसभाको अध्यक्षता पोर्चुगल मोर्चाका अध्यक्ष पूर्ण विकले गरेका थिए ।

पोर्चुगलको राजधानी लिस्बनमा युरोपभरका मोर्चामा आबद्ध पदाधिकारीहरू, सदस्य तथा शुभचिन्तकहरू भेला भएर भव्य समारोहबीच २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताह मनाएका छन् ।

युरोप मोर्चाका अध्यक्ष विष्णु भुजेलले दीप प्रज्ज्वलन गर्दै उद्घाटन गरेको कार्यक्रममा वीर सहिदहरूको उच्च सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो । जनयुद्धका सहिद तथा घाइते परिवारका सदस्यहरूलाई प्रमुख अतिथिले अबिर र खादाले सम्मान गरेका थिए ।

कार्यक्रममा पोर्चुगलस्थित नेपाली राजनीतिक सङ्गठनमा आबद्ध वक्ताहरूले अहिलेको दलाल सरकारले विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्धको विरोध गर्दै राजनीतिक व्यवहार गर्न माग गरे ।

प्रवासी नेपाली मञ्चका डोलराज भण्डारीले ‘म पनि ज्यूँदो सहिद हुँ तर कम्युनिस्टहरू संसदीय सत्तामा पुगेपछि बिस्तारै बिग्रिँदै गएको महसुस भएको छ । मैले आस्था राख्ने पार्टीकै सरकार भए पनि कुनै विचारलाई प्रतिबन्ध लगाउनु उचित होइन ।’

नेपाली जनप्रगतिशील मोर्चा जर्मनीका अध्यक्ष शेरबहादुर तुम्बापो, स्पेन मोर्चाका गोपाल रेग्मी, जनजाति सरोकार मञ्च, बेल्जियमका अध्यक्ष बदन योङहाङलगायत पोर्चुगलस्थित विभिन्न राजनीतिक, सामाजिक र जातीय सङ्गठन तथा संस्थाहरूले मोर्चा पोर्चुगलको साधारणसभा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रमुख अतिथि विष्णु भुजेलले नेपालको राष्ट्रिय स्वाधीनता अत्यन्तै सङ्कटमा परेको भन्दै चिन्ता व्यक्त गरे । भ्रष्टाचार देशको आमसमस्या बनेको उल्लेख गर्दै भुजेलले नेपाली भूमिमा विदेशी सेना क्याम्प जमाएर बस्दासमेत सरकार निरीह बनेको भन्दै आक्रोश व्यक्त गरे ।

‘पैसा खर्च गर्नेले जित्ने तर इमानदार राजनीतिज्ञले चुनाव जित्न नसक्ने व्यवस्थामा शोषितपीडित वर्गको मुक्ति हुनै सक्दैन । सबैको असन्तुष्टि र आक्रोश बढेको छ । मिलेनियम च्यालेन्ज कर्पोरेसन अमेरिकी स्वार्थमा भित्र्याइँदै छ भन्ने कुरा हरेक राजनीतिक दलाललाई थाहा छ तर तेरो यो प्रोजेक्ट चाहिँदैन भन्ने आँट कसैमा छैन’, उनले भने, ‘एकीकृत जनक्रान्तिको समर्थक भएपछि एकदम उत्तेजित होला भन्ने कुरा नसोच्नुहोला । शोषण, दमन र विकृतिविरुद्ध सबै लड्नुपर्दछ ।’

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्ण विकले भने, ‘राजनीतिक अधिकारका लागि हामी चुलो चौकोसम्म पुग्न सकेका छौँ । हाम्रो मुक्ति र अधिकार प्राप्तिका लागि सिंहदरबार पुग्नु जरुरी छ । त्यसका लागि एउटै मात्र विकल्प भनेको वैज्ञानिक समाजवादी राज्यव्यवस्था हो ।’ उनले कार्यक्रम सफल बनाउन युरोपका विभिन्न मुलुकबाट आएका अतिथिहरू, व्यवस्थापनमा खटिएका कार्यसमितिका सदस्यहरू, पोर्चुगलस्थित सङ्घसंस्था तथा सङ्गठनका प्रतिनिधि र उपस्थित जनसमुदायलाई हार्दिक धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा उपस्थित आगन्तुक तथा पाहुनालाई पोर्चुगल मोर्चाका उपाध्यक्ष टङ्क खड्काले स्वागत गरेका थिए । २५ औँ जनयुद्ध दिवस र सहिद सप्ताहका अवसरमा भव्य, सभ्य र हर्षोल्लासका साथ सम्पन्न उक्त कार्यक्रम पोर्चुगल मोर्चाका महासचिव प्रदीप अधिकारीको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :