नेकपाद्वारा सुराकी शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनमाथि कारबाही

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति कपिलवस्तुले शर्मा एन्ड शर्मा कन्स्ट्रक्सन कम्पनीमाथि कारबाही गरेको छ । गएराती कपिलवस्तुमा शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनका निर्माण सामग्रीमाथि आगजनीपछि नेकपाले छरेको पर्चामा नेपाल कम्युनिस्ट पार्टी जिल्ला समितिले सत्ताधारीहरूको आडमा गुन्डागर्दी शैलीमा विकास निर्माणका नाममा लूट मच्चाएको भन्दै कारबाही गरिएको उल्लेख छ ।

नेकपा कपिलवस्तुका नामबाट ‘शर्मा एन्ड शर्मा कन्स्ट्रक्सनमाथि कारबाही किन ?’ शीर्षकमा प्रकाशित पर्चामा नेकपाले आफ्नो पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको अवस्थामा अन्य सहगोगी व्यवसायीहरूको नामसूची गृहप्रशासनमा बुझाएर व्यवसायीहरूलाई दुःख दिने गरेको र आफ्नो पार्टीका विरुद्ध सुराकी गरेको उल्लेख गरेको छ ।

यस्तै उक्त कम्पनीले निजी स्वामित्वमा रहेका व्यक्तिका घर र बालीनाली बिनाक्षतिपूर्ति नोक्सान गरेको गुनासो जनस्तरबाट आएकाले उक्त कम्पनीमाथि कारबाही गरिएको पनि नेकपाले जनाएको छ । यो समाचार तयार पार्दासम्म कारबाहीबाट केकति क्षति भएको छ भन्ने विवरण भने आएको छैन । यसबारे प्रहरी प्रशासनले पनि कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :