नाटकीय प्रतिबन्ध र जनसांस्कृतिक अभियान

एकीकृत जनक्रान्तिका धेरै विशेषतामध्ये सबैभन्दा महत्वपूर्ण विशेषता यो नेपाली धर्तीको नै उपज हो । पछिल्लो चरणमा भएको आन्तरिक सुदृढीकरण यसैको प्रतिबिम्ब हो । नेपाल कम्युनिस्ट पार्टीको मौलिकता केमा रह्यो भने यो पार्टीले माक्र्सवाद–लेनिनवाद र माओवादको सार्वभौम सिद्धान्तलाई नेपालको विशिष्टतामा प्रयोग र विकासमा क्रमशः फड्को मारिरहेको छ । मालेमावादको सिर्जनात्मक प्रयोगका नाममा संशोधनवादी भड्खालोमा फसेका कम्युनिस्टहरूलाई चुनौती दिँदै राष्ट्र, राष्ट्रियताका साथै नेपाली जनताको आफ्नै राजनीति अधिकार प्राप्तिका लागि फासिवादी केपी सरकारको कथित प्रतिबन्धलाई धुजाधुजा पार्दै अगाडि बढिरहेको छ । नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेका प्रतिकूलता र प्रतिक्रान्तिलाई चिर्दै सचेतता र सुझबुझका साथ विकासको अग्रगामी यात्रातिर लम्किरहेको छ । प्रतिबन्ध केवल निरीहहरूका लागि देखाउने दाँत भएको छ ।

वर्तमान फासिवादी निरङ्कुश शक्तिका विरुद्ध चुनौतीको नयाँ धारका रूपमा स्थापित हुँदै एक जनप्रिय पार्टी नेकपा नै हो भन्नेमा कसैको दुईमत देखिँदैन । जसले आफूबाहेक कोही होइन भन्ठान्थ्यो टाउकोदुखाइ उसैको बाहेक कसैको छैन । अब प्रश्न उठ्छ– न्यायपूर्ण आवाजहरूलाई के बन्दुकले दबाउन सम्भव छ ? के २० औँ शताब्दीतिर विश्वका शासकहरूले अपनाएको जनविरोधी नीति प्रयोग गरेर सम्भव छ ? माक्र्स, लेनिन, माओ, गोन्जालो र जनयुद्धको हुबहु तरिकाले परिवर्तन अब सम्भव छ ? न त हिटलर, जार, च्याङकाइसेक, फुजिमोरी, राणा, राजा, काङ्ग्रेसले अपनाएको दमनको तरिकाले विद्रोहलाई सिध्याउन वा निस्तेज पार्न सम्भव छ ? उहिले त सम्भव भएन, वर्तमानमा झनै असम्भव कुरा हो । यो सपना फासिवादीहरूको सपनामै सीमित हुन्छ ।

एकीकृत जनक्रान्ति विश्वमा कहीँ र कसैले प्रयोगमा नल्यायको, नितान्तै भिन्न एवम् वैज्ञानिक कार्यदिशा हो । यो विप्लवी दृष्टिकोणको केन्द्रीकरण हो । यो एक आगो हो । सायद योसँग खेल्ने दुष्प्रायस जसले गर्छ सम्भवतः ऊ आफैँ खरानी बन्नेछ । यो क्रान्ति जित्नेसँग मात्र सम्बन्धित छैन, जितेको क्रान्तिलाई दीर्घायु र साम्यवादको यात्रा सुनिश्चित गर्ने २१ औँ शताब्दीको वैज्ञानिक कार्यदिशा हो । तसर्थ यो कार्यदिशालाई न बन्दुक, लाठी र बुटले, न त नयाँ गोयबल्स बास्कोटा शैली प्रयोग गरेर नै हराउन सकिन्छ । यो असत्यलाई विस्थापित गरेर सत्य स्थापित गर्ने महान् विचार हो । परन्तु कठिन एवम् चुनौतीपूर्ण हुनु स्वाभाविक छ । यी सबै बुझेर वर्तमान नवसंशोधनवादी दलालहरूको गठजोडमा बनेको केपी–रामबहादुरमण्डलीले रातारात प्रतिबन्धको लौरी तेस्र्याउन बाध्य भएका हुन् । तथापि यो क्रमशः आफैँ पन्छिएर जाने वा सडेर जानेमा दुईमत छैन ।

जनसाङ्गीतिक अभियान र कालीकोट

देशव्यापी रूपमा प्रतिबन्धको सामान्य असरजस्तो देखिए पनि पछिल्लो चरणमा प्रतिबन्ध निष्क्रिय बन्दै गएको छ । नेकपाका गतिविधिहरू राजनीतिक, सङ्गठनिक र सङ्घर्षमा केन्द्रित हुँदै बढिरहेका छन् । ठीक यही सिलसिलामा पुस १ गते केन्द्रीय सामना कलाकार कालीकोट प्रवेश गर्यो । २ गते कालीकोट भर्तनमा भव्य जनसभाका बीच कलाकारलाई कालीकोटको पार्टी र जनसमुदायले भव्य स्वागत एवम् सम्मान गर्यो । उक्त कार्यक्रममा केन्द्रीय कलाकार टोली सामनाले धित मर्ने गरी जनवादी गीत–सङ्गीत र नृत्य–अभिनयमार्फत एकीकृत जनक्रान्तिको विचार जनतामा सम्प्रेषण गर्यो । करिब एक हजार जनसमुदायको उपस्थितिमा अभियानको उद्घाटन गरियो । त्यसपछि हाम्रो यात्रा पूर्वी कालीकोटतिर तय भयो । सुकाटिया, मुगणराहा, गेला, ओदानकु हुँदै तिलापारि पाखा छाप्रे हुँदै फोईसम्मको यात्रा निश्चित गर्यौँ भने पश्चिम कालीकोटको लालुबाट ब्युरोका कलाकारले आफ्नो अभियान सुरु गरे । कयौँ हिमपहाडहरू छिचोल्दै अगाडि बढेको अभियानले कयौँ भिरपाखाहरू, प्रतिकूल मौसम, उकालीओरालीहरू जनताले अत्यन्तै माया गरेर दिएको सातु र खाजासँगै काटेको विशेष स्मरणयोग्य छ । यता लालुबाट माल्कोट, रूपसा, कुमालगाउँ, कोडबाडा हुँदै रास्कोट प्रवेश गरेको पश्चिम कालीकोटको टिम पनि यसैगरी बढिरहेको थियो । सामनाको समयका हिसाबले आधा महिना कालीकोट बसाइ र १४ वटा कार्यक्रमको तयारीको समयतालिकाअनुसार पूर्वी कालीकोटका केही गाविस छुटे । सामनाको पश्चिम प्रवेशकै दिन समय एक महिना थपिएको खबर प्राप्त हुँदा मान्ममा एक रात पूरै टोली सदरमुकाममै बसी घुमघामसँगै पलाता–खिन प्रवेश गर्यौँ । दुईटा हिमपात बेहोर्नु पर्दा पनि निकै उत्साहित ढङ्गले धौलागोह, नानीकोट हुँदै फुकोट पुगियो । फुकोटमा दुवै टिमको केन्द्रीकरण भयो युवा, जवस र स्थानीय पार्टी गरेर सयौँको सङ्ख्यामा अभियान टिम बन्यो र फुकोट डुग्रिडाँडामा भव्य जनसभा पनि सम्पन्न भयो । निकै प्रतिकूल मौसममा पनि जनताले छाता ओढेर कार्यक्रमलाई नियालिरहे ।

त्यसपछि पुनः अभियान टिम सिप्खाना, मुम्रा हुँदै माल्कोट पुग्यो । माल्कोटमा समग्र टिमको दुई दिन समीक्षा भयो । निकै उत्साहजनक ढङ्गले समूहका नेताहरूले रिपोर्ट राख्नुभयो । यसै क्रममा एकजना समूहनेताले ‘कालीकोटलाई उत्तरकोरियाजस्तो सानो देश बनाएर पनि सत्ता चलाउन सम्भव छ’ भनी राखेको कुरा विशेष स्मरणयोग्य छ । त्यसैगरी एकजना कमरेडले देउडाबाटै प्रतिबन्धप्रति व्यङ्ग्य गर्दै भन्नुभयो– प्रतिबन्ध धोती भयो । केपी लोती भयो । एकमहिने सांस्कृतिक यात्रा जनज्योति भयो । उहाँको प्रस्तुतिपछि हल पूरै तालीले गुन्जायमान भएको थियो । करिब ४५ वटा जनसभा र ३५र ३६ हजार जनसमुदायको प्रत्यक्ष उपस्थिति र ६० हजार जनसमुदायमा अभियान पुगेको रिपोर्ट राख्दै सम्पूर्ण टिमले अभियान पूरै सफल भएको संश्लेषण ग¥यो । हाम्रो साहित्य र राजनीति कसका लागि हो ? आखिर श्रमिक–सर्वहारा वर्गका लागि हो भन्ने कुरा अभियानले स्थापित गर्न सफल भयो । जनतामा केही आशङ्का, अविश्वास र चिन्ता रहेको तीनवटै प्रतिक्रिया भेटियो । १० बर्से जनयुद्धका नेता समाजवाद हुँदै साम्यवाद ल्याउनका लागि निर्माण गरिएका जनसत्ता, जनअदालतहरू, जनसेना, प्रचण्डपथ हुँदै माओवाद र चुनावचिन्हहरूसमेत एमालेलाई बुझाएको घटना नजिकै थियो । सहिदहरूले बगाएको रगतमाथि धोका दिएको प्रस्टै थियो ।

(लेखक नेकपा कालीकोटका सेक्रेटरी हुन् ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :