‘बन्दुक’ लेख्नेसँग झस्किने सत्ता बन्दुक नै बोके के गर्छ होला ?

समय समीक्षा

मैले ‘बन्दुक’ लेख्दा प्रतिबन्ध लगाउँछ सरकार
मैले बन्दुक नै बोके के गर्छ होला ?

बीपी विद्रोही

केपी वली सरकार एकातिर राष्ट्रघात, जनघात र भ्रष्टाचारले कुहिएर फतलफाँडो भएको छ भने अर्कातिर जनदमनमा पनि कीर्तिमान कायम गरिरहेको छ । वली सरकारलाई यतिबेला क्रान्तिको फोबिया भएको छ । कसैले न्यायनिसाफका कुरा गर्यो भने, कसैले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका कुरा उठायो भने, कसैले भ्रषटाचारको विरोध गर्यो र विद्रोह वा क्रान्तिका कुरा ग¥यो भने केपी सरकार पागल कुकुरजस्तो बनेर जथाभाबी टोक्न थालिहाल्छ । पछिल्लो समयमा यो सरकारले त्यस्तै हर्कत गरेर जगत् हँसाएको छ र स्वाभिमानीहरूलाई आक्रोशित बनाएको छ । एक इमानदार श्रमिक, विद्रोही स्रष्टा एवम् क्रान्तिकारी कवि बीपी विद्रोहीलाई यतिबेला केपी सरकारले कविता लेखेको अपराधमा कठोर हिरासत जीवन भोग्न बाध्य बनाएको छ । कलमले कापीको पानामा कविता लेख्ने एउटा स्रष्टासँग त यो सरकार यतिविघ्न भयभीत बनेर झम्टिरहेको छ भने साँच्चै क्रान्तिमार्गमै लम्किरहेका योद्धाहरूप्रति यो सरकारको दृष्टि र व्यवहार कस्तो होला भन्ने अनुमान गर्न असहज छैन । देश र जनतालाई माया गरेको ‘अपराध’ मा, भ्रष्ट र हत्याराहरूलाई कारबाही गर्न जनता अघि बढ्नुपर्छ भन्ने कविता लेखेको अभियोगमा स्रष्टाहरूलाई षड्यन्त्रपूर्वक गिरफ्तार गर्ने र हिरासतमा राखेर कष्टपूर्ण पल भोग्न बाध्य बनाउने सरकारको फासिवादी कदम निन्दनीय, भत्र्सनायोग्य र खेदजनक मात्र होइन, प्रतिरोध गर्न लायक छ ।

कवि बीपी विद्रोहीले गरेको ‘अपराध’ भनेको यही हो–
माइतीघरतिर चुइँगम पड्काउन पनि
निषेधित गरिएको रहेछ
मैले सिंहदरबरमै गएर बम पड्काएँ भने
के गर्छ होला सरकार ?
मैले दस हजारपटक लेखेको छु
विद्रोह भन्ने शब्द
किनकि मैले विद्रोहमै देखेको छु
करोडौँको जिन्दगी
मैले मनले देखेको मुक्तिको सपनामा
भ्रमको पर्दा हाल्छ सरकार
मैले ‘व’ लाई बाइमात्रा दिएर पटकपटक
काटेर ‘द’ को खुट्टामा ‘ओकार’ दिँदै त्यसमा ‘ ह’ जोड्दा
झसङ्ग झस्किन्छ सरकार
‘द’ को खुट्टा काटेझैँ मैले
भ्रष्टहरूको खुट्टै काटेर त्यसमा
लौरो जोडिदिएँ भने के गर्छ होला सरकार ?
साँच्चिकै हामीले विद्रोह गयौँ भने
के गर्छ होला सरकार ?

उता भ्रष्टाचार गरेको अभियोगमा सरकारका प्रवक्ताले नै राजीनामा दिनुपरेको छ र त्यसका नायक भनेर प्रधानमन्त्रीमाथि नै अभियोग लागेको छ, कारबाहीको माग भइरहेको छ । तर सरकार र सरकारका मान्छेहरूले भ्रष्टाचार गरे, कारबाही गनुपर्छ, कारबाही नभए/नगरिए विद्रोह र क्रान्ति गर्नुपर्छ भनेर लेख्ने स्रष्टामाथि कारबाही गर्ने सरकारलाई सामाजिक फासिवादी भनेर स्रटाहरूले के बिराए ? देशको यही दुर्दशा देख्न नसकेरै त कवि विद्रोहीले लेखेका थिए–

मैले सुसेलीमा क्रान्तिको भाका
गुनगुनाउँदै हिँड्दा
कफ्र्यु लगाउँछ सरकार
हामीले बस्तीबस्तीमा गएर
क्रान्तिको विगुल फुक्यौँ भने
के गर्छ होला सरकार ?
मैले कम्मरमा ग्रिनेड झुन्ड्याएर हिँडे
के गर्छ होला सरकार ?
मैले एके फोर्टिसेभेन बोकेर हिँडे
मसँग के खोज्छ होला सरकार ?

मान्छे रहरले विद्रोही बन्दैन । व्यवस्था र सरकारहरू राम्रा भए, देश र जनताका पक्षमा राम्रा काम गरे भने जनता विद्रोहमा उत्रिनै पर्दैन । उत्रिनुप¥यो भनेर नारा नै लगाउँदैन । पीडामा नभएका देश र जनतालाई क्रान्तिमा उत्रिन आह्वान गर्दैमा किन उत्रिन्छन् र ? जुन व्यवस्था र सरकारले पराईले कब्जा गरेका देशका भूभागहरू फिर्ता ल्याउन सक्तैनन्, ल्याउने बाटोमा हिँड्दैनन्, जुन व्यवस्था र सरकार लाखौँ–करोडौँ युवाहरूलाई रेमिट्यान्सको लोभमा विदेशमा बेच्छन्, जुन व्यवस्था र सरकार भ्रष्टाचार, राष्ट्रघात, हत्या, लूट र व्यभिचारमा अडिएका छन्, जुन व्यवस्थाका सरकार र उच्च पदमा रहेका मान्छेहरूले नै सरकारी जमिनसमेत बेचेर खान्छन्, त्यस्तो व्यवस्था र सरकारको अन्त्यको माग राख्दै जनता सडकमा निस्किनु जायज र उचित मात्र होइन, अपरिहार्य हुन्छ । देश र जनता बरबाद भएको कुन स्वाभिमान हृदयले खप्न र सहन सक्छ ? यही खपिनसक्नु पीडालाई कविले कविताको माध्यमबाट अभिव्यक्त गर्यो त के बिगार्यो ? के बिरायो ?

कवि विद्रोहीले यस्तै व्यभिचारका विरुद्ध २५ वर्षअघि मुलुकमा आरम्भ जनयुद्ध दिवसका अवसरमा वर्तमानको पीडा सहन नसकेर लेखेका थिए–
रातको पौने एघार,
फागुन एकको अघिल्लो रात
पटक्कै निद छैन आँखाहरूमा
दिमाग घुमिरहेछ फनफनी
सोधिरहेछ मन आफैँले आफैँलाई
जन्मनु अपराध हो वा जन्माउनु
इतिहास आकस्मिकता हो वा आवश्यकता…
बजारभरि मेरो चर्चा छ
मेरो जन्मदिन मनाउनेहरूको तँछाडमछाड छ
म दस वर्षको छँदा सौतेनी आमा ल्याएर
जारको छोराको ह्यापी बर्थडे मनाउन थालेका
मेरा बाले पनि मेरो जन्मदिन मनाउने रे
म गमिरहेछु, यो जन्मउत्सव हो वा मेरो मृत्युशोक ?
गैरीखेतको लालपुर्जा कसरी पुग्यो बैङ्कको दराजमा
कालापानीको जङ्गे पिलर कहाँ गयो
उखुबारीमा बहिनीलाई किन लुछियो
गाउँका युवाहरू कहाँ पुगे
एयरपोर्टमा काठका बाकसहरूको चाङ किन लाग्यो
फेरि, झोला बोकेर मान्छेहरू किन गाउँ पसे
किन कोट्ट्याइरहेछन् लेउ लागेका भित्ताहरू
बजारमा किन बढिरहेछ रातो रङको माग
सुकुमबासीमा बसेर गोल्डस्टार बेच्नेहरू
किन खोज्दै हिँडिरहेछन् बीस बाई चालीसका घडेरीहरू
यिनै प्रश्नहरूको गर्भमा बन्दुकले सहबास गरेपछि
आजभन्दा ठीक चौबीस वर्षअगाडि
मेरो जन्म भएको थियो ।

भर्खरै देशविदेशमा २५ औँ जनयुद्ध दिवस मनाइएको छ र सहिद सप्ताह आरम्भ भएको छ । देश र श्रमिक वर्गको मुक्तिका लागि सहिद बन्ने शृङ्खला र होड फेरि आरम्भ भएको छ । नेकपाका महासचिव विप्लवले जनमुक्ति सेनाको सलामी खाँदै र परेड हेर्दै जनताका बीचमा हर्षोल्लासपूर्वक जनयुद्ध दिवस मनाएका समाचारहरू आइरहेका छन् तर फासिवादी सरकार जनताको हर्षोल्लास सहन नसकेर महासचिव गिरफ्तार भएको हल्ला फैलाएर आत्मरति लिइरहेको छ गोबल्सहरू खडा गर्दै । दिवस मनाउँदा जनयुद्धका अधुरा सपना पूरा गर्ने, जनयुद्धदेखि एकीकृत जनक्रान्तिसम्मका सहिद, बेपत्ता र घाइते हिँडेको मार्गमा हिँड्ने, जनयुद्धलाई धोका दिनेहरूले लिएको दलाली, गद्दारी र पलायनको बाटो दुत्कार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । तर यस्तै प्रतिबद्धताको समयमा प्रचण्ड अर्थात् पुष्पकमल दाहाल, केपी अर्थात् खड्गप्रसाद वली र हिजोका बादल अर्थात् रामबहादुर थापाहरूले देशैभरि क्रान्तिकारीहरूलाई जनयुद्ध दिवस मनाउँदामनाउँदै गिरफ्तार गरेका छन् । स्रष्टाको कलम बन्द बन्द गर्ने धृष्टता गरेका छन् । बौद्धिकहरुको मस्तिष्क कैद गर्ने निन्दनीय हर्कत गरेका छन् । यसले के साबित गरेको छ भने यो सरकार र यसमा सहभागी पार्टीहरू जनयुद्ध दिवस, सहिद सप्ताहसम्म मनाउन दिँदैनन् र जनयुद्धको इतिहास समाप्त पार्न चाहन्छन् । उनीहरु द्येश र जनताले बेहोरेको कहरको खबर सार्वजनिक गर्नसम्म दिँदैनन्, त्यसको निदान गर्नु त टाढैको कुरा ।

यो साता र अघिल्लो साताका प्रायः कविताकृतिहरू वर्तमान सत्ता र शासकहरू अनि तिनका अवाञ्छित क्रियाकलाप र जनताको आक्रोशका विषयमा केन्द्रीकृत छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषय प्रमुख छन् भने शासकहरूका क्रियाकलापहरू तिनको निशाना बनेका छन् । सुनौलो संसारको निर्माण र त्यसका लागि क्रान्ति अपरिहार्य भएको कुरा तिनका सिर्जनामा अभिव्यक्त भएका छन् । वैचारिक अभियन्ता एवम् कवि नरबहादुर कार्कीले सामाजिक सञ्जालमा राखिएको एउटा भाँचिएको हातमा घरेलु हतियार बोकेकी महिलाको तस्बिर राखेर यस्तो कविता पोस्ट गरेका छन् :

सञ्जालमा यो तस्बिर नआएको भए
कसैका झूटहरू पारित गर्न सजिलो हँुदो हो
उनीसँग हात भएको भए
बूढी औँलाको नङ दर्जनौँपटक रङ्गिँदो हो
त्यो हत्केलामा दर्पन च्यापेर
पर्खाइका दर्जनौँ चिसा माघले
निधारमा धर्का छोडेको देख्दिहुन्
हात रहेन, उनको वर्गचिन्तकको साथ रहेन
मुक्तिको सुमेरु पर्वत घुमेर आउँदा
विजयी गणेशको जयजयकारमा रमिते बन्नुपहिले
एकपटक भाग्यलाई जरुर श्राप दिइन् होला ।
तर अजीव छ जिजीविषा र समयको फैसला
आफ्नाविरुद्ध र हारका विरुद्ध जिन्दगी फेरि उठ्छ
त्यो लडाइँको शङ्खनाद गर्ने हराओस्
वा संयुक्त सपना बेचिखाने धोकेबाज
आफ्नै रङ, जात, वर्ग र भाषाको किन नपरोस्
निरीहता, करुणा र अनुकम्पालाई स्थान नदिनु पनि
एउटा विद्रोह हुन्छ ।
माग्ने, कसैको झूटको पुलिन्दामा
फर्जी समृद्धिको तमसुकमा ल्याप्चे लगाउने
औँला नभएर के भो ?
एक थान जिन्दगी कसैको भ्रमलाई पर्दाफास गर्न
आफ्नै विद्रोहमा लागिरहेको छ
चाहे आफ्नैविरुद्ध किन नहोस् ?

हो, शासकहरुमा व्यभिचार मात्र बढेको छैन, तिनको संवेदनाग्रन्थी नै सुकेको छ । जीवनभर क्रान्तिमा होमिएका र महान् युद्धका क्रममा जीवनसँगिनीसमेत गुमाएका बौद्धिक एवम् चिन्तक गुणराज लोहनीको हातमा फेरि अर्को हतकडी लागेको छ र उनी फेरि गम्भीर रूपमा अस्वस्थ शरीर लिएर हिरासतमा बस्न बाध्य बनेका छन् । उनले राष्ट्रियताको गीत गाउनु शासकहरुको घाँटीमा मृत्युको तरबार झुन्डिनुजस्तै भयो सायद त्यसैले त एमसीसीको खारेजी र लिपुलेकलगायत साम्राज्यवादले हड्पिएका आफ्ना भूभाग माग्दा गुणराजहरुले हिरासत जीवन भोग्नुपरिरहेको छ ! शासकहरू किन बुझ्दैनन् आस्था कति जब्बर हुन्छ भन्ने कुरा ! अल्पायुको दलाल फासिवादका रक्षक शासकहरू आफ्नो क्षणभङ्गुर सत्ता टिकाउन त यसरी मरिमेटेर लागेका छन् भने कालजयी साम्यवादका अनुयायीहरू केही थान हतकडी र बन्दुकले तर्सिंदैनन् भन्ने सत्यको उज्यालो घाम यिनीहरूको घैँटामा कतिबेला लाग्ने होला ? यस्तै विसङ्गत र बर्बर सत्ताशैली र व्यवहारविरुद्ध आक्रोश व्यक्त गर्दै रसुवाली कवि लेख्छन्–

जब हत्याराहरू
सहिदगेटमा उभिएर
सहिदहरूलाइ माल्यार्पण गर्छन्
त्यहीँबाट सुरु हुन्छ
प्रेमको मृत्यु
जब युद्धउन्मादी जर्सापहरू
रेट्न थाल्छन्
शान्तिप्रिय सारङ्गीका धुनहरू
त्यहीँ सुरु हुन्छ
गीतको मृत्यु
आगोको कविता छोडेर
जब निस्कन्छ क्रान्तिकारी कवि
सत्ताको स्तुति लेख्न
त्यहीँ सुरु हुन्छ
कविताको मृत्यु
जब शास्त्र च्यातेर दलितहरू
कहानीलाई जीवन मान्न छोडेर आस्थावान्हरू
निस्कन्छन् विज्ञानको जरुरी खोज गर्न
त्यहीँबाट सुरु हुन्छ
ईश्वरको मृत्यु
बजार सत्तालाई
बजारकै हतियारले
वा बन्दुकको सत्तालाई
बन्दुककै बलले
जब ढाल्न लामबद्ध हुन्छन् श्रमिकहरू
त्यहीँबाट सुरु हुन्छ
पुँजीवादको मृत्यु

हो, यो दलाल पुँजीवादी सत्ताको मृत्यु नजिकिँदै गएको समय हो । समाजमा एउटा प्रचलित भनाइ नै छ– काल वा मृत्यु नजिकै आएपछि बनका स्यालहरू गाउँ पस्न सुरु गर्छन् । सुदर्शन, माइला, गुणराज, बीपीहरू हिरासत र जेल पर्नु र कुमार र रामकुमारहरू न्यायको आवाज बुलन्द पारेको अभियोगमा मारिनु कविले भनेजस्तै पुँजीवादी सत्ताको आयु छोटिनु अर्थात् मृत्यु नजिकिनु हो । कवि भन्छन्–

जोकरले जोकरलाई
शासकले शासकलाई
मनोरञ्जनले मनोरञ्जनलाई
जब गरिरहन्छन् एकोहोरो प्रेम
त्यहीँबाट सुरु हुन्छ
सिनेमाको मृत्यु
मृत्यु त अनिवार्य छ
आऊ मृत्युलाई परास्त गरौँ ।

कवि रणबहादुर विकलाई पनि वर्तमान सत्ताका हर्कतहरू पटक्कै मनपरेको छैन । धूर्तहरूको राज्य टिकाउन लागेका धूर्तराजहरूप्रति उनको वितृष्णा मात्र होइन, चरम घृणा र बिछट्टै आक्रोश बढेको छ । उनी लेख्छन्–

रगतको रेड कार्पेट बलिदानको महल धूर्तराज
संसद्बाट हुनसक्ला समाजवादको पहल धूर्तराज ?
संसद्वादी बिस्तरामा, सपना नग्न सुताएर
रातो झन्डा फहराउँदै क्यासिनोमा, झलमल्ल धूर्तराज
पसिनाको रेड लेबल, घाइतेको सुकुटी बनाऊ
यही हुनेछ तिम्रो जीवनमा, सबैभन्दा असल धूर्तराज
गह्रागहरू आउँछन् कि नाइँ छाक कसै टरिराछ
यता जस्तै नसुकाउनु, जवजको पसल धूर्तराज ।

जबसम्म लालसीहरू नेता बनेर सत्ताका मालिक बनिरहन्छन्, देश र जनता मुक्त हुनुको साटो दबिइरहन्छन्, पुरिइरहन्छन् । जनयुद्ध दिवस मनाउने क्रममै पनि देखियो– जनयुद्धको इतिहासलाई रसातलमा पु¥याउन न्वारानदेखिको बल लगाएर साम, दाम, दण्ड र भेद चलाइरहेका केही थान सुप्रिमोहरूबीच तानातान र लुछाचुँडी भयो । स्रष्टाहरूले सपनाका हत्याराहरूले विपनाको समेत हत्या गर्दै नाङ्गो नाच नाचेको मन पराएनन् र विरोध गरे, भत्र्सना गरे । विरोधको आवाज मन नपराउने अभिमानी शासकहरू जनताको घरघर, खेतखलिहान र बारी–करेसामा पसेर उनीहरूको गिरफ्तारीमा अन्तिम भोज मनाइरहेका छन् । कवि बीपी विद्रोही वा गुणराज लोहनीहरुको गिरफ्तारी पनि सत्ताको अन्तिम उत्सव हो । कवि युवराज नास्तिक लेख्छन्–

गोल्ड स्टार जुत्ताहरू हिजोआज
महायज्ञमा व्यस्त छन्
विकास र समृद्धिको मोडल खोज्दै
जुल्फे स्याङ्तान र कमरेड आक्रोशका अस्थिपन्जरहरू
हवनकुण्डको पीँधबाटै
अभिवादन चिच्याइरहेछन्
शूरो समातेर जग्गेमा बसेका सुप्रिमोहरू
चरु मिसाएर हवन गरिरहेछन्–
जनयुद्धका सपनाहरूलाई
गोल्डस्टारका तलुवाको सुगन्ध
जग्गेको पीँधबाट आइरहेछ
कमलनयनाचार्य र जग्गी वासुदेवको आलिङ्गनमा
बालयोगेश्वरहरूसँगको संसर्गबाट
..बाराही दरबारहरू अझै प्रभावित छन्
हो, गोल्डस्टार जुत्ताहरू
महायज्ञमा व्यस्त छन्
सुरो समातेका सुप्रिमोहरू
जनयुद्धका सपना हवन गरिरहेछन्
गोल्स्टार जुत्ताहरूको विरासतमा

मालेमावादी वृत्तबाट मात्र होइन, आमजनसमुदायबाट र हरेक सचेत तप्काबाट समेत सत्ता र सरकारका हर्कतका विरुद्ध आवाज उठिरहेका छन् किनकि यो सत्ताप्रदूषणले सबैको जीवन प्रभावित पारेको छ । ‘मेरो निरन्तरता’ कवितामा कवि शिरीष रानाभाटले लेखेको कविता प्रस्तुत गर्दै यो साताको समय समीक्षा यहीँ बिट मार्ने अनुमति माग्छु–

तिम्रा हेपाइको विपक्षमा
बोलिरहनेछु
तिम्रा कुत्सित विचारप्रति
प्रश्न सोध्न पाउने
अधिकारका पक्षमा
चिच्याइरहन छु म
निरन्तर ।
तिम्रा अहम् र मूर्खतामा
हाँसिरहनेछु
तिम्रा अतिचारविरुद्ध
आवाज बुलन्द पार्ने
चाहनाका पक्षमा
बोलिरहनेछु म
निरन्तर ।
हिम्मत छ भने आउ
वा पठाऊ तिम्रा अरिँगाललाई
हतकडी र नेल लगाई
थुन मलाई कालकोठरीमा
स्वतन्त्रताका पक्षमा
हुँकारिरहनेछु म
निरन्तर ।
हरेक थिचाइमा जुर्मुराउनेछु
तिरस्कार तिम्रा हरेक
प्रतिकार गर्नेछु
तिम्रा हरेक बन्देज
अनि विभेदप्रति
आवाज बुलन्द पार्नेछु म
निरन्तर ।
सुन तिमी, कान खोलेर सुन
म डराउनेछैन
डगमगाउनेछैन
तिम्रा हरेक असङ्गत
निर्णयका खिलाफ
आवाज उठाइरहनेछु म
निरन्तर ।
जबसम्म सच्चिँदैनन्
यी जाल, झेल र कपटहरू
अन्तिम सास रहुन्जेल
लडिरहनेछु
इन्कलाब आउँदैन जबसम्म
अत्याचारविरुद्ध लड्नेछु यो युद्ध म
निरन्तर ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :