जातीय विभेदको संरक्षण दलाल संसदीय व्यवस्थाले गरेकाे छ – प्रविन

दलित मुक्ति मोर्चा नेपाल पाल्पाको सम्मेलन सम्पन्न

पाल्पा : नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध दलित मुक्ति मोर्चा पाल्पाको छैठौं जिल्ला सम्मेलन सम्पन्न भएको छ । पाल्पाको तानसेनमा सम्पन्न भएको सम्मेलनले निशानको अध्यक्षतामा जिल्ला समिति चयन गरेको हो ।

सम्मेलनमा नेकपा पाल्पाका इन्चार्ज प्रविनले सामाजिक कलङ्कका रुपमा रहेको जातीय विभेदको संरक्षण दलाल संसदीय व्यवस्थाले गरेको बताए । उनले दलाल पुँजीवादी राज्य व्यवस्थामा दलित समुदाय माथिको उत्पीडन अझ गहिरो हुँदै जाने भन्दै त्यसका विरुद्ध निर्मम सङ्घर्ष जरुरी भएको बताए । नेता प्रविनले दलित समुदायको मुक्ति वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र सम्भव हुने भएकोले सम्पूर्ण उत्पीडित दलित समुदाय एकीकृत जनक्रान्तिको झण्डामुनि एकीकृत हुनुपर्ने बताए । उनले जातीय सङ्घर्षलाई बर्गसङ्घर्षसँग जोडेर मात्र दलित जातिको मुक्ति सम्भव हुने बताए ।

मोर्चाका केन्द्रीय सचिवालय सदस्य एवं लुम्बिनी क्षेत्रीय समन्वय समितिका संयोजक जितबहादुर रसाइलीले दलित जातिको मुक्तिका लागी सम्पूर्ण उत्पीडित दलितहरु एकीकृत जनक्रान्तिमा जोडिनुपर्ने भन्दै गाउँ–गाउँमा विभेद विरुद्धको संघर्षलाई तीव्र पार्नुपर्ने बताए । सम्मेलनमा जिल्ला सेक्रेटरी विजी, जिल्ला जनपरिषद्का प्रमुख नेपाल, युवा संगठन नेपालका पाल्पा अध्यक्ष लिला, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य शारदा, अखिल (क्रान्तिकारी)का जिल्ला अध्यक्ष लङ्क, अखिल नेपाल किसान संघका जिल्ला अध्यक्ष माक्र्सबा, सहिद परिवारको तर्फबाट समिर विक लगायत जिल्लाका विभिन्न दलित संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

सम्मेलनमा जिल्लाभरिबाट प्रतिनिधि, पर्यवेक्षक तथा दलित समुदायको उपस्थिति रहेको थियो । सम्मेलनले निशानको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले जिल्लाभरि संगठन विस्तारलाई तीव्रता दिने, राजनीतिक वैचारिक तथा संघर्षका कार्यक्रमलाई तीव्रता दिने, जातीय विभेद तथा असमानता विरुद्धको संघर्षलाई जिल्लाभरि संचालन गर्ने, दलित जातिको मुक्तिबारे विभिन्न अन्तरक्रियालाई स्थानीय स्तरसम्म संचालन गर्ने, देशभक्त, क्रान्तिकारी अथवा उत्पीडित दलित मुक्तिको पक्षमा क्रियाशील विभिन्न संघसंस्थाहरुसँग कार्यगत एकता वा संयुक्त मोर्चा बनाएर सङ्घर्षलाई तीव्रता दिने निर्णय समेत गरेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :