नेकपाले गर्‍यो रुपन्देहीमा सहिद तथा वेपत्ता परिवारलाई अभिनन्दन

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीले सहिद तथा वेपत्ता परिवारलाई बिहीबार अभिनन्दन गरेको छ । सहिद सप्ताहको अवसरमा आयोजना गरिएको कार्यक्रममा रुपन्देही जिल्लाका सहिद तथा वेपत्ता परिवारलाई सम्मान तथा अभिनन्दन गरिएको नेकपाले बताएको छ ।
 
अभिनन्दन कार्यक्रममा नेकपा रुपन्देही जिल्ला इन्चार्ज संगमले सहिद तथा वेपत्ता योद्धाहरुको सपना पुरा नभएको भन्दै ती सपनाहरुलाई क्रान्ति मार्फत पुरा गर्ने बताए । उनले क्रान्तिमा गद्दारी गर्नेहरुले सहिद तथा वेपत्ता योद्धाहरुको सपना अलपत्र पारेको भन्दै एकीकृत जनक्रान्तिमा लामबद्ध हुन अपील गरे । कार्यक्रममा जिल्ला सेक्रेटरी विजयले अधुरो क्रान्तिलाई पुरा गर्न क्रान्तिमा लामबद्ध हुनुपर्ने बताए । उनले वैज्ञानिक समाजवादमा मात्र सहिदका सपना पुरा हुने बताए ।
कार्यक्रममा जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालका केन्द्रीय सचिव एवं लुम्बिनी व्युरो संयोजक जया, पूर्व अन्तरिम विधायिका शारदा घिमिरे (लता), सहिद परिवार रुपन्देही जिल्ला अध्यक्ष माया काउचा लगायतले बोलेका थिए ।
जिल्ला सेक्रेटरी विजयको अध्यक्षता, जिल्ला इन्चार्ज संगमको प्रमुख आतिथ्यता, नविनको संचालन र शिशिरको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा रुपन्देही जिल्लाका ६० भन्दा बढी सहिद तथा वेपत्ता परिवारहरु सहभागिता रहेको थियो । कार्यक्रममा अवसरमा नेकपाले सहिद तथा वेपत्ता परिवारका छोराछोरीलाई शिक्षा क्षेत्रमा सहयोग गर्ने समेत बताएको छ । उक्त अवसरमा झुल, फलफूल तथा नगद वितरण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :