टेका, एमसीसी र नेपाल


म कार्ल माक्र्सको पुँजी भाग २ को अध्ययनमा व्यस्त थिएँ । टीभीमा रिमोट घुमाइरहेका एक बन्दी साथीले भने, ‘दाइ, इरानी जर्नेल मारिए अमेरिकी हमलामा । विश्वको हट न्युजभन्दा झसङ्ग भएँ । इरान–अमेरिकी तनावसँग म जानकार नै थिएँ र पछिल्ला दिनमा एक अमेरिकी ठेकेदारको मृत्यु र बगदादस्थित अमेरिकी दूतावासमा इरानी समर्थन प्राप्त मिलिसिया र जनसमूहको हमलाले मध्यपूर्वमा कुनै नयाँ घटनाको सङ्केत गर्दैछ भन्ने त लागेको थियो । यी घटनाहरूका पछाडि इरानीको हात छ भन्ने अमेरिकी दोषारोपणले तनाव झन् बढ्दो छ भन्ने भान पनि परेकै थियो । तर यस स्तरको घटनाको अनुमान थिएन मेरो दिमागमा र सायद हत्यारा अमेरिकाबाहेक बाँकी विश्व र स्वयम् इरानले पनि अनुमान नगरेको हुनुपर्छ । महसुस भएको भए कासिम सुलेमानी र उच्च अधिकारीहरूको यात्रामा गोप्य शैली अपनाइहाल्थे । त्यसपछि अल जजिरा, सीएनएन, बीबीसी आदि दूरदर्शनमा हामीले आँखा दौडायौँ । बगदाद विमानस्थल नजिक सुलेमानी सवार कार अमेरिकी हमलामा परेर जलिरहेको दृश्य देख्न सकिन्थ्यो ।

अमेरिकाले धेरै पहिले नै इरान, सिरिया र जनगणतन्त्र कोरिया (उत्तर कोरिया) लाई दुष्टहरूको जमात भनेर हमालाको सूचीमा राखेकै थियो । चीनको भित्तामा अडेस लाएर अमेरिकालाई बारम्बार धम्क्याइरहने उत्तरकोरियालाई अमानवीय नाकाबन्दीको सिकार बनाउने अमेरिकी दुष्प्रयास जारी नै छ र दुई देशबीच कुन बेला के हुन्छ, अनुमान गर्न गाह्रो पर्ने गरी विश्व–रङ्गमञ्चमा आणविक अस्त्रधारी दुई मुलुक आमनेसामने वाक्युद्धमा सरिक छँदैछन् । रुसको प्रत्यक्ष सैन्य र बलियो साथ पाउँदापाउँदै पनि अमेरिकी योजना, तालिम, हतियार र पैसा पाएका विद्रोहीहरूसँगको झन्डै एक दशक लामो युद्धबाट सिरिया तहसनहस भएको छ । अलेपो, होम्सलगायत त्यहाँका सुन्दर सहरहरू भूतबङ्गलाझैँ भग्नावशेषमा परिणत भएका छन् । लाखौँ नागरिक शरणार्थी बन्न बाध्य भएका छन् । आज सिरिया अमेरिकाद्वारा उत्पन्न आतङ्कवादको भुङ्ग्रोमा पीडादायी जलन खेपिरहेको छ ।

विश्वका अन्य शक्तिकेन्द्रहरू रुस र चीनको साथ र क्षेत्रीय शक्ति सन्तुलनका कारण प्रत्यक्ष सैन्य हस्तक्षेप नगरे पनि आणविक ऊर्जा उत्पादनको बहाना बनाएर अन्यायपूर्ण र अमानुषिक नाकाबन्दी लादेर थिलथिलो पार्दै अनुकूल मौका पर्खिरहेको अमेरिकाले यसपटक इराकको घटनालाई आधार बनाएर फायर खोलेको छ । सत्तामा आएलगत्तै ‘ अमेरिका पहिलो र विश्वमा श्रेष्ठ अमेरिकी’ जस्ता अहंकारी र अन्धराष्ट्रवादी अभिव्यक्तिमा बाँडी विश्वप्रति हेपाहा भाव व्यक्त गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले महाभियोगले डामिएकै समय आफ्नो आपराधिक र हत्यारो चरित्र पनि प्रदर्शन गरेका छन् सार्वभौम राष्ट्र इरानका एक सैन्य कमान्डरको हत्या गरेर । यसरी अमेरिका आफ्नो लूटको साम्राज्यमा बाधक बनेकालाई सफाया अभियानमार्फत कत्लेआम मात्रै गर्दैन, विश्वमा आतङ्कवादको खेती पनि गर्छ र विश्व– मानचित्रको जुन कुनामा सापेक्षिक शान्ति छ त्यो उसलाई सह्य हुँदैन र कुनै न कुनै बहानामा त्यहाँ नङ्ग्रा गाडिहाल्छ । अनि महादेवको आशीर्वादधारी भष्मासुरले झैँ अशान्ति र युद्वको आगो झोस्दै मानवता र प्रजातन्त्र भष्म पार्दै हिँड्छ विश्वभरि । त्यसैले आज अमेरिका एक्काईसौँ शताब्दीको ‘टेरोरिजम एक्सपोर्ट सेन्टर’ अर्थात् ‘आतङ्कवाद निर्यात केन्द्र’ को टेका बनेको छ । युद्धले क्षतविक्षत बनेको मध्यपूर्व र सुलेमानी हत्या त्यसैको पछिल्लो उदाहरण हो । अब ‘टेका’ र विश्वबारे सङ्क्षिप्त चर्चा गरौँ ।

१) टेका र मध्यपूर्व

मध्यपूर्व विश्वको खनिज तेलको भण्डार हो र त्यहीउपर कब्जाको योजना बुनेर अमेरिकाले उम्कनै नसकिने युद्वको माझमा धकेलेको छ । त्यस क्षेत्रलाई भलै त्यसका पछाडि सामाजिक स्वार्थ पनि छँदैछ । सन् १९८० देखि १९८८ सम्म चलेको इरान–इराक युद्वका पछाडि पनि इराकको पक्ष लिँदै अमेरिका नै निर्णायक भूमिकामा उभिएको थियो । आफैँले बलशाली बनाएको र पछि आफ्नो स्वार्थसिद्ध नभएपछि इराकउपर नरसंहारकारी हमला गर्दै सद्दामलाई झुन्ड्याएर मार्ने ठाउँमा पुग्यो टेका । आफ्नै सुरमा बढिरहेको इराकलाई टेकाले युद्वको यस्तो डरलाग्दो डढेलोमा तान्यो, मानौँं त्यो कहिल्यै पनि निभ्नेछैन । उता यमनमा चलिरहेको रक्तपातपूर्ण सङ्घर्षले यस्तै विकराल रूप लिँदैछ । सिरियाको स्थितिबारे माथि नै छोटो चर्चा गरिसकिएको छ । प्यालेस्टिनीहरू जो साँचो अर्थमा त्यहाँका माटोका हकदार हुन्, तिनलाई मुलुकविहीन बनाएर इजरायललाई टेकाको भूमिका प्यालेस्टिनीहरूको स्वाभिमानको अन्त्यहीन लडाइँले दशकौँ पार गरिसकेको छ र रोकिने कुनै छाँट छैन । यसैबीच टेकाले प्रकाशन गरेको विश्वको नक्साबाट प्यालेस्टइन भन्ने राज्य नै लोप गराएको छ । इजिप्टको अस्तव्यस्तता पनि सामान्य छैन । कतारमाथि नाकाबन्दी गर्न साउदी अरब र टेकाका नियमित ग्राहक र मतियारहरूलाई उक्साएर अस्थिरताको बलियो जग गाडेको छ । जोर्डन आदि राष्ट्रहरू तनावमुक्त छँदै छैनन् । यसो भनौँ मध्यपूर्वको बर्बादीको पछाडि टेका र तिनका पिछलग्गुहरू जिम्मेवार मात्र छैनन्, अपराधी पनि बनेका छन् ।

पछिल्लो समय अमेरिका र तिनका दलालका लागि मध्यपूर्वमा सुलेमानी एक खतरनाक र बिझाउने काँडा बनेका थिए जब कि इरानी जनता र मध्यपूर्वमा अमेरिकी मारमा परेर निसास्सिरहेका राष्ट्र र जनताका दृष्टिमा एक नायक । इरानी रिभोलुस्नरी गार्डअन्तर्गत विशेष दस्ता कङ्सका कमान्डर, एक इरानी सैन्य रणनीतिज्ञ, सुनेमानी सर्वोच्च नेता आयातुल्ला खोमेनीका विश्वासपात्र र भरपर्दा सैन्य अधिकारी थिए अनि मध्यपूर्वमा टेकालाई घायलकायल पार्ने एक कमान्डर पनि ।

२) कोरियाली प्रायद्वीप

अमेरिकाका कारण वर्तमानमा सधैँ तनाव र अशान्त रहेको अर्को क्षेत्र हो कोरियाली प्रायद्वीप जहाँ उसले हजारौँको सङ्ख्यामा सैनिकहरू तैनाथ गरेको छ र अत्याधुनिक विनाशकारी अस्त्र पनि । टेका त्यहाँबाट उत्तरकोरियालाई नामोनिशान मेटाइदिने धम्की बारम्बार दिइरहन्छ, स्थितिलाई उत्तेजनात्मक र असामान्य बनाइरहन्छ किनकि यो टेकाको धन्दा र विशेषता हो । उत्तरसँगको तनावका साथै दक्षिणकोरिया र जापानका विभिन्न भागमा रहेका अमेरिकी सैन्य अखडाहरूले ज्यादती, हमला, बलात्कार र अन्य घटना गराएर आतङ्क मच्चाएको समाचार पनि बेलाबेलामा सार्वजनिक भई नै रहेको छ । यो टेकाको अर्को परिचय हो । यो प्रायद्वीपकै पेरिफेरीमा रहेको साउथ चाइना सीमा पनि अमेरिकी आतङ्कले बेलाबेला भयङ्कर छाल उछाल्ने गर्छ । विश्वको शक्तिशाली राष्ट्र चीनले आफ्नो आकाशमा छिरेको टेकाको जासुसी विमानलाई खसालिदियो नै । त्यस क्रममा मारिएका आफ्नो वायुसेनाका चालकलाई जमिन र आकाशको सहिद भनेर सम्मान दियो चीनले ।

३) अफ्रिका

आफ्नो गर्भमा बहुमूल्य खनिज लिएर धर्तीआमा अफ्रिकी महादेशमा लमतन्न परेकी छिन् । सापेक्षिक रूपमा युरोपेलीहरूको प्रभाव रहँदै आएको अफ्रिकाको सोमालियामा अमेरिकी युद्धले निम्त्याएको विपत् सामान्य छैन । लिबिया यसरी ध्वस्त भएको छ– अमेरिकी हमला र त्यसपछि उत्पन्न परिवेशले उसलाई दशकौँ पछि धकेलिदिएको छ जब टेकाले त्यहाँ पाइला टेक्यो र लिबियाली नेता कर्णेल मोहम्मद गद्दाफीको हत्या गर्यो । त्यस महादेशका झन्डै आधा दर्जन राष्ट्रहरूमा मारकाट विस्तार हुँदै गइरहेको छ र त्यसमा फ्रान्स नराम्ररी फसेको छ । त्यहाँको बहुमूल्य खनिज हीरा, मोती, सुन, चाँदी, जवाहरत कुम्ल्याउने कुत्सित दाउमा त्यहाँ टेका आफैँ धामी–आफैँ बोक्सीको भूमिकामा व्यस्त छ ।

४) दक्षिणअमेरिका

आफ्नो नाकैमुनि रहेको दक्षिणअमेरिकालाई आफ्ना कठपुतली शासकहरूमार्फत नियन्त्रणमा राखेको छ टेकाले । रसियाली सैन्य टुकडीको उपस्थिति नभएको भए धेरै पहिले टेकाले भेनेजुयलालाई टोकिसकेको हुने थियो र वर्तमानमा त्यहाँका जनता युद्वको कहालीलाग्दो सामना गरिरहेको हुने थिए । उता बोलिभियामा टेका नयाँ स्वरूपको अभियान चलाइरहेछ । मेक्सिकोसँगको सीमामा अग्ला पर्खालको बहसले अग्लिएको विवादबाट विश्व अनभिज्ञ छैन ।

५) हिन्द–प्रशान्त क्षेत्र र दक्षिणएसिया

आफूले ३ सय वर्ष लगाएर गरेको प्रगति चीनले सत्तरी वर्षमै पूरा गरेपछि र सैन्य अनि आर्थिक रूपले वर्तमानमा आफूलाई चुनौती दिने शक्तिका रूपमा उदाएपछि टेका चीनलाई कसरी विध्वंश गर्ने षड्यन्त्र जालो बुन्दै इन्डो– प्यासिफिक रणनीति (आईपीएस) को अस्त्र बोकेर यस क्षेत्रमा पसेको छ । अनि अफ्रिका र दक्षिणअमेरिकामा झैँ यस क्षेत्रमा पनि आईपीएसको अङ्गका रूपमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नामक कथित अनुदान कार्यक्रम लिएर देखापरेको छ । चीनलाई घेराबन्दी गर्ने र आफ्नो सैन्य गठबन्धनमा अपत्यारिलो गरी आर्थिक सहयोगको माध्यमबाट जोड्ने रणनीतिअन्तर्गत आईपीएस र एमसीसी आएको छ जुन टेकाको नयाँ र परिष्कृत कार्यक्रम हो ।

अमेरिका अहिले विश्वमा आतङ्कवाद सप्लायर्स एन्ड कम्पनीको मुख्यालय भएको छ । जहाँजहाँ उसको हस्तक्षेपकारी पाइला परेको छ, त्यो देश र क्षेत्र डरलाग्दो र अँध्यारो भविष्यतर्फ धकेलिएको छ र बर्बाद बनेको छ । उसले रोपेको आतङ्कवादी बीजको कारण सद्दाम हुसेनको ‘अपराध’ अन्त्य गर्ने नाउँमा इराक र इराकी जनतालाई यसरी ध्वस्त बनाएको छ, त्यसको प्रत्यक्ष प्रसारण हामी दिनहुँ हेरिरहेका छौँ । साथै मध्यपूर्वदेखि अफगानिस्तानसम्म अमेरिकी आतङ्कको सिकार भएका देशहरू सबै दिनहुँ मृत्यु दिइरहेका छन् । त्यहाँ शान्तिको नामोनिशान छैन । बमगोला नपड्किएको दिन छैन । निहत्था नागरिक नमारिएको पल छैन । टेकाले निर्यात गरेको आतङ्कवादले विश्वलाई नराम्ररी सताइरहेको छ । त्यो खुनी अनुहार नेपालमा पनि एमसीसीको मुकुन्डो लगाएर आईपीएसको एक भाग बनेर भित्रिँदैछ । सहयोगको बहानामा अमेरिकी सैन्य अखडा स्थापनाको वातावरण तयार पार्दैछ र बुद्धको देश नेपाललाई ट्रम्पको पागलखाना बनाउने कोसिस गरिँदैछ । अनि यहाँका अमेरिकी दलालहरू माटो र जनताको परवाह नगरी उसको असली आदेशपालक बन्ने धृष्टता गरिरहेका छन् ।

एमसीसीबारे अन्तरक्रिया, लेख र सञ्चारमाध्यमहरूमा व्यापक बहस भइरहेकै छ र पर्याप्त चर्चा पनि । म यहाँ सङ्क्षिप्तमा यति मात्र भन्न चाहन्छु, सम्झौताको धारा ३ को दफा ३.२ (च) मा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार, धारा ३ कै दफा ३ (८) क मा परियोजनाको लेखापरीक्षण अमेरिकी कम्पनीले मात्र गर्न पाउने, ३. धारा ५ को क र ख मा अमेरिकी कम्पनीले चाहेमा यो सम्झौता रद्द गर्नेछ, धारा ७ को दफा ७ को (क) मा नेपाली राष्ट्रिय कानुन बाझिएमा एमसीसी लागू हुने कुरा निकै आपत्तिजनक । यसले अमेरिकी परियोजनालाई नेपालको संविधानभन्दा माथि राखेको । संविधानअनुसार बनेका कानुन खारेज गरेर भए पनि एमसीसी लागू गर्नु भनेको राष्ट्रघात नै हो ।

त्यसैगरी अनुसूची १ (ग) को २ मा यस परियोजनामा नेपाल सरकारले राज्यका कुनै पनि निकायलाई खटाउँदा एमसीसीको अनुमति लिनुपर्ने उल्लेख छ । अनुसूची (४) मा नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार पारी पठाउनेछ र त्यस्तो योजना इन्डियाले समर्थन गरेको हुनुपर्नेछ भनिएको छ । किन चाहियो भारतको सहमति ? के यो त्रिदेशीय सम्झौता हो र ? भारतको अनुमति लिनुपर्ने । अमेरिका र नेपालबीच भएको भए किन चाहियो भारतको समर्थन ? यसले पनि के देखाउँछ भने यो आईपीएसकै अङ्ग अर्थात् सैन्य कार्यक्रम । हुनत अमेरिकी दूतावास र उच्चपदस्थ अधिकारीहरूले नै एमसीसी आईपीएसको एक हिस्सा हो भनेर आधिकारिक प्रतिक्रिया दिइरहेका छन् । तर नेपालको संसद्बाट अनुमोदन गराउन गारो भएकाले पछिल्लोपटक सैन्य रणनीतिसँग सम्बन्धित छैन भन्न लगाइएको छ । त्यसअघि राजदूतले नै आईपीएसको अङ्ग भएको कुरा सार्वजनिक रूपमा भनिसकेका थिए । तर पनि नेपालका केही व्यक्तिहरू एमसीसीमार्फत आउने पैसालाई ठूलो भन्दै उफ्रिरहेका छन् । उनीहरूले यत्रो पैसा कहाँ गुमाउनु हुन्छ, जे होला सहयोग त लिनैपर्छ भन्दै बर्बराइरहेका छन् जुन एकदमै लज्जाको कुरा हो । पैसा पाए नेपाली दलाल शासक र विदेशीका मतियारहरू आमा पनि बेच्न पछि पर्दैनन् भनेर गरिने टिप्पणी साबित हुन गएको छ । तर देशका सबै राष्ट्रवादी नागरिक, प्रशासक, उद्योगी, बौद्धिक, नागरिक समाज, राजनीतिककर्मी सबैसबैले एकढिक्का भएर यो राष्ट्रघाती कार्यका विरुद्ध सशक्त सङ्घर्ष अघि बढाउन र यसलाई असफल पार्न अत्यावश्यक छ ।

आखिर आज विश्व किन अशान्त छ ? विशेषतः मध्यपूर्व–अफ्रिका किन ? यसबारे हरसचेत मानवले गम्भीरतापूर्वक विचार र चिन्तन गर्नैपर्छ । यो अमेरिकी आतङ्क र साँढे संस्कृतिको दबदबा कहिलेसम्म जारी रहला ? आणविक हतियारको बलमा विश्वव्यापी टेका आतङ्क कहिलेसम्म जारी रहला ? के यसको प्रतिवाद सम्भव छैन ? के यसको अन्त्य सम्भव छैन ? के विश्वमा शान्ति सम्भव छैन ?

सर्वहारा वर्गका महान् गुरु एवम् विचारक क..लेनिनले आजभन्दा सय वर्ष पहिले नै पुँजीवादको विश्लेषण गर्दै भन्नुभएको थियो, ‘पुँजीवाद मरणशील छ र यसको उच्चतम रूप साम्राज्यवाद हो जसको अन्त्य अवश्यम्भावी छ ।’ लेनिनले भन्नुभएझैँ पुँजीवाद आफ्नो चरम र अन्तिम अवस्थामा छ । तर मानव जातिलाई के डर छ भने कतै आफ्नो अन्त्यसँगसँगै प्रकृति र मानवका सुन्दर सिर्जनाहरूलाई पनि नष्ट त गर्दैन ? यो खतराबाट मानव जाति चिन्तित छ । हामीले २०७३ फागुनमा नेकपाको आठौँ महाधिवेशन थबाङबाट पुँजीवादको यो रूपलाई उत्तरसाम्राज्यवाद भनी संश्लेषण ग¥यौँ जसको आशय उसको विघटन र अन्त्य झन् नजिकिएको छ ।

वास्तवमा पुँजीवाद भनेको शोषण हो । अरूको सिर्जना र पसिनामा लूट हो । पुँजीवाद वास्तवमा युद्ध हो, अशान्ति हो । यो विभेदको सर्जक हो, द्वन्द्वको मुहान हो । यो अन्याय र अत्याचारको विभिषिका हो । मध्यपूर्वमा अमेरिकी हस्तक्षेप वा आतङ्क, नरसंहारका कैयौँ कारणहरूमध्ये एक त्यहाँको तेलभण्डारमाथि कब्जा जमाउनु हो । त्यसैले त्यहाँ सुलेमानीजस्ता टेकाका विरोधी र स्वाभिमानका हिमायतीहरूको बारम्बार हत्या भएरहेको छ र शान्ति र नागरिक अधिकारको खिल्ली उडाइएको छ । आफ्नै अन्त्यको सन्निकट रहेको साम्राज्यवाद शक्तिमा रहँदासम्म शान्ति सम्भव छैन, न समानता नै । मानव जातिको सिर्जनाको रक्षा सम्भव छैन । यसैले वैज्ञानिक समाजवाद र साम्यवाद विश्वमा उदाउनु अपरिहार्य भइसकेको छ । यसबाट मात्रै प्रकृति, सुन्दर संसार र मानव जातिको रक्षा सम्भव छ ।

यसर्थ नेपालीले सुलेमानीहरू मारिए भनेर चिन्ता गरेर मात्र पुग्दैन । एमसीसी बनेर त्यो हाम्रै घरभित्रै घुस्दैछ र आतङ्क खेतीको तयारी गर्दैछ भन्ने कदापि भुल्नु हुँदैन । साम्राज्यवाद जहिले पनि सुरुमा धनको पोको र सुनका बाला नै बोकेर आउँछ, भोको र रुग्ण बूढो सिंहले जस्तै । त्यसैले सम्पूर्ण नेपाली नागरिकले बेलैमा बुद्धि पु¥याउने होइन भने नेपाल अमेरिकी आतङ्कवादको अभ्यासस्थल बन्नेछ र एमसीसी कालान्तरमा भालुको कन्पट बन्नेछ । नेपाल र नेपालीलाई बर्बाद पार्नेछ किनकि टेका जहाँ पुग्यो त्यहाँ युद्ध र अशान्ति मात्रै भित्रिएको छ– सबैलाई चिन्ता भया !

नख्खु कारागार, ललितपुर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :