भुर्तेल काकाको रगत

कविता

चुनु–शिल्पाहरू ढल्दा
नमिता–सुनिताहरू चिच्याउँदा
श्रेयाले गुहार माग्दा
पीडाले सारा जगत् रोइरहँदा
हाँसिरह्यो माछापुच्छ्रे
मलाई झारिदिऊँजस्तो लाग्यो
आफ्नै बङ्गारा !
लिपुलेक हड्पिँदा टोलाइरहे
अपि र सैपालहरू ।
अनि सयाैँ चेली बेचिँदा रूपैडिया नाकाबाट
निदाइरह्यो बुलबुल
पशुपतिनगरमा कठ्याङ्ग्रिएर ढल्दा
जङ्गे पिलर
एक सुर्कीे चियासमेत पिलाएन
इलामले
अपरमादीबाट निकालेको बिजुलीभन्दा
चम्किला थिए
शेखर सापकोटाका सपनाहरू !
तारकाङ, मकैखोला गर्जिंदा
सिङ्गै पोखरा नाच्थ्यो
थमन परियारको गीतमा ।
ए ! साथी हेर त
त्यो मर्दीखोलामा बगेको पानी होइन
भुर्तेल काकाको रगत हो ।
सहिदको रगत पिएर बाँचेको छ पोखरा ।
खुर्दीखोलामा बगिरहेको
सोमबहादुर विकको सपना
सकिनसकी ठेलिरहिछिन्
मनकुमारी आमा !
थाकेको बेला, गलेको बेला
निराश भएको बेला
सम्झन्छु मोतीमाया पौडेललाई
जिन्दगीको उत्तराद्र्धमा पनि
बोकेर क्रान्तिको झन्डा
भन्नुहुन्छ …..!
दलाल संसदीय व्यवस्था मुर्दावाद !
बाबु अघि बढ्नू…….
परिआए बन्दुक मै पनि बोकूँला ।
ए ! साथी छवि अधिकारीको छवि
अनि इन्दिरा तिवारीको इमानलाई
ढाल्नु दिनुहुन्न है ।
सम्पूर्ण ज्ञातअज्ञात महान् सहिदहरूप्रति लालसलाम

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :