झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म

सन्दर्भ : सहिद सप्ताह २०७६


२०७६ सालको सहिद सप्तह आज फागुन १४ गते बुधबारबाट सुरु भएको छ । २०२८ सालमा झापाबाट आरम्भ भएको ‘झापा विद्रोह’ का क्रममा २०२९ साल फागुन २१ गते झापा र इलामबीचको सुखानीको जङ्गलमा बलिदान गर्ने सहिददेखि २०५२ साल फागुन १ मा नेकपा (माओवादी) को नेतृत्व र आह्वानमा आरम्भ भएको जनयुद्धका क्रममा २०५२ साल फागुन १४ गते बलिदान गर्ने जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलसम्मको त्याग, शौर्य र बलिदानलाई गाँसेर जनयुद्धका क्रममा सहिद सप्ताह आरम्भ गरिएको थियो ।

अब सहिद सप्ताह अझै व्यापक बनेको छ । झापा विद्रोहदेखि १० वर्षसम्म सञ्चालित जनयुद्धमा बलिदान गर्ने सहिदहरूको शृङ्खलामा एकीकृत जनक्रान्तिका १२ जना महान् सहिदहरूको सूची थपिएको छ । फागुन १४–२१ ले नेपाली जनक्रान्तिले निर्माण गरेको एउटा विशिष्ट जनवादी पर्वको स्वरुप लिइसकेकाले एकीकृत जनक्रान्तिका महान् सहिदहरू प्नि यसै शृङ्खलामा जोडिन पुग्छन् । जसरी २०५२ सालबाट आरम्भ भएको जनयुद्धको जग २०२८ सालको झापा विद्रोह हो भनेर संश्लेषण गरिएको थियो, त्यसैगरी एकीकृत जनक्रान्तिको जग झापा विद्रोहदेखि जनयुद्धसम्म बनेका छन् । त्यसैले यो सहिद सप्ताह पर्व पनि झापा विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्मका महान् सहिदहरूको त्याग, शौर्य, बलिदानको जगमा निर्मित पर्व हो । नेपालको राजनीतिक इतिहास महान् त्याग, समर्पण, शौर्य र बलिदानको इतिहास हो । यहाँको राजनीतिक इतिहासमा त्याग, शौर्य र बलिदान मात्र होइन, गद्दारीहरू प्नि भएका छन् । जसरी झापा विद्रोहका नायक, सहनायकहरू त्यो विद्रोहप्रति पश्चाताप र ग्लानि गर्दै दलाल पुँजीवादी भासमा जाकिए, माहान् जनयुद्धका नायकहरू पनि त्यो गौरवशाली विगतप्रति पश्चाताप गर्दै दलाल सत्ताको टाँगमुनि छिरिसकेका छन् । ती कायरहरूले धुलोमा फालेको गौरवशाली रातो झन्डालाई आज कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले उठाएको छ र एकीकृत जनक्रान्ति सानदार ढङ्गले सफलताको दिशामा अघि बढिरहेको छ । नेपाली समाज र चेतनालाई यहाँसम्म ल्याइपुर्याउने महान् सहिदहरूप्रति गर्व र्गै लालसलाम टक्र्याउनु हाम्रो पहिलो कर्तव्य हो ।

करिब डेढ वर्षअघि लेखिएको यो छोटो आलेखमा भने झापा विद्रोह र सुखानीका सहिदहरूका बारेमा सङ्क्षिप्त चर्चा गर्ने प्रयास गरिएको छ ।

२०२९ साल फागुन २१ गतेको मध्यरातको सुनसान समय । ऐतिहासिक झापा विद्रोहका क्रान्तिकारी योद्धाहरू : पूर्व कोसी प्रान्तीय कमिटीको झापा जिल्लाकै ४५ वर्ष काटिसकेका बौद्धिक योद्धा रामनाथ दाहाल, गरामुनिका जुझारु युवा नेता नेत्र घिमिरे, भर्खर एसएलसी उत्तीर्ण गरेका भर्भराउँदा क्रान्तिकारी युवा कृष्ण कुइँकेल र नारायण श्रेष्ठ अनि तत्कालीन सरकारमा पीडीओ (सरकारी अधिकृत) भइसकेका आदिवासी समुदायका भरपर्दा नेता तथा राजवंशी समुदायका विश्वासपात्र वीरेन राजवंशीलाई निरङ्कुश पञ्चायती सरकारले झापा जेलबाट इलाम जेल सार्ने बहानामा जिपमा राख्यो र झापाबाट इलामतिर हुइँक्यायो । जिप गुड्ने ठाउँसम्म जिपमा लगियो र झापा–इलामको सिमानानिर पर्ने सुखानीको जङ्गलमा पुर्याएर ओरालियो । हतकडी लगाइएका र आँखामा पट्टी बाँधिएका झापा विद्रोहका नेताहरूलाई जङ्गलको अलि भित्रसम्म लगेर लाम लगाउँदै आत्मसमर्पणका लागि प्रस्ताव गरियो । ऊभन्दा ऊ कुनै पनि योद्धाले आत्मसमर्पण गर्नु त परै जाओस्, तिनको योजनामुताबिक विद्रोहमा सामेल भएकोमा पश्चाताप र प्रायश्चितसमेत गरेनन्, बरु उनीहरूले गर्वसाथ भने– निरङ्कुश पञ्चायती व्यवस्था मुर्दावाद, राजतन्त्र मुर्दावाद, नयाँ जनवादी क्रान्ति जिन्दावाद, मालेमावाद जिन्दावाद, चिनियाँ सर्वहारा सांस्कृतिक क्रान्ति जिन्दावाद, नक्सलबाडी क्रान्ति अमर रहोस्, वर्गशत्रु सखाप अभियान सफल पारौँ, नेपाली क्रान्ति जिन्दावाद…! जीवनको भिक माग्ने आस गरेर बसेका पञ्चायती शासकका मतियारहरू क्रान्तिकारीले लगाएको गगनभेदी नाराबाट अत्तालिए ।

त्यसपछि विद्रोहको राप र तापले पग्लिँदै गएका पञ्च शासकहरूले तिनका मतियारहरूलाई आदेश दिए– डाँकासँग दोहोरो भिडन्त भन्दै पाँचैजनालाई एक चिहान बनाइदेऊ…। क्रान्तिकारी योद्धाहरू अन्तिम समयसम्म पनि गलेनन् बरु गौरवशाली मृत्यु स्वीकार्न राजी भए । झापा र इलामका बीचको घना जङ्गलको रातको सन्नाटा चिर्दै आततायीहरूले क्रान्तिकारी योद्धाहरूको शरीरका विभिन्न ठाउँमा गोली दागे । ढल्नै लाग्दा ती महान् योद्धाहरूले फेरि नारा लगाए– मालेमावाद जिन्दावाद, नयाँ जनवादी क्रान्ति लालसलाम, वर्गशत्रु खतम पारौँ…। नारा लगाउँदै उनीहरूले त्यो घोर सन्नाटालाई चिरे र बिदा भए ।

हो, नेपालको समग्र राजनीतिक आन्दोलन मात्र नभएर कम्युनिस्ट आन्दोलनकै पहिलो सशस्त्र विद्रोहका क्रान्तिकारी योद्धाहरूको यही विद्रोह र बलिदानको गाथा हो झापा विद्रोह र झापा विद्रोहका तिनै महान् योद्धाहरूको कायरतापूर्ण हत्याकाण्ड हो सुखानी हत्याकाण्ड ।

इतिहासमा कयौँ यस्ता घटना हुन्छन् जुन अगुवाहरूको बेइमानीका कारण अलपत्र वा बेवारिस हुन्छन् र त्यसको ऐतिहासिक महत्वको कार्यभार अरु कसैले लिनुपर्ने हुन्छ । नेपालमा दुरुस्तै नभए पनि केही मिल्दाजुल्दा दुईवटा यस्ता घटना भएका छन् : पहिलो, २०२८ सालमा भएको ऐतिहासिक झापा विद्रोह र दोस्रो, २०५२ सालबाट आरम्भ भएर करिब ११ वर्षसम्म सञ्चालनमा रहेको महान् जनयुद्ध । यति बेला यी दुवै विद्रोह अभिभावकविहीन बने र राजनीतिमा तेस्रो पुस्ता भन्न मिल्ने स्तरबाट यसको स्वामित्व ग्रहण गर्ने र निरन्तरता दिने काम भइरहेको छ । महासचिव विप्लवको नेतृत्वमा नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशाका माध्यमबाट ती अधुरा क्रान्तिहरूलाई सफल बनाउने अभियान थालेको छ र तीव्रतामा अघि बढाएको छ ।

राजनीतिक तरङ्गका हिसाबले यी दुवै राजनीतिक आन्दोलन/सन्दर्भले पृथक महत्व राख्छन् । पहिलो घटना अर्थात् झापा विद्रोह एउटा क्षेत्रीय स्तरको पार्टीको पनि जिल्ला समितिले सञ्चालन गरेको थियो भने दोस्रो घटना अर्थात् जनयुद्ध राष्ट्रिय स्तरको सिङ्गो पार्टीले । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा पहिलो घटना अर्थात् झापा विद्रोह वर्गसङ्घर्षको पहिलो र सङ्गठित विद्रोहको उठान थियो तर यसका सञ्चालकहरूको अपरिपक्वता, किंकर्तव्यविमूढता र आलोकाँचोपनका कारण उपलब्धि कम र क्षति बढी भएर टुंगियो तर त्यसको तरंग भने आजसम्म पनि जारी छ । अझ भनौँ यसका सञ्चालक वा अगुवाहरू नै आफैँले सञ्चालन गरेको विद्रोहबाट विमुख भए र कालान्तरमा आफैँले आरम्भ गरेको विद्रोहलाई ‘उग्र वामपन्थी भड्काव’ देख्ने स्थानसम्म पुगेर संशोधनवादमा चुर्लुम्म डुबे । त्यस विद्रोहको स्वामित्व ग्रहण गर्न पनि लज्जाबोध गरिरहेका छन् हिजोका नायकहरू । झापा विद्रोहका नायकहरूमध्येका एकजना सीपी मैनाली भन्छन्, ‘हामी कमरेड माओद्वारा सञ्चालित चिनियाँ क्रान्ति र विशेषतः सर्वहारा सांस्कृतिक क्रान्तिबाट प्रेरित थियौँ । यता हाम्रो नजिकै भारतको नक्सलबाडीमा कमरेड चारु मजुमदारले सशस्त्र विद्रोह आरम्भ गर्नुभएको थियो । हामी यिनै ठूला दुई क्रान्तिबाट प्रभावित भयौँ ।’

मैनालीका अनुसार झापा विद्रोह गल्ती नै थियो भनेर आजसम्म पार्टीगत रूपमा र माइन्युट नै गरेर निष्कर्ष ननिकालएिको भए पनि तत्कालीन एमाले समूहले त्यसको स्वामित्व ग्रहण नगर्ने निष्कर्ष निकालिसकेको छ । सीपीले प्रकारान्तरले त्यो विद्रोहलाई ‘उग्र वामपन्थी भड्काव’ का रूपमा चित्रण र प्रमाणित गर्ने प्रयास पनि गरे ।

पछिल्लो ऐतिहासिक राजनीतिक घटनाक्रम अर्थात् जनयुद्ध विश्वमै कम्युनिस्ट आन्दोलनले धक्का खाइरहेको समयमा हिमालयको देशबाट मालेमावादीहरूबाट आरम्भ भएको वसन्ते गर्जन थियो । राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थिति अनुकूल बनाउँदै गरिएको यस राजनीतिक घटनाक्रममा हजारौँ योद्धा र नागरिकको बलिदान भयो र केही आंशिक राजनीतिक परिवर्तन पनि भयो तर त्याग, शौर्य, बलिदान र अपेक्षाअनुसारको रूपान्तरण नभईकनै मुख्य नेतृत्व पुच्छर लुकाएर दुस्मन क्याम्पतिर भाग्यो । प्रकारान्तरले दुवै राजनीतिक विद्रोहहरू असफलतामा टुंगिए । फलस्वरूप नयाँ जनवादी क्रान्ति हुँदै वैज्ञानिक समाजवाद स्थापना गरेर साम्यवाद स्थापनाको बाटोमा लाग्ने महान् उद्देश्यसाथ आरम्भ गरिएका ती विद्रोहहरू षड्यन्त्रपूर्वक समाप्त पारिएपछि वैज्ञानिक समाजवादी शासन व्यवस्था स्थापना हुनुपर्ने ठाउँमा आज दलाल पुँजीवाद स्थापना हुन पुगेको छ । मुलुकमा राजनीतिक प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्ति भएको छ ।

राजनीतिक रूपमा दुवै विद्रोहको महत्व कम छैन । दोस्रो विद्रोह अर्थात् जनयुद्धको जग पहिलो विद्रोह अर्थात् झापा विद्रोह नै थियो । पहिलो विद्रोहको प्रभाव भने चिनियाँ भूमिमा कमरेड माओ त्सेतुङले आरम्भ गर्नुभएको महान् सर्वहारा सांस्कृतिक क्रान्ति र भारतको नक्सलबाडीमा कमरेड चारु मजुमदारले आरम्भ गर्नुभएको सशस्त्र विद्रोह थिए । मूल नेतृत्वले झापा विद्रोह, त्यसको तरङ्ग र प्रभावलाई बेवारिसे बनाइदियो अर्थात् झापा विद्रोहको अवस्था एउटी कुमारी आमाले अवैध यौनसम्बन्धबाट रहेको गर्भलाई लोकलाजका डरले सिस्नोको झाङमा फालिदिएझैँ फालिदियो र दोस्रो विद्रोहको मूल नेतृत्व साह्रा नेता, कार्यकर्ता, सहिद परिवार, बेपत्ता योद्धा, तिनका आफन्त, घाइते अपाङ्ग र जनता सबैको आशामा तुसारापात गर्दै वर्गयुद्धको बाटोबाट कथित शान्तिको बाटोमा कुलेलम ठोक्यो । सकारात्मक घटनाबाट विकसित नकारात्मक परिणतिको गर्भबाट फेरि अर्को जनविद्रोहको विकास र अभ्यास भइरहेको छ एकीकृत जनक्रान्ति । आज फेरि क्रान्तिकारी कम्युनिस्टहरू झापा विद्रोहका सहिदहरू र जनयुद्धका सहिदहरूको चिहान खोतलेर नयाँ विद्रोह अघि बढाइरहेका छन् । यही सिलसिलामा हामी यतिबेला चिहानबाट सुखानी हत्याकाण्डका महान् सहिदहरू रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठका हड्डीहरू खोतलिरहेका छौँ । यतिबेला झापा विद्रोहका अगुवाहरूले होइन, झापा विद्रोहका यिनै महान् सहिदहरूको गौरवशाली बलिदानले बोकिरहेको छ त्यो महान् विद्रोहको गौरवशाली इतिहास । झापा विद्रोह नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको इतिहासमा लालअक्षरमा अङ्कित छ र रहिरहनेछ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापनाको एक दशक नपुग्दै २०१० को दशकको आरम्भमै तत्कालीन नेता मनमोहन अधिकारीले राजतन्त्र स्वीकार्छु भनेर राजा त्रिभुवनलाई बिन्तीपत्र हालेपछि नेकपामा गद्दारीको कालो इतिहास आरम्भ भयो । सोही दशकको उत्तराद्र्धमा नेकपाका तत्कालीन मुख्य नेतृत्व केशरजङ्ग रायमाझीले सिङ्गो नेकपालाई दरबारमा बुझाएर दलाली र गद्दारीको अर्को महापतनको बाटो रोजे । त्यसपछि नेकपामा विभाजनको शृङ्खला सुरु भयो । वर्तमानको सरकारी नेकपा अर्थात् इतिहासको झापाली समूहका नामले परिचित माले, कोअर्डिनेसन कमिटी र त्यसअघिको पूर्वकोसी प्रान्तीय कमिटी पनि त्यही विभाजनको एउटा सानो झुन्ड थियो । झापा विद्रोह पूर्वकोसी प्रान्तीय कमिटीको झापा जिल्ला समितिको नेतृत्वमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :