वर्तमान विश्व–परिस्थिति र उत्पीडित वर्गको कार्यभार

- हेमन्तप्रकाश ओली ‘सुदर्शन’

‘साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र यसले स्वयम् यसको समाधान बन्न जान्दछ ।’
–कार्ल माक्र्स, निजी सम्पत्ति र साम्यवाद, १८४८ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू, पृ.९०, प्रगति प्रकाशन मस्को, १९८२ को सातौँ संस्करण ।

१ विषय प्रवेश

कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले आफ्नो समयको ऐतिहासिक रहस्य समाधान गरेकाले नै साम्यवादी हुन सक्नुभयो । त्यो रहस्य भनेको पुँजीवाद थियो । उहाँहरूले पुँजी भनेको श्रमको सञ्चय हो भनी परिभाषित गर्नुभयो । त्यो श्रमसञ्चय निजी स्वामित्व भएको थियो र अहिले पनि भइरहेको छ । सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वबीचको अन्तरविरोध समाधान गर्नु नै उहाँहरूको समयमा मुख्य कार्यभार बन्न पुग्यो । उत्पादक शक्तिअनुरूपको उत्पादन सम्बन्ध निर्माण गर्न उहाँहरूले सामूहिक उत्पादनअनुरूप सामूहिक स्वामित्व हुनुपर्ने कुरामा ऐतिहासिक पुष्टि गर्नुभयो । यसका लागि वैज्ञानिक समाजवादी क्रान्ति हुँदै साम्यवादमा पुग्नुपर्ने कुरामा जोड दिनुभयो । परिवार, समाज, राष्ट्र र विश्वमा कलह, झगडा र युद्धको कारक निजी सम्पत्ति भएकाले जुन मानिस, परिवार, समाज र राष्ट्रले यसबाट मुक्त भएर सामूहिक स्वामित्वमा उत्पादन र वितरण गर्दछन्, उनीहरू नै साम्यवादी हुन् भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभएको थियो । त्यसकारण साम्यवादी हुनु भनेको समस्या हुनु होइन, बरु समस्याको समाधान हुनु हो । मानव जातिका समस्याहरू समाधानका लागि नै उहाँहरूको विश्वविद्यालयले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शन; सामूहिक उत्पादन र सामूहिक स्वामित्व हुने राजनीतिक अर्थशास्त्र; वर्गसङ्घर्ष–सशस्त्र सङ्र्घष–सर्वहारा अधिनायकत्व भएको वैज्ञानिक समाजवाद– साम्यवादजस्ता तीन अङ्गहरूको विचारधारा माक्र्सवाद आविष्कार गर्यो । यो क्रान्तिको बाहकका रूपमा बहुसङ्ख्यक शोषित–उत्पीडित जनताको नेतृत्व साम्यवादी दललाई बनाइयो । यही नै माक्र्सवादको सारतत्व हो ।

भ्लादिमिर इल्यिच उल्यानोभ लेनिन, जोफेस विसारिओनेविक स्टालिन, बाबुस्किन, कालिनिन आदिको नेतृत्वमा रहेको साम्यवादी दस्ताले रसियाली समाजको आधारमा र युरोपको समेत अध्ययन गरी पुँजीवाद साम्राज्यवादको चरणमा प्रवेश गरेको निष्कर्ष निकाल्यो । लेनिन नेतृत्वको उक्त साम्यवादी दस्ताले यो पुँजीवादी साम्राज्यवादले आफ्ना विषालु दाह्रा–नङ्ग्रा विश्वव्यापी गाडेको; यसले वस्तु निर्यात मात्र नभएर वित्तीय निर्यात गर्न थालिसकेको, प्रतिस्पर्धालाई हटाएर एकाधिकार कायम गर्न सिन्डिकेट, कार्टेल र ट्रस्टजस्ता एकाधिकारी संस्था बनाएको, बजार र कच्चा पदार्थलाई एकाधिकारमा लिन राष्ट्रिय, क्षेत्रीय र विश्वयुद्ध गर्न पनि तयार रहने विशेषता बोकेको निष्कर्ष निकाल्यो । यसको समाधानका लागि जहाँ साम्राज्यवादको साङ्लो कमजोर रहेको हुन्छ त्यही देशबाट क्रान्ति सफल पारेर विश्व–साम्यवादी क्रान्ति अघि बढाउने कुरा जीवन व्यवहारमा पुष्टि गर्नुभयो । माक्र्सवादलाई लेनिन र स्टालिनको अग्रदस्ताले अक्टोबर २५, १९१७ को वैज्ञानिक समाजवादी क्रान्तिमा अनुवाद गर्यो । अनुवाद मात्र गरेन, बरु आफ्नो समयका समस्याहरू समाधान गर्न माक्र्सवादी दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा दोस्रो तला थप्यो । यसैलाई माक्र्सवाद, लेनिनवादका रूपमा स्थापना गरियो । लेनिनको नेतृत्वमा रहेको रुसी जनताको अग्रदस्ताले आधा पुँजीवादी र आधा सामन्तवादी देशमा मजदुरवर्गको अगुवाइमा किसानहरूको साथ लिएर वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्यो तर किसान जनसाधारणको बाहुल्य रहेका पूर्वी देशहरूमा अर्धसामन्ती तथा अर्धऔपनिवेशिक देशहरूमा वैज्ञानिक समाजवादी क्रान्ति कसरी गर्ने भन्ने प्रश्नको समाधान भएको थिएन । कुनै पनि साम्यवादी पुस्तकमा यसको बनिबनाउ समाधान कहीँ पनि लेखिएको थिएन । रुसी अनुभवसहित यस्ता देशको क्रान्ति त्यही देशका क्रान्तिकारीहरूले आफ्नै अनुभव र बुद्धिले सम्पन्न गर्नुपर्ने थियो ।

माओ त्सेतुङ, चाउ एनलाई, लि ताचाओ, चुतेहजस्ता साम्यवादीहरूको दस्ता चीनमा जन्मियो । माओको नेतृत्वमा चीनमा माक्र्सवादी लेनिनवादी उत्पीडित जनताको अग्रदस्ता चीन साम्यवादी दल बन्यो । औपनिवेशिक तथा अर्धसामन्ती आर्थिक राजनीतिक अवस्था भएको; पोर्चुगल, संयुक्त अधिराज्य बेलायत, जापान र अमेरिकाको विभिन्न समयमा प्रत्यक्ष हस्तक्षेप रहेको, कृषिप्रधान चीनमा माओको नेतृत्वमा वर्गविश्लेषण गरियो । जनताका मित्र र शत्रुको पहिचान गरियो । २५ वर्ष लामो दीर्घकालीन युद्ध लडेर चीनलाई सामन्तवाद र साम्राज्यवाद नामका दुई पहाड ढालेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादलाई अघि बढाइयो । तर चीन साम्यवादी दलभित्र आएको संशोधनवादी गुट ल्यु साओची र तेङ स्याओ पिङमण्डलीले समाजवाद लागू गर्नलाई बाधाअड्चन हाल्ने काम ग¥यो । सन् १९५७– ५८ मा गएर ‘महान् अग्रगामी छलाङ’ अभियान चलाएर वैज्ञानिक समाजवादलाई पूर्ण रूपले अघि बढाइयो । माओले राजनीतिक सत्ता ढाल्नुभयो तर आदतको सत्ता चुनौती बनेर आयो । चीनमा यो पुरानो आदत नयाँ रूपमा प्रकट भयो । त्यो मूलतः सकारात्मक कुरा राखेर नकारात्मक उद्देश्य पूर्ति गर्ने रूपमा प्रकट भयो । यसलाई बेनकाव पार्न एउटा दीर्घकालीन विचारधारात्मक अभियान माओको नेतृत्वमा चलाइयो । त्यो भनेको महान् सर्वहारा सांस्कृतिक क्रान्ति हो । यो क्रान्तिमा पुगेपछि माक्र्सवाद लेनिनवाद, माक्र्सवाद–लेनिनवाद–माओवादसम्म विकास भयो ।

रसियाली सशस्त्र जनविद्रोह र चिनियाँ दीर्घकालीन जनयुद्धका दुई मोडेलअनुसार पूर्वी युरोपका पूर्वीजर्मनी, युगोस्लाभिया, चेकोस्लोभाकिया, रुमानिया, अल्बानिया, हंगेरी र बुल्गेरियामा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भए भने एसियाका मङ्गोलिया, उत्तरकोरिया, भियतनाम, कम्बोडिया, लाओस अनि दक्षिणअमेरिकाको क्यूबामा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भयो । सोभियत सङ्घको विघटनसँगसँगै पूर्वी युरोपको नाम मात्रका समाजवादी देशहरू विघटित भए । चीन, कोरिया, क्युबा, भियतनाम इत्यादिले आआफ्नै विशेषताका समाजवादी व्यवस्थाहरू चलाइरहेका छन् भनिएको छ । तर ती पनि वास्तविक समाजवादी देश होइनन् । पृथ्वीको आधाभन्दा बढी भूभाग र आधाभन्दा बढी जनसङ्ख्या वैज्ञानिक समाजवादी क्रान्तिद्वारा मुक्त भएको थियो । यी १५ वटा वैज्ञानिक समाजवादी गणतन्त्र आज सहीसलामत स्थितिमा छैनन् भन्ने कुराले हाम्रो जमानामा नयाँ समस्या ल्याइदिएको छ । यसका साथै दर्जनाैँ क्रान्तिहरू विजयनजिकै पुगेर पनि विजयी भएका छैनन् । दुवै घटनाको विश्लेषण गरेर संश्लेषण गर्नुपर्ने आवश्यकता छ । तर यहाँ यस आलेखमा वर्तमान परिस्थितिको विश्लेषण गरेर उत्पीडित जनताको कार्यभारलाई सङ्केत गर्ने कोसिस गरिएको छ ।

२. विश्व परिस्थितिका प्रमुख विशेषताहरू

क) अर्थतन्त्रको दृष्टिकोणबाट हेर्दा प्रथमतः विश्वमा अति एकाधिकारवादी र अति केन्द्रीकृत अर्थतन्त्र रहेको छ । एकाधिकारवादी र केन्द्रीकृत पुँजीवादका विषयमा माक्र्सले विषय अघि सार्नुभएको थियो र लेनिनले यसका विषयमा ‘साम्राज्यवाद ः पुँजीवादको उच्चतम् चरण’ मा बृहत् विश्लेषण र त्यसको अन्त्यको घोषणा गर्नुभएको थियो । यही एकाधिकारवाद पुँजीवाद नै साम्राज्यवाद हो । यो भनेको पुँजीवादको मरणासन्न अवस्था र वैज्ञानिक समाजवादी क्रान्तिको पूर्वबेला हो भन्ने निष्कर्षका साथ लेनिन र स्टालिनको अग्रदस्ताले रुसमा क्रान्ति सम्पन्न ग¥यो । रुसमा वैज्ञानिक समाजवादको स्थापनापछि अरू १४ वटा गणराज्य पनि समाजवादसँग सहमत भए र सोभियत समाजवादी गणतन्त्र सङ्घको प्रस्ताव राखे । लेनिनको नेतृत्वमा यो प्रस्ताव पारित भयो । अब जारकालीन रुस रहेन, बरु जनताको सोभियत सङ्घ बन्यो । युरोपेली र अमेरिकाली साम्राज्यवादीहरू सोभियत सङ्घको अर्थतन्त्र र समाजवादबाट धेरै तर्सेका थिए । विश्वव्यापी रूपमा नै समाजवाद र साम्राज्यवाद आमनेसामने भए । समाजवादी अर्थतन्त्रले तीन सय वर्ष पुरानो अर्थतन्त्रलाई तीस वर्षमा नै उछिन्यो । जर्मनीमा साम्यवादी दुस्मन बनेर हिटलर अघि स¥यो । स्टालिनको बुद्धिमत्तापूर्ण प्रतिरोधले विश्वसम्राट्को सपना देखेको हिटलर आत्महत्या गर्न बाध्य भयो । दोस्रो विश्वयुद्धमा स्टालिनकै नेतृत्वमा हिटलरविरोधी मोर्चा कसेको अमेरिका उक्त युद्ध समाप्तिपछि सोभियत सङ्घविरुद्ध आमनेसामने भयो । शीतयुद्धको सुरुआत भयो । दोस्रो विश्वयुद्धकै प्रक्रियामा चीन, पूर्वी युरोपलगायत देशहरूमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न भए । शीतयुद्धका क्रममा चीन र सोभियत सङ्घका बीच आन्तरिक बहस पनि जारी रह्यो । स्टालिनको मृत्युपछि सोभियत नेतृत्व कमजोर र माक्र्सवादबाट विचलित भयो । सन् १९९० मा पुग्दा शीतयुद्धमा अमेरिकाले सोभियत सङ्घलाई नराम्रोसँग पराजित ग¥यो । सोभियत सङ्घको विघटन भएपछि अमेरिकाले ‘एकधु्रवीय विश्वव्यवस्था’ घोषणा ग¥यो । त्यस एकध्रुवीय विश्वव्यवस्थालाई समर्थन गर्ने दार्शनिक तथा विद्वान्हरूले उत्तरआधुनिक दर्शनको प्रतिपादन गर्न थाले । फुकुयामाजस्ता अमेरिकी साम्राज्यवादका पृष्ठपोषकले ‘इतिहासको अन्त्य र अन्तिम मान्छे’ लेखेर खुसीयाली मनाए । त्यो खेमाले ‘महावृत्तान्तको अन्त’, ‘इतिहासको अन्त्य’ भन्न थाल्यो । यो सबैको सार साम्यवादको अन्त्य भयो र अमेरिकाको ‘उदार प्रजातन्त्र’ अमर छ भन्ने हो ।

अमेरिकाको दुर्भाग्यको कुरा ११ सेप्टेम्बर २००१ मा अमेरिकाको जुम्ल्याहा घर एउटा हवाईजहाजको ठक्करमा परी गल्र्यामगुर्लुम भयो । उनीहरूको उत्तरआधुनिक र त्यसअनुरूपको एकध्रुवीय विश्वव्यवस्था पनि गल्र्यामगुर्लुम भयो । सोभियत सङ्घ ढल्नु भनेको पुँजीवाद नै ढल्नु थियो । विश्व बहुध्रु्रवमै रहिरहेको थियो र त्यसपछि झन् रहिरहेको छ । पुँजीवादी साम्राज्यवाद भनेकै आआफ्नो एकाधिकारका लागि धु्रवीकरण भइरहने खेल हो । वास्तवमा सन् २००० पछि पुँजीवाद साम्राज्यवाद अति एकाधिकारवाद र अति केन्द्रीकरणमा अघि बढिरहेको छ । यसलाई नवसाम्राज्यवाद, निगम पुँजीवाद वा महासाम्राज्यवाद पनि भन्न सकिन्छ । पृथ्वीको ७ अर्बभन्दा बढी जनसख्यामा ६ अर्ब ९७ करोड र करिब ७ करोडको सम्पत्ति बराबर छ । १ प्रतिशत र ९९ प्रतिशतबीचको भयङ्कर खाडल हो यो । १ प्रतिशतको नेतृत्व जेफ विजोस, बिल गेट्स, बारेन बफेट, अनान्सियो आर्टेग, मार्क जुकरबर्ग, बर्नडी अर्नाउल्ट, कार्लोस सिलिम हेलु, लारी एलिसन, चाल्र्स कोच र डेभिट कोच आदिले गरिरहेका छन् । उनीहरूका निगमहरूले नै विश्वमा अति एकाधिकार र अति केन्द्रीकरण कायम गरिरहेका छन् । यसले के स्पष्ट देखाउँछ भने मध्यम तथा निम्नमध्यमवर्गको कङ्गालीकरण गुणात्मक हुँदै एको छ । माक्र्स, लेनिन र माओका पालाका लाखौँ कार्टेल, सिन्डिकेट र ट्रस्टहरू सयौँको सङ्ख्यामा पुगेका छन् । प्राकृतिक स्रोत र बजार मुठीभरको कब्जामा छ र जबर्जस्ती गरिँदैछ । यसले के कुरा प्रस्ट पार्दछ भने उत्पीडित वर्गको सङ्ख्या बढ्दै गएको छ । तर यो सङ्ख्या मात्र पर्याप्त छैन । यो सङ्ख्या एउटा सही विचारधाराबाट निर्देशित भएर सङ्गठित हुर्नैपर्दछ ।

द्वितीयतः आजको विश्व अर्थतन्त्र उत्पादनमा विकेन्द्रित र वितरणमा केन्द्रित छ । माक्र्स, लेनिन र माओको पालामा यसको उल्टो थियो । यो वास्तवमा अति एकाधिकारवादी अर्थतन्त्र जोगाउन मजदुरलाई विकेन्द्रित र नाफा केन्द्रित गरिएको हो । माओकै पालासम्म पनि लाखौँ मदुरहरू एउटै कारखानामा काम गर्दथे । त्यसमा विविध वस्तुहरू निर्माण हुन्थे । एउटा सिङ्गै वस्तु एउटै कारखानामा बन्थ्यो । तर आज एउटा कार एउटै कारखानामा बन्दैन । त्यसको केही पाटपुर्जा इटलीमा, कुनै जर्मनीमा र कुनै जापानमा बन्दछन । अर्को कुनै देशको कारखानामा गएर त्यसको पूर्ण रूपमा निर्माण हुन्छ । उत्पादित विविध मालहरू भने एउटै मल, एउटै महाबजार र एउटै छानोमुनि पाइन्छन् । यहाँ एउटा कुरा के बुझ्नुपर्दछ भने विकेन्द्रित उत्पादनको साहू भने केन्द्रीकृत नै हुन्छ । माइक्रोसफ्ट कम्पनीका पार्टपुर्जाहरू जतिसुकै देशमा निर्माण भए पनि त्यसको मूल साहू भने बिल गेट्स नै हुन्छ । निगम, मल र महाबजारहरूले खुद्रा पसल छोडिदिऊँ, मझौला बजार पनि निल्दै जान्छन् । चीनसमेतले लागू गरेको खुला बजार अर्थतन्त्र भनेको पनि यही हो । खुला बजार अर्थतन्त्र भनेको ‘जसको लाठी उसकै भैँसी’ हो । अरू सबै दुर्बलहरूलाई गरिखानु न मरिजानु बनाइदिन्छ यस दैत्यले । यसले वास्तवमा मजदुर किसान र सिपाहीको पङ्क्तिमा मध्यमवर्गबाट ओरालो लागेकाहरू थपिएका छन् । साम्यवादीहरू परम्परावादी नहुने हो भने कारखाना र खेतहरूमा मात्र होइन, निगम, मल र महाबजारका कर्मचारीकहाँ पनि पुग्न जरुरी छ । ती भिन्न रूपमा मजदुरहरूकै जारी रूप हुन् ।

तृतीयतः माक्र्स, लेनिन र माओको समयमा राजनीतिले अर्थतन्त्रको नेतृत्व गर्दथ्यो तर हाम्रो जमानामा अर्थतन्त्रले राजनीतिको नेतृत्व गर्दैछ । रूपमा र औपचारिकतामा राजनीतिलाई शीर्षमा राखिएको हुन्छ तर सारमा र अनौपचारिक रूपले अर्थतन्त्रको आदेशमा राजनीति चलिरहेको हुन्छ । आफ्ना निजी निगमहरूको रक्षा गर्न रियल स्टेटका मालिक अमेरिकी राष्ट्रपति भएको र हिलारी क्लिन्टनले हारेको त कसैले बिर्सेको छैन । नेपालको स्थानीय, प्रदेश र सङ्घीय चुनावमा समग्र रूपले विचार गर्दा ७५ प्रतिशत धनाढ्य र ठेकेदारहरूले जितेका छन् । राजनीतिमा अर्थतन्त्र हाबी भैसकेपछि त्यहाँ सर्वसाधारण, उत्पीडित र गरिब जनताको जीवनस्तर उठाउने कुरा, निष्पक्ष न्याय दिने कुरा, विकास निर्माण गर्ने कुरा कुरामै सीमित हुन्छन् र सारमा निजी सम्पत्तिमा नाफा आयो कि आएन भन्ने कुरा नै प्रमुख हुन्छ । त्यति मात्र होइन, अति एकाधिकारवादी पुँजीवाद उत्पीडित वर्गको पार्टीमा उडुसजसरी घुस्छ र क्रान्तिकारी आन्दोलन विघटन हुन्छ । हामीले विश्व–साम्यवादी आन्दोलन र नेपाली साम्यवादी आन्दोलनबाट यो शिक्षा लिइसकेका छौँ । पुँजीवादी साम्राज्यवादले क्रान्तिकारी नेताहरूलाई पनि बजारको माल बनाइदिन सक्दोरहेछ । यसबाट कसरी बच्ने र बचाउने क्रान्तिकारीहरूले क्रान्तिकारी ढङ्गले सोच्न र अध्ययन गर्न जरुरी छ । यो सच्चा साम्यवादी पार्टीका लागि गम्भीर चुनौती हो ।

चर्तुथतः आजको उत्पादक शक्तिमा विज्ञान र प्रविधि पनि जोडिएर उत्पादन र विकास तीव्र बनेको छ । त्यसकारण आजको उत्पादक शक्ति भनेको उत्पादनका साधन र ती साधन सञ्चालन गर्ने मानिस मात्र होइन, बरु यी दुईमा विज्ञान र प्रविधिलाई पनि जोड्नुपर्दछ । यसले गर्दा उत्पादन र विकास निर्माण तीव्र र व्यापक बनेको छ । तर यससँग मेल नखाने उत्पादन सम्बन्ध रहेको छ । त्यो अति एकाधिकारवादी स्वामित्व हो । विज्ञान र प्रविधि जोडिएको उत्पादक शक्तिले जति धेरै उत्पादन गरे पनि पुँजीपतिहरूले अतिरिक्त नाफा नलिईकन माल वितरण गर्दैनन् । अमेरिकामा जति लाख क्विन्टल अतिरिक्त गहुँ उत्पादन भए पनि सोमालियामा जनता भोकभोकै चाम्रिएर मर्दछन् । चितवनमा जति धेरै धान फले पनि इच्छाकामना गाउँपालिकाका चेपाङहरू भोकभोकै मर्दछन् । निजी सम्पत्तिमा आधारित जुनसुकै व्यवस्थाको परिणाम योभन्दा राम्रो हुन सक्तैन । आजको विश्वको मोटामोटी राजनीतिक अर्थशास्त्र यही नैै हो ।

ख) यहाँ यस आलेखको सिरानीमै कार्ल माक्र्सको उद्धरण उद्धृत गरिएको छ । साम्यवाद भनेको इतिहासको रहस्य समाधान हो र साम्यवादीले इतिहासको रहस्य समाधान गर्नुपर्दछ । त्यो इतिहासको रहस्य भनेको आफ्नो समयको मूल अन्तरविरोधको समाधान गर्ने कुरा हो । माक्र्सले सैद्धान्तिक रूपमा सामूहिक उत्पादन र व्यक्तिगत स्वामित्वबीचको अन्तरविरोधलाई हल गर्न वैज्ञानिक समाजवाद र साम्यवादको संश्लेषण गर्नुभयो । लेनिन र माओले यसलाई प्रयोग र विकास गर्नुभयो । लेनिन र माओले प्रयोग र विकास गरेको विचारधारा विकास गरेर मात्र आजको अति एकाधिकारवादी र अति केन्द्रित निगम पुँजीवादले खडा गरेका अन्तरविरोहरू हल गर्न सक्दछौँ । यसरी मात्र साम्यवादी आन्दोलनको गतिमन्दतामा क्रमभङ्ग गरेर वैज्ञानिक समाजवाद हुँदै वैज्ञानिक साम्यवाद प्राप्त गर्न सक्दछौँ ।

प्रथमतः आजको विश्वको प्रधान अन्तरविरोध भनेको उत्पीडित राष्ट्र र निगम साम्राज्यवादका बीचकै अन्तरविरोध हो । साम्राज्यवाद र साम्राज्यवाद, साम्राज्यवाद र समाजवाद, श्रम र पुँजी, क्रिस्चियन र पश्चिमा साम्राज्यवादी र मुस्लिम राष्ट्रहरू, दलाल पुँजीवाद र उत्पीडित जनताबीचका अन्तरविरोधहरू र विश्व–परिस्थितिलाई नियाल्दा राम्रोसँग देख्न सकिन्छ । सारमा उत्पीडित राष्ट्र र निगम साम्राज्यवादकै बीचको अन्तरविरोध प्रधान भए पनि सतहमा साम्राज्यवाद र साम्राज्यवादका बीचको अन्तरविरोध चर्केर गएको छ । यसलाई आजको परिस्थितिमा मूर्त गर्दा पुरानो साम्राज्यवाद र नवसाम्राज्यवादका बीचको अन्तरविरोध पनि भन्न सकिन्छ । नेपोलियनको समयमा पूर्वमा सुतेको ड्रागन आज ब्युँझेको छ । ब्युँझेको मात्र छैन, विश्वमा एकछत्र कालो साम्राज्य फैलाएको पुरानो साम्राज्यवादी अमेरिका सन् २००८ को आर्थिक सङ्कटमा पर्दा उसको १० खर्ब अमेरिकी डलरबराबरको टे«जरी बिल तिरिदिएर बैगुनीलाई गुनले मारेको थियो । तर अमेरिकाले भने ट्रम्पको नेतृत्वमा यो गुण बिर्सिसकेको छ । २०१६ मा ट्रम्पले आफ्नो कार्यकाल सुरु हुनेबित्तिकै क्रान्तिकारीहरूको शब्द सापट लिएर रुस र चीनलाई संशोधनवादी भन्न पनि पछि परेनन् । त्यसपछि व्यापारयुद्ध सुरु भयो । एक अर्काको मालमा व्यापक कर बढाउन थालियो । अमेरिकाको एप्पल मोबाइल कम्पनीको प्रतिस्पर्धामा आएको हुवावेलाई अमेरिका र युरोपबाट हटाउने प्रयत्न गरियो । युरोपेलीहरूले त अमेरिकाको आदेश मानेनन् । भेनेजुयलाको तेल कम्पनीमा चीनको ठूलो लगानी देखेपछि अमेरिकाले त्यहाँ निर्वाचित राष्ट्रपति नै अपदस्थ गर्न खोज्यो तर चीनले पनि आफ्नो विशेष शक्ति प्रयोग गर्ने देखेपछि पछि हट्यो । वर्षौंदेखि दक्षिण चीन सागरमा दुई महाशक्तिबीच विवाद चलिरहेको छ । अफिम युद्धमा गुमेर पुरानो साम्राज्यवादी बेलायतको कब्जामा गएको हङकङ ९७ वर्षपछि चीनले फिर्ता लियो । तर आज फेरि त्यसलाई टुक्र्याउन र चीनलाई अर्थतन्त्रमा कमजोर बनाउन अमेरिका र बेलायतले त्यहाँ आठ महिना लामो ‘लोकतन्त्र’ का नाममा दङ्गाफसाद उक्साइरहेका छन् । अर्को चीनको भूभाग र स्वशासित ताइवानलाई अमेरिकाले अर्बौं अमेरिकी डलरबराबरको हतियार बेचिरहेको छ । यता नेपाललाई अखडा बनाएर दलाई लामाको सहारा लिई तिब्बततिरबाट हमला गर्ने योजनामा जोडतोडले लागेकै छ अमेरिका । चीनका राष्ट्रपति सी चिनफिङले एउटा बृहत् योजना एक पाटो एक बाटो पहलकदमी ल्याएर विश्वमा एउटा तरङ्ग ल्याइसकेपछि हतारहतार अमेरिकी राष्ट्रपतिले पनि ‘हिन्द–प्रशान्त रणनीति’ ल्याएका छन् । यो वास्तवमा उत्तर एट्लान्टिक सन्धि सङ्गठनकै जारी रूप हो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले यही वर्षको कात्तिक २४ र २५ गते नेपाल भ्रमण गरेको समयमा नेपालका प्रधानमन्त्रीसँग कुराकानीका सन्दर्भमा उनले भनेको एउटा कुरा उल्लेखनीय र सान्दर्भिक छ जुन ‘चीन ग्लोबल टेलिभिजन नेटवर्क’ लगायत संसारका नामी सञ्चारमाध्यमले प्रसारण गरेका थिए । उनले भनेका छन, ‘चीनको कुनै पनि भागलाई टुक्र्याउन खोज्ने जोकोहीको शरीर पातालमा धस्सिनेछ र हड्डीहरू चकनाचुर हुनेछन् । कुनै बाह्य शक्तिले चीनलाई विभाजन गर्ने प्रयत्न गर्दछ भने चिनियाँ जनताले त्यसलाई दिवासपना बनाउनु आफ्नो कर्तव्य ठान्नेछन् ।’

उपर्युक्त तथ्यहरूले मात्र पनि के बताउँछन् भने चीन र अमेरिकाबीचको अन्तरविरोध आज विस्फोटक बनेको छ । तर अहिले नै दुवै देश सैनिक युद्धमा गैहाल्ने मनस्थितिमा छैनन् । चीन, रुस, उत्तरकोरिया, अफ्रिका, दक्षिणअमेरिकाको अमेरिकाप्रति सकारात्मक दृष्टिकोण देखिँदैन भने अमेरिका, बेलायत, जापान र दक्षिणकोरियाको चीनप्रति यस्तै देखिन्छ । हामीले यसबाट यो निष्कर्ष निकाल्न सक्दछौँ– यो अन्तरविरोधले तेस्रो विश्वयुद्ध भयो भने त्यसलाई विश्वक्रान्तिले मात्र रोक्नेछ । यसकारणले– विश्वयुद्ध अति एकाधिकारवादीहरूको लडाइँ हो भने विश्वक्रान्तिचाहिँ एकाधिकारको अन्त्य र सामूहिक उत्पादनको सामूहिक स्वामित्व भएको वैज्ञानिक साम्यवाद हो ।

द्वितीय : आजको विश्वका ठूला अति एकाधिकारवादी निगम साम्राज्यवादी र तिनको दलाली गर्नेहरूले आफ्नो राष्ट्रलाई महान् बनाउने, आफ्नो देशलाई नै महान् वस्तु उत्पादन गर्ने नारा दिइरहेका छन् र राष्ट्रपति तथा प्रधानमन्त्री चुनिएका छन् । यो वास्तवमा हिटलरी फासिवादमा प्रतिगमन हो । दुनियाँमा आफ्नो मात्र माल बजार र माल उत्पादन गर्ने कच्चा पदार्थ कब्जा गर्ने अति एकाधिकारवादको तयारी हो । योखाले राष्ट्रवाद भनेको अन्धराष्ट्रवाद हो । अन्धराष्ट्रवाद पनि अन्ततः फासिवाद नै हो । डोनाल्ड ट्रम्पको राष्ट्रवाद भनेको काला जातिहरूमाथि गोराहरूको हैकम, मुस्लिम आप्रवासीहरूलाई आतङ्ककारीका नाममा आफ्नो देशबाट लखेट्नु, मेक्सिकोलाई आफ्नो सिमाना सुरक्षाका लागि पर्खाल लगाउन जबर्जस्ती कर गर्नु, आईएसआईएस लडाकुहरूलाई संरक्षण गर्नु, इरानका सैनिक जनरल सुलेमानीको डोन आक्रमणमा पारी हत्या गर्नु, स्वतन्त्र राष्ट्र इराकलगायत देशहरूमा आफ्नो सेनाका शिविरहरू खडा गरी आतङ्क फैलाउनु आदि हो । भारतका प्रधानमन्त्री मोदीको राष्ट्रवाद भनेको सन् १९४७ तिर नै स्वतन्त्र राष्ट्र जम्मु–कस्मिरलाई हडपेकाले नपुगी अलिकति बचेखुचेको अधिकारलाई खोसेर कफ्र्यु लगाउनु र सूचना–सञ्चारमा बन्देज लगाउनु, मुस्लिमहरूलाई नागरिकता पाउनबाट वञ्चित हुने गरी नागरिकता विधेयक पारित गर्नु, नेपालका कालापानी, लिम्पियाधुरा र लिपुलेक आफ्नो नक्सामा राख्नु र कालापानीमा आफ्नो सेनाको आधारशिविर कायम राख्नु, भारत सरकारको गलत क्रियाकलापको विरोध गर्ने बौद्धिक समुदाय र विद्यार्थीमाथि हिन्दु गुण्डा दल बनाएर विश्वविद्यालयभित्रै छापामार आक्रमण गर्न लगाउनु आदि हुन् । बेलायती प्रधानमन्त्री जोन्सनको राष्ट्रवाद भनेको जेठो दाजु ट्रम्पको आदेशअनुसार चल्नु, बेलायतलाई युरोपेली सङ्घबाट हटाएर अमेरिकी गठबन्धनमा जानु र आइरिस राष्ट्रियतामाथि दमन गर्नु आदि हो । यी सबै कुराले यी राष्ट्रवादीहरूको राष्ट्रवाद भनेको आफ्नो निहित स्वार्थ बलियो पार्न अरू स्वतन्त्र राष्ट्रहरूमाथि दमन र अत्याचार गर्नु हो । यो सबै गतिविधि उत्पीडित राष्ट्रहरूमाथिकै दमन हुन् । अरू राष्ट्रमाथि दमन गर्ने राष्ट्र स्वयम् कहिल्यै पनि स्वतन्त्र हुन सक्तैनन् । यो अन्धराष्ट्रवाद र यो फासिवादका विरुद्ध विश्वका उत्पीडित राष्ट्र र शोषित जनताहरू एकजुट भएर लड्नुको विकल्प छैन ।

तृतीय : आज अति एकाधिरकावादी निगम पुँजीवादी शासकहरूले आफ्नो साम्राज्य र शोषण कायम गर्न धर्मलाई बलियो हतियार बनाएका छन् । क्रिस्चियन ट्रम्पले राष्ट्रपतिको शपथ लिँदा दुईवटा बाइबल शिरमा लिएर ढोग दिए । एउटा बाइबल राज्यले दिएको र अर्को बाइबल उनकी आमाले दिएको हो । मोदीले प्रधानमन्त्री चुनावको अन्तिमका केही दिन केदारनाथको गुफामा ध्यान गरेर बिताए । उनी प्रधानमन्त्री भएपछि भारतीय अदालतले राम मन्दिर कि बाबरी मस्जिदको विवाद फैसला ग¥यो र त्यहाँ राममन्दिर नै रहेको फैसला ग¥यो । युरोपेली र अमेरिकाली पुँजीवादी शासकहरूले धर्मलाई राज्यसत्ताको मामलाबाट नै अलग गरेर नै सामन्तवादमाथि पुँजीवादको विजय भएको हो भन्ने इतिहास बिर्सेका छन् । आज पुँजीवादी राज्यसत्ता बदनाम भएपछि त्यसलाई टिकाउन रहस्य र भ्रमले भरिएको धर्मको सहारा लिएका छन् उनीहरूले । त्यसैले माक्र्सले भनेका छन्, ‘अस्तित्ववान् राज्य मामलासँग सम्बन्धित भ्रमहरू परित्याग गर्ने माग गर्नु भनेको भ्रमहरूको आवश्यकता पर्ने राज्यकै परित्याग गर्नु हो ।’ आज सबै धर्मावलम्बी शासकहरू विज्ञान प्रविधिको प्रयोग गरी धार्मिक भ्रम फैलाउन तल्लीन छन् । साम्यवादी आन्दोलनको गतिमन्दता, साम्यवादी नेताहरूको गद्दारी र जनतामा रहेको अन्धविश्वासले धार्मिक रूढिवादको फलहीन फूल फुल्ने जमिन तयार भएको छ । अमेरिकी शासकहरूले अर्काको देशको राष्ट्रपति, प्रधानमन्त्री, कमान्डर र विद्रोही नेता मार्दा ईश्वरको आदेशमा राक्षस मारेर जनतालाई मुक्ति दिलाएको घोषणा गर्दछन् भने आफ्नो सिपाही मारिँदा पनि ईश्वरको दूत मारिएको भनी अरण्यरोदन प्रकट गर्दछन् । त्यसकारण धर्म आज शासकहरूको अपराध लुकाउने मत्स्यकन्याको बलात्कार गर्ने परासर ऋषिको कुहिरो साबित भएको छ । क्रिस्चियन चर्च, हिन्दुहरूका विभिन्न औतारी सङ्गठन, मुस्लिमहरूका मस्जिद र बौद्ध गुम्बाहरू साम्राज्यवादका गुप्तचर अङ्ग तथा शासन टिकाउने हतियार बनेका छन् । अरूको सेवा गर्ने र प्रकृतिको सेवाप्रति आभार प्रकट गर्ने कुराबाट सुरु भएको धर्म आज जनता दबाउने साधन र शासकहरूको साध्य पूरा गर्ने तरिका बनेको छ । हाम्रो देशका तथाकथित साम्यवादी दलका नेताहरू पुरानै सत्तामा पुगेर त्यसलाई टिकाउन कालो बोको दक्षिणकालीमा चढाउँछन् । यौनपिपासु बाबाको आदेशमा भैँसीपूजा गर्दछन् । कथित जिसस क्राइस्टकी अवतारको हातबाट शुक्राणु घोलिएको पवित्र जाँडको प्रसाद ग्रहण गर्दछन् । तिनले दुईवटा भ्रम दिएका छन् ः एउटा साम्यवादी भएको र अर्को साम्यवादी पनि धार्मिक हुनुपर्ने भ्रम । त्यसकारण अहिलेको विश्वको तेस्रो विशेषता भनेको धार्मिक भ्रमको कुहिरोमा जनतालाई राखेर आफू मस्तसँग अति एकाधिकारवादी निगम साम्राज्यवाद र दलाल पुँजीवादी राज्यसत्ता कायम गर्नु हो ।

ग) आज अति एकधिकारवादी निगम पुँजीवादी र तिनका दलालहरू मौसम परिवर्तन भएको र वातावरण संरक्षण गर्नुेपर्ने नारा दिइरहेका छन् । यो ‘दूधको साक्षी बिरालो’ भएजस्तै हो । ठूला खानी उत्खनन गर्ने, आणविक भट्टीहरू निर्माण गर्ने, नाफाका लागि जल, जमिन, जडीबुटी र जनावरहरूको दोहन गर्ने यी आफैँ हुन् । हामीले संसारको अति एकाधिकारवादी पुँजीवाद र उसका पृष्ठपोषकहरूको भरोसामा प्रकृति र वातावरणको संरक्षण गर्ने जिम्मा दियाैँ भने पृथ्वी एउटा विशाल मरुभूमि बन्नेछ, हामी यहीँ छट्पटाउनेछौँ । अति एकाधिकारवादी पुँजीवादीहरूको एउटा टोली र धनाढ्य शासकहरू मङ्गल र चन्द्रमामा पुगेर ऐस गर्नेछन् । एकाधिकारवादी पुँजीवादी अस्टे«लियाका शासकहरूले अमेजनको आगो निभाउन नसक्दा ‘आफैँ त महादेव उत्तानो पर, कसले देला वर’ चरितार्थ भएको छ । वातावरण संरक्षणका लागि भनेर उनीहरूले गोष्ठी तथा सम्मेलनहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा आयोजना गरिरहेका छन् । त्यसमा जनताको राजस्वबाट अर्बौं डलर लिएर उनीहरूले दावत उडाइरहेका छन् । आणविक भट्टी हटाउन कोही तयार छैनन् । फोहोर व्यवस्थापन गर्न पनि कोही तयार छैन । त्यसकारण शोषित–उत्पीडित जनता स्वयम् आफ्नो वातावरणको संरक्षण गर्न आफैँ तयार हुनुपर्दछ ।

३. उत्पीडित वर्गको कार्यभार

प्रथमतः उत्पीडित वर्ग र उसको अग्रदस्ता साम्यवादी दल माक्र्सवाद–लेनिनवाद– माओवादबाट प्रशिक्षित हुनुपर्दछ । यतिले मात्र पुग्दैन, बरु यसमा वर्तमान परिस्थितिको विश्लेषण गरी नयाँ ज्ञान आविष्कार गर्नुपर्दछ किनभने माक्र्स, लेनिन र माओ स्वयम् जडसूत्रवादी हुुनुहुन्नथ्यो । आफ्नो सिद्धान्तलाई कामकारबाहीको पथप्रदर्शक र विकासशील तथा गतिशील सिद्धान्त भन्नुभएको थियो । माक्र्सले भनेको मूलभूत कुरा सही भए पनि लेनिनको क्रान्तिमा सबै लागू भएन एवम् त्यसले मात्र पुगेन । यसैगरी लेनिनवादको मूलभूत सिद्धान्त वैज्ञानिक भए पनि सबै कुरा माओको चिनियाँ क्रान्तिमा लागू भएन र उहाँले माक्र्सवाद लेनिनवादलाई क्रान्तिको भट्टीमा लागू गर्दा थप सिद्धान्तको आवश्यकता पर्यो र माओवाद बन्यो । त्यति मात्र होइन, उहाँले राजनीतिक क्रान्ति जितेर मात्र हुँदैन, बरु सांस्कृतिक क्रान्तिमा पनि विजयी हुनुपर्ने बताउनुभएको थियो । त्यसकारण मालेमावाद भनेको राजनीतिक क्रान्ति मात्र होइन, बरु आर्थिक तथा सांस्कृतिक क्रान्ति पनि हो ।

द्वितीयतः साम्यवादलाई सुदूरभविष्यको विषय बनाउनु हुँदैन, बरु आफ्नै जीवन व्यवहारको विषय बनाउनुपर्दछ । साम्यवादी दलको कुनै पनि सदस्यले यो कुरा ग्रहण गर्दैन भने ऊ साम्यवादी पार्टीको सदस्य हुन लायक छैन । साम्यवादलाई आफ्नै जीवनको विषय ठानेर आचरण गर्ने सदस्यहरूको अग्रदस्ता नै साम्यवादी दल हो । साम्यवादी दलको सदस्यले सर्र्वप्रथम आफैँबाट र आफ्नै परिवारबाट साम्यवाद लागू गर्न थाल्यो भने मात्र साम्यवाद पृथ्वीमा छिटो आउन सक्छ । माथि विश्वपरिस्थितिमा जेजति विश्लेषण गरिएको छ त्यहाँ अति एकाधिकारवादी निगम साम्राज्यवादमा पुँजीवादीहरू मात्र सामेल छैनन, बरु पूर्वसाम्यवादीहरू सामेल छन् । हाम्रो चिन्ताको मूल विषय के हो भने अबको अति एकाधिकारवादी पुँजीवाद सङ्कटग्रस्त हुने त निश्चित छ तर यसको विकल्प दिन सक्ने साम्यवादी आन्दोलन कसरी तयार पार्ने हो । यो सङ्कटग्रस्त पँुजीवादको विकल्प अहिलेसम्म अर्को देखिएको छैन । साम्यवादी कसरी बन्ने ? एउटा साम्यवादीले एउटा प्रश्नको जबाफ दिनैपर्छ । यसका लागि सजिलो विधि छ । सर्वप्रथम कुनै साम्यवादी दलको एक इकाइका सदस्यहरूले आ–आफ्नो सम्पत्तिलाई हाम्रो भन्ने साहस गर्नुपर्दछ । यो कुरा शब्दमा स्वीकार गर्न त सजिलो छ कर्ममा लागू गर्न धेरै गाहो छ । अब परिवारलाई वैज्ञानिक समाजवादको एकाइ बनाउने कोसिस गर्नुपर्दछ । हजारौँ यस्ता साम्यवादी परिवार नमुना रूपमा प्रस्तुत भए भने यसको विश्वव्यापी प्रभाव पर्दछ र विश्व–साम्यवादी आन्दोलन बन्दछ । यस्ता नमुनाहरूले विचारधारात्मक, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा नमुना बनाउनुपर्दछ ।

तृतीयः जबसम्म समाजमा दुई विपरीत वर्ग अत्यल्पसङ्ख्यक उत्पीडक र बहुसङ्ख्यक उत्पीडित अस्तित्वमा रहन्छन् तबसम्म नमुना समाज, नमुना परिवार र नमुना संस्थाहरू सुरक्षित रहँदैनन् । आजको विश्वको अति एकाधिकारी पुँजीवादले आफ्नो नियन्त्रणमा लिएको विज्ञान र प्रविधि पनि यी नमुना निमोठ्न प्रयोग गर्दछ । तर विज्ञान प्रविधि एकहाते र एकआँखे छैन । वैज्ञानिकहरू समाजका सेवक भएकाले उनीहरू वैज्ञानिक समाजवाद र साम्यवादका सेवक हुन्छन् र त्यसका लागि उनीहरूलाई वैज्ञानिक दर्शनले पनि सुसज्जित गर्न जरुरी छ । वैज्ञानिकहरू र वैज्ञानिक आविष्कार कहिल्यै पनि साम्यवादको दुस्मन भएको छैन । थियोडर स्वान र मेथियाज स्लेइडेनको जीवकोषको सिद्धान्त; जेम्स जुल, मायर र एमिल लिन्जद्वारा प्रतिपादित ऊर्जा अविनाशिता र रूपान्तरणको सिद्धान्त र डार्विनको जीव विकासको सिद्धान्तले माक्र्सलाई माक्र्सवादको पुष्टि गर्न, आइन्सटाइनलगायतको सापेक्षताको सिद्धान्तले लेनिनलाई लेनिनवादको विकास गर्न र क्वान्टम यान्त्रिकीको सिद्धान्तले माओलाई माओवाद संश्लेषण गर्न महान् योगदान पुर्याएका थिए । मैले यहाँ विज्ञान प्रविधिको साम्यवादी नमुनाका विरुद्ध प्रयोग गरिन्छ भन्न मात्र खोजेको होइन, बरु मुख्यतः पुरानो राज्यसत्ता यसका विरुद्ध विविध उपायद्वारा विघटनका लागि लागिपर्दछ भने हामीले रक्षा र विकास पनि यससँग सङ्घर्षद्वारा गर्नुपर्दछ । पुरानो अति एकाधिकारवादी राज्यसत्ता र यसको दलालका रूपमा रहेको राज्यसत्ताका विरुद्ध पनि साम्यवादीहरूले नयाँ–नयाँ उपायहरूको विकास गर्न जरुरी छ । आफ्नो रक्षा दस्ता र रक्षाबलको नयाँ रूपमा विकास गर्नुपर्दछ ।

चतुर्थतः अति एकाधिकारवादी निगम पुँजीवादका काला कर्तूतहरूलाई विश्व जनसमुदायमाझ भण्डाफोर गरी साम्यवादी बाटो स्पष्ट पार्न प्रचारप्रसार अभियान तीव्र बनाउनुपर्दछ । डिजिटल प्रविधिलाई उपयोग गरेर हामीले साम्यवादी सामग्रीलाई संसारका उत्पीडित जनताका बीचमा पुर्याउन जरुरी छ । माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन, माओ, होचि मिन्ह, चे ग्वेभारा र किम इल सुङका मूल रचनाहरूलाई शोषित–उत्पीडितको पहुँचमा पुर्याउने कोसिस गरौँ । कतिपय साम्यवादी खोल ओढेका बुख्याँचाहरूले भनेझैँ यी थोत्रा ग्रन्थहरू होइनन्, बरु समग्र विज्ञानको विज्ञान हुन् । यी ग्रन्थहरू बाइबल, कुरान, त्रिपिटक, गीता, महाभारत र वेदभन्दा तीन हजार वर्ष कान्छा हुन् । मैले यहाँ भन्न खोजेको कुरा के हो भने अति एकाधिकारवादी निगम पुँजीवादलाई परास्त गर्न मालेमावादको मूलपाठमा आधारित आफ्नो समयको संश्लेषणलाई बहसमा लैजाऔँ । साम्यवादीहरू रक्षात्मक अवस्थामा रहेको बेला आक्रमणको मूल हतियार नै प्रचारप्रसार हो । यसको बाधकका रूपमा रहेका संशोधनवादी र नवसंशोधनवादी गद्दारहरूको पनि भन्डाफोर गर्न जरुरी छ । एउटा साम्यवादी प्रचारक हजाराैँ डलरवादी प्रचारकहरूभन्दा शक्तिशाली हुन्छ र हुनुपर्दछ किनभने उसले झूटको होइन, सत्यको प्रचारप्रसार गर्दछ । साम्यवादी बुद्धिजीवी, लेखक, कलाकार, सिनेकर्मी, प्राध्यापक र शिक्षकहरूले कलम र कम्प्युटर चलाउनु पर्दछ । हामी कति दिन बुर्जुवाहरूका कुहिएका, षड्यन्त्रकारी र दलालीको पराकाष्ठा टेलिभिजन, रेडियो, मुद्रण सञ्चारमा सुनेर वा लेखेर बस्ने ? पुराना र नयाँ सामग्रीको अध्ययन गरौँ र नयाँ विचारका लागि बहस गरौँ ।

पञ्चमतः साम्यवादीहरूले साम्यवादमा पुग्नका लागी प्रकृति संरक्षण र विकासमा एउटा प्रभावकारी आन्दोलन चलाउन जरुरी छ । पहिलो कुरा त साम्यवाद भनेको घनघोर हरियाली र कञ्चन नदीको नजिकै साम्यवादीहरूको मात्र समग्र मानव जातिले श्रम गर्ने कारखानाहरू भएको, अलिमाथि लता–लहराको बीचमा रहेको फूल फुलेजस्तो सहर र गाउँ भएको, त्योभन्दा हिमालतिर फर्केका बस्तीमा लटरम्म स्याउ फलेको, हरेक सहरको र गाउँको अलिकति पर दूध, मासु र मल दिने पशुशालाहरू भएको, हिमालयहरूमा टन्न हिउँ जम्मा हुने, ठूलाठूला

बनकुञ्जहरूमा जनावर र चराचुरुङ्गीहरू निर्धक्क रमाउन र खेल्न पाउने, हरेक समाज, गाउँ र सहरका भकारीहरू अन्नले भरिभराउ भएको, कसैले पनि के खाऊँ, के लगाऊँ भन्ने स्थिति नै हुन नदिने, साहित्य, कला एवम् सौन्दर्यात्मक विषयहरू मानव जातिको उन्नति–प्रगतिका लागि जति पनि सिर्जना गर्न पाइने, यी सबै कुराको व्यवस्थापन र निर्देशन नयाँ कम्युनले गर्ने व्यवस्था हो । यसको समग्र आधार नै प्रकृति हो । त्यसकारण माक्र्सले भन्नुभएको छ, ‘…साम्यवाद पूर्ण रूपले प्रकृतिवादमा विकास भएर मानवतावाद समान हुन्छ र मानवतावाद पूर्ण रूपले विकास भएर प्रकृतिवाद समान हुन्छ ।’

–१८४४ का आर्थिक तथा दार्शनिक पाण्डुलिपिहरू, पृ. ९० ।

अतएवः आज उत्पीडित वर्गले साम्यवादी दर्शनद्वारा लैस भएर आजैदेखि साम्यवादको यात्रा आरम्भ गर्नुपर्दछ । यसलाई सुदूरभविष्यको विषय होइन, हाम्रै जीवन व्यवहारको विषय बनाएर तयारीमा रहनुपर्दछ । विश्वपरिस्थितिले अति एकाधिकारी निगम पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद हुँदै साम्यवादको स्थापनाका लागि हरियो झन्डा देखाइदिएको छ ।