जनसमुदायबीच रामेछापमा भव्य रूपमा मनाइयो २५ औँ जनयुद्ध दिवस

रामेछाप : नेकपा रामेछापले जनसमुदायबीच २५ औँ जनयुद्ध दिवस मनाएको छ । पार्टीस्रोतले दिएको जानकारीअनुसार जिल्लाको खाँडादेवी गाउँपालिका ७ स्थित थानसिंमा जनयुद्ध दिवस मनाइएको हो ।
प्राप्त जानकारीअनुसार कार्यक्रमका प्रमुख अतिथि रहेका पार्टीका जिल्ला इन्चार्ज एवम् ब्युरो सदस्य चैतन्यले सर्वहारा वर्गको मुक्तिका लागि लडिएको महान् जनयुद्धको मूल नेतृत्वलाई पुँजीवादले किनेपछि देश र जनतालाई धोका भएको र जनताको मुक्तिका लागि दलालहरूसँग विद्रोह गरी नेकपाले एकीकृत जनक्रान्ति सञ्चालन गरेको बताए । एकीकृत जनक्रान्तिले दलाल पुँजीवादी सत्तालाई विस्थापित गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने भएकाले यो क्रान्तिमा लामबद्ध हुन उनले सबैलाई आह्वान गरेका थिए ।
कार्यक्रममा जनपरिषद् रामेछापका प्रमुख सुमनले दलाल पुँजीवादी व्यवस्थाले जनतालाई झुक्याइरहेको र देशको अस्मिता लुटिरहेको बताए । उनले यो सत्ताले देश, श्रमिक जनता कसैको पनि भलो नगर्ने भएकाले एकीकृत जनक्रान्तिमार्फत देशमा वैज्ञानिक समाजवाद स्थापना गरिने उद्घोष पनि गरे ।
गाउँपालिकाका पार्टी इन्चार्जसमेत रहेका जिल्ला सदस्य पुष्पको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन जिल्ला सेक्रेटरी लालध्वजले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :