कांग्रेस–एमाले हात्ती, माके माउते हो भने मालिक को ? – भुसाल

bhesraj bhusalभेषराज भुसाल
दलाल संसदीय व्यवस्थाको नौटङ्कीरूपी स्थानीय निर्वाचनमा संसदीय दलाल पार्टीका नेताहरू भन्न हुने र जानेजति व्यङ्ग्यवाण हान्दै एक अर्काको हुर्मत लिन लागिपरेका छन् । नेपालले भोगेको सीमा अतिक्रमण, बेचिएका नदीनाला, युवाहरूको विदेश पलायनजस्ता विषय कसैको भाषणमा देखिँदैनन् । यहीक्रममा नेपालको पूर्वीभेगमा भएको एक सभामा माकेका अध्यक्ष प्रचण्डले बडो गर्वका साथ घोषणा गरेछन् कि “एमाले कांग्रेस हात्ती हुन् भने माके माउते हो ।” अरूलाई व्यङ्ग्यवाण हान्दा आफ्नो धोती खुस्केको समेत पत्तो पाउँदैनन् संसदीय नेताहरू । उनीहरूको एक मात्र उद्देश्य हुन्छ कि प्रतिपक्षको क्षणिक रूपमा कसरी उछितो काढ्ने र धेरैभन्दा धेरै जनतालाई भ्रममा पारी आफूतिर आकर्षित गरी निर्वाचन जितेर सत्ताको भोगचलन गर्ने । प्रचण्डले आफूलाई माउतेको उपमा दिएर भीमकाय हात्तीलाई उठबस गराउन सक्ने हैसियतमा छु भन्न खोजेको प्रस्टै बुझ्न सकिन्छ । उपर्युक्त भनाइले एकातर्फ माकेको राजनीतिक चतु¥याइँ भएको र उनै संसदीय रङ्गमञ्चको प्रमुख र निर्णायक खेलाडी रहेको भनी माकेजनहरूलाई आत्मरति लिन र ताली बजाउन केही मसला त मिल्यो होला तर उनैको भनाइलाई मान्ने हो भने कांग्रेस, एमाले हात्ती हुन् र माके माउते हो भने मालिक को हो ? हात्ती कुनै मालिकको निजी सम्पत्ति होलान् भने माउते त मालिककै नोकर नै हो किनभने मालिकले माउतेको काम गर्दैन र आवश्यकता र क्षमताअनुसारको माउते राख्ने गर्छ ।

जति लुकाउन र मिलाएर भने पनि सत्य कुरा त अगाडि आइहाल्छ । ‘ढाँटेको र काटेको मासु फेरि मिल्दै मिल्दैन’ भन्ने उखान त्यसै स्थापित भएको होइन । प्रचण्डले जे बोले त्यो सत्य नै बोलेका छन् । प्रचण्डको त्यो उद्घोष मिडियामा पढेपछि करिब ४० वर्ष पहिला वनारसमा अध्ययन गर्दा क्याम्पसका साथीले सुनाएको एउटा घटना याद आयो … क्याम्पसमा अध्ययन गर्ने अत्यन्त मिल्ने साथी थिए तर तिनी एउटा मुस्लिम थिए र अर्का हिन्दु एउटाको नाम इस्लाम खाँ थियो भने अर्को सुरेन्द्र पाण्डे । सुरेन्द्र पाण्डेको विवाह हुने भयो । विवाहमा जन्ती जानेमा आफ्नो अत्यन्त मिलनसार साथी इस्लाम खाँलाई बडो उत्सुकताका साथ जन्त जाने निम्तो दिन गए तर इस्लामले विवाहको हार्दिक शुभकामना त दिए तर जन्त जान भने त्यति उत्साह देखाएनन् । इस्लामको त्यस्तो मनसाय बुझेर सुरेन्द्र अति खिन्न भए र भने “यदि तपाईं जन्त नजाने हो भने म विहे नै गर्दिनँ” भन्ने अड्डी राख्दै नजानको कारण सोधे । इस्लामले भने कि त्यो त ठूलो केही कारण होइन । हामी पढेलेखेका शिक्षित युवाहरूले जातीय भेदभाव छुवाछुत प्रथालाई घृणा गर्दै समानताको निम्ति आन्दोलन पनि चलाइरहेका छौँ तर हाम्रो समाजमा जरा गाडेर बसेको सामन्तवादी संस्कृति र चिन्तनलाई परम्पराका नाममा अझै पनि समाजबाट उन्मूलन भइसकेको छैन ।

hatti

पूजा–आजा विवाह व्रतबन्धजस्ता हिन्दुका कार्यहरूमा त झन् बढी खोजी नीति गर्छन् । त्यहाँ म नजाऊँ भनेको मात्र हुँ । साथीको यो कुरा सुनेर सुरेन्द्र पाण्डेले भने त्यहाँ तिमीलाई कसैले चिन्दैन किन मुसलमान हूँ भन्न प¥यो र ब्राह्मण नै हूँ भन्नु मसँगै बसालेर खाना खुवाउने बाचा गर्छु र जन्त त जानैपर्छ । त्यसो भए जन्त त जाऊँला सँगै बसेर पान खाऊँला, ब्राह्मण हूँ पनि भनौँला तर कुन ब्राह्मण भनी सोधे भने के भनौँला ? इस्लामले प्रश्न राखेछन् । सुरेन्द्रले खुसी हुँदै भनेछन्– पाण्डे हूँ भन्नू, भइहाल्छ ।

साथी इस्लाम जन्त जाने भएपछि खुसी हुँदै सुरेन्द्र घर फर्किए । अर्को दिन सबै तयार भए । इस्लाम पनि आइपुगेर जन्ती प्रस्थान गरे । दुलहीको घरमा पुगी केही औपचारिक संस्कार पूरा भएपछि जन्तीहरूलाई भोजन खुवाउने काम सुरु भयो । सुरेन्द्रले इस्लामलाई साथमा लिए र भान्सामा पुगे र खानेक्रम सुरु भयो । खानेक्रममा इस्लामले भनेछन्– “भण्डारीजी तँ नि थोडा सुरुवा देना ।” सुरुवाको कुरा सुन्दाबित्तिकै भान्से पण्डित जंगिएछन् किनभने दाल तरकारीको झोललाई भारतीय पण्डितहरू ‘रस’ भन्दा रहेछन् । ‘सुरुवा’ भनेको मासुको झोल भन्ने अर्थ लाग्दो रहेछ । “ब्राह्मणके भान्सामे सुरुवा माग्नेवाला तुम कौन ब्राह्मण हो ? भान्सेको यस्तो डाट फटकारसहितको प्रश्न सुनेपछि इस्लामले केही अप्ठेरो मानीमानी भनेछन्– “मै पाण्डे हूँ ।” फेरि ब्राह्मणले सोधे “कौन पाण्डे हो ?” तब कुन पाण्डे भन्ने केही मेसो नपाएपछि इस्लामले अत्यन्त दुःखित हुँदै भनेछन्– हे अल्ला ! पाण्डे मे भी पाण्डे कौन पाण्डे यसरी ढाँटेको कुरा नमिल्दा विवाह अलि खल्लो भएको सबैले महसुस गरे । साथीहरूले बडो जगबसित यो घटना सुनाएका थिए । मुस्लिम भाइले पाण्डे हूँ भनेर जवाफ त दिए तर अन्ततः उनकै भनाइले उनी मुस्लिम भएको पुष्टि भयो ।

त्यसरी नै प्रचण्डले पनि राम्रै कुरा भन्छु भनेरै आफूलाई माउतेको संज्ञा दिए होलान् तर एमाले कांग्रेस विदेशी साम्राज्यवादीहरूका पाल्तु हात्ती हुन् भने माके साम्राज्यवादीको नोकर नै हो भन्ने कुरा आफैँले पुष्टि गर्न पुगे । हरेक संसद्वादी दलहरूभित्र देशभक्त, नेता–कार्यकर्ता त होलान् तर सबै पार्टीका मूल नेतृत्वमा रहेका नेताहरू कुनै न कुनै विदेशी शक्तिकेन्द्रको आडभरोसा र निर्देशनमा परिचालित छन् । यही कुरा सत्य हो । यसैलाई पुष्टि गर्दै सबैका मालिक वैदेशिक साम्राज्यवादीहरू नै हुन् भन्ने कुरा प्रचण्डले आफँै स्वीकार गरेका छन् । हात्ती त हात्ती नै भइहाले, उनीहरूको सामान्य गल्ती कमजोरीलाई खासै वास्ता गरिँदैन तर माउतेले मालिकको इच्छा विपरीत कुनै गल्ती ग¥यो भने मालिकले नोकरीबाट मात्र निकाल्ने होइन, कोर्रा पनि लगाउँछ किनभने हात्ती भए माउते जति पनि भेटिन्छन् । त्यसैले कांग्रेस– एमालेले भन्दा पनि एककदम अघि बढेर साम्राज्यवादीहरूको हित र स्वार्थका लागि प्रचण्डले गरेका राष्ट्रघात र जनघात त्यसैका उपज हुन् । देशभक्त, क्रान्तिकारीमाथिको दमन र दलालहरूको संरक्षण गर्न प्रचण्ड नै अग्रसर रहेको कुरा जगजाहेर नै छ ।
राताे खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :