आस्थाका बन्दीहरूले कारागारभित्रै मनाए २५ औँ जनयुद्ध दिवस


काठमाडौँ : फागुन १ जनयुद्ध दिवसमय बनेको छ । नेपालमा मात्र नभएर विदेशमा बसेका नेपालीले पनि भव्यतापूर्वक २५ औँ जनयुद्ध दिवस मनाएका छन् । देशदेखि विदेशसम्म र जेलबाहिरदेखि जेलभित्रसम्म मनाइएका जनयुद्ध दिवसमा एकआपसमा अबिर लगाउने, अन्तरक्रिया गर्ने, शुभकामना आदानप्रदान गर्ने, विचारगोष्ठी गर्ने, चकलेटलगायत मिष्ठान्न वितरण गर्ने, अतिरिक्त क्रियाकलाप गर्नेलगायत काम गरिएको थियो ।

हजाराैँ मानिसहरूलाई मुक्तियुद्धमा सहभागी बनाउने र लाखौँ मानिसहरूलाई चलायमान बनाउने गौरवशाली जनयुद्ध दिवस खुला आकाशमा मात्र नभएर बन्द पर्खालभित्र पनि भव्य रूपमा मनाइएको छ । आस्थाका आधारमा बन्दी बनाइएका आस्थाका बन्दीहरूले बन्दीगृहमा २०५२ साल फागुन १ गते जनयुद्ध आरम्भ गर्दाको समय स्मरण गर्दै २५ औँ जनयुद्ध दिवस मनाएका हुन् ।

विद्यमान सत्ताभन्दा फरक राजनीतिक आस्था राखेकै कारण एक वर्षदेखि बन्दी बनाइएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ रहेको नख्खु कारागारमा जनयुद्ध दिवस तथा चियापान कार्यक्रम गरिएकोे छ । यस्तै नेकपाका नेता भरत बम ‘रणवीर’ सहित दुईजना आस्थाका बन्दी रहेको बर्दिया कारागार र नेकपा नेता चूडामणि ओली ‘आदर्श’ सहित ११ जना आस्थाका बन्दी रहेको बाजुरा कारागारमा पनि जनयुद्ध दिवस भव्य रूपले मनाइएको खबर छ ।

जनयुद्ध दिवसका अवसरमा बिहीबार नख्खु कारागारमा आयोजित चियापान कार्यक्रममा जनयुद्धको सम्झना गर्दै नेकपाका नेता सुदर्शनले दुनियाँ बदल्ने महान् जनयुद्ध सर्वहारा वर्गको गौरवपूर्ण इतिहास भएको र जनयुद्धलाई एकीकृत जनक्रान्तिसँग जोडेर विजयको इतिहास कायम गर्नुपर्ने बताए । एकीकृत जनक्रान्ति जनयुद्धको गुणात्मक फड्को र नयाँ क्रान्तिको मोडेल भएको उनको भनाइ थियो ।

जेलभित्र रहेर जनयुद्ध दिवस मनाउँदा बेग्लै अनुभूति भएको धारणा व्यक्त गर्दै नेता सुदर्शनले जनयुद्ध, जनआन्दोलन र एकीकृत जनक्रान्तिका क्रममा बलिदान गर्ने सहिद, घाइते, बेपत्ता योद्धा, सहिद परिवारहरूलाई सम्झिए । सुदर्शनले क्रान्तिकारीहरूका लागि जेल क्रान्तिकै एउटा मोर्चा, अग्निपरीक्षा, तपस्यास्थल र अवसरसमेत भएको धारणा राखे । उनले आफूलाई जेल, जेल मात्र नभई विश्वकै मानचित्र देखिने विश्वविद्यालयको प्रयोगशाला भएको बताए ।

यसैबीच नेकपाका केन्द्रीय सदस्य चूडामणि ओली ‘आदर्श’ लाई बन्दी बनाइएको बाजुरा कारागारमा २५ औँ जनयुद्ध दिवस मनाइएको छ । कारागार परिसरमा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई प्रमुख अतिथि आदर्श, वीरबहादुर तिरुवालगायत अतिथिहरूले सम्बोधन गरेका थिए । जनयुद्ध दिवसका अवसरमा कारागारमा शुभकामना आदानप्रदान, चियापान कार्यक्रमका साथै भलिबल प्रतियोगिता पनि आयोजना गरिएको थियो । कारागारभित्र मनाइएको जनयुद्ध दिवस कार्यक्रमको अध्यक्षता मधुविलास रावत, सञ्चालन डम्बरबहादुर सुनार र स्वागत मन्तव्य धर्मराज सुनारले दिएका थिए ।

नेकपाका केन्द्रीय नेता चूडामणि ओली ‘आदर्श’ सहित १६ जना गौमूल गाउँपालिका ३ माझपालीबाट कात्तिक २२ गते गिरफ्तार भएका थिए । त्यसमा मध्ये ५ जना महिला र ११ जना पुरुष थिए । गिरफ्तार भएको ६७ दिनसम्म उनीहरुलाई हिरासतमा राखेको थियो ।

यस्तै बर्दिया कारागारमा रहेका नेकपाका नेता रणवीर, कैलाली कारागारमा रहेकी नेकपाकी नेत्री बन्धु चन्दले पनि आस्थाका बन्दीहरूसँग भेटघाट र शुभकामना आदानप्रदान गरी जनयुद्ध दिवस मनाएका छन् । नख्खु कारागारमै रहेका नेकपा नेता माइला लामा, नवीनलगायतले पनि आआफ्नै अनुकूलतामा २५ औँ जनयुद्ध दिवस मनाएको बताइएको छ । हालसुदर्शन, वीरजङ्ग, शिलु, रणवीर, आदर्श, माइला, प्रज्वलन, हितमान, सुवास, बन्धु, दीपेशलगायत नेकपाका सयौँजना नेता विभिन्न हिरासत र जेलमा बन्दी अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :