नेकपा रूपन्देहीले मनायो जनयुद्ध दिवस


काठमाडौँ : नेकपाले जनयुद्धको २५ औँ वर्षगाँठ विविध कार्यक्रम गरेर मनाएको छ । रूपन्देहीको सैनामैनामा सहिद परिवारसहित बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज सङ्गम पुनले तत्कालीन अवस्थामा जनयुद्ध सान्दर्भिक रहेको र हालसम्मका परिवर्तनहरू जनयुद्धकै उपज भएको बताए ।

उनले राजनीतिक आन्दोलनले ठूलो उथलपुथल ल्याउन सक्ने क्षमता राखे पनि तत्कालीन नेतृत्वहरूको गद्दारीका कारण विजयको सम्मुख पुगेको क्रान्तिले हार बेहोर्नु परेको बताए । उनले अबको क्रान्ति हिजोको जस्तो नहुने भन्दै क्रान्ति र पार्टीप्रति विश्वस्त रहन आमजनतालाई अपिल पनि गरे । सरकारको पछिल्लो गतिविधिबारे पुनले भने, ‘नारामा समृद्ध नेपाल सुखी नेपाली, व्यवहारमा दरिद्र नेपाल दुःखी नेपाली बनाउने अवस्था सरकारको रबैयाले देखाएको छ ।’ एमसीसी पारित गराउन कुनै हालतमा नदिने उद्घोष गर्दै नेता पुनले एमसीसी राष्ट्रघाती परियोजना रहेको बताए ।

नेकपाले रूपन्देहीकै देवदहमा पनि जनयुद्ध दिवस मनाएको छ । कार्यक्रममा नेकपाका सेक्रेटरी विजयले जनयुद्धमा गरेको बलिदान र योगदान सत्तामा पुग्नेहरुले बिर्सेका कारण आफूहरूले अर्को क्रान्तिको बाटो समात्नुपरेको बताए । उनले देशलाई पराधीन बनाउने बाटोतिर सरकार लागेको पनि प्रस्ट पारे । राज्यसत्ताको दमनका कारण क्रान्ति अझ छिटो हुने धारणा उनले राखे ।

कार्यक्रममा जितबहादुर, शिशिर, प्रेमलगायत जिल्ला नेताहरूले पनि धारणा राखेका थिए । दुवै कार्यक्रममा सहिद, बेपत्ता तथा घाइते परिवारजन, वाम बुद्धिजीवी, मजदुर र महिलाहरूबीच अन्तरक्रिया भएको थियो । जनयुद्ध दिवसलाई अबिर साटासाट गरेर उत्सवको रूपमा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :