बम विस्फोटसम्बन्धी मुद्दामा नेकपा नेता सुदर्शनलाई अदालतले दियो सफाइ

काठमाडौँ :अदालतले नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसमेत घटनामा सफाइ दिएको छ । पाटन उच्च अदालतमा बिहीबार भएको बहसमा नेता सुदर्शन निर्दोष रहेको फैसला भएको हो ।

ललितपुर जिल्ला अदालतले एनसेलको मुख्यालय नख्खुमा भएको बम विस्फोट राज्यविरुद्धको मुद्दामा थुनछेकका लागि पुर्पक्षमा पठाउने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरिएको थियो । बिहीबार भएको बहसमा उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उक्त घटनामा नेता सुदर्शन निर्दोष रहेको आदेश दिएको हो ।

ललितपुर जिल्ला अदालतको आदेश बदर गरिपाऊँ भन्दै परेको रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, वासुदेव तिवारी, चूडाबहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।

नेकपाका नेता सुदर्शनमाथि लगाइएको हातहतियारसम्बन्धी अर्को मुद्दामा भने पुर्पक्षका लागि थुनामै राख्ने जिल्ला अदालत ललितपुरको आदेशलाई उच्च अदालतले सदर गरेको छ । हातहतियार र राज्यविरुद्धको मुद्दा लगाइएपछि नेकपाका नेता सुदर्शनले आफ्नो किताब र कम्प्युटर राखिएको झोलामा हातहतियार र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेर प्रहरीले झूट्टा मुद्दा लगाएको बताएका छन् । उनले भनेका छन्, ‘मलाई २०५५ सालमा बाजुराबाट गिरफ्तार गर्दा प्रहरीले लखेटेपछि एक्लै कुदेको थिएँ । पछि कहाँबाट झोला ल्याएर विस्फोटक पदार्थ हालेर मुद्दा लगाएको थियो । अहिलेको प्रहरीले त्यतिसम्म नगर्ला भनेको त अहिलेको प्रहरीले पनि यस्तो गरेछ ।’

राज्यको अर्बौं कर छली गरेर विवादमा आएको एनसेलको नख्खुस्थित मुख्यालयमा २०७५ फगुुन १० गते बम विस्फोट भएको थियो । उक्त घटनामा दोषी ठहर गर्दै प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन मध्यकेन्द्रीय कमान्ड इन्चार्जसमेत रहेका सुदर्शनसहितका नेताहरूलाई चैत ९ गते गिरफ्तार गरेको थियो ।

एनसेलमा भएको विस्फोट र हातहतियार मुद्दामा ललितपुर जिल्ला अदालतले पुर्पक्षाका लागि वैशाख ९ गते नेताहरूलाई नख्खु कारागार चलान गरेको थियो । त्यसैगरी सूर्य भुजेल, दोर्जी शेर्पा, डिकेन्द्र राई, शिव धिमाल, लोकेन्द्र खड्का र बुद्धबहादुर सिंतानको विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पनि उच्च अदालतले ललितपुर जिल्ला अदालतको आदेश सदर गरेको छ ।

माइला लामासहित नेकपाका चार नेतालाई रिहाइ आदेश

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका विशेष ब्युरोका इन्चार्ज माइला लामा ‘प्रज्वल’ सहित चारजनालाई रिहा गर्न अदालतले आदेश दिएको छ । पाटन उच्च अदालतले लामासँगै नेकपा अर्का केन्द्रीय सदस्य नवीन विश्वकर्मा, अनेमसङ्घ (क्रान्तिकारी) की महासचिव धीरेन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई रिहा गर्न आदेश गरेको हो ।

ललितपुर जिल्ला अदालतको एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको घटना र राज्यविरुद्धको अपराधमा दोषी ठहर गर्दै पुर्पक्षमा पठाउने फैसलालाई उच्च अदालतले बदर गर्दै नेताहरूलाई रिहा गर्न आदेश दिएको छ । जिल्ला अदालत ललितपुरको आदेशविरुद्धको रिट निवेदन उच्च अदालतमा परेको थियो । उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार चारजनालाई निर्दोष ठहर गर्दै रिहाइको आदेश दिएको हो । उनीहरू सबैलाई ललितपुर जिल्ला अदालतले पुर्पक्षका लागि भन्दै नख्खु कारागार चलान गरेको थियो । बन्दीहरूका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना, खिमानन्द अधिकारी, रामकृष्ण भण्डारी, सन्तोष कोइराला, वासुदेव तिवारी, चूडाबहादुर निरौला र राजु अधिकारीले बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :