शहिदहरुको सम्झनामा दाङमा स्मृति सभा

दाङ :नेपालको परिवर्तनकारी आन्दोलनमा विभिन्न समयमा आफ्नो जीवनको बलिदान दिनुहुने महान शहिदहरुको सम्झनामा दाङमा बिहिबार सहिद दिवस कार्यक्रम सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी विभिन्न जिल्लामा माघ १६ गते सहिद दिवस कार्यक्रम गर्ने केन्द्रीय कार्यक्रम अनुसार दाङको ५ नम्बर एरियाको आयोजनामा घोराहीमा सहिद दिवस कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने वक्ताहरूले नेपालको हरेक परिवर्तनकारी आन्दोलनमा आफ्नो अमुल्य जीवनको बलिदान गर्नुहुने महान शहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए । जहानिया राणाशासनविरुद्धको आन्दोलन, जनयुद्ध, विभिन्न जनआन्दोलन र एकीकृत जनक्रान्तिको कडीलाई जोड्नका लागि यस वर्षदेखि नेपाल कम्युनिस्ट पार्टीले शहिद दिवस मनाउने कार्यक्रमको सुभारम्भ गरेको छ । कार्यक्रममा ५ नम्बर एरिया इन्चार्ज जनक विक, अखिल (क्रान्तिकारी) का दाङ जिल्ला अध्यक्ष अनिल केसी, भरत लगायतले बोल्नुभएको थियो भने कार्यक्रमको सञ्चालन एरिया सदस्य आक्रोशले गर्नुभएको थियो । राणाशासनका विरुद्ध सङ्घर्ष गर्ने क्रममा सन् १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथचन्दको निर्ममतापुर्वक हत्या गरिएको थियो । यहि  दिनकाे अवसर पारेर नेकपाले शहिदहरुलाई सम्झदै शहिद दिवस मनाएको हो।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :