यसरी क्रूरतापूर्वक हत्या गरिएको थियो गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई

लेखक: अशाेक सुवेदी

सन्दर्भ : सहिद दिवस माघ १६

यसरी क्रूरतापूर्वक हत्या गरिएको थियो गङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमालाई
(प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको सङ्घर्षपूर्ण जीवनयात्रा र गङ्गालाल, पुष्पलाल, कृष्णलाल (तीन लाल) जन्मस्थलको यात्रामा आधारित)

जेता–नेतादि सबले मर्नु साझा सबैको ।
सब शव गई बस्तछन् एक दिन काखमा चिताको ।।
किन डरूँ मृत्युदेखि मर्न कम्मर कसेको ।
हुँ एक वीर पुत्र म पनि वीर माँ नेपालको ।।
सहिद गङ्गालाल श्रेष्ठ

विषय परिचय

इतिहास निर्माणमाविरलै मात्र यस्ता पात्र वा व्यक्तित्वहरूको योगदान रहेको हुन्छ जसको जीवन नै ऊर्जाशील र प्रेरणादायी हुन्छ । उनीहरूको जीवनी नै गौरवशाली पनि हुन्छ । नेपालको राजनीतिक इतिहास निर्माण गर्ने महान् यात्रामा गङ्गालाल श्रेष्ठको योगदान त्यस्तो त्यागमय, ऊर्जाशील र प्रेरणादायी रहेको छ ।

नेपालमा माघ १६ गतेलाई सहिद दिवसका रूपमा मनाउने गरिएको छ यद्यपि तत्कालीन नेकपा (माओवादी) को आह्वानमा जनयुद्ध आरम्भ भएपछि तत्कालीन नेकपा (माओवादी) ले फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह मनाउँदै आएको इतिहास छ । हाल यसलाई नेपाल कम्युनिस्ट पार्टीले अघि बढाइरहेको छ । माघ १६ राणा शासनका विरुद्ध सङ्घर्ष गर्ने योद्धाहरूगङ्गालाल श्रेष्ठ, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाले बलिदान गरेको साताको सन्दर्भ हो । त्यस्तै फागुन १४ जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको दिन हो भने फागुन २१ पञ्च शासकहरूले झापा विद्रोहका योद्धाहरूलाई जेल सार्ने बहानामा सुखानी जङ्गलमा लगेर हत्या गरेको दिन हो । यो २०७५ साल भने अमर सहिद गङ्गालाल श्रेष्ठको जन्मशताब्दी वर्ष पनि हो ।

१९९७ साल माघको दोस्रो साता गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई राणा शासकहरूले मृत्युदण्ड दिएका थिए । यद्यपि राणाशासनविरुद्ध मकैको खेती पुस्तक लेखेर विद्रोह बोलेका सुब्बा कृष्णलाल अधिकारीले जेलमै बलिदानको बाटो रोजेर निरङ्कुश शासनलाई चुनौती दिइसकेका थिए । त्यसअघि जङ्गबहादुर राणालाई चुनौती दिने लखन थापालाई हत्या गरिइसकेको थियो । लखनलाई नेपालका प्रथम सहिद मानिन्छ । यसअघि पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानका क्रममा र राज्यविस्तारपछि पनि विद्रोहीहरूको हत्या गरिएका अभिलेखहरू पाइन्छन् । मल्लकालमा पनि कयौँ विद्रोहीहरूले निरंकुश सत्ताको विरोध गर्दैै बलिदानको बाटो रोजेका थिए । नेपालमा राणाशासनदेखि वर्तमान संसदीय व्यवस्थाविरुद्ध सङ्घर्षका क्रममा मात्र दस हजारभन्दा बढी जनताले बलिदान गरिसकेका छन् । यद्यपि राज्यले सबै विद्रोही र बलिदान गर्ने योद्धाहरूलाई सहिद घोषणा गरेको छैन । सत्ता नबदलिएको र सरकारहरू मात्र फेरिएको अवस्थामा यस्तो हुनु अन्यथा पनि होइन तर यो योद्धा र न्यायप्रेमीहरूमाथिको अन्याय भने हो । यो आलेखमा राणाविरोधी सङ्घर्ष र बलिदानीको केन्द्रमा गङ्गालालको बलिदानलाई समेट्ने प्रयास गरिएको छ । यो आलेख तयार पार्न सिद्धिचरण श्रेष्ठ, भुवनलाल प्रधान, डा. राजेश गौतम, शिवकुमार डाँगीलगायत अध्येता र स्रष्टाहरूका पुस्तकहरूको सहयोग लिइएको छ र त्यसमा पनि गङ्गालाल–पुष्पलाल जन्मिएको थलो र तीन लालको भूमि नामले परिचित रामेछाप जिल्लाको यात्रा गर्ने स्रष्टाहरूका अनुभूतिहरू उद्धरण गरिएको छ ।

आरम्भ
जीवनी र सङ्क्षिप्त परिचय

अध्येता भुवनलाल प्रधानले लेखेका छन्, ‘यी युवक सहिद गङ्गालालको जन्म तत्कालीन पूर्व २ नं. रामेछापमा वि. सं. १९७५ साल फागुन पूर्णिमाको दिन भएको थियो । यिनी भक्तलाल श्रेष्ठ र तुलसीदेवीका जेठा छोरा थिए । त्यसबेला भक्तलाल रामेछापको माल अड्डाका हाकिम खरदार थिए ।’
भुवनलाल प्रधान, सहिद परिचय, गङ्गालाल, काठमाडौँ नगर पञ्चायत २०४३, पृ.१८

पाँच वर्षको उमेरमा गङ्गालालले रामेछापको भाषा पाठशालामा कखहरा सुरु गरेका थिए तर विसं १९८१ सामै बाबु भक्तलाल ओखलढुङ्गा खटिएकाले गङ्गालाल पनि बाबुसँगै जान बाध्य भए । उनलाई केही वर्षपछि अङ्ग्रेजी पढाउन भनेर काठमाडौँ ल्याइएको थियो । भुवनलालका अनुसार कलकत्तामा डाक्टरी पढ्न जाने उनका काका शङ्करलालले गङ्गालाललाई पनि सँगै लिएर गए । त्यहाँ दुई–तीन वर्ष पढेपछि गङ्गालाल काठमाडौँ नै फर्किए ।त्यसपछि गङ्गालालको पढाइ दरबार हाईस्कुलमा सुरु भयो । चौथो श्रेणीमा भर्ना भएर गङ्गालालले १९९५ सालमा पहिलो श्रेणीमा एसएलसी उत्तीर्ण गरेका थिए ।

जहानियाँ एकतन्त्रीय राणा शासनको अन्त्य गरी प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने महान् उद्देश्यका लागि सङ्कल्पबद्धगङ्गालाल श्रेष्ठले१९९५ सालमा दरबार हाईस्कुलबाट प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण गरेका थिए । उनले बाल्यावस्थादेखि नै बुबासँग देशका विभिन्न भागमा पुग्ने क्रममा नेपाली जनताको दयनीय र चिन्ताजनक अवस्थाको जानकारी लिने अवसर पाएका थिए । गङ्गालालले काकाशङ्करलालसँग केही वर्ष कलकत्तामा बस्दा अङ्ग्रेज साम्राज्यवादका विरुद्ध भारतीय जनआन्दोलनको उभार देख्ने मौकासमेत प्राप्त गरेका थिए । नेपाली जनतामाथि राणाहरूको उत्पीडन र भारतीय जनताले अङ्ग्रेज उत्पीडनका विरुद्ध गरेको प्रतिरोध युद्ध दुवैको प्रेरणाले गङ्गालाललाई क्रान्तिकारी बाटोतर्फ मार्गनिर्देशित गरेको इतिहास पाइन्छ ।

गङ्गालाल श्रेष्ठले निरङ्कुश राणा शासनको अन्त्य र जनतन्त्र स्थापनाका लागि बलिदान गरेको ७९ वर्ष लागेको छ । यो गङ्गालालको जन्मशताब्दी वर्ष पनि हो । राणा शासनको विरोधमा राजनीति गरेको अभियोग लगाएर १९९७ सालमा गङ्गालाललगायत शुक्रराज शास्त्री, धर्मभक्त माथेमा र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो । गङ्गालाललाई नेपालका प्रथम विद्यार्थी सहिद मानिन्छ ।

राजनीतिक यात्रा : साहसको पर्यायवाची नाम

१९९४ सालमा नेपाली जनताको मुक्ति र प्रजातन्त्र स्थापनाका लागि नेपाल नागरिक अधिकार समिति गठन भएको थियो । युवा गङ्गालाल यस समितिको गतिविधिमा सक्रिय थिए । जनजागरण अभियान समितिले १९९७ साल कात्तिकमा काठमाडौँस्थित इन्द्रचोकमा आमसभा आयोजना गरेको थियो । उक्त सभामा गङ्गालालले पनि सम्बोधन गरेका थिए । त्रिचन्द्र क्याम्पसमा आईएस्सीमा अध्ययनरत होनहार युवा विद्यार्थी गङ्गालालको जोसिलो भाषणबाट आत्तिएका राणाहरूले उनलाई क्रूर पञ्जामा लिए । राणाहरूले गङ्गालाललाई माफी मगाउन कोसिस गरेका थिए तर स्वाभिमानी गङ्गालालले माफी मागेनन् । माफी मगाउन नसकेपछि १९९७ साल माघ १२ गते राति दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट निकाली विष्णुमतीको किनारमा लगेर राणाशासकहरूले २२ बर्से गङ्गालालको छातीमा गोली हानेर क्रूरतापूर्वक हत्या गरे । उनले नेपालको प्रथम विद्यार्थी सहिदमा नाम लेखाए ।

त्यतिबेला भारतमा अङ्ग्रेज शासनको बन्धनबाट मुक्त हुन सञ्चालित आन्दोलनको प्रभाव बालक गङ्गालालमा परेको हुनसक्ने अनुमान इतिहासकारहरूले गरेका छन् । नेपाल फर्किएपछि गङ्गालालका कविता, प्रवचन र कुराकानीमा परिवर्तनको पक्षधरता पाइन थालेको थियो । यसै सिलसिलामा गङ्गालालले नागरिक अधिकार समितिको आयोजनामा काठमाडौँको इन्द्रचोकमा भएको कार्यक्रममा जोडदार र क्रान्तिकारी भाषण गरे । २० बर्से लक्का जवान गङ्गालालको विद्रोही चेतनाको वास्तविक अभिव्यक्ति थियो त्यो भाषण । उनले इन्द्रचोकमा भाषण गर्नु केही दिनअघि काठमाडौँ असनमा पुराण अवसान गरेको अवसरमा पनि क्रान्तिकारी लिखित भाषण गरेका थिए । उनका यी दुवै भाषण वैचारिक थिए र निरङ्कुश राणाशासनविरुद्ध केन्द्रित थिए ।

साहसी विद्यार्थी गङ्गालाल राणाहरूका अगाडि झुक्नुभन्दा गोली खाएर जीवन बलिदान गर्न तयार भए । त्रिचन्द्रमा अध्ययनरत युवा विद्यार्थी गङ्गालालको यो साहसिक बलिदानले नेपालीलाई विद्रोहमा उत्रिन प्रेरणा दियो । फलस्वरूपनिरङ्कुश राणाशासनका विरुद्ध विद्रोहको भुसको आगो दन्कियो र २००७ सालमा राणाशासन नै समाप्त भयो । यद्यपि राणाशासनको अन्त्यपछि आजसम्म पनि नेपाली जनताका सुखका दिन आएका छैनन् र जनताले विद्रोह र क्रान्तिमा लामबद्ध हुनुपर्ने अवस्था विद्यमान नै छ ।

त्याग, शौर्य र बलिदानको नमुना

१९९० को आरम्भमै शुक्रराज शास्त्री नागरिक अधिकार समितिमा आबद्ध भइसकेका थिए । उनीलगायत प्रजापरिषद्का दशरथ चन्द, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई सर्वस्वहरणसहित फाँसीको सजाय दिइएको थियो । कलिलै उमेर भएकाले गङ्गालाललाई माफी मागे आजन्म काराबास हुने सजाय सुनाइएको थियो तर उनले कसैले बकस दिएको जीवन बाँच्नुभन्दा सङ्घर्षमा नझुकी मर्नु नै उचित ठान्दै फाँसीको सजाय रोजे । राणाशासकहरूले प्रजापरिषद्का अन्य सदस्यहरूमध्ये टङ्कप्रसाद आचार्यलाई मुडीदामल गरी सर्वस्वसहित जन्मकैद, चन्द्रमान सैँजू, गोविन्दप्रसाद उपाध्याय, बनबहादुर पाण्डे, गणेशमान सिंह र हरिकृष्ण श्रेष्ठलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । प्रजापरिषद्का अरू सदस्यले पनि कठोर सजाय पाएका थिए ।

सजायस्वरूप १९९७ साल माघ ९ गते टङ्कप्रसाद आचार्य र रामहरि शर्मालाई चारपाटा मुडेर सुँगुरको पाठा बोकाईटुँडिखेलमा घुमाइएको थियो । शुक्रराज शास्त्रीलाई १९९७ साल माघ ११ गते पचली त्रिपुरेश्वरमा झुन्ड्याई मारिएको थियो भने धर्मभक्त माथेमालाई माघ १३ गते राति सिफलमा झुन्ड्याएर मारिएको थियो । गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई माघ १४ गते राति सामाखुसी र विष्णुमतीको दोभानमा गोली हानी मारिएको थियो ।

बलिदानको कारण क्रान्तिकारी राजनीति

नेपालमा क्रान्तिकारी आन्दोलनमा लामबद्ध भएर बलिदान गर्नेहरूको गौरवशाली इतिहास छ । अङ्ग्रेज शासकका विरुद्ध हजारौँ नेपालीले वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्ष गरेका थिए । राष्ट्रियता, जनतन्त्र र जनजीविका तीनवटै आन्दोलनमा नेपाली जनताले इतिहासदेखि नै निर्भयपूर्वक लडेर बलिदान गरेका छन् । नालापानीदेखि सिन्धुलीगढीसम्मका लडाइँहरू चर्चित छन् । राजनीतिक रूपमा सङ्गठित भएर देशी–विदेशी अन्याय, शोषण र दमनका विरुद्ध सङ्घर्ष गर्ने र बलिदान गर्ने गौरवशाली इतिहासको आरम्भ भने गङ्गालाल श्रेष्ठहरूले नै सुरु गरेका हुन् । २००६ सालमा पुष्पलालको अग्रसरतामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएपछि भने आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध र क्रान्तिको सङ्गठित ज्वारभाटा नै उठेको पाइन्छ । २०२८ सालको झापा विद्रोह र २०५३ सालदेखि सञ्चालित र २०६३ मा विसर्जित जनयुद्ध यसै शृङ्खलाका उत्कर्षहरू हुन् । यद्यपि अहिले पनि नेकपाको नेतृत्वमा वैज्ञानिक समाजवाद स्थापनाका लागि एकीकृत जनक्रान्ति सञ्चालनमा छ ।

विसं १९९० माशुक्रराज शास्त्रीको नेतृत्वमा केदारमान व्यथित, गङ्गालाल श्रेष्ठ, मुरलीधर शर्मा, आनन्दरामलगायत एक्काईसजना व्यक्ति मिली नेपाल नागरिक अधिकार समिति स्थापना गरेका थिए । शुक्रराज शास्त्रीले भारतीय स्वतन्त्रता सङ्ग्रामका नेता महात्मा गान्धी र सुवासचन्द्र बोससँग भेटघाट गरेका थिए । यसैकारण राणा सरकारले शुक्रराज शास्त्रीलाई नजरबन्दमा राखेको थियो । नागरिक अधिकार समितिले १९९५ साल मङ्सिर महिनामा इन्द्रचोकमा राखेको सभामा शुक्रराज शास्त्रीले नजरबन्द तोडेर भाषण गरे । त्यस सभामा गङ्गालाल श्रेष्ठले पनि जनताले अधिकारका निम्ति लड्नुपर्ने कुरा बोलेका थिए । सभामा देशको राजनीतिक, आर्थिक एवम् सामाजिक अवस्थाको विश्लेषण गर्दै राणाशासनको विरोध गरिएको थियो । यसै कारणले शुक्रराज शास्त्रीलाई तीनबर्से काराबासको सजाय भएको थियो । उक्त सभामा पुराण भनेबापत पण्डित मुरलीधर उपाध्यायलाईसमेत जेल चलान गरिएको थियो ।

राणाशासनको अन्याय, अत्याचार र दमनको सर्वत्र विरोध भइरहेको समयमा निरङ्कुश राणाशासनको अन्त्य गरी सम्पूर्ण अधिकार जनतामा हस्तान्तरण गर्न राजनीतिक पार्टीको आवश्यकता महसुस गरिएको थियो । समाज सुधारका प्रयत्नहरूभन्दा अगाडि बढेर क्रान्तिको शङ्खघोष गर्ने राजनीतिक पार्टीका निम्ति सचेत युवा तथा विद्यार्थी समुदायले त्यतिबेला जोडदार ढङ्गले पहल गरेका थिए । त्यतिखेरका युवाहरू राणाविरोधी भावनाले ओतप्रोत भएका थिए । राणाहरूको अमानवीयता र अत्याचारका कारण व्यापक असन्तुष्टि र विरोध हुन थालेको थियो । विद्यार्थी आन्दोलनले सङ्गठित आन्दोलनका रूपमा नेपाल प्रजापरिषद्को स्थापनादेखि प्रारम्भ भएको देखिन्छ । १९९३ साल जेठ २२ गते धर्मभक्त माथेमाकी फुपूको झोछेँ ओमबहालस्थित घरमा टङ्कप्रसाद आचार्य, दशरथ चन्द, धर्मभक्त माथेमा, रामहरि शर्मा, र जीवराज शर्मा भेला भएर नेपाल प्रजापरिषद् नामक राजनीतिक पार्टी स्थापना गरे । गङ्गालाल यही पार्टीको सदस्य भएका थिए । राणाशासनको अन्त्य गर्नु, प्रजातन्त्र र जनअधिकारको बहाल गर्नु उक्त पार्टीको प्रतिज्ञापत्रमा उल्लेख गरिएको छ ।

प्रजापरिषद्लाई तत्कालीन राजा त्रिभुवनबाट पनि सहयोग भएको कुरा उल्लेख भएको पाइन्छ तर प्रजापरिषद्का कार्यकर्ताहरूलाई फाँसी दिँदा राजा त्रिभुवनले कुनै प्रतिक्रिया देखाउनुको सट्टा उल्टै पञ्जापत्र नै गरेका थिए । त्यो एउटा प्रतिक्रियावादी अवसरवाद रहेको प्रगतिशील पक्षधर इतिहासकारहरूले उल्लेख गरेका छन् ।

प्रजापरिषद्को कार्यक्रम हस्तलिखित पर्चाबाटै सुरु भएको थियो । ९ असार १९९७ सालमा नेपाल प्रजापरिषद्का प्रेसिडेन्टका नामबाट जनताका बीचमा छरिएको उक्त पर्चामा लेखिएको थियो :

राणा वर्ग हो ! तिमीहरूलाई थाहा होला कि नेपाल प्रजापरिषद् भन्ने संस्था नेपाली प्रजालाई तिमीहरूको क्रूर पञ्जाबाट आजाद या स्वतन्त्र गराई शुद्ध ज्ञानको शिक्षा दिई आफ्नो जातिको मान, सम्मान, धन र धर्मको उपार्जन र उन्नतिद्वारा संसारका सभ्य जातिहरूमध्ये एक गराई आफ्नो देशको गौरव हजारौँ वर्षसम्म दिशा–दिशामा गुञ्जन गराउने उद्देश्य लिई यो नेपाल प्रजापरिषद् खुलेको हो ।

राणा हो ! तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । प्रजाको उन्नति गराउने सट्टामा प्रजाको रगत चुसी आफ्ना छोरा, नाति धनी गराउने कोसिस ग¥यौ । यहाँभन्दा ठूलो कुकर्म अरू के होला ? आफैँ विचार गर । तिमीहरूलाई स्वार्थले कस्तो अन्धो बनाएको रहेछ ? यस्तो घोर कुकर्मले पनि तिम्रो कलेजोलाई जलाउन सकेन । जुन प्रजाहरूले आफ्नो मान, सम्मान, स्वतन्त्रताको रक्षाको भारत धर्म र जातीय उन्नति तिम्रो हातमा सुम्पेका छन्, तिनकै धन अपहरण गरी तिनैलाई गुलाम (कमारो) गराई तिनको अवनतिलाई आफ्नो उन्नति सम्झी तिनको मानसम्मानलाई लातले ठोकेर दिई तिमीहरूले कस्तो घोर कुकर्म गरिरहेका छौ । तिमीहरूको अरू केही ध्येय छैन । येनकेन प्रजालाई अन्धा बनाई तिनको पैसा लुट्नु, तिनका जहानबच्चा एक–एक अन्न अन्नका लागि प्राण दिऊन् । त्यसले उनको रगत र पसिनाले आफ्नो नीच भोग लिप्सा तृप्ति गर्नु ।

राणा हो ! यो आश्चर्यको कुरा हो कि तिमीहरू पशुपति गुह्येश्वरी गई देवतालाई मानिटोपल्दैछौ । होइन, होइन, कदापि होइन । यो तिमीहरूले प्रजाको आँखामा छारो हालेको हो । देवतालाई मान्नेले ईश्वरको डर लिन्छ । खोइ तिमीहरूलाई ईश्वरको डर ? तिमीहरूको क्रूर पञ्जामा परेका प्राणीहरू घोर दरिद्रताको मारले त्राहीत्राही भइरहेका छन् । तैपनि तिम्रो क्रूर पञ्जाले तिनको मुटुबाट रगत नीचोर्न छोडेको छैन । राणा हो ! हाल पनि तिमीहरूले स्वेच्छाचारिताको पूरा नक्सा देखायौ । अङ्ग्रेजको मदतलाई फौज पठायौ । लडाइँमा मद्दत दिनेजस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ ? युरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो ? १९१४ सालको लडाइँमा अङ्ग्रेजलाई मद्दत दिएर लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भो ? नाफा तिमीहरूलाई भयो । वर्षको दस लाख बैंकमा जम्मा गर्न पायौ । हाल जर्मनीले पेरिस दखल गरिसक्यो । जर्मनीको जित भएमा आफू त गयौ गयौ । आफ्नो स्वार्थका लागि नेपाली जातिलाई पनि गुलाम और खोक्रो बनायौ र गयौ ।

होइन–होइन, त्यस बखतमा पनि अडौँला र प्रजाको रगत चुसौँला भन्ने तिमीहरूको आशा होला । दुष्ट हो ! तिमीहरूको दुष्टताको वर्णन ब्रह्माको चार मुखले गर्न सक्तैन ।

राणा हो ! यो नठान कि पापको पोल खुल्दैन र तिमीहरूले क्रूरताको फल पाउनेछैनौ । यो ईश्वरको कानुन हो । तिमीहरूले जुन भयंकरतामा क्रूर कर्म गरेका छौ, उही भयंकरतामा, त्यसको फल पाउनेछौ । प्रजाको आँखा मात्र खुलोस्, तिमीहरूका तरबारको बदजस्तो मुखले फुकेको बतासले आकाशको बादललाई हटाउने कोसिस गरी केही काम लाग्दैन, तिम्रो पनि त्यस्तै गरी विफल हुनेछ । झ पनि दश दान गर्ने समय छ, आशा छ मौका चुक्नेछैन ।
शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष, पृ. १६७–१६८, ऐ ।

इतिहासमा उल्लेख भएअनुसार प्रजापरिषद्ले अन्तर्राष्ट्रिय क्षेत्र र विशेषगरी भारतसँग पनि सम्पर्क गरेको थियो । रुसमा लेनिनको नेतृत्वमा भएको बोल्सेभिक क्रान्ति तथा साम्यवादी विचारधाराबाट प्रभावित दशरथ चन्दले भारतसँग सम्पर्क गरेका थिए । उनका लेखहरू भरतबाट प्रकाशित हुने पत्रपत्रिकामा सेवक सिंहको नामबाट प्रकाशित भएका थिए । पछि हातहतियारका लागि सम्पर्क गर्न टङ्कप्रसाद आचार्य आफैँ भारत गए । १९९७ साल असार ९ गते प्रजापरिषद्ले उक्त पर्चा छर्ने काम ग¥यो । काठमाडौँ उपत्यकाको कुनाकुनामा चारैतिर राणाविरोधी सङ्घर्षको आह्वान गर्दै छरिएका पर्चाहरू देखेर राणाहरू अत्तालिन पुगे । त्यसपछि १९९७ साल असार ३० गते पनि सो पार्टीले राणाशाहीलाई चेतावनी दिँदै अर्को पर्चा छर्ने काम गर्यो । यसका साथसाथै प्रजापरिषद्ले राणाविरोधी सङ्घर्षका निम्ति जनतालाई सङ्गठित गर्ने प्रयास पनि ग¥यो । यी सबै कुराहरू राणाहरूले हेरिरहेका थिए । राणाहरू प्रजापरिषद्का कार्यकर्ताहरूलाई एकएक गरेर व्यापक रूपमा खोजतलाससमेत गर्न थाले । विरोधीहरूलाई सखाप पार्न उनीहरू ज्यान छोडेर खोजीमा निस्किए । १९९७ साल साउन ११ गते इस्तिहार जारी गरेर प्रजापरिषद्का कुनै पनि सदस्यलाई सुराक दिने वा गिरफ्तार गराउने व्यक्तिलाई पाँच हजार इनाम दिने घोषणा गर्यो । यसै समयमा गङ्गालाल श्रेष्ठ, गणेशमान सिंह हरिकृष्ण र रामहरि शर्मा पनि यस पार्टीका सदस्य बनिसकेका थिए ।

डाँगीको पुस्तकमा लेखिएको छ, ‘प्रजापरिषद् पनि राणाशाहीको अन्त्य गर्ने शपथ खाएर लडाइँको मैदानमा उत्रिएको राजनीतिक पार्टी थियो । यस कुराको घोषणा भएको ६ दिनपछि उक्त इस्तिहारलाई चुनौती दिँदै अर्को पर्चा छर्ने काम भयो । यसबाट जनतामा राणाशासनविरुद्ध बोल्ने र अभिव्यक्ति प्रकट गर्नेखालको वातावरण त बन्यो तर राणाहरू भने त्यसबाट अत्यन्त आक्रोशित बने । उनीहरूले जथाभाबी धरपकड गर्ने र जेलसजाय दिन थाले । दुर्भाग्यवश प्रजापरिषद्का तीनजना सदस्यहरूले राणाहरूलाई सुराक दिएकाले १९९७ साल कात्तिक २ गते दुईजना सदस्यबाहेक प्रजापरिषद्का सम्पूर्ण सदस्यहरू गिरफ्तार भए । उनीहरू सबैलाई जेल, सिक्री र हथकडी लगाएर सिंहदरबारमा दाखिल गराई अत्यन्त निर्ममतापूर्वक यातना दिइयो । शङ्करशमशेरको अध्यक्षतामा राणाहरूले एक विशेष अदालत गठन गरी कठोर दण्डसजाय दिए ।’
जेलमा राखिएकै समयमा गङ्गालालले बाबु भक्तलाललाई क्रान्तिकारी भावना र देशभक्तिपूर्ण चेतनाले ओतप्रो एक पत्र लेखे । त्यस पत्रमा लेखिएको थियो :

पिताका नाममा गङ्गालालको चिठी

बा !
तपाईंको आज्ञापालन गरेर शान्तिसित बसौँला भन्ने लागेको थियो । सक्तै सकिनँ । म सक्तिनँ । आज रातभर निद्रा परेन । बिर्से पनि हुने पाठ म घोकिरहेछु । सम्झिनुपर्ने पाठचाहिँ मैले बिर्सनै आँटेछु । आफ्नो पेटको अग्निलाई आफ्नै रगतले निभाइरहेका भोका अगणित भाइहरूको पहेला सुखसित डराएर आँखा चिम्लिन आँटेछु । तिनका पेटको गहिरो स्वरले मागेको सुन्न नसकी कान थुनेर भाग्न पो आँटेछु । आन्तस्करणबाट आगो रुमलिएर आयो । के के असह्य भयो । अब म सहन असमर्थ छु जताततै कोलाहलको ज्वाला देख्छु । आफैँ सल्कन लागेको छ ।मलाई त्यो निभाएर मर्न दिनोस् ।
तपाईं मेरो पिता हुनुहुन्छ तर हामी सबैजनाको जन्मभूमि माताप्रतिको हाम्रो कर्तव्यमा तपाईंको आज्ञाले म पछि हट्न सक्तिनँ । म तपाईंको आज्ञाले चूपचाप राष्ट्रको पाप बोक्न सक्तिनँ । अब मेरो माया मारिदिनोस् । मेरो अरू भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गङ्गालालको दण्डवत् सेवा ।… अब मेरो माया मारिदिनोस् । मेरो अरू भाइहरू छँदैछन् । एउटा छोरालाई नेपाल आमाका निम्ति बलिदान दिनुहोला भन्ने देशभक्त पुत्र गङ्गालालको निवेदन छ । अत्याचार र अन्यायका विरुद्ध लड्दै म देशलाई छातीको ढाल थापेर बचाउँछु ।
बालक पुत्र गङ्गालालको दण्डवत् सेवा !

यो चिठी १९९७ सालमा गङ्गालाल पक्राउ भएपछि उनको घरमा खानतलासी भएर सिंहदरबारमा थुपारेको कागजबाट बालकृष्ण समले पाउनुभएको हो । गङ्गालालले ‘अबदेखि राजनीतिमा काम गर्दिनँ, सिधा सोझो भएर पढेर कुनै रोजगार गर्छु’ भनेपछि केही साता अघि मात्र जागिरे भएर पहाडी क्षेत्रमा गइरहेका आफ्ना पितालाई अब मैले सहन सकिनँ भनेर उनले चिठी लेखेका थिए ।
‘सिद्धिचरणका जेल संस्मरण’ पुस्तकबाट

हसिनादेवीको शालीन आक्रोश

सहिदका तस्बिरमा अबिरमाला गरेर मात्र सहिदको सम्मान हुँदैन

गङ्गालालको बलिदानको ६८ वर्षपछि गङ्गालालकी जीवनसँगिनी हसिनादेवीले भनेकी थिइन् ः इतिहास र इतिहास निर्माताहरूको आत्मिक सम्मान हुन नसक्दा देशले दुर्गति बेहोर्नु परिरहेको वास्तविकता हाम्रासामु छ । बलिदानपूर्ण विगतलाई बिर्सेर अगाडि बढ्न खोज्ने शासकीय प्रवृत्तिले गर्दा नै मुलुकले नयाँ निकास पाउन नसकेको हो । मैले मेरो जीवनलाई एक्लो अनुभूति गर्नु परे पनि देशले मुहार फेर्ने आशा गरेकी थिएँ । ६७ वर्ष बितिसक्दा पनि गङ्गालाल र उहाँहरूजस्ता हजारौँ योद्धाहरूले परिवर्तनका लागि बगाउनुभएको रगतले सम्मान पाएको अनुभूति गर्न नपाउँदा पीडा भएको छ । आशा छ, आगामी आन्दोलनहरूले अपूर्ण प्रक्रियालाई पूर्ण गराउनेछन् र गौरवपूर्ण विगतको सम्मान हुनेछ । सहिदका तस्बिरमा अबिरमाला गरेर मात्र सहिदको सम्मान हुँदैन । उनीहरूको महान् विचारको सम्मान गर्न सके मात्र उनीहरूको रातो रगतले बनाएको इतिहासको वास्तविक सम्मान हुनेछ । यसका लागि अपूर्णतामा लगेर टुंग्याइएका आन्दोलनहरूलाई पूर्णतामा पु¥याउन आवश्यक छ । गौरवपूर्ण परम्परालाई कायम गर्दै यस्तो आन्दोलनको उठान विद्यार्थीहरूले गर्नेछन् विश्वास छ ।

(हसिनादेवी, आन्दोलनको मार्गदर्शन, लेखक : शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष : नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास, सम्पादन : अशोक सुवेदी र अरूहरू, प्रकाशक : सरस्वती पोखरेल, २०६४)
हुने बिरुवाको चिल्लो पात

नेपाली जनसमुदायमा चलेको एउटा पुरानो भनाइ छ– हुने बिरुवाको चिल्लो पात । यो भनाइ गङ्गालाल श्रेष्ठमा ठ्याक्कै लागू हुन्छ । पढाइमा मेधावी, तीक्ष्ण मस्तिष्क, बौद्धिक–वैचारिक र दृढ अडानका व्यक्तित्व थिए गङ्गालाल । गङ्गालालको २२ बर्से जीवनको समग्र र सूक्ष्म अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने उनी अदम्य साहस, आँट, विचार र दूरदृष्टिसहितका क्रान्तिकारी योद्धा थिए । यही आत्मत्यागमय इच्छाशक्तिले नै उनलाई निरङ्कुश राणाशासनका विरुद्ध निर्भीक बनेर लड्न र बलिदान गर्न उत्प्रेरित गरेको थियो ।

जोशिला गङ्गालाल

युवक गङ्गालालको भावना र विचारधारा, उत्साह र उमङ्ग १९९५ साल मार्गमा इन्द्रचोकमा भएको आमसभामा नै प्रदर्शित भएको थियो जुन राजधानीमा नै भएको थियो ।त्यस कार्यक्रममा खुलेआम सरकारको भण्डाफोड गरियो जसमा आफ्नो हक पाउनसरकारसँग सङ्घर्ष गर्न आह्वान गरियो । १९९७ सालमा सहिद भएका वीरहरूमध्ये नौजवान गङ्गालाल उमेरमा त सबभन्दा कान्छा थिए तर राजनैतिक चेतना, देशप्रेम, कुर्वानीको आदर्श आदि गुणमा उनी अरूभन्दा कम थिएनन् ।
भुवनलाल प्रधान, ऐ पृ.१७–१८

१९९३ साल आसपासको समयमै दशरथ चन्द–धर्मभक्त माथेमाहरूले स्थापना गरेको नेपाल प्रजापरिषद्मा गङ्गालालको आबद्धता र यसै वर्ष चिनियाँलाल सिंहले खिलटोलस्थित आफ्नै घरमा स्थापना गरेको महावीर इन्स्टिच्युट नामको पब्लिक स्कुलमा गङ्गालाल शिक्षक बनेर अध्यापन गर्नु, पाठ्यक्रमबाहेक राजनीतिक विषयमा पनि अध्यापन र विचारविमर्शहरू हुनु राणाशासनविरुद्ध युवाहरूको सङ्गठित राजनीतिक–वैचारिक कार्यक्रमहरू थिए । १९९४ सालमा स्थापित नेपाल नागरिक अधिकार समितिमा त गङ्गालाल प्रत्यक्ष रूपमै आबद्ध थिए । यो संस्थाले नियमित रूपमा छलफल, बहस र भाषण कार्यक्रम आयोजना गरेर निरन्तर जनचेतना जगाइरहेको थियो ।

भुवनलाल श्रेष्ठले लेखेका छन्, ‘१९९७ सालको काण्डको सिलसिलामा बाँसमा झुन्ड्याइएर पिटिँदा पनि उनको साहस अदम्य थियो, उनको दिल अडिग थियो । माफी मागे ज्यान बचाइदिने सरकारी आश्वासनको हँसी उडाउनेमा दशरथ चन्दको साथै गङ्गालाल पनि थिए ।’
ऐ. पृ. २०–२१

इतिहासका अध्येता भुवनलालले पनि माघ १५ गते राति गङ्गालाललाई दशरथ चन्दका साथै सेन्ट्रल जेलबाट प्याफलको बाटोबाट विष्णुमती लगिँदा प्याफलको बाटो छेउमै बस्ने उनकी एक दिनकी सुत्केरी पत्नी हसिनादेवीलाई ‘हसिना’ भनेर बोलाएको उल्लेख गरेका छन् । कतिपय सन्दर्भमा इतिहासकारहरूले गङ्गालालले हसिनादेवीलाई छोराको राम्रो हेरचाह गर्न र आफ्नो अनुपस्थितिमा कुनै चिन्ता नलिन सुझाव दिएको चर्चा गरेको पाइन्छ । यो लेखकले २०६४ सालमा शिव डाँगी लिखित सङ्घर्षका साठी वर्ष पुस्तक सम्पादन गर्ने समयमा हसिनादेवीको शुभकामना लिन जाने र सोही वर्ष एबीसी टेलिभिजनको आत्मवृत्तान्त स्तम्भमा अन्तर्वार्ता लिन जाने क्रममा हसिनादेवीले भनेकी थिइन्, ‘फाँसी दिन लगिँदै गरेका गङ्गालालले आफू देशका लागि सहिद हुन लागेकाले कुनै पनि चिन्ता नलिनू भन्नुभएको थियो । आफू राणाशासनबाट उत्पीडित सबै जनता र देशको मुक्तिका लागि सहिद हुन लागेकाले कुनै दिन देश र जनताले त्यसको प्रतिफल प्राप्त गर्ने बताउनुभएको थियो ।’
भेटका क्रममा गङ्गालालकी पत्नी हसिनादेवीले राणाशासकहरूले गोली हान्ने क्रममा पनि गङ्गालालले हाँसीहाँसी छाती थापेको सन्दर्भ उल्लेख गरेकी थिइन् । गोली प्रहार गर्न खटाएको मानिसले गङ्गालालमाथि गोली हान्न डराएपछि नरशमशेर आफैँले गोली प्रहार गरेको तर खुट्टामा गोली लागेपछि गङ्गालालले उसलाई दुत्कार्दै ‘म देश र जनताको मुक्तिका लागि हाँसीहाँसी सहिद बन्न लागेकाले हिम्मत भए छातीमै गोली हान् कायर’ भनेको पनि स्मरण गराएकी थिइन् ।

यो सन्दर्भ भुवनलालले पनि आफ्नो पुस्तकमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘विष्णुमतीको बगरमा बाँसमा हातखुट्टा बाँधिएर सँगसँगै ठडाइए । यस्तो हालतमा पनि उनीहरू झन् निर्भीक र उत्साही बनेका थिए । निक्कै बेरको भनाभनपछि जनरल नरशमशेरले गङ्गालाललाई कुठाउँमा गोली चलाई अन्तिम बार माफी माग्न आग्रह गरे । तर रक्ताम्य भएका गङ्गालालले त्यस सुझाउको झन् कडा शब्दमा तिरस्कार गरे । अनि मात्र उनीमाथि ठाउँमा गोली चलाइयो ।’
ऐ. पृ. २२–२३

डा. राजेश गौतमले ‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका’ शीर्षक शोध–पुस्तकको पाँचौँ अध्याय ‘नेपाल प्रजापषिद्का कार्यकर्ताहरूमाथि दमननीति’ शीर्षकको दशरथ चन्द र गङ्गालाल श्रेष्ठको गिरफ्तारी उपशीर्षकमा नेपाल प्रजापरिषद्का संस्थापक, आबद्ध र सहयोगीहरूको गिरफ्तारीको शृङ्खलामा दशरथ चन्द र गङ्गालाल श्रेष्ठको गिरफ्तारीबारे विस्तृत परिचर्चा गरेका छन् ।

उनले १९९७ सालको कात्ति २ गते बिहान ८ बजेतिर वेदबहादुर सिलवाल कृष्णबहादुर थापालाई भिन्दाभिन्दै खड्ग निशाना दिई केही सिपाहीहरू र एउटाएउटा मोटरसहित वेदबहादुर सिलवाललाई प्याफल बस्ने गङ्गालाल श्रेष्ठलाई र कृष्णबहादुर थापालाई पकनाजोल बस्ने दशरथ चन्दलाई समातेर ल्याउन भनी शङ्करशमशेरले आदेश दिएको लेखकसँग वेदबहादुर सिलवालले ०३९ साल माघ ६ गते लिएको अन्तर्वार्ताको स्रोत उल्लेख गर्दै लेखेका छन् ।
(पृष्ठ १२४)

कृष्णबहादुर थापा सिंहदरबारबाट दशरथ चन्द बसेको घर घेर्न र उनलाई गिरफ्तार गर्न पकनाजोल गए तर त्यतिखेर उनी घरमा थिएनन् । कृष्णबहादुर घर घेरेर बसिरहे । केही समयपछि दशरथ चन्द डम्बरकुमारीको खास्टो ओढेर आए । कृष्णबहादुरले उनलाई घरबाहिर समाती उनको कोठामा लगे । सिपाहीहरूले घर खानतलासी गर्न थाले । त्यही समय दशरथ चन्दलाई खाना खाने मौका पनि दिए । उनको कोठामा त्यस्तो कुनै पनि वस्तु र सामानहरू प्राप्त भएन । उनको एउटा ट्रक, बेडिङ र केही किताबहरू मत्र लिई दशरथ चन्दलाई गिरफ्तार गरी सिहंहदरबार पुर्याई सैनिक स्कुलमा राखिएको गौतमले कृष्णबहादुर थापासँग ०३९ साल माघ ६ गते गरेको अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै पुस्तकमा लेखेका छन् ।

उनका अनुसार दशरथ चन्द गिरफ्तार हुँदा नहडबडाई सबैसँग हँसिलोमुखले अभिवादन गरी गएका थिए । दशरथ चन्दलाई गिरफ्तार गर्दा देख्ने त्यतिखेर करिब १२/१३ वर्ष पुगेका तिलकराज शाहीलाई सोध्दा त्यही कुरा दोहोर्याएको गौतमले उल्लेख गरेका छन् ।

गङ्गालाल श्रेष्ठलाई गिरफ्तार गर्न वेदबहादुर सिलवाल गएका थिए । वेदबहादुर सिलवालले गङ्गालाल श्रेष्ठ बसेको घर प्याफलमा गई घर घेरेका थिए । त्यस समयमा गङ्गालाल पनि घरमा थिएनन् । केही समयपछि कोठामा आएका गङ्गालाललाई वेदबहादुरले समातेका थिए । उनलाई पनि दशरथ चन्दलाई जस्तै खाना खान दिइएको थियो । खाना खान दिएपछि कोठामा ल्याएर कोठाको खानतलासी गरियो । खानतलासीमा धेरै किताब र कलमहरूमात्र प्राप्त भए । गङ्गालाल श्रेष्ठका सबै परिवारलाई तल छिँडीमा सिपाहीहरूको निगरानीमा राखी गङ्गालाललाई सिंहदरबार पु¥याइएको लेखकले वेदबहादुरसँग लिएको अन्तर्वार्ताको सन्दर्भ उल्लेख गर्दै गौतमले लेखेका छन् । बिहान १०–११ बजेतिर समातिएका गङ्गालाललाई सिंहदरबार पु¥याई शङ्करशमशेरलाई बुझाइएको थियो ।
पृ. १२४–१२५

फैसला सहर्ष स्वीकार

नेपाल प्रजापरिषद्का बारेमा सूक्ष्म अध्ययन गरेका गौतमले निरङ्कुश राणा शासनविरुद्ध सङ्घर्ष गरिरहेका प्रजापरिषद्का सदस्यहरूले आफूहरूमाथि सरकारले गरेको फैसला सामान्य रूपमै स्वीकार गरेको उल्लेख गरेका छन् । उनका अनुसार सुब्बा महेन्द्रबहादुर महतले एउटा लामो कागत हेर्दै अभियुक्तहरूले पाएको सजाय सुनाउन थाले । सर्वप्रथम शुक्रराज शास्त्रीलाई सर्वस्वहरणसहित फाँसी (मृत्युदण्ड) को सजाय सुनाइयो । त्यसको प्रत्युत्तरमा शुक्रराज शास्त्रीले ओम शान्ति भनी एक पाइला अगाडि बढी उक्त सजायलाई स्वीकार गरेको दर्साई पुनः पछाडि आफ्नो ठाउँमा फर्के । त्यसपछि दशरथ चन्दलाई अंश सर्वस्वसहित फाँसीको सजाय सुनाइयो । प्रत्युत्तरमा छाती फुलाई ‘फाँसी क्या चीज है ?’ भनी ठूलो ठूलो स्वरले हाँसी अगाडि बढेर सजाय सुनी पछाडि फर्किए । गङ्गालाल श्रेष्ठलाई अंशसहित फाँसीको सजाय सुनाए तापनि कलिलै उमेरका भएकाले माफी मागे आजन्म काराबास भनेर सजाय सुनाइयो । कसैले बक्स दिएको ज्यानलाई स्वीकार गरेर बाँचिँदैन भन्ने खरो जबाफ दिएर उनी अडिएको जानकारी गौतमले चन्द्रमान सैँजू, टङ्कप्रसाद आचार्य र वेदबहादुर सिलवालसँग गरेको अन्तर्वार्ताका क्रममा लिएका हुन् । तुरुन्तै उनलाई पनि फाँसीकै सजाय सुनाइएको थियो । प्रत्युत्तरमा उनी पनि दशरथ चन्दजस्तै युवाजोस देखाई हाँसेर अघि बढी सजाय स्वीकार गर्दै पछाडि फर्किएका थिए ।

गङ्गालालमाथि चरम यातना

गिरफ्तारीपछि प्रजापरिषद्का सदस्यहरूलाई चरम यातना दिइएको थियो । गङ्गालाल श्रेष्ठलाई दिइएको यातनाका बारेमा उनका फुपूका छोरा चन्द्रमान श्रेष्ठले आफूसँगको अन्तर्वार्तामा भनेको कुरालाई गौतमले यसरी उद्धरण गरेका छन् :

‘…एक दिन म बहादुरशमशेरसित सिंहदरबारको पुतली बैठकमा रहेको कठघरामा गएको थिएँ । त्यहाँ मैले गङ्गालाल श्रेष्ठलाई पिटिरहेको जुन दृश्य देखेँ त्यो आजसम्म पनि झलझली मेरो आँखाअगाडि आउँछ । उनका दुवै हात पछाडि लगेर बाँधिएको थियो । बाँधिएको हातको बीचबाट एउटा बाँस छिराएर त्यसलाई दुवैतिर २–२ जना सिपाहीहरूले उचालेर बोकेका थिए । जसले गर्दा उनी जमिनबाट एक–एक हात माथि उचालिएका थिए । त्यसरी उचालिएका गङ्गालालका खुट्टा पनि एकआपसमा जोडेर बाँधिएका थिए । सिपाहीहरूले उनको खुट्टाको नलीहाडमा छालाको कोर्राहरूले हानिरहेका थिए । जुन कोर्रा उनको खुट्टामा बेरिन्थ्यो । सिपाहीहरू त्यसलाई एकै झटकमा तान्दथे । त्यसरी तान्दा उनको खुट्टाका मासुहरू खुट्टाको हाडबाट छुट्दथे । मासुहरू फुट्दथे । त्यसमा राणाहरू आइडिन खनाउनु भन्दथे । यसरी उनी कुटाइ खाइरहेका थिए । तर उनी थाकेका थिएनन् । सिपाहीहरू थाक्दथे र पालो फेर्दथे ।’
(पृ. १३५)

गङ्गालाललाई यातना दिएको देख्ने नेपाल प्रजापरिषद्का सदस्य हरिकृष्ण श्रेष्ठको भनाइलाई गौतमले यसरी प्रस्तुत गरेका छन्–

‘…उनको सुरुवाल धुजाधुजा भएर घाउभित्र पसेका थिए । दिनभर कुटेर बेलुकी बाँसबाट ओराल्दा उनी पुर्लुङ्ग ढले जसरी गुलेलीबाट हानेको ढुङ्गा लागी भँगेरा ढल्दछ । म त्यहीँ थिएँ । म गएर उनलाई समातेँ । नरशमशेरले तेरो ज्वाइँ (गङ्गालालकी पत्नी हसिनादेवी हरिकृष्ण श्रेष्ठका मामाकी छोरी थिइन्) को के गति भएको छ तेरो पनि त्यही गति हुनेछ, सबै कुरा बता भनेर भने । म चुप लागिरहेँ । गङ्गालाललाई त्यहाँबाट दुईजनाले घिसारेर लगे ।’
‘खतरनाक’ गङ्गालाल

गङ्गालाल उमेरमा कान्छो भए पनि एकदमै निर्भीक र आफ्नो उद्देश्यप्रति प्रतिबद्ध थिए । त्यसैले उनलाई राणाशासकहरूले खतरनाक व्यक्तिका रूपमा लिएका थिए । उनलाई माफी मगाउन सकिए त्यसले अरूलाई पनि क्रान्तिको मार्गबाट फर्काउन सकिन्छ भन्ने भ्रम राणाशासकहरूमा थियो । त्यसैले गिरफ्तारीदेखि फाँसीको समयसम्म पनि उनीमाथि बारम्बार माफी माग्न भनिएको थियो । कहाँसम्म भने दुई गोली हानिसक्दा पनि माफी माग्न भनिएको थियो तर उनले कसैको बक्सिसको जीवन नबाँच्ने, छातीमा गोली थापेरै देश र जनताका लागि सहिद बन्ने प्रतिबद्धता दोहो¥याए । झुन्ड्याएर मारिनुभन्दा गोली खाएर मर्नु ठूलो साहसको काम हुन्छ भनेर दशरथ चन्द र गङ्गालालले सल्लाह गरेरै राणा शासकहरूसँग आफूलाई गोली हानेर मार्न सुझाव दिएका थिए ।

गङ्गालाल श्रेष्ठलाई फाँसीको सजाय सुनाउँदा उनकी पत्नी हसिनादेवी गर्भवती थिइन् । श्रीमती गर्भवती भएको अवस्था देखेर पनि हुनुपर्छ गङ्गालाललाई फाँसीको सजाय सुनाए पनि माफी मागेमा आजन्म काराबासको सजाय दिने भन्ने भित्री निर्णय गरिएको पनि इतिहासकारहरूले कहीँकहीँ उल्लेख गरेका छन् । गौतमका अनुसार गङ्गालालको कलिलो उमेर देखेर सजाय सुनाइसकेपछि बहादुरशमशेरकी छोरी पुकुमैयाँ र अरू घरबेटीहरू मिलेर प्रधानमन्त्री जुद्धशमशेरकहाँ गई गङ्गालाललाई माफी दिन अनुरोध गरेका थिए । उनीहरूले त्यस्तो बालकलाई कसरी मारिसिन्छ भनी जुद्धशमशेरलाई सोध्दा उनले कुनै पनि प्रत्युत्तर नदिएको र फेरि अर्कोपल्ट पनि उनीहरूले अनुरोध गर्दा ‘तिमीहरू त्यसलाई केटाकेटी भन्छौ, त्यसले कस्तोकस्तो काम ग¥यो थाहा छैन ? तिमीहरू नै केटाकेटी छौ, बुझ्दैनौ, जाऊ भनेर गाली गरेर पठाएका थिए । तर जुद्धशमशेरले गङ्गालालले अन्तिम समयसम्म पनि माफी मागेको खण्डमा माफी दिने गोप्य निर्णय गरेका थिए र त्यस्तै निर्देशन पनि दिएका थिए भन्ने कुरा गौतमले ब्रह्मशमशेर, ज्यानबहादुर नेवा, वेदबहादुर सिलवाल र कृष्णबहादुर थापासँग गरेको अन्तर्वार्तामा उल्लेख गरेका छन् । तर गङ्गालाल भिक मागेर ज्यान बचाइमाग्ने पक्षमा थिएनन् । उनले माफी माग्ने कुरा कहिल्यै सोचेनन्, बरु त्यस्तो तुच्छ कार्यलाई घृणा गरिरहे । लोकतन्त्रका नाममा शासन गरिरहेको वर्तमान सरकार क्रान्तिकारीहरूप्रति क्रूर र निरङ्कुश बन्दै गएको सन्दर्भमा पनि नेपाली जनता विद्रोह र क्रान्तिको बाटोमा लामबद्ध छन् । महान् सहिदहरूको त्याग, शौर्य र बलिदान जनताका लागि उत्प्रेरणाको स्रोत बनिरहेको छ ।

राणाहरूले शुक्रराज शास्त्रीलाई मारिसकेपछि दशरथ चन्दले गङ्गालाललाई भनेका थिए, ‘वीरले झैँ गोली खाएर मर्नुपर्छ, झुन्डिएर मर्नु हुँदैन ।’गङ्गालाल पनि झुन्डिएर भन्दा गोली खाएरै बलिदान दिने पक्षमा थिए । उनीहरूले जेलको कर्नेललाई बोलाए‘हामी झन्डिएर होइन, गोली खाएर मर्न चाहन्छौँ । त्यसैले तिम्रो महाराजालाई हाम्रो सजायमा फाँसी भए पनि गोली हान्ने आदेश दिन अनुरोध गर्न चाहन्छौँ’ भनेको कुुरा चन्द्रमान सैँजुले गौतमसँग बताएका थिए । जुद्धशमशेरले दशरथ र गङ्गालालको इच्छाबमोजिम गोली हानेरै मार्नू भन्ने आदेश दिँदा दुवैजना खुसी भएर हाँसेको चन्द्रमान सैँजुले बताएका थिए ।

१९९७ साल माघ ११ गते गङ्गालाल र दशरथ चन्दलाई थुनिएको सिंहदरबारभित्रको एउटा कोठाबाट सदर जेलमा ल्याइएको थियो किनकि त्यस दिन गङ्गालाललाई भेट्न उनका आफन्त आउँदै थिए । गङ्गालाललाई भेट्न गएका चन्द्रमान श्रेष्ठले त्यतिबेलाको कुरा सम्झिँदै भनेका छन्, ‘…भेट्न बोलाएपछि गङ्गालालका पिता भक्तलाल, शम्भुराम, आनन्दरामलगायत म पनि थिएँ । भक्तलाल गङ्गालाललाई देख्नासाथ रोएर फर्के । हामीले भेट्यौँ । उनलाई भेट गराउन ल्याउँदा दुवै हात पछाडि लगेर बाँधिएको र हतकडी लगाइएको थियो । मैले उनकी पत्नी र आमाले माफी मागिरहेको कुरा बताएँ । तर उनले त्यसतर्फ वास्ता गरेनन् र अगाडि रहेको कल्पवृक्षको रूख र जगन्नाथको मन्दिरलाई उदाहरण बनाएर यो रूख पनि पुरानो र बूढो भएपछि आफैँ ढल्छ । त्यस्तै गरी यो मन्दिर पनि पुरानो भएपछि चुहन्छि र भत्किन्छ । हाम्रो जीवन पनि त्यस्तै हो, केही छैन भनी हामीलाई नै सान्त्वना दिन थाले । त्यसपछि भेट्ने समय सकिएकाले गङ्गालाललाई जेलभित्र लगे ।’
पृ. १७९

गङ्गालालसँग आफन्तहरूले करिब आधा घन्टाजति भेटेका थिए । गङ्गालाल जेलभित्र पसेपछि उनीसँग अङ्कमाल गरेर दशरथले चिउँडो समाती टाउको उठाउँदै अनुहारतिर हेरेर गम्किँदै भनेका थिए, ‘स्याबास् मेरो भाइ कहिल्यै रुँदैन ।’ गङ्गालालको आँखामा आँसु थिएन । गङ्गालाल जेलभित्र पसेको केही समयपछि उनलाई भेट्न पुगेकी साथी कामक्षदेवीले भेट र कुराकानीबारे भनेकी छिन्, ‘दाइ केही भन्नु छ कि भन्नुस् भन्दा मैया बहिनी, मेरो जीवनी दमनराज तुलाधरलाई भनेर, सोधेर लेखाउनू, साथीहरूलाई बनाएको बाटो नभुल्नू भनिदिनू ।’
पृ. १८०

माघ १३ गते गङ्गालालकी पत्नी हसिनादेवीले छोरो जन्माइन् । छोरो जन्मिएको खबर गङ्गालाललाई जेलमा सुनाइयो । छोराको नाम शशि राख्नू भनेर गङ्गालालले घरमा खबर पठाएको चन्द्रमानले बताएका छन् ।
पाशविक, कायरतापूर्ण र क्रूर हत्या

शासकहरू क्रूर हुन्छन् । सत्ताका सामुन्ने तिनीहरू अन्धा हुन पुग्छन् । माघ १४ गते राति जेलबाट सिक्री र नेलसहित निकालेर एउटै गाडीमा विष्णुमती किनार शोभाभगवतीतिर लगिएको थियो । फाँसी दिनुअघि र फाँसी दिँदाको अवस्थाका बारेमा प्रत्यक्षदर्शी वेदबहादुर सिलवालले भनेका छन्, ‘…उनीहरूलाई त्यहाँ पु¥याएपछि नरशमशेरले गङ्गालालको अन्तिम इच्छा सोधे । गङ्गालालले नुहाई केही पाठ गर्ने इच्छा भएको कुरा बताए । उनलाई ती कार्य गर्न अनुमति दिए । त्यसपछि नरशमशेरले दशरथ चन्दलाई उनको अन्तिम इच्छा सोधे । उनले मेरो इच्छा तैँले पु¥याउन सक्छस् ? भनी सोधी राणाशासन खतम भएको हेर्ने इच्छा छ भनी भने । त्यसपछि नरशमशेर रिसाएर उनलाई गाडिएको लठ्ठामा बाँध्ने आदेश दिए । सिपाहीहरूले दशरथ चन्दलाई बाँध्न लागेको देखेर गङ्गालाल ननुहाईकनै त्यहीँ आए । नरशमशेरले उनलाई पनि बाँध्ने आदेश दिए । त्यसरी बाँध्दा दशरथ चन्दलाई उत्तरपट्टि र गङ्गालाललाई पश्चिमपट्टि फर्काएर बाँधिएको थियो । ती दुवैजनालाई बाँधिसकेपछि नरशमशेरले गङ्गालाललाई हेरेर ‘हेर, माफी मागिस् भने अझै पनि तँलाई समय छ’ भनेर भन्दा ‘मैले माफी माग्नुपर्ने काम के नै गरेको छु र ? फेरि म तँजस्तो कसाईजस्तो मानिससित किन माफी माग्छु ? बरु तैँले, तिमीहरूले गरेको अत्याचारका लागि हामीसँग माफी माग’ भनी भनेका थिए ।’
पृ. १८१–१८२

त्यसपछि दशरथ चन्द र गङ्गालालको बीच पहिले को मर्ने भन्ने विषयमा कुराकानी भएको थियो । राणा सरकारले दशरथलाई पहिले गोली हानी मार्ने र गङ्गालाललाई तर्साएर माफी मगाउने भित्री योजना बनाएको थियो । त्यो कुरा दुवैले थाहा पाएका थिए । त्यसैले दशरथ चन्दले पहिले गङ्गालाललाई गोली हान्न अनुरोध गरेका थिए । तर गङ्गालालले दशरथ चन्दको कुरा बुझिसकेका थिए । उनले भने, ‘दाइ, म तपाईंको मनको कुरा बुझ्छु । तपाईं ढुक्क हुनुहोस् म माफी कहिल्यै माग्दिनँ ।’

त्यसपछिको अवस्थाका बारेमा वेदबहादुरले भनेका छन्, ‘यसपछि उनीहरूलाई मार्न भनी त्यहाँ उपस्थित गराइएका दुई पोडेहरू ल्याइयो र पहिलो पोडेलाई दशरथ चन्दको घँुडामा गोली हान्न लगाइयो । उसले नगिचै गएर गोली हान्यो । यसले उनलाई कुनै असर परेन । त्यसपछि त्यही पोडेलाई दोस्रो गोली तिघ्रामा हान्न लगाइयो । उसले फेरि नगिचै गई हान्यो । दशरथ चन्द छटपटाउन थाले । अनि गङ्गालाल रिसाएर सक्छस् भने तेरो बाउलाई एक गोली हानेर मार भनी कराए । नरशमशेर रिसाएर एक गोली स्वयम्ले गङ्गालालको घुँडामा हाने । तर त्यसले उनलाई कुनै असर पारेन । गङ्गालाल नरशमशेरलाई गाली गरिरहे । यही बेला फेरि तेस्रो गोली दशरथको कोखामा हान्न भनियो । उसले नगिचै गएर कोखामा गोली हान्यो । उनी झन् छट्पटाउन थाले । यी सबै दृश्य देखाएर नरशमशेर गङ्गालाललाई माफी मगाउन चाहन्थ्यो तर त्यसले गङ्गालाललाई झन् उत्तेजित र जोशिलो बनायो ।

त्यही समय नरशमशेरले दोस्रो गोली गङ्गालालको तिघ्राभन्दा अलि तल हाने । उनले फेरि नरशमशेरलाई गाली गर्न थाले । त्यतिन्जेलसम्मदशरथ छट्पटाइरहेका नै थिए । नरशमशेरको आदेशमा पहिलो पोडेले अर्को चौथो गोली दशरथ चन्दको छातीमा हान्यो र उनलाई सहिद बनायो । …त्यसपछि नरशमशेरले गाली गरिरहेका गङ्गालालको तिघ्रामा नै तेस्रो गोली हाने । गङ्गालाल छट्पटाउन थाले । त्यो सबै दृश्य दोस्रो पोडेले हेरिरहेको थियो । नरशमशेरले दोस्रो पोडेलाई बोलाई गङ्गालाललाई गोली हान्ने आदेश दिए । तर उसले गोली हान्न अस्वीकार गर्यो र रुन थाल्यो । नरशमशेरले फकाउँदा पनि पोडे गोली हान्न तयार भएन । गोली हान्न तयार नभएको भन्दै उक्त पोडेलाई ६ महिनासम्म सिंहदरबारमै थुनिएको पनि गौतमको पुस्तकमा उल्लेख छ ।

त्यसपछिको अवस्थाबारे प्रत्यक्षदर्शी वेदबहादुर सिलवालले भनेका छन्, ‘यसपछि नरशमशेरले पहिलो पोडेलाई ल्याई गङ्गालाललाई गोली हान्न भने तर यतिखेर उसले पनि नगिचै गएर गोली हान्न नसक्ने र टाढाबाट हानेको गोली पनि लाग्न नसक्ने बताई गोली हान्न अस्वीकार ग¥यो । यतिखेर ऊ पनि कामिरहेको थियो तैपनि नरशमशेरले त्यस पोडेलाई अँगालो हाली फकाउन थाले । टाढैबाट गोली होली हान्न अँगालो हाली पिस्तोल समाउन मद्दत दिए । त्यसप्रकार मद्दत दिँदादिँदै पिस्तोलबाट दुईवटा गोली छुट्यो जुन क्रमशः गङ्गालालको पेट र कोखामा लाग्न गयो । गङ्गालाल पनि सहिद भए ।’
पृ. १८३

गङ्गालाल सहिद हुँदा राति (बिहान) को दुई बजेको थियो । यसरी गङ्गालालले निरङ्कुश राणाशासनको अन्त्य र नेपाली जनताको मुक्तिका लागि आफ्नो ओजस्वी र गौरवशाली मृत्यु वरण गरे । उनलाई नेपालका प्रथम विद्यार्थी सहिद मानिएको छ ।

१९९७ सालको सहिदकाण्डबारे अध्ययन

१९९७ सालको सहिद पर्व र निरङ्कुश राणाशासनकालको इतिहासका विषयमा नेपालका धेरै अध्येताहरूले कलम चलाएका छन् । कयौँ अध्येता र स्रष्टाहरूले त राणाशासनका विरुद्ध लड्दालड्दै सहिद बनेका गङ्गालाल श्रेष्ठ र कृष्णलाल अधिकारी जन्मिएको जिल्ला रामेछाप र सहिदहरूको जन्मथलो भँगेरी र कठजोरको यात्रा गरेरै लेख, संस्मरण, पुस्तक र पत्रिकाहरू लेखेका छन् । प्राडा सुरेन्द्र केसी, नेत्री एवम् स्रष्टा शान्ता श्रेष्ठ, प्रा. राजेन्द्र सुवेदी, डा. रामप्रसाद ज्ञवाली, प्रा. पुष्कर लोहनी, अनिल शर्मा ‘विरही’, नारायण शर्मा ‘कमलप्रसाद’, सरला रेग्मी, हीरामणि दुःखी, लेखनाथ न्यौपाने, प्राडा जगदीशचन्द्र भण्डारी, अशोक सुवेदी, मधुसूदन पाण्डेय, झपेन्द्र वैद्यलगायतले गङ्गालाल, पुुष्पलाल र कृष्णलालको जन्मथलोमै पुगेर अनुभूतिहरू लेखेका छन् । (उनीहरूका लेख/संस्मरण/अनुभूतिका अंशहरू यसै आलेखमा विभिन्न सन्दर्भमा दिइएका छन्– लेखक)

इतिहासका अध्येता राजेश गौतमले नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका विषयमा विद्यावारिधि गरेका छन् । यद्यपि निरङ्कुश राणाशासनका विरुद्ध लखन थापाको विद्रोह, सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती पुस्तक, उनले गरेको साहित्यिक विद्रोह र बलिदानका बारेमा अध्येताहरूले विभिन्न समयमा अध्ययन गरी पुस्तक, लेखरचनाहरू प्रकाशित गरेका छन् । बालचन्द्र शर्माको नेपालको ऐतिहासिक रूपरेखा, जीवराज शर्माको नेपाल प्रजापरिषद्को सङ्क्षिप्त इतिहास, वीणा दैवज्ञको २००७ सालमा राजनीतिक दलहरूको भूमिका, जगतबहादुर सिंहको नेपाल प्रजापरिषद्को सङ्क्षिप्त इतिहास, पुष्पलाल श्रेष्ठको कालकोठरीबाट, धर्मरत्न यमीको नेपालको कुरा, डिल्लीरमण रेग्मीको अ सेन्चुरी अफ फेमेली अटोक्रेसी इन नेपाल, एरिका ल्युस्टाकको विथ ए किङ इन द क्लाउड, भुवनलाल जोशी र लिओ ई रोजको डेमोक्रेटिक इनोभेसन इन नेपाल, भोला चटर्जीको ए स्टडी अफ रिसेन्ट नेपलिज पोलिटिक्स, खड्गमान सिंहको जेलमा बीस वर्ष, चन्द्रकान्ता मल्लको मेरो आत्मकथा, दमनराज तुलाधरको कन्टेम्पोररी नेपाल, श्यामप्रसाद शर्माको थुनुवाको डायरी, डा. हरिराज भट्टराईको सम्पादकत्वको चन्द्रधर उप्रेती स्मृतिग्रन्थ, चन्द्रविक्रम बुढाथोकीको डेमोक्रेटिक मुभमेन्ट इन नेपाल, दुर्गादेवी श्रेष्ठको प्रधानमन्त्री जुद्धशमशेरको शासनकाल : एक परिचय, भीमबहादुर पाँडेको त्यसबखतको नेपाल, राजेश गौतमको नेपालका प्रजातन्त्रका प्रवर्तक श्री ५ त्रिभुवन, टङ्कप्रसाद आचार्यको प्रजातन्त्र आउन अझै २५ वर्ष लाग्छ (अन्तर्वार्ता), राजेश गौतमकै गङ्गालाललाई गोली कसले हान्यो ?,शान्ता श्रेष्ठको मान्छेभित्रको मान्छे, चन्द्रकान्ता जोशीको…., अशोक सुवेदीको लेखन÷सम्पादन र हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको प्रकाशनका नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, नौलो बिहानी वर्ष १, अङ्क १, लालभूमिको यात्रा, लालबस्ती, बन्द कोठादेखि युद्ध–कला सङ्ग्रहालयसम्म, रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय सुवेदीलगायत पुस्तक, पत्रिकाहरूमा रामेछाप जिल्ला, रामेछापमा जन्मिएका सहिदहरूगङ्गालाल श्रेष्ठ, कृष्णलाल अधिकारी र नेकपाका संस्थापक महासचिव पुष्पलालका बारेमा पर्याप्त चर्चा गरिएको छ ।

निष्कर्ष

गङ्गालाल श्रेष्ठ नेपालको राजनीतिक इतिहासका अत्यन्त इमानदार, होनहार, बौद्धिक व्यक्तित्वका साथै प्रथम विद्यार्थी सहिद हुन् । निरंकुश राणाशासनको अन्याय, अत्याचार, विभेद र दमनका विरुद्ध राजनीतिक सङ्गठन खोलेर सङ्गठित हुँदै विद्रोह बोल्ने गङ्गालाल लखन थापा, योगमाया र कृष्णलाल अधिकारीहरूका उत्तराधिकारी हुन् भने कृष्ण सेन इच्छुक, दिलमाया बम्जनलगायत दसौँ हजार सहिदहरूका विचार, विद्रोह र बलिदानका ऊर्जा हुन् । गङ्गालालले राणा शासनविरुद्ध विद्रोह बलेर बलिदान नगरेका हुन्थे भने पुष्पलाललाई कम्युनिस्ट घोषणापत्र नेपाली भाषामा अनुवाद गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्ने प्रेरणा जाग्थ्यो कि जाग्दैनथ्यो, भन्न सकिन्न । जसरी लेनिनका दाजु अलेक्ज्यान्डर उल्यानोभले जारशाहीका विरुद्ध बलिदान गरेपछि लेनिन क्रान्तिकारी आन्दोलनमा अग्रपङ्क्तिमा लामबद्ध भएर क्रान्तिको नेतृत्व गर्नुभएको थियो, त्यसैगरी गङ्गालालको बलिदानले पुष्पलाललाई नेकपा स्थापना गर्न र कम्युनिस्ट आन्दोलन सञ्चालन गर्न प्रेरित गरेको थियो । त्यसैले गङ्गालाल सहिद त हुनुहुन्छ नै नेपालका क्रान्तिकारी आन्दोलनका उत्प्रेरक पनि हुनुहुन्छ । सबैखाले शोषण, अन्याय, अत्याचार, विभेद र दासताविरुद्ध विद्रोहको झन्डा उचाल्ने गङ्गालाल श्रेष्ठ नेपाल र नेपालीको मुक्तिका पथप्रदर्शक हुनुहन्छ । उहाँका योगदानहरूको कदर गर्नु, उहाँ हिँडेको बलिदानको बाटो हिँड्नु र कुनै किसिमको डर, धाक, धम्की र लोभलालचमा नफसी निरन्तर देश र जनताका लागि समर्पित हुनु गङ्गालाल बन्नु हो । उहाँको व्यक्तित्व र कीर्तित्वले स्वाभिमानी नेपालीहरूलाई सदा प्रेरित गरिरहेको छ, गरिरहनेछ । गङ्गालालको नाम अमर सहिदका रुपमा स्थापित भए पनि उहाँमाथि जति काम हुनुपथ्र्यो त्यति हुन सकेको छैन । प्रतिष्ठान निर्माण गरी उहाँ र पुष्पलालको जन्मथलो भँगेरीमा सालिक, उद्यान, पुस्तकालय, सङ्ग्रहालय निर्माण गर्नु आवश्यक छ । जति भएको छ त्यो अपुग छ । उहाँहरूका अनुयायी हौँ भन्दै सत्तामा ढलिमली गर्ने, सत्ताको दुरुपयोग गर्ने, उहाँहरूको नाममा सत्ताको दोहन गर्ने गलत संस्कार बढेको छ । त्यसलाई निरुत्साहित गर्दै उहाँहरूका योगदान स्थापित गर्नुपर्छ । उहाँहरूका नाममा विश्वविद्यालय र अनुसन्धान केन्द्रहरू निर्माण हुनुपर्छ ।जनउत्तरदायी वैज्ञानिक समाजवादी सत्ताले मात्र सहिदहरूको लक्ष्य र उद्देश्य पूरा गर्नसक्छ । चेतनशील जनसमुदाय त्यस बाटोतर्फ अग्रसर हुनुपर्छ । अहिलेलाई यत्ति नै ।
१६ माघ, २०७५
हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठान
हित–जून युद्ध–कला सङ्ग्रहालय
सिर्जनानगर, सानीमदौ, मन्थली–१, रामेछाप
…………………..
सिर्जनायात्रामा गङ्गालाल–पुष्पलालको स्मृति

हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले विगत करिब डेढ दशकदेखि स्रष्टा, चिन्तक र कलाकार–पत्रकारहरूलाई गङ्गालाल–पुष्पलाल–कृष्णलाल जन्मस्थल रामेछापको भ्रमण गराउँदै आएको छ । प्रतिष्ठानले २०७० साल माघको अन्तिम साता गङ्गालाल–पुष्पलाल जन्मथलो भँगेरीमा एउटै शिलामा दुई लालको सालिक पनि निर्माण गरेको छ । यहाँ उक्त यात्राबाट फर्किएपछि केही स्रष्टाले गरेको गङ्गालाल–पुष्पलालका योगदान, त्याग, शौर्य र बलिदानका साथै प्रतिष्ठानको प्रयाससम्बन्धी संस्मरणबाट केही अंश उद्धरण गरिएको छ । यसमा समाविष्ट अनिल शर्मा विरहीको टिप्पणी सबैभन्दा पहिलो अर्थात् २०६५ सालको हो भने अरुका त्यसपछिका वर्षहरुका हुन् ।

शान्ता श्रेष्ठ
…हामी भँगेरी पुग्यौँ । ड्राइभरलाई धन्यवाद दियौँ । सूर्यको किरण मधुरो हुँदै थियो । दुईवटा मुभी क्यामराले छायाँकन गर्दै थिए । हामीले कार्डसहित बसबाट ओर्लेदेखि नै प्रथम अभियानको मार्च गर्दै सहिद गङ्गालाल श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठको जन्म थलो (जहाँ भग्नावशेषसम्म बाँकी थिएन) पुग्यौँ ।

दुई पैसाजतिको सानो, सम्म परेको बारीमा एउटा ठूलो ढुङ्गामा अत्यन्त राम्रोसँग कँुदिएको प्रतिमा थियो सहिद गङ्गालाल श्रेष्ठ र पुष्पलाल श्रेष्ठको । कार्यक्रम सुरु गर्नुभयो अभियान आयोजक संस्था हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् सांस्कृतिक अभियन्ता अशोक सुवेदीले । उहाँले तीन लाल (पुष्पलाल–गङ्गालाल–कृष्णलाल) र भँगेरीको ऐतिहासिकताको परिचय, महत्वका साथै करिब तीन वर्षअघि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको प्रायोजन र आयोजनामा पुष्पलाल–गङ्गालालको मूर्ति कुँद्ने कलाकार र सहभागी सबैको परिचय पनि दिनुभयो ।

भँगेरीमा एउटै ढुङ्गामा अर्धकधको सालिक कुँदिएको थियो कवि हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानबाट २०७० साल माघको अन्तिम साता । उक्त ऐतिहासिक कार्य सम्पन्न गर्न प्रतिष्ठानका साथै अखिल नेपाल ललितकला सङ्घ केन्द्रीय समिति, मूर्तिकार नरेन्द्रप्रसाद भण्डारी, अग्निराज पौडेल ‘अराप’, मङ्गोलपुत्र र रामेछापबासी जनसमुदायको सक्रिय सहयोग रहेको, सालिक निर्माणकार्यका संयोजक वरिष्ठ साहित्यकार, कवि अशोक सुवेदीले दिनुभयो । सहयात्रीहरूको परिचय र जानकारीबाट उक्त सङ्क्षिप्त तर ऐतिहासिक कार्यक्रम सुरु गरियो । सालिकमा माल्यार्पण गरी उहाँले तीन लालको महत्व र सालिक निर्माणको कथा पनि सुनाउनुभयो । यो सात सय केजीको ढुङ्गामा मूर्ति कुँद्ने काम वरिष्ठ मूर्तिकार तथा अखिल नेपाल ललितकला सङ्घका तत्कालीन केन्द्रीय समितिका अध्यक्ष वरिष्ठ मूर्तिकार नरेन्द्रप्रसाद भण्डारीले गर्नुभएको पनि अशोक सुवेदीजीले बताउनुभयो । टोलीले अहोरात्र खटेर २०७० साल माघ २४ गतेदेखि ३० गतेसम्ममा ठूलो मेहनत र परिश्रमले त्यो सालिक तयार पारेको थियो ।

सहिद गङ्गालाल श्रेष्ठ र कम्युनिस्ट पार्टीका संस्थापक स्व. पुष्पलाल श्रेष्ठबारे सङ्क्षिप्त मन्तव्य दिने क्रम राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीबाट सुरु भएको थियो । वरिष्ठ साहित्यकार, कवि, गीतकार, गायक, ललितकलाकर्मी (चित्रकार र मूर्तिकार) हरूको मन्तव्यको छायाँकन पनि गरियो । कवितावाचन र गीत गायन पनि भयो । कार्यक्रम सङ्क्षिप्त भए पनि महत्वपूर्ण र ऐतिहासिक थियो । सबै सहभागीहरू प्रफुल्ल थिए । अन्त्यमा प्रमुख अतिथिका रूपमा म आफैँले अभियान, प्रतिष्ठान, गङ्गालाल–पुष्पलाल–कृष्णलालका बारेमा छोटो मन्तव्य राखेँ । त्यसपछि अशोकजीले कार्यक्रम विसर्जन गर्नुभयो । यस्तै कार्यक्रम गत नौ वर्षदेखि गर्दै आउनुभएका अशोक सुवेदीले सयौँ युवा, राजनीतिकर्मी र अन्य विधाका व्यक्तित्वलाई यस ऐतिहासिक सभ्यतास्थलमा काठमाडौँबाट ल्याएको जानकारी पनि दिनुभयो । यी उदाहरणीय कार्य ‘हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान’ बाट अशोक सुवेदीजीकै पहलमा हुँदै आएको छ । यस यात्रालाई साहित्यक, ऐतिहासिक र सांस्कृतिक यात्रा मान्नुपर्छ । यसले ऐतिहासिक जिल्ला रामेछापको राम्रो परिचय दिएको छ ।
…………………………………….
सरला रेग्मी
…रामेछाप तीन लालको जन्मथलो पनि हो । यो कुरा स्थापित गर्नु हामी सबैको दायित्व पनि हो । यो कुरा माथिबाट सोच्नुपर्ने हो । मैले व्यक्तिगत रूपमा पहल बुबाआमाको नामबाट गरेको छु । सानो कोष खडा गरेर त्यसको ब्याजबाट बर्सेनि चैत २५ गते रामेछापमा साहित्यिक कार्यक्रम हुन्छ । सानो पुरस्कार पनि वितरण गर्दै आएको छु । बर्सेनि देशभरिका व्यक्तित्वलाई मन्थलीदेखि भँगेरीसम्म पु¥याएर गोष्ठी, अन्तरक्रिया अनि पुरस्कार प्रदान गर्ने गरेको छु । क्रियाशीलता, तत्परता र निरन्तरताले साहित्यमा विकास अनि व्यक्तिमा उत्साह जगाउँदो रहेछ । यसको व्यवस्था हाम्रो संस्थाले मिलाउँछ ।

यति सुनिसकेपछि मैले जाने मनस्थिति मात्र बनाइनँ, तुरुन्त भनिहालेँ– म आजसम्म त्यस्ता कुनै साहित्यिक कार्यक्रममा सहभागी भएकी छैन । न त सङ्गठित नै हुन पाएकी छु । जे होस्, यसपालि भने अवसर मिल्छजस्तो छ । बैरागीजीले हाँस्दै भन्नुभयो– म त गैसकेको छु । त्यहाँका बारेमा छुट्टै काव्य पनि लेख्दैछु–जूनमायाका फूलहरू । तपाईंले लेखेर मात्र हुँदैन, सबैको बीचमा पनि पुग्नुपर्छ ।

कुरा मोड्दै मैले भनिहालेँ– बरु तीन लालका बारेमा मलाई केही भनिदिनोस् न । झोलाबाट निकालेर आफ्नो सम्पादन/प्रकाशनको ‘मकैको खेती’ नामक पुस्तक दिँदै अशोकजीले उत्साहित हुँदै भन्नुभयो– पुष्पलाल, गङ्गालाल र कृष्णलाल । यिनै तीनजना लाललाई मिलाएर तीन लाल भनिएको हो । कमरेडले गङ्गालाल र पुष्पलाल दुईजनालाई चिनिसक्नुभयो । कृष्णलाल उही ‘मकैको खेती’ नामक पुस्तक लेखेबापत राणा शासकहरूले जेलमै हत्या गरेका पहिलो साहित्यिक सहिद हुनुहुन्छ ।

यी सबैभन्दा पहिले मैले गङ्गालाललाई चिन्न पाएँ । गङ्गालालको उमेर र साहसको अगाडि मैले धेरैपटक आँसु बगाएकी छु । गम्भीर भएकी छु । सहिद गङ्गालालसँग, शुक्रराज, दशरथ चन्द र धर्मभक्तलाई दिएको फाँसी र गोलीका विरुद्ध आगो ओकलेकी छु । उहाँहरूको साहसको सम्मान गर्न अनि उहाँको सपना पूरा गर्न केही न केही गर्नुपर्छ भन्ने सपना देखेकी छु । जनयुद्धमा लामबद्ध भएर ती सपना साकार गर्ने अभियानमा लागेकी पनि हुँ ।

वास्तवमा मैले सबैभन्दा पछाडि पुष्पलाललाई चिन्न र बुझ्न पाएँ । कम्युनिस्ट पार्टीका संस्थापक महासचिव, सबैभन्दा अग्लो मान्छे जसले जीवनमा आफ्नो कार्यदिशा अरूकै काँधमा सुम्पियो । सामूहिकता अनि सहपाठी आफ्नै कमरेडहरूमा अथाह विश्वास गर्यो । आफूलाई सानो बनायो । तर उहाँभित्रको अग्लो र ठूलो, महान् क्षमता, त्याग, दक्षता सबैले देख्न पछि मात्र सके । उहाँको मृत्युपछि मात्र विभिन्न कोणबाट मूल्याङ्कन गरियो । बाँच्दासम्म एक गाँस खान नपाउने, अभावको जीवन जिउनेहरूलाई मरेपछि सम्मान गरिने यो मुलुकको विडम्बनापूर्ण इतिहासको सिकार पुष्पलालको पनि बने । उनको जन्मजिल्ला रामेछाप रहेको मैले भर्खरै थाहा पाएँ । त्यो ठाउँमा मन गैहाल्यो उडेर, अब तन जान बाँकी थियो । आज उनै महान् मान्छेहरूको जन्म जिल्ला जाने अवसर पाउने कुरा सुनेर म रोमाञ्चित भएँ ।

प्रा. डा. सुरेन्द्र केसी
…वामपन्थीहरू यसो त विश्वप्रसिद्ध दार्शनिक कार्ल माक्र्सको जन्मस्थल जर्मनीको ट्रियरलाई एक पवित्र स्थलका रूपमा तीर्थस्थलसरह मान्छन् । जहाँ आजभन्दा १९८ वर्षअघि ई. १८१८ मे ५ का दिन कार्ल माक्र्सको जन्म भएको थियो । कदाचित तिनीहरू त्यहाँ पुग्न सक्दैनन् र लन्डन पुगेका हुन्छन् भने त्यहीँको हाइहिलमा अवस्थित लन्डन हाइगेटलाई पनि त्यत्तिकै पवित्र स्थलका रूपमा मान्छन्, पुज्छन् । किनभने त्यहाँ कार्ल माक्र्सको मूर्ति र पार्क पनि बनाइएको छ । त्यसैले लन्डन पुगेका सचेत वामपन्थीहरू अवश्यमेव त्यहाँ पुग्न चुक्दैनन् । कदाचित त्यसो भयो भने त्यहाँ निर्मित माक्र्सको सालिकनजिकै उभिएर भव्य मूर्तिअगाडि उभिएर एउटा राम्रो फोटो खिच्न चुक्दैनन् र ठूलो सन्तुष्टिसँगै गौरव पनि महसुस गर्छन् ।

तर सबैलाई लन्डन के नसिब हुन्थ्यो र ? तिनीहरूचाहिँ ती दुवै स्थानबारे कल्पना मात्रै गर्छन् र कदाचित त्यो साइत जु¥यो भने अवश्य पनि त्यो गर्ने भन्ने अठोट मनमा साँचिरहन्छन् । कसैलाई त्यस्तो सम्भव पनि हुन सक्ला तर अधिकांशको त्यो सपना अधुरै रहला, कहिल्यै पूरा नहोला । यस्तै कार्य यूके पुगेका सेक्सपियरप्रेमीहरू गर्छन् भने त्यही कुरा चीन पुगेका माओप्रेमी, भियतनाम पुगेका होचिमिन्हप्रेमी, दक्षिणअफ्रिका पुगेका मन्डेलाप्रेमी र क्युबा पुगेका क्यास्ट्रोप्रेमीहरू पनि गर्छन् । उता रुस पुगेका लेनिन–स्टालिनप्रेमी, प्योङयाङ पुगेका किम इल सुङ–किम जोङ इलप्रेमी र नयाँदिल्ली पुगेका गान्धीप्रेमीहरूले पनि त्यस्तो गर्ने नै भए किनभने महान् आत्मा र हस्तीप्रति कसको सद्भाव हुँदैन र ?


सन्दर्भ

प्रसङ्ग हो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक नेता (महासचिव) पुष्पलाल (पीएल) र सहिद गङ्गालाल श्रेष्ठको जन्मस्थल बागमती अञ्चल रामेछाप जिल्ला भँगेरीको स्थलगत भ्रमण । यो भ्रमण वा यात्रा तय गरेको थियो मित्र अशोक सुवेदीका कवि बाबा हितप्रसाद उपाध्याय र ममतामयी आमा जूनमाया सुवेदीका नाममा स्थापित संस्था हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले ।

अघि पनि भनियो कुनै खास पन्थका अनुयायीहरू आफ्नो पन्थको जन्मदाता, उसको जन्मस्थल र व्यक्तित्व–कृतित्वमाथि बढी नै आस्था एवम् गैरवानुभूति गर्ने गर्छन् र मौका पर्नासाथ तिनको भ्रमण, बखानबाजी, खोज–अनुसन्धानलगायत जो–जे उपयुक्त र अनुकूल हुन्छ, त्यो गरिहाल्छन् । मेरै कुरा गर्ने हो भने पनि मैले नेपालको कम्युनिस्ट आन्दोलनमाथि नै विद्यावारिधि गरेँ । पुष्पलाल मात्र होइन, समग्र कम्युनिस्ट विचार, प्रवृत्ति, सङ्गठन र सम्बद्ध सामग्रीहरूको खोज– परख एवम् केलाइकुलाइ गरेँ । फोटो खोजेँ, फोटो खिचेँ, तिनको इन्लार्ज गरेँ इत्यादि । यति गर्दा पनि एउटा कुरा भने बाँकी नै थियो– पीएल–गङ्गालालको जन्मस्थल भँगेरीको स्थलगत भ्रमण गर्ने । झन्डै ८–१० वर्षदेखि सोही जिल्लाका युवा कार्यकर्ता अशोक सुवेदी हरेकपटक त्यता जान्थे, मलाई पनि निम्ता दिन्थे तर त्यसका लागि साइत भने हालसम्म जुरेको थिएन । अनेक बहाना गर्दै टार्दै आएको भए पनि मनको त्यो धोको भने बाँकी नै रहँदै आयो । मनले बारम्बार सोध्थ्यो– कहिले पूरा गर्ने होला यो घिडघिडो ?

नभन्दै यो साल पनि अशोकजीको अनुरोध आयो– रामेछाप जाने । संयोग ! यसपटक मेरो परिस्थिति अघि कहिल्यैभन्दा बढी प्रतिकूल देखापर्यो । परिवारजन विदेश भ्रमणतर्फ भएकाले मैले घर छोड्ने स्थितिसम्म थिएन । प्रश्न उठ्यो– कतिचोटि बहानाबाजी गर्ने ? छल्ने ? सम्झिएँ यसपटक पनि नजाने हो भने मेरातर्फबाट बहानाबाजी नै गरेको ठहर्ने अब पक्काजस्तै हुने भयो किनभने अब यसको अर्काे अर्थ लाग्ने कुनै अवस्था नै देखिएन । त्यसैले सोचेँ, कस्तै अति भए पनि यसपटक अवश्यमेव जान्छु भँगेरी ! र हेर्छु, दर्शन गर्छु यस पवित्रस्थलको जहाँ आजभन्दा ९२ वर्षअघि वि.सं. १९८१ असार १५ गते नेकपाका तिनै संस्थापक महासचिव पीएल र त्यसको सात वर्षअघि गङ्गालालको जन्म भएको थियो ।

५४ वर्षको अल्पायुमा वि.सं. २०३५ साउन ७ गते निर्वासित अवस्थामा भारतको नयाँदिल्लीस्थित गोविन्दवल्लभ पन्त अस्पतालमा दिवंगत भएका पीएल नै यस्ता छन्, जसले यस देशका शोषित र श्रमजीवी वर्गको वर्गीय राजनीति साम्यवाद र त्यसलाई प्राप्त गर्ने सर्वहारावर्गीय राजनीतिक सङ्गठन– नेकपाको प्रारूपका साथै स्थापना पनि गर्न सकी नेपाल र नेपाली मात्रका लागि एक नवीन एवम् युगान्तकारी विचार, सिद्धान्त, नीति र सङ्गठनको जग हालिदिए । उनको त्यही पवित्र कार्यको विस्तारित रूप हो आजको कम्युनिस्ट राजनीति र श्रमको सङ्गठनात्मक विस्तार । यो नै एक मात्र कारण रह्यो, जसको हुट्हुटीले म उक्त भँगेरीको एक न एक दिन अवश्यमेव स्थलगत भ्रमण गर्नेछु तर कहिले ? १० वर्षसम्म यो साइत जुर्न सकिरहेको थिएन । अघि नै भनियो, यसपटक भने त्यो प्रस्ताव अपरिहार्य वा अकाट्य रूपमा नै उपस्थित हुन आएको थियो । सोचेँ जसरी पनि जान्छु यसपटक ।

भँगेरीको थप महत्व

भँगेरी केवल पीएलको कारणले मात्र पवित्र स्थल होइन । यसबाहेक ‘९७ सालको प्रजापरिषद्काण्डमा सहिद बनाइएका चार सहिदमध्ये सर्वाधिक युवा सहिद गङ्गालाल पनि यसै भँगेरीका उपज थिए । त्यति मात्र होइन, यी महान् सहिद गङ्गालाल पुष्पलालकै सहोदर जेठा दाजु थिए । गङ्गालाल जेठा, पीएल माइला । यी जेठा र माइला नै यस्ता थिए जसको प्रतिबद्ध जीवनशैली र आत्मबलिदानले नेपालका वामपन्थी र युवाहरूलाई आजसम्म यत्तिकै प्रेरणा र जोसजाँगर दिई नै रहेको छ । यताबाट के भन्न सकिन्छ भने भँगेरी त्यो पवित्र स्थल थियो जसको स्थलगत भ्रमणबाट एकोहोरो होइन, दोहोरो फाइदा हुन जान्थ्यो– एकातिर नेकपाका संस्थापक अर्कातिर महान् सहिदको एकसाथ स्मरण र त्यस्ता महान् आत्माद्वयको जन्मस्थलको स्थलगत भ्रमण ।

मेरो भने कुरा अर्कै थियो अर्थात् गङ्गालाल–पुष्पलालको जन्मस्थलको तीर्थाटन जो जीवनको धेरै अघिल्लो कालखण्डबाट नै मैले आफ्नो मानसपटलमा साँच्दै आएको थिएँ । आफू वामपन्थकै अध्येता भएकाले सम्बद्ध साहित्यमा पटकपटक भँगेरीको प्रसङ्ग आउँथ्यो । ‘पुष्पलाल–गङ्गालालका पिताजी सरकारी कामका सिलसिलामा रहँदा निजहरू त्यसै स्थानमा जन्मिएको’ प्रसङ्ग । तत्क्षण मलाई लाग्थ्यो– भँगेरी कस्तो होला ? कहिल्यै त म त्यहाँ पुग्नेछु तर विडम्बना ! बरु मैले लन्डनमा रहेको माक्र्सको सालिक अवलोकन गरिसकेँ तर भँगेरी पुग्ने साइत कहिल्यै जुरेन ! त्यसैले यसपटक आफ्नो घरको बित्दोलाई पनि बेवास्ता गरी भँगेरी जाने निर्णय गरेको विषय आरम्भमै उल्लेख गरिसकेँ । र, चैत २४ गते हिँडी पनि हाल्यौँ हामी यसका लागि ।

अनेक उकालीओराली र अप्ठ्यारासप्ठ्यारा पार गर्दै रामेछापको वर्तमान सदरमुकाम मन्थलीबाट झन्डै १५ किलोमिटर माथि अत्यन्तै अप्ठ्यारो कच्ची सडक उक्लिँदै भँगेरी पुग्दा मेरो मन जीवनमै सबैभन्दा बढी आहत बन्यो । कच्ची सडक र गरिबीको विदीर्णताले त कसको मन नपग्लिँदो हो त्यहाँ ! भूकम्पले थिलथिलो पारेको त्यो जिल्ला, खासगरी भँगेरी उक्लने भयङ्कर कच्ची सडक दाहिने–देब्रे जीर्ण रूपमा खडा भग्नावशेष र टीठलाग्दा रामेछापबासीका अस्थायी टहरा ! छिः ! यस देशका शासक ! जो सर्वहाराका नेता भएर पनि राजधानीमा आलिसान भवनमा बस्छन् अनि ऐयासी जीवन बाँच्छन् तर थोरै पनि लजाउँदैनन्, अझ पनि सर्वहारा, देशभक्ति र बलिदान अनि ‘सादा जीवन उच्च विचार’ का गुड्डी हाँक्छन् । यिनै कुरा मनमा खेलाउँदै अन्ततः लक्ष्यको त्यो टाकुरामा पुगी पनि हालियो । जुन टाकुराको एउटा जीर्ण र भग्नावशेष देखाउँदै अशोकजीले भन्नुभयो– यसै घरमा गङ्गालाल–पुष्पलालको जन्म भएको थियो । त्यो सुनेर र देखेर म स्तब्ध भएँ ।

एकजोडी सालिक भुइँमा असरल्ल फ्याँकिएका !‘तिनलाई उठाएर स्थापन गर्नु नै आजको मुख्य काम’, अशोक सुवेदी बोल्दै गए, ‘यसै स्थलमा शताब्दी अगाडि नेकपाका संस्थापक पुष्पलालको जन्म भएको थियो । कम्तीमा यस स्थलको सुरक्षा गरिनुपर्छ भन्ने हाम्रो ध्येय हो । त्यसैलाई राजधानीसम्म पु¥याउन हामीले मेहनतसाथ यहाँहरूलाई भँगेरीसम्म ल्यायौँ । अब नेपाली कम्युनिस्ट आन्दोलनका विषयमा प्रथम विद्यावारिध प्राडा सुरेन्द्र केसीबाट दुई शब्दका लागि अनुरोध गर्छु । त्यसपछि पुरानी महिलानेत्री शान्ता श्रेष्ठ बोल्नुहुनेछ अनि हामी मन्थली पुगी विश्राम लिनेछौँ …।’

अब मेरो बोल्ने पालो आयो । के बोल्ने ? के भन्ने ? यसै पनि नेपाली कम्युनिस्टहरू वास्तविक कम्युनिस्ट नभई पढेलेखेका, टाठाबाठा, वाममार्गी बौद्धिक मात्र छन् भन्ने मेरो विद्यावारिधिको निष्कर्ष आएकै थियो । त्यसमा पनि माओवादीका केही नेताको राजनीतिक बेइमानीपछि त म झन् आक्रामक भई यिनीहरू ‘बौद्धिक ठग’ भएको आदि पनि भन्न थालिसकेको थिएँ । अझ भदौ ३० देखि असोज २ सम्म भारत भ्रमणमा पुगेका प्रचण्डको भारत भ्रमण र राष्ट्रघाती २५ बुँदे संयुक्त विज्ञप्तिपछि त कहाँसम्म भन्दो हुँ, त्यो आजको मात्र कुरा हो, त्यस दिनको होइन ।

त्यसै दिनचाहिँ म आफैँ भावुक बनेको थिएँ । जुन पीएलले यस देशको कम्युनिस्ट आन्दोलनको जग हाल्यो जो नेकपाको आमा पनि भयो जसले नेकपा जन्मायो । जुन पीएलले गरिब, निमुख र शोषितपीडितको मुक्तिको परिकल्पना ग¥यो त्यही पुष्पलालको जन्मथलो जाने बाटो यस्तो अस्तव्यस्त ! यहीँका जनताको यस्तो दीनहीन अवस्था ! मलाई लाग्यो यिनलाई ‘बेइमान र ठग’ भनेर मैले आधारहीन कुरा गरेको होइन रहेछ । त्यसै मानसिकतामा उभिएको मैले भनेँ, कम्तीमा अशोकजीले बाबुआमाको नाममा बनाइदिएको यो सालिक त यहाँका मानिसले इज्जतिलो पाराले राखिदिनुपर्ने ! दुःखदायी त के भने जुन पीएलको जन्मघरका बासिन्दा हुन् ती त्यहाँ छैनन् ! घर बन्द छ । त्यति मात्र होइन, त्यस स्थानमा स्थानीय बासिन्दाको उपस्थितिसमेत न्यून छ !

मलाई लाग्यो अवश्य पनि दालमा कालो छ किनभने यो देशमा त सहिद पनि तेरो र मेरो हुन्छ– एमाले सहिद, माओवादी सहिद, मधेसी–जनजाति सहिद किनभने सहिदको पनि कमिसन, व्यापार र मोलतोल हुन्छ यस देशमा । १० हजारसम्म सहिद भएको अपवाद सायद हाम्रै देश मात्र होला । मर्यो कि १० लाख आयो ! अझ मधेसी आन्दोलनमा त सहिदको मूल्य नै ५० लाख तोकिएको थियो । यो त्यही मधेस आन्दोलन हो जुन क्रममा गत असोज ५ देखि माघ २२ सम्मको ५ महिनामा मुलुकले १५ खर्ब नगद क्षति बेहोर्नुपर्यो । जुन यस देशको डेढ वर्षको बजेट हो । त्यस्तो देशमा सहिदको के मानसम्मान हुँदो हो ! नेता र कार्यकर्ताहरू त तिनको कुकर्मले गर्दा त्यसै पनि निन्दित छँदै थिए तर मैले सोचेको थिइनँ स्वयम् पीएल–गङ्गालालसम्मको यो अवस्था होला भनेर तर आज साक्षात् देखेँ, तिनीहरू त अझ बढी उपेक्षित रहेछन् ।

त्यसैले मैले निष्कर्षमा भनेँ, कम्तीमा यस ऐतिहासिक स्थलको संरक्षण हुनुपर्छ । यस स्थानलाई महात्मा गान्धी–नेहरूहरूको राजघाटझैँ, लन्डनको हाइगेटझैँ पवित्रस्थलका रूपमा सिँगारिनुपर्छ, पुनर्निर्माण गरिनुपर्छ । त्यहाँको धरती निजी हो भने पनि राज्यले वा पार्टीले त्यसको क्षतिपूर्ति दिई त्यसलाई ऐतिहासिक स्थलका रूपमा जीर्णाेद्धार र संरक्षित गरिनुपर्छ, तीर्थस्थलका रूपमा विकसित गरिनुपर्छ । काठमाडौँमा नेताका नाममा प्रतिष्ठानहरू छन् तर त्यहाँ पनि राजनीति छ । ती प्रतिष्ठानहरू भ्रष्टाचार र गुटबन्दीका अखडा बनेका छन् । त्यसका लागि आउने सुविधा पनि तिनै नेताहरू दुरूपयोग गर्छन्, गाडी चढेर हिँड्छन् तर यस्तो पवित्र स्थललााई हामीले आफ्नै आँखाले देख्यौँ, धिक्कार होस् तिनलाई … । इत्यादि भाव मैले त्यहाँ व्यक्त गरेँ । वातावरण स्तब्धजस्तो बन्यो तर साँझ परिसकेको थियो । श्रोताहरू हामी आफैँ मात्र भएकाले धेरै बोल्नु पनि त्यति उपयुक्त थिएन । मैले विश्राम लिएँ । साँझ साढे सात बजेतिर हामी ओरालो लाग्यौँ । बासका लागि मन्थली ओर्लनु थियो र सिर्जनानगर पुग्नु थियो ।

अनिल शर्मा विरही

…२०६५ साल चैत २६ गते हामी रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको भ्रमणमा सोझियौँ । रामेछाप बजारछेउको भँगेरी–४ मा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र सहिद गङ्गालाल श्रेष्ठको जन्म भएको थियो । त्यस कोणबाट भँगेरी गाउँसँग कम्युनिस्ट विचारकहरूको भावनात्मक सम्बन्ध जोडिएको छ । पुष्पलालका पिता राणाकालका सरकारी कर्मचारी थिए । उनी जागिरमा सरुवा भई त्यसबेलाको सदरमुकाम रामेछाप आउने क्रममा भँगेरीमा बसेका थिए । मालका डिट्ठा पिता भँगेरी बस्ने क्रममा नै गङ्गालाल र पुष्पलालको त्यहीँ जन्म भएको थियो । आयोजक साथी अशोक सुवेदीले पुष्पलाल–गङ्गालाल जन्मिएको स्थानमा मन्तव्यसहित कवितावाचन गर्ने योजना पनि बनाएका रहेछन् । त्यस कार्यक्रमका क्रममा पुष्पलालका छिमेकीले उसबेलाको स्मरण गर्दै ‘ऊ : त्यहाँनिर ठूलो ढिकी थियो । यहाँनेर ठूलो कोल थियो । गाउँभरिका मान्छेहरू तेल पेल्न आउँथे । घरमा झिँगटीको छाना थियो’ भने । पुष्पलालका छिमेकी वृद्ध उदय श्रेष्ठले उसबेलाको स्मरण सुनाउँदा २००७ सालको रामेछापको झल्को अनुभूत हुन्थ्यो । बिना श्रेष्ठले पनि हामीलाई त्यस क्षेत्रमा चलेका पुष्पलालका स्मरणहरू सुनाउनुभयो । पुष्पलालका बालसखाहरू नानीमैयाँ श्रेष्ठ, मोहनलाल श्रेष्ठ र जनकबहादुर श्रेष्ठ अझै भँगेरीमा जीवित रहेछन् । उनीहरूसँग भलाकुसारी गर्न पाएको भए पुष्पलालका विषयमा धेरै कुरा जान्न सकिन्थ्यो होला । तर समय अभावका कारण त्यो अवसर प्राप्त हुन सकेन । हामीले भग्नावशेष मात्र रहेको पुष्पलालको घरमा उभिएर कविता वाचन गर्यौँ । क्यामेरामा फोटो कैद गरेर स्मरणलाई निरन्तरता दिन सहज हुने प्रविधिको फाइदा उठायौँँ । त्यहाँबाट फर्किने क्रममा अमेरिका र क्यानाडाको १५ बर्से बसाइपछि नेपाल आएका कलाकार हरि सिवाकोटीले गङ्गालाल–पुष्पलाल जन्मेको माटो क्यानाडा लैजान्छु भन्दै झोलामा हाल्नुभयो । अरू सबैले त्यो घडेरीका एकएकवटा ढुङ्गा चिनोस्वरूप बोके ।

हामी त्यहाँबाट फेरि सिर्जनानगरमै फर्कियौँ । मलाई भने कस्तोकस्तो अपूरोजस्तो, के–के नमिलेजस्तो भइरह्यो । चीनले माओ जन्मेको स्थान र सालिकबाट बर्सेनि अर्बौंको आम्दानी गर्छ । रामेछापमा बीपीका सालिकहरू असनको साँढेझैँ मूल सडकमा ठडिएका छन् । तर पुष्पलाल कतै छैनन् । कृष्णलालहरू मकैको खेतीसँगै गए । गङ्गालालहरू देखिन्नन् । ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड’ भनेझैँ भएको छ । खुर्पाका बिँडहरू भएका छन् रामेछापमा पुष्पलाल र गङ्गालालहरू । पुष्पलाल र गङ्गालाल जन्मेको ठाउँलाई नेपाली कम्युनिस्टहरूको ‘मक्कामदिना’ बनाउन सकिन्छ । यसले कम्युनिस्ट विचार र भावनाको प्रचार मात्र गर्दैन, रामेछापको प्रतिष्ठा र आन्तरिक पर्यटनको समेत अभिवृद्धि गर्न सक्छ । पुष्पलाल स्मृति प्रतिष्ठानको शाखाका रूपमा भँगेरीलाई सालिक, पुस्तकालय, सेमिनार हल, बगैँचा गरी एकीकृत योजना बनाउन सके राम्रो हुन्थ्यो । तर कसले गर्ने यो घाटाको व्यापार ? मलाई यस्तो लाग्दै थियो ।

अर्को दिन २७ गते बिहानै हामी काठमाडौँतिर फर्कियौँ । बाटोमा तामाकोसीको किनार आकासेमा रामेछापका तीन लाल अर्थात् कृष्णलाल, गङ्गालाल र पुष्पलालको संयुक्त सालिकमा केही बेर रोकियौँ । तीन लालको सालिकमा उभिएर कविता वाचन गर्ने रहर लाग्नु स्वाभाविकै थियो । त्यसका लागि म हतारिइरहेको थिएँ, जसरी हामीले सिन्धुली जाँदा आजाद (ऋषि देवकोटा) को स्तम्भमा गरेका थियौँ । मन्थली भन्ज्याङपछिको त्यो २७ गतेको दोस्रो सडक कविगोष्ठी थियो । अपराह्न १ बजे हामी सुन्दर हिमाली नगरी चरीकोट आयौँ । साथीहरू सडकमा कवितावाचन गर्न तम्सिँदै थिए । मलाई भने मेरा सहकर्मी तथा दोलखा जिल्ला इन्चार्ज क. विश्वलाई फोन नगरी बस्न मन लागेन । उहाँ देख्दा हट्टाकट्टा भए पनि युद्धका कहरहरूले जीर्ण शरीर बोकेर सपना रोपिरहनुभएको छ । उहाँ बसबिसौनीको कार्यालयबाट चरीकोट बजारको चौबाटोमा आइपुग्नुभयो । सडककविहरूले उहाँलाई आकस्मिक रूपमा सडकमै अतिथि बनाए । उहाँ असजिलो मान्दै हुनुहुन्थ्यो ।

अपराह्न ४ बजे दोलखाको मुढेमा अन्तिम कविगोष्ठी भयो । सिमसिम पानी परेकाले निकै चिसो लागेर म भने बसमा लुकेर बसेँ । हामी राति १० बजे काठमाडौँ ओर्लियौँ । मनमा भने रामेछापका तीन लाल र सिर्जनानगरका प्रिय मित्रहरूको सम्झना छचल्किरहेको थियो ।
जनदिशा दैनिक, वर्ष ८, अङ्क २००

प्राडा जगदीशचन्द्र भण्डारी
…२७ गतेको बिहान तीन लालको प्रतिमा भएको तामाकोसी किनारको हाटेचौर जहाँ हामी उभिएका छौँ । तीन लालको सामीप्य औधी प्रीतिकर छ । जनयुद्ध र त्यसमा सहादत प्राप्त गर्ने योद्धा वीरहरूको सम्झना तीव्रतर हुँदोछ । दसबर्से जनयुद्ध नगरेको भए संविधानसभा, धर्मनिरपेक्षता, गणतन्त्र केही हुन्नथ्यो । राजाले, आफूलाई प्रजातन्त्रवादी भन्नेहरूले अझ कम्युनिस्ट नामधारीहरूले समेत आतङ्क, हिंसा फैलाएको भनेर निर्दयतापूर्वक हजारौँ मानिस मार्नमा अघि सरेका हुन् । लाखौँलाई यातना दिएका हुन् । संसद्वादी शक्तिले क्रान्तिकारी शक्तिलाई आतङ्ककारी भनेनन् कि ! फासिवादी र उग्रवामपन्थी भनेनन् कि ! अनेकथरी नाउँका अप्रेसनका माध्यमबाट मुक्तिकामी जनतालाई मार्न तम्सेनन् कि ! दोरम्बा साक्षी भएर उभिएको छ । यस्तैयस्तै सम्झनामा आइरहेको छ । हामी गङ्गालाल–पुष्पलाल–कृष्णलालको प्रतिमाछेउमै उभिएर कविता वाचन गर्छौं ।
………………
पूर्णबहादुर सिंह

…निरङ्कुश जहानिया राणा शासन अन्त्य गरी मुलुकमा प्रजातन्त्र (जनतन्त्र) स्थापना गर्न सङ्घर्षको बीजरोपण एवम् आफ्नो जीवनको कुर्बानी गर्ने प्रथम विद्यार्थी सहिद तथा प्रजातन्त्रका प्रणेता गङ्गालाल श्रेष्ठ र सामन्तवाद तथा साम्राज्यवादको शोषण–उत्पीडनबाट नेपाल र नेपाली जनतालाई मुक्ति दिलाउने नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक महासचिव कमरेड पुष्पलालको जन्मभूमि भँगेरीमा पहिलोपटक पुग्न पाउँदा गौरवानुभूतिको सीमा रहेन ।

गङ्गालाल र पुष्पलाल दाजुभाइको प्रतिमा राखिएको ठाउँ (जन्मस्थान) मा हाम्रो यात्राको पहिलो कार्यक्रम सम्पन्न भयो । कमरेड अशोकले सञ्चालन गरेको उक्त कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, शान्ता श्रेष्ठ र मैले यात्राको उद्देश्य र पुष्पलाल–गङ्गालाल–कृष्णलाल (तीन लाल) का बारेमा छोटो मन्तव्य राख्यौँ । अन्य सबै सहभागी र यात्रुले परिचयसहित अनुभूतिपरक प्रतिक्रिया राख्नुभयो । उक्त स्थानको इतिवृत्तान्त सविस्तार बुझ्ने हामी सबैको चाहना समयको पाबन्दीले दिएन । त्यसको सारांश कमरेड अशोकले बताउनुभएको थियो । त्यसलाई नै पहिलो आधार मानेर भविष्यमा यस ऐतिहासिक ठाउँको अध्ययन एवम् अनुसन्धान गर्ने जिम्मेवारी भविष्यलाई नै दिँदै एउटै शिलामा हित–जून साहित्य प्रतिष्ठानको अगुवाइ र लगानीमा अढाइ वर्षअघि मूर्तिकार नरेन्द्र भण्डारीद्वारा तयार पारिएको प्रतिमाको स्थापन एवम् माल्यार्पण गरी हामी कवि हितप्रसाद उपाध्याय र ममतामयी जूनमाया सुवेदीको जन्म÷कर्मघर सिर्जनानगरतर्फ प्रस्थान गर्यौँ ।

मुलुकका साझा विभूति, जनतन्त्र र कम्युनिस्ट आन्दोलनका अग्रजहरूको त्यो जन्मभूमिप्रतिको उपेक्षाले नेपालको राजनीतिमा जहरका रूपमा मौलाएको गलत संस्कार र इतिहास एवम् अग्रजहरूप्रतिको त्यो बेवास्ताले मेरो मानसपटलमा ‘इतिहासले कसैलाई सिक्न कर गर्दैन तर इतिहासबाट सिक्न नचाहनेहरू पछि पर्छन्’ भन्ने कुरा निकै गहिरो गरी बाटाभरि घुमिरह्यो । प्राडा सुरेन्द्र केसीको ‘गुरु र अग्रज दुवैलाई नमान्नेहरू गलत हुन्’ भन्ने कुराले मलाई पोल्यो । शान्ता दिदीले गङ्गालाल र पुष्पलालको जीवन, परिवार र सङ्घर्षको छोटो अनुभूति बताउनुभएको थियो । त्यो मेरा लागि प्रेरणाको पाठशाला पनि बनिरहनेछ । त्यो भूमिलाई त एउटा महत्वपूर्ण पर्यटकीय स्थल तथा अध्ययन केन्द्र बनाइनुपर्ने हो । मेरो मनमा आक्रोश पनि पैदा भयो– कसैले इतिहासबाट सिक्न चाहँदैन र इतिहासप्रति गौरव गर्नुको सट्टा पश्चाताप गर्छ भने आत्महत्या गरेर मरे हुन्छ ।
प्रा. पुष्कर लोहनी
प्रथम लक्ष्य भँगेरी

…अघि बढ्दै जाँदा ल्याङल्याङ हुँदै झगडेचौर पुगेपछि सबैजनाको मन प्रफुल्ल हुन थाल्यो किनकि हाम्रो यात्राको पहिलो मुख्य उद्देश्य भँगेरी पुग्नु थियो । भँगेरीको ऐतिहासिक पृष्ठभूमि मलाई थाहा थिएन । भँगेरी त पुष्पलाल र गङ्गालालको जन्मस्थल पो रहेछ । रामेछापको अड्डामा सानो जागिर खाएर बसेको भक्तलाल श्रेष्ठको घरको भग्नावशेषमा हामी पुग्यौँ । त्यही बारीमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजना तथा अशोक सुवेदीजीको योजना र प्रायोजनमा पुष्पलाल–गङ्गालालको मूर्ति एउटै ठूलो ढुङ्गामा कलाकारले कुँदेका रहेछन् । रमाइलो वातावरण भयो साथीहरूको । शान्ता श्रेष्ठको अगुवाइमा हामी सबै रमाइरहेका थियौँ– डा. सुरेन्द्र केसीलाई देखेपछि झन् कुरा गर्न मलाई सजिलो भयो राजनीतिक दृष्टिले । २÷४ फोटो मैले पनि लिएँ । दुईटा लालसँगै उभ्भिएको तस्बिर– ऐतिहासिक बन्ने नै भयो । नेपालको राजनीतिक परिवेश बुझ्नलाई रामेछापको इतिहास नबुझेसम्म राजनीति बुझ्न त्यति सजिलो छैन । त्यस्तो कठिन ठाउँमा जागिरे जीवन बिताएका भक्तलालका छोराहरूले निर्वाह गरेको भूमिका चानचुने छैन । वर्गीय दृष्टि र कठोर वातावरणले जन्माएको व्यक्तित्वको इतिहास अरू सहिदको भन्दा भिन्दै भएर भिन्दै वातावरण सिर्जना गर्न खोज्नुको कठिनाइ पक्ष एकातिर छ भने अर्कोतिर राजनीतिक मोडलाई नै विश्व पृष्ठभूमिबाट मूल्याङ्कन गर्ने बाटो देखाउने लालहरूको बेग्लै अस्तित्व छ । बौद्धिक चेतना र विश्लेषण गर्नका लागि वातावरणले मलाई घचघच्याउने काम गर्यो । किनकि इतिहासबारे पनि मेरो त्यत्तिकै रुचि र अध्ययन भएकाले । राम्रो जमघट र सालिकको स्थापनले वातावरणलाई अर्कै बानाइदियो । सबैले आआफ्नो किसिमले अभिव्यक्ति दिनुभयो । शान्ता श्रेष्ठको गरिमामय व्यक्तित्वका साथसाथै साहित्यिक तथा राजनीतिक पक्षले पनि दुई लालको व्यक्तित्वलाई सधैँ झझल्को दिई नै रहनेछ । मैले पनि आफ्नो विचार पोख्ने मौका पाएकाले पोखिदिएँ । गङ्गालाल त गङ्गालाल नै भए राणाकालमा । एउटा जवान केटो पढ्दापढ्दै देशका लागि बलिदान दिन पुग्यो, केही होला कि भनेर अर्थात् आफूले भोगेको दुःख अरूले त्यसरी नभोगून् भनेर । पुष्पलालको त कुरै नगरे हुन्छ । नेपालको वामपन्थी अभियानको एउटा सशक्त नेतृत्वदाता । वर्गसङ्घर्षको इतिहास तयार पार्ने योजनाकार मात्र होइनन्, एउटा दरिलो क्रान्तिकारीको नेतृत्व लिएर मैदानमा उत्रेका– मर्न र मार्नसमेत तयार भएर । बिउ रोपेर गए, विभिन्न रूपबाट झाङ्गिएर गइरहेको एक पक्षको खम्बैका रूपमा परिचित । नेपाली आकाशमा बिर्सन नसकिने नक्षत्र भएर रहिरहे । अशोक सुवेदीजीले राम्ररी वातावरणलाई आकर्षित तथा गम्भीर बनाएर दुई लालको व्यक्तित्व र परिस्थितिलाई गम्भीरता साथ सम्प्रेषण गर्नुभयो । त्यस्तै डा. सुरेन्द्र केसीको अध्ययन कम थियो र ? उहाँले झन् आकर्षक शैलीमा दुई लाललाई चिनाउने प्रयास गर्नुभयो । शान्ता श्रेष्ठले पनि दुई लालबारे बोल्नुभएको कुराको आफ्नै विशेषता रहन पुगेको थियो । नारीत्वले भोगेको पृष्ठभूमिका आधारको सैद्धान्तिक विश्लेषणले दुई लालको उचाइ ज्यादै नै माथि उठेको थियो । श्रद्धासाथ हृदयैबाट निस्केको अभिव्यक्तिलाई थप प्रेरणा मात्र हो किनकि दुई लाललाई जसरी तथा जुन बेला पनि व्याख्या र विश्लेषण गर्न सकिने आधार सधैँ खुला भएर रहेको छ । भँगेरी अब त तीर्थस्थलका रूपमा देखापरिसकेको छ । विशाल रूपमा उभ्याउनुपर्ने स्थल भइसकेको छ– नेपालीलाई मात्र होइन, विश्वका लागि पनि । वामपन्थीका लागि मात्र तीर्थस्थल होइन– हेर्न, देख्न, सुन्न, बुझ्न खोज्ने सबैका लागि पनि ।
……………………………………………

रसुवाली कवि
…रामेछापको कठजोरमा जन्मेका कृष्णलाल, जसले किताब लेखेर नै जेल, नेल र मृत्यु भोग्नुपर्यो । राणा शासनका विरुद्ध औँला उठाउने यस्ता महान् व्यक्तिको भूमिमा टेक्नु नै संसारका धर्महरूमध्ये सबैभन्दा महान् धर्म होजस्तो लाग्यो । रामेछाप जहाँ पुष्पलालजस्ता महान् व्यक्ति जन्मिए । उनैले जन्माएको कम्युनिस्ट आन्दोलन अहिले ६३ प्रतिशत जनतामा पुगेको छ । उनकै दाजु गङ्गालालले गरेको त्यागले देशमा परिवर्तन सम्भव भएको छ । उनको नाम नेपाली इतिहासमा स्वर्ण अक्षरमा लेखिएको छ । यही भूमि लालबस्तीमा हामी पुगेका छौँ र गरिरहेका छौँ लालअनुभूति ।
……….
बेलुकी हामी भँगेरी पुग्छौँ । सेलेघाट बेतिनी, ल्याङ्ल्याङ, झगडेचौर हुँदै पुष्पलाल र गङ्गालाको जन्मभूमिमा पाइलो टेक्न पाउँदा साँच्चै एउटा महान् अनुभूतिले डेरा जमाउँछ मनमा । अशोक सुवेदीकी जेठी दिदी उर्मिला सुवेदी (कोइराला) पनि उत्तिकै गम्भीर, सहयोगी र आदरणीय हुनुहुन्छ । ल्याङ्ल्याङ गाउँ नामका कारण अलिअलि हाँसोको विषय पनि बन्छ । यही ल्याङ्ल्याङ हो अहिलेको सामाजिक थेगो बनेको । थोरैलाई मात्र थाहा छ यो ल्याङ्ल्याङ शब्द रामेछापको एक विकट गाउँको नाउँबाट प्रतिपादित भएको हो ।

पुष्पलाल र गङ्गालाल जन्मिएको घडेरीमा अशोकजीको सक्रियतामा एउटै ढुङ्गामा सालिक बनेको छ पुष्पलाल र गङ्गालालको । मूर्तिकार नरेन्द्र भण्डारीको सीपमा अग्निराज पौडेल र मङ्गोलपुत्रले पनि भौतिक साथ दिएको थाहा हुन्छ । हामी सालिकमा बसेर फोटो खिच्छौँ, परिचय साट्छौँ र पुष्पलाल– गङ्गालाललाई सम्झन्छौँ, क्रान्तिकारी विद्यार्थी नेता पूर्णबहादुर सिंहको शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति पुस्तक विमोचन पनि गर्छौं । अनि बेलुकी सिर्जनानगर (सानीमदौ) मा आइपुगेर विश्राम गर्छौं ।
………………………………
राजेन्द्रप्रसाद ढुङ्गाना
…२०७२ साल चैत २४ गते काठमाडौँबाट बिहान निस्केको साहित्यिक यात्रा बेलुकी अबेरै सिर्जनानगर पुगेर विश्राम लिन्छ । सिर्जनानगरमा विश्राम लिनुअघि कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालालको जन्मथलो भँगेरीमा गएर उहाँप्रति सम्झना र सम्मान गरिएको थियो । यात्राटोलीमा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसी, साहित्यकार एवम् महिलानेत्री शान्ता श्रेष्ठ, कवि श्रीहरि फुयाललगायत करिब ४० जना स्रष्टाको सहभागिता रहेको थियो ।
…………………………………….
बैरागी जेठा
…गङ्गालाल–पुष्पलाल जन्मस्थल भँगेरीमा एउटा प्राचीन ढुङ्गेधारा रहेको छ । रामेछाप डाँडामा पहिले जिल्ला सदुरमुकाम बनाइएको रहेछ सुरक्षाको दृष्टिकोणले । यहाँ काठमाडौँबाट गएका नेवार समुदायले बजार सञ्चालन गरेको भए पनि हाल अन्य समूहले समेत बजार सञ्चालन गरेको पाइन्छ । सबै जातजाति एकआपसमा मिलेर बसेको देख्न सकिन्छ । आधुनिक घरहरू पनि निर्माण भएका छन् । त्यहाँको सबैभन्दा पुरानो कथा हो भँगेरीस्थित झगडेचौर । झगडेचौरस्थित वरपीपलको आकृति पनि निकै अनौठो छ । त्यस बजारको झगडा वा मुद्दामामिला मिलाउने ठाउँ भएकाले झगडेचौर राखिएको रहेछ । यहाँ एउटा सानो पोखरी पनि छ । दुई लालको सालिक बनाउन सात दिन बस्दा त्यहीँ नजिकै रहेको खाजाघरमा भोजन गथ्र्यौं । बास धु्रव श्रेष्ठका घरमा थियो । रमाइलैसँग हामीले हाम्रो काम सकेका थियौँ । ध्रुवका पिता र उनका समकालीन वृद्धवृद्धाहरूसँग त्यहाँका बारेमा कुरा गरिरहन्थ्यौँ । बुढापाकाहरू हामीसँगै रमाउँथे । हामीले गङ्गालाल र पुष्पलालको सालिक बनाउन भँगेरीको पँधेराभन्दा अलिक पर डोजर लगाएर उप्काइएको ढुङ्गा उपयुक्त हुन्छ भन्ने टुङ्गो लागेपछि हाम्रो टोली र गाउँले बुढापाकाहरूले नोल लगाएर सालिक राख्ने ठाउँमा पुर्याएका थियौँ । निकै रमाइलो भएको थियो । त्यही ढुङ्गामा कलाकार नरेन्द्र भण्डारी मूर्ति खोप्न थाले । आयोजक संस्था हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले मलाई दिएको थियो कविता लेख्ने जिम्मा । सात दिनभित्र कविता लेखिसक्नुपर्ने थियो ।
फागु पूर्णिमा
भँगेरी रमायो रे
रातो गुलाबी
भक्तलालका बीज
तुलसादेवीका
गङ्गालाल जन्मिए
तेजिला युवा
शङ्करलालसँग
भारत यात्रा
पर मृत मीठो बोली
स्वतन्त्रताका
राणाहरूको क्रूर
पञ्जाबाट रे
देश खोस्न जुटेर
चोखो रगत
मुलुक हृदयले
गौरवशाली
सहिद गङ्गालाल
राणाहरूले
बारुदमाथि सुती
सन्तान्नब्बे साल
माघ चौधमा गोली
प्रहार गरे
आजादी प्यारो छ
युद्धको उन्मादमा
फक्रिँदो फूल
महान् गङ्गालाल ।

लेखनाथ न्यौपाने ‘प्रेमसुधा’
…खासमा समयले भन्दा पनि सन्दर्भले खुब तानेको छ हामीलाई भँगेरीले । उत्सुकता, उमङ्ग र उद्वेलनले हाम्रा मनहरूलाई धक्का हानिरहेका छन् र लाभाझैँ भएका छन् मनहरू । दुई लाल : गङ्गालाल र पुष्पलाल सहोदर दाजुभाइ । नेपाली राजनीतिक आकाशका चम्किला नक्षेत्र । दाजु गङ्गालाल नेपाली विद्यार्थी आन्दोलनका प्रथम सहिद । भाइ पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव । कस्तो बेजोडको गौरवपूर्ण संयोग ! यिनै लाल दाजुभाइले पहिलोपटक टेकेको धर्ती हामीले टेक्नु र महत्वबोधले दीक्षित हुनु दायित्व र गौरव दुवै थियो ।

स्रष्टा अनिल विरहीले प्रस्ताव गरेको ‘कम्युनिस्टहरूको मक्कामदिना’ भँगेरी । यो यात्रीद्वारा प्रस्तावित ‘लन्डनको हाइगेट’ जस्तै राजनीतिक पर्यटकीय केन्द्र भँगेरी । सफा–सुग्घर गल्ली, मिलाएर ढुङ्गा छापिएको आँगन, चिल्लो गरी लिपिएको पिँढी भँगेरी ।

हाम्रो अभियान टोली पुग्दा आँगनमा मुढा, कुर्सी र बेन्च वर्गाकारमा राखिएको थियो । लालद्वय जन्मेको घरका छिमेकी ध्रुव श्रेष्ठ, पुराना राजनीतिककर्मी कृष्णराम श्रेष्ठ, प्राचार्य नीरबहादुर कार्कीलगायत स्थानीयको उपस्थिति बाक्लिँदै थियो । भावमय गुणात्मक कार्यक्रमको थालनीमै कृष्णरामले गम्भीर र मर्मस्पर्शी विषय यसरी राखे, ‘पीएलले स्थापना गरेको पार्टीबाट चारचारजना मुलुकका प्रधानमन्त्री भइसके तर एकजनाले पनि यो ठाउँ टेक्न आवश्यक ठानेनन् । उनीप्रति अपार श्रद्धा छ तर फूलसमेत चढाउने ठाउँ छैन । एकचोटि सहाना र सिद्धिलाल ऊः त्यो अमिला (निबुवा) को बोटमा फूल चढाएर गए, त्यसपछि फर्केनन् । केही गरेर सम्मान जाहेर गर्ने हो भने निर्माणका लागि निजी स्वामित्वको जमिन दिन हामी तयार छौँ । कम्तीमा प्रतिमा त राखौँ दुई लालको । तपाईंहरू के भन्नुहुन्छ ? भोलि ठूलै ठाउँमा पुग्ने व्यक्तिहरू हुनुहुन्छ ।’ साँच्चै नामोनिशाना केही भेटिँदैन, हामी कम्युनिस्टहरूका लागि लाजको विषय । पश्चिमा पुँजीवादीहरूले यस्तै कयौँ ठाउँको प्रचार गरेर व्यापार गरेका छन् र करोडौँ कमाएका छन् तर हामी कम्युनिस्ट खोइ ? फूलसम्म चढाएर सम्मान गर्ने ठाउँ बनाउन चाहँदैनौँ र सक्दैनौँ ।
कार्यक्रम जारी छ । आयोजक संस्थाका अध्यक्ष अशोक, दुःखी, शोभालगायतका कविता वाचन भए । ज्ञवाली, गगन र मैले मन्तव्य राख्यौँ । ‘गङ्गालाल र पुष्पलालले जत्तिकै समाज रूपान्तरणका लागि योगदान पुर्याउन त हामीले सक्दैनौँ तर उहाँहरूका सपनालाई हत्या हुन पनि दिँदैनौँ । हिजोको त्यो जोखिम, त्याग र बलिदान श्रमिक वर्गका आजका प्रतिनिधिले पछ्याउन नसकेको त हुँदै हो, साथै आन्दोलनले दिएको अख्तियारीको दुरूपयोग गरेर सम्पत्ति कमाउने, नाफाको क्षेत्रमा लगानी गरेर घराना व्यवसायी बन्ने ध्याउन्नमा लागेकाले यो ऐतिहासिक थलो खुर्पाको बिँडजस्तो बन्न पुगेको हो ।’ यसरी विषय राख्दै गर्दा सायद जनहरूको मन बुझ्यो । त्यसैले टाउका हल्लिए, ताली बजे र ओठहरू हाँसे । हो, बेइमान नगरी भन्दा उपभोक्तावादको सिकार बनेका आजका कम्युनिस्ट पार्टीहरू, नेता र कार्यकर्ताहरू निरन्तर क्रान्तिको दर्शन फिका देख्दैछन् । दुई भाइ लालले बसालेको जगमा निजत्व खोज्छन् र भव्य महल ठड्याउँछन् । योभन्दा अर्को विकृतिको पराकाष्टा के हुनसक्छ ?
….
हाम्रो यात्रा टोली यो सन्दर्भमा अन्तिम रात सिर्जनानगरमा बास बसिरहेको छ । ओछ्यानमा पल्टेको छु तर निद्रा लागेको छैन । खेम पल्लो कुनामा बसेर केही सिर्जना गर्दैछन् । नजिकैको अर्को खाटमा दुःखी पुस्तकमा डुबेका छन् । यता ममा अलिकति गङ्गालाल र पुष्पलालबारे अनि बेथानको वीरता र दोरम्बाका पुष्पहरूबारे सोच्न, कोर्न र शृङ्खला जोड्ने जाँगर जागेको छ । हो, पाठक मित्रहरू! सामग्री अलि लामो त भयो । तैपनि भावी पुस्तालाई इतिहासको कटु यथार्थ पढाउन आवश्यक ठानेको छु ।

गङ्गालाल! २२ बर्से युवक, त्रिचन्द्र कलेजको विद्यार्थी, राणाविरोधी आन्दोलनको सचेत पहलकर्ता । ऊ कहिले भजनमण्डलीमा जान्थ्यो र जागरण जगाउँथ्यो, कहिले डबलीमा उभिन्थ्यो र अत्याचारविरुद्ध विद्रोह बोल्थ्यो भने कहिले इन्द्रचोकको भीडमा पुग्थ्यो र खुलेआम अभिजात वर्गीय सत्ता पल्टाउने उद्घोष गथ्र्यो । उसको निजी जीवन पनि थियो । प्यारी जीवनसङ्गिनी हसिना थिइन् र युवाजन्य सोखहरू पनि थिए होलान् । तर उसले एक चिम्टी पनि आफ्नो निजी जीवनबारे सोचेन । उसलाई राम्रोसँग थाहा थियो राणाहरूविरुद्ध बोल्नु, गतिविधि हुनु र जागरण सङ्गठित गर्नु फाँसीमा झुन्डिनु हो । तर उसले जीवन सोचेन, जागरणको हत्या रोजेन । रोज्यो त फाँसीपछिको सहिद । जेलबाट मध्यरातमा उसैको डेरा हुँदै शोभाभगवती पुर्याइयो र मारियो । त्यसैले ऊ आदरणीय सहिद भयो । विद्यार्थी आन्दोलनको प्रथम सहिद, युवाहरूको रक्तसञ्चार, पढ्नैपर्ने इतिहास । वर्तमान पिँढीले गङ्गालाललाई पढेन र नयाँ चेतनामा उठेन भने इतिहासप्रति अन्याय मात्र होइन, भविष्यको समेत मृत्यु बेहोर्नु पर्नेछ ।

हे आजका युवा हो ! आऊ गङ्गालालको टाउकोमा राखिएको सामन्तको सालिक उखेलौँ, शिरमा गङ्गालाल राखौँ र प्रतिबद्धताको सलाम समर्पण गरौँ ।

आस्था घिमिरे
…यसैबीचमा आयोजक संस्था हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले तीन लालहरू– पहिलो सांस्कृतिक सहिद कृष्णलाल, पहिलो विद्यार्थी सहिद गङ्गालाल र कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ऐतिहासिक जन्मभूमि अध्ययन भ्रमणको सिलसिलासमेत जोडेको रहेछ । मलाई कमरेड अशोक सुवेदीले फोन गरेर धेरै अगाडिदेखि नै जानकारी गराउनुभएको हो । तर कामको अस्तव्यस्तता, अव्यवस्थित दिनचर्या र अमिल्दो जीवनशैलीका कारण यस यात्रामा सहभागी हुन सकिन्छ भन्ने आशा नै मरिसकेको थियो । तर चैत २३ गतेको बिहानीले नयाँपन लिएर आयो । नजाने सोचाइसहित केही कामको सिलसिलामा सतुङ्गलमा थिएँ । कमरेड अशोकको विनम्र आग्रहले सबै कामहरू फिक्का बनाइदियो । अन्ततः निस्कने निचोड भयो सर्जकहरूसँग सिर्जनानगर यात्रामा ।

गाडीले पाँच घन्टाको अन्तरालमा सिन्धुलीको खुर्कोट हुँदै रामेछापको भँगेरी पुर्यायो । पुष्पलाल र गङ्गालालको जन्मथलोमा कार्यक्रम आयोजना गरियो । कार्यक्रमका क्रममा विद्यार्थी नेता पूर्णबहादुर सिंहद्वारा लिखित शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्तिनामक पुस्तक लोकार्पण गरियो । त्यसभन्दा अगाडि काठमाडौँदेखि यात्रामा सँगै रहेका तर बोलचाल गर्नसमेत नभ्याएका साथीहरूसँग कमरेड अशोकले परिचय गराउनुभयो । यही परिचयले झनै ऊर्जाशील बनाइदियो कमरेड पूर्ण सिंहको पुस्तक लोकार्पण कार्यक्रमलाई पनि । प्रोफेसर राजेन्द्र सुवेदीलाई प्रमुख वक्ता बनाइएको उक्त कार्यक्रमको पहिलो वक्ता बन्ने अवसर मैले पाएँ, खुसी लाग्यो । जुन बाटोमा हामी हिँड्दैछौँ, जसले रोपेको फूल गोडमेल गर्दैछौँ र हुर्काउँदैछौँ अर्थात् जुन पार्टीका सिद्धान्तको पछि लागेर हामी जीवन अर्पण गर्दैछौँ अर्थात् सम्पूर्ण व्यक्तिगत जीवन त्याग्न तयार भएका छौँ, त्यसै पार्टीका संस्थापक महासचिवको जन्मस्थल पुग्नु पक्कै पनि महत्वपूर्ण विषय हो । हामीसँगै काठमाडौँदखिको यात्रामा रहनुभएका पोखराका कमरेड हिमलाल पराजुली भन्दै हुनुहुन्थ्यो– माक्र्स र लेनिनको नाम भँजाएर खर्बौंअर्ब आर्जन गर्ने मान्छेहरूले कहिल्यै पनि सोचेनन् रे उहाँहरू जन्मेको ठाउँलाई थोरै भए पनि संरक्षण गर्नुपर्छ भनेर । साँच्चै नेपालका कम्युनिस्टहरूले पनि कहिल्यै सोचेनछन् पुष्पलाल–गङ्गालालको जन्मभूमिलाई संरक्षण गर्नुपर्छ भनेर । नेपाल सरकारले पनि कहिल्यै सोच्न भ्याएनछ राष्ट्रकै प्रथम विद्यार्थी सहिद गङ्गालालको जन्मस्थल संरक्षण गर्नुपर्छ भनेर । बरु सोचेछ एउटा सामान्य जनताको छोराले यसको महत्व र गरिमा । अनि लागेछ सानो प्रयासमा । हो उनै जनताका छोरा हुनुहुन्थ्यो कमरेड अशोक । उहाँकै पहल, प्रत्यक्ष नेतृत्व र सहभागिता अनि लगानीमा बुबाआमाका नाममा स्थापित साहित्यिक संस्था हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा ढुङ्गामा कुँदिएको रहेछ गङ्गालाल र पुष्पलालको सालिक । राखिएको रहेछ यस ऐतिहासिक स्थललाई थोरै भए पनि संरक्षण गरेर । प्रोफेसर राजेन्द्र सुवेदी पनि यसै भन्दै हुुनुहुन्थ्यो– दुःख लाग्यो अवस्था देखेर । सहभागी सबैको गुनासो पनि यही थियो । धर्तीमा पोतिएको अँध्यारोलाई उज्यालो पार्न तम्सिएका यिनै सपूतहरूको इतिहास संरक्षण गर्नु राज्यको दायित्व हो तर राज्य कानमा तेल हालेर बसेपछि के गर्नु त ? त्यो दायित्व हामीले भए पनि पूरा गर्नुपर्यो नि ।

खेम थपलिया
…सिर्जनानगरबाट रामेछाप जिल्लाकै भँगेरी वडा नं. ४ मा पुग्दाको क्षण पनि कम्ती अविस्मरणीय रहेन । जहाँ नेपालका प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ र नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ जन्मिएका थिए । सर्लक्क माथि उठेको भूगोल, निरन्तर चिसो हावाको झोक्का लागिरहने यो स्थल प्राकृतिक सौन्दर्यका दृष्टिले मात्र नभएर वैचारिक, राजनीतिक एवम् सांस्कृतिक दृष्टिले पनि निकै मौलिक रहेको महसुस गरेँ । यद्यपि पञ्चायतदेखि हालसम्मका शासकहरूको कोपभाजनमा परेको यो क्षेत्रका अधिकांश सडकहरू पिच भएका रहेनछन् । मानिसका चेतना र आकाङ्क्षा उर्लिएर निकै अघि पुगेको तर भौतिक विकासको दृष्टिकोणले निकै पिछडिएको देख्दा एक किसिमको खिन्नताको अनुभूति हुनु अस्वाभाविक थिएन तर पनि यति महत्वपूर्ण ऐतिहासिक स्थलहरूमा जनताका बीचमा कवितावाचन, सम्बोधनलगायत प्रक्रियाद्वारा अघि बढेको यो अभियानले सिरुवानी डाँडो, सल्लेरी बन, पुरानो सदरमुकाम रामेछापबजारको सानिध्य राम्रैसित आत्मसात् गर्यो । वास्तवमा तीन लाल जन्मेको रामेछाप जिल्लालाई साहित्यिक–राजनीतिक पर्यटकीय गन्तव्यस्थल बन्न सकिने कुराचाहिँ हामीलाई निकै गहिराइका साथ महसुस भयो । यसर्थ पनि हाम्रो अभियान एक किसिमको आन्तरिक पर्यटनको भूमिकासहित अभिन्न रूपमा जोडिँदै रोमाञ्चक यात्राका रूपमा हाम्रो मानसपटलमा अमीट छाप बन्न पुगेको छ ।

मक्कामदिना

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मस्थल रामेछाप नेपालका कम्युनिस्टहरूका लागि मक्कामदिना बन्न सक्छ । रामेछापको भँगेरी, वडा नं. ४ मा अवस्थित स्थानमा गङ्गालाल र पुष्पलाल जन्मिएका हुन् । यो ठाउँ कार्ल माक्र्सको समाधिस्थलजस्तै सम्मानित स्थलको रूपमा विकास गर्न आवश्यक छ । गङ्गालालले मृत्यु रोजे, जीवन रोजेनन् । उनले निरङ्कुशताको अन्त्यका लागि आफ्नो जीवनलाई बलिदान गरिदिए । स्थानीय बासिन्दा कृष्णराम श्रेष्ठ भन्छन्, ‘वीर सहिद गङ्गालाल श्रेष्ठ र नेकपाको प्रमुख संस्थापक पुष्पलाल श्रेष्ठको जन्मस्थल यो भूमिमा पुरातत्वविद्हरूले खन्नुपर्ने, खोस्रनुपर्ने हो । सबैमा यो भूमि मेरो हो भन्ने आशा पलाउन आवश्यक छ । यहाँ अहिले एउटा फूलको थुँगा पनि चढाउने ठाउँ नभएको स्थिति छ । यसको ऐतिहासिकता मेटाउन हुँदैन । नेताले काठमाडौँमा महल ठड्याउँछन् तर यति महत्वको ठाउँलाई बेवास्ता गरेका छन् । एमालेले पनि यो ठाउँलाई वास्ता गरेको पाएन । यता गङ्गालाल, पुष्पलालको प्रतिमा÷सालिक बनोस् । पुष्पलाल प्रतिष्ठानले के गरिरहेको छ त्यो हामीलाई थाहा छैन । खरदार भक्तलाल डेरा लिएर बसेको बेला गङ्गालाल–पुष्पलाल यहीँ जन्मेका हुन् । अशोक सुवेदीजीले आफ्ना आबाबाका नाममा स्थापना गरेको संस्थाले स्रष्टा र चिन्तकहरूलाई यहाँसम्म ल्याएर ठूलो गुन लगाएको छ । यहाँको आवाज चौतर्फी घन्काएको छ ।’

यसैगरी यही स्थानका बारेमा गौरीशङ्कर उच्च माविका प्रधानाध्यापक नीरबहादुर कार्की भन्छन्, ‘वाम लोकतान्त्रिक आन्दोलनका प्रणेताहरूको जन्मस्थल ओझेलमा पर्नु निकै दुःखदायी कुरा हो । गङ्गालाल–पुष्पलालको स्मारक बनाएर यो ठाउँलाई राष्ट्रियकरण गरिनुपर्छ । वैचारिक सङ्कीर्णताबाट मुक्त हुँदै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्नु नितान्त आवश्यक छ । यो माटो नेपालमा कार्ल माक्र्सको बीउ रोपिएको माटो हो । कम्युनिस्ट पार्टीको घोषणापत्रलाई नेपालीमा अनुवाद गरेर नेपालका घरघरमा पु¥याउने काम पुष्पलालले गरेका हुन् । उनलाई कसैले बिर्सन मिल्छ ?’ अहिले उक्त स्थान हरिकृष्ण श्रेष्ठको नाममा रहेको उक्त जग्गा राष्ट्रिय मूल्यमा प्रदान गर्न तयार रहेको बताएका थिए भने धु्रवकुमार श्रेष्ठको पनि यही भावना थियो । यसबाट पनि माटोको ऐतिहासिकता तथा यहाँका बासिन्दामा रहेको उदार भावनाको मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ ।

अग्निराज पौडेल ‘अराप’

२६ गते बिहानै कलाकार मङ्गोलपुत्र कामविशेषले गङ्गालाल–पुष्पलाल जन्मस्थल भँगेरी नपुगी सिर्जनानगरबाटै राजधानी फिर्नैपर्ने भयो । हामीलाई यो ठाउँसम्म अशोकजीले ल्याइपु¥याउनुभएको थियो । मङ्गोलपुत्र हामीसँग बिदा भएर हिँड्नुभयो । सँगैको साथी बीचमै छुट्टिनुपर्दा नरमाइलो लाग्यो । अमिलो मन बनाउँदै हामी कलाकारसहित प्रमुख अतिथि क. पथिक, क. मदन, क. गगन, क. सुदर्शन सबैलाई यात्राका अभियन्ता तथा आयोजक क. अशोक सुवेदीले नेतृत्व गरेको सम्पूर्ण टोली बिहानै धुलो उडाउँदै स्रष्टाहरूले खचाखच बस भँगेरीतिर उकालो लाग्यो । एक घन्टाको यात्रापछि हामी नेकपाका संस्थापक पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ जन्मेको ठाउँ भँगेरी पुग्यौँ । मैले सोचेको भँगेरी र हामीले पहिलोपटक टेकेको भँगेरीमा आकाश र जमिनको फरक थियो । मैले सोचेको भँगेरीमा गङ्गालाल र पुष्पलालको पूmल र बगैँचाले घेरिएको भव्य सालिक होला…! गङ्गालाल र पुष्पलालको नाम बेचेर धेरै पात्रहरू सरकारमा पुगिसकेका छन्, केही त पक्कै गरेका होलान् ! तर दुई लाल जन्मिएको स्थानमा सिस्नुको झ्याङ र एउटा जुनारको बोट देखियो, अरू केही रहेनछ ! अशोकजीले पहिलेपहिलेका वर्षहरूमा पनि त्यहाँ स्रष्टाहरूलाई लगेर कार्यक्रम गर्ने गर्नुभएको रहेछ । हामी पुग्नासाथ एकैछिनमा वरपरका बासिन्दाहरू जम्मा भए । कार्यक्रम सुरु भयो । कविता वाचन गरिए । स्थानीय बासिन्दालाई त्यस ठाउँमा केही बनोस् भन्ने आस रहेछ । करिब आधा दशकअघिदेखि अशोकजीकै पहल र नेतृत्वमा कवि, साहित्यकार र संस्कृतिकर्मीहरू वर्षको एकपटक पुग्ने गरेकाले स्थानीयमा केही आशा पनि पलाएको रहेछ । सरकारमा पुगेकाहरू आए पनि धेरैले आश्वासन पनि धेरै दिए तर सिस्नुको झ्याङ र एउटा जुनारको बोटमा केही थपिएन ! यथार्थ यस्तै थियो ।
मन्थलीको गर्मीले सताइएका हामी त्यो पुण्यभूमिको चिसो वातावरणमा पुग्दा केही कोरौँकोरौँ लाग्यो । प्रेम लामा र विमल श्रेष्ठ पुष्पलाल र गङ्गालालको चित्र बनाउन थाले । म भने फेरि अलमलमा परेँ– के गरौँ ! स्थानीय ज्येष्ठ नागरिकहरूको भनाइलाई आधार मानेर पुष्पलाल–गङ्गालाल जन्मिएको घरको चित्र बनाउन थालेँ । नरेन्द्र भण्डारी कविता कोर्दै वाचन गर्न लागे । एउटा जिम्मेवार सङ्गठन अखिल नेपाल ललितकला सङ्घको अध्यक्षको हैसियतले केही बोल्ने क्रममा उनले एउटा ऐतिहासिक घोषणा पनि गरे अशोकजीको मनसाय र आग्रहको सम्मान गर्दै । हामीलाई रामेछाप पु¥याउने हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा स्थानीय बासिन्दाको साथ लिएर आफ्नो परिश्रमको मूल्य नलिई सालिक बनाइदिने प्रतिज्ञा गरे नरेन्द्रले । सङ्गठनको जिम्मेवार सदस्यको नाताले नरेन्द्रको घोषणालाई सङ्गठनको घोषणा मानी जसरी पनि कार्यान्वयन गराउने अठोट ग¥यौँ हामीले पनि । सफलतापूर्वक कार्यक्रम सम्पन्न भयो ।

काठमाडौँ फर्किएपछि वैशाख ७ गते आयोजक संस्थाले संवाद डबलीमा अभियान समीक्षा, चित्रकला र तस्बिर प्रदर्शनी, सम्मान कार्यक्रम आयोजना ग¥यो । नेकपा–माओवादीका उपाध्यक्ष कमरेड सीपी गजुरेल ‘गौरव’ को प्रमुख आतिथ्य, नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् स्रष्टाहरू हीरामणि दुःखी, प्रा.डा. जगदीशचन्द्र भण्डारी, प्रलेसका अध्यक्ष अमर गिरीलगायतको उपस्थितिले अभियान राष्ट्रियकरण भयो । समीक्षा कार्यक्रममा प्रदर्शित कला र कविताले सिर्जनायात्रालाई अझ परिपूर्ण बनाइदियो ।

निर्णय कार्यान्वयनको अभिभारा

…नरेन्द्रजीले भँगेरीमा गरेको घोषणालाई सङ्गठनको घोषणा मानी जसरी पनि कार्यान्वयन गराउने अठोट हामीले गरेका थियौँ । त्यस कार्यको कार्यान्वयन गर्ने विषयमा हामीले छलफल गरी अशोक सुवेदीजीको अगुवाइमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा म, मूर्तिकार नरेन्द्र भण्डारी, कलाकार मङ्गोलपुत्र र कवि बैरागी जेठा माघको तेस्रो साता रामेछाप जाने निर्णय गरियो । स्थानीय स्तरबाट नेकपाका संस्थापक पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठको सालिक निर्माणमा चाहिने आवश्यक सामग्री जुटाउन पनि खासै सहयोग हुने अवस्था देखिएन । तर बोलेपछि वाचा पूरा गर्नु हाम्रो दायित्व थियो । मूर्तिकार नरेन्द्र भण्डारीले सालिक निर्माणका लागि चाहिने आवश्यक सामग्री जुटाउनुभयो । त्यस कार्यका लागि मलगायत अशोकजीले पनि सकेको आर्थिक सहयोग गर्नैपर्ने भयो र गरियो पनि । २०७० माघ २३ गते नरेन्द्र, मङ्गोल र म रामेछाप पुग्यौँ सालिक निर्माणका लागि, अशोकजी र बैरागी जेठा अघिल्लो दिनै मन्थली पुगिसक्नुभएको थियो आवश्यक तयारीका लागि । काम सुरु गर्ने पूर्वसन्ध्यामा पत्रकारसम्मेलन गर्ने निर्णयअनुसार हामी पुग्नुअघि नै पत्रकारसम्मेलनको सम्पूर्ण तयारी अशोकजीले गरिसक्नुभएको रहेछ । मन्थलीमा ओर्लिनेबित्तिकै हाम्रो पर्खाइमा रहनुभएका अशोकजी र बैरागीजीसँगै चियाखाजा खाई लाग्यौँ पत्रकारसम्मेलनमा । स्थानीय पत्रकार, बुद्धिजीवी, राजनीतिक पार्टीका अग्र कार्यकर्ताहरूका बीच पत्रकारसम्मेलन भयो । उपस्थित सबैले सकेसम्म यो कार्यमा सहयोग गर्ने बाचा पनि गरे । हामी पाँचैजना उत्साहित हुँदै लाग्यौँ बास बस्न सिर्जनानगरतर्फ ।

भोलिपल्ट बिहानै भँगेरी जान भनी पुगियो मन्थली बजार । मन्थलीबाट भँगेरी जाने सवारीसाधन अत्यन्तै न्यून र सवारीसाधन छुट्ने समय पनि निश्चित नभएका कारण हामी खाना खाएर पैदलै भए पनि त्यसै दिन भँगेरी पुग्ने अठोटका साथ लाग्यौँ पाँचैजना रनजोर, मच्छेडाँडी, सुकाजोर, बिटार हुँदै बाबियाखर्कको उकालो । वरिपरिको रमणीय दृश्य नियाल्दै र फाट्टफुट्ट चल्ने साना सवारीसाधनले उडाउने धुलो खाँदै एकआपसमा ख्यालठट्टा, नाचगान, घोचपेचको रमाइलो गर्दै आधाजति बाटो काट्न हामी सफल भयौँ । बाबियाखर्कको उकालो चढ्दै गर्दा हामीले सोचेविपरीत धुलो उडाउँदै यात्रुले खचाखच भरिएको बस हाम्रो नजिक आइपुग्यो । साहित्यकार र कविजी खाँदिन पुगे बसभित्र, हामी मूर्तिकार र चित्रकार चैँ चढ्यौँ बसको छानामा । बसले उडाउने धुलेले पूरै पुरिएर पुगियो भँगेरी ।

गङ्गालाल र पुष्पलालको जन्मथलो पुग्दा त्यस स्थानका छिमेकी ध्रुव श्रेष्ठ दाइ बाहिरबाट भर्खरै आइपुग्नुभएको रहेछ । उहाँलगायत उहाँको परिवारले हरेकपटक त्यहाँ पुग्दा सकेसम्मको सहयोग गर्ने गरेको कुरा बताउनुभयो अशोकजीले । हामी पुग्नासाथ आफ्नै बारीको जुनार काटेर खुवाउनुभयो धु्रव दाइले । अझ यसपटक त हामी सबैलाई घरमै बस्ने व्यवस्था मिलाउनुभएको रहेछ उहाँले । ध्रुव दाइकै पहलमा गाउँलेहरू मिलेर सालिक कुँद्न ठूलो ढुङ्गा बोकेर ल्याइदिए गङ्गालाल र पुष्पलालको जन्मथलोमा । नरेन्द्रजी र मङ्गोलजी थाले ढुङ्गा मिलाउन र रेखाचित्र कोर्न । अशोकजी र बैरागीजी लागे अन्य सहयोग गर्न । मेरो कामविशेषले काठमाडौँ फिर्नैपर्ने थियो । नचाहँदानचाहँदै पनि सबैसँग बिदा लिएर काठमाडौँ फर्किएँ । अथक मेहनतले झन्डै ६–७ दिनमा एउटै शिलामा बन्यो गङ्गालाल र पुष्पलालको अर्धकदको सालिक । हामीले गरेको बाचा पूरा गर्यौँ । सालिक तयार भयो । गङ्गालाल र पुष्पलालको नाम बेचेर पटकपटक सरकारमा पुगेकाहरूले बाचा गरेर बिर्सिएजस्तै मन्थलीमा पत्रकारसम्मेलनमा प्रतिबद्धता व्यक्त गर्नेहरूबाट पनि कुनै प्रकारको चासो राखेको देखिएन । अरू कसैले सहयोग नगरे पनि ध्रुव दाइ र भँगरीका अरू छिमेकीहरूले गर्नुभएको सहयोग नमनयोग्य रह्यो ।
……
गङ्गालाल र पुष्पलालको जन्मस्थान जुन ठाउँमा भएको थियो त्यही ठाउँमा झन्डै अढाइ वर्षअघि हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजना, अशोक सुवेदीको अगुवाइमा मूर्तिकार नरेन्द्र भण्डारीको नेतृत्वमा मलगायत मङ्गोलपुत्र, बैरागी जेठाले तयार पारेको गङ्गालाल–पुष्पलालको प्रतिमा राखिएको ठाउँमा हाम्रो यात्राको पहिलो कार्यक्रम सम्पन्न भयो । कार्यक्रमका आयोजक अशोक सुवेदीले सञ्चालन गरेको उक्त कार्यक्रममा अग्रज महिलानेत्री शान्ता श्रेष्ठ, प्रा.डा. सुरेन्द्र केसी र विद्यार्थी नेता पूर्णबहादुर सिंहले यात्रा र तीन लालका बारेमा छोटो मन्तव्य राख्नुभयो । हामी अन्य सहभागीहरूले आआफ्नो छोटो अनुभूति राख्यौँ । दुई लालको प्रतिमा स्थापन एवम् माल्यार्पण गरी हामी झमक्क साँझ परिसकेपछि सिर्जनानगरतर्फ प्रस्थान गर्यौँ ।

माधव सयपत्री
…प्रतिष्ठानको ब्यानरमा ‘सिर्जनायात्रा– २०६९’ नाम दिइएको कार्यक्रमको दोस्रो दिन पुष्पलाल–गङ्गालाल र प्रथम साहित्यिक सहिद सुब्बा कृष्णलाल अधिकारीको जन्मथलोमा गई सिर्जना वाचन गर्ने योजनाअनुरूप २६ गते बिहान ७ बजे रामेछाप भङ्गेरीतिर उकालो लागियो । धूले सडकमा बुङ्बुङ्ती धूलो उडाउँदै गाडी गाह्रोसँग सास फेर्न थाल्यो । त्यो धूलो पनि हाम्रो लागि प्रिय थियो किनभने त्यो धूलो आफ्नै माटोको धूलो थियो । अझ भनौँ त्यो तीन लाल भूमिको क्रान्तिको प्रतीक सिन्दुर थियो । काठमाडौँको प्रदूषित धूलो थिएन त्यहाँ ।

ठसठस कन्दै गाडीले २० किलोमिटर पार गरेपछि त्यसले भँगेरीमा थकाइ मार्यो । हामीले भने थकाइ मारेनौँ । सिर्जनामा थकाइ कहाँ हुन्छ र ! हामी श्रेष्ठद्वयको जन्मथलोमै जोडिएको मुक्तिकृष्ण श्रेष्ठको घरको आँगनमा कविताको आगो ओकल्न थाल्यौँ । ‘सिर्जनायात्रा’ मा कविता नभनी नहुने, कविता नलेख्नेले पनि तत्कालै कविता लेखेर सुनाए । हामी कवितामै लठ्ठियौँ । कवि निभा शाहले नेपाली क्रान्ति पूरा नभएको असन्तुष्टि पोखिन् भने छन्दपारखी कवि नारायण निरासीले छन्दरसमा चुर्लम्मै डुबाए । पाका साहित्यकार मधुसूधन पाण्डेले छोटो कवितामार्फत नेतालाई व्यङ्ग्यको तीर हाने भने सिर्जनानगरयात्राकै क्रममा जूनमायाका फूलहरू काव्य लेखिसकेका कवि बैरागी जेठाले ‘लक्षिनधारा’ को बिम्ब कविता खन्याए । स्थानीय नेता पनि जम्मा भए । गौरीशङ्कर क्याम्पसका प्रमुख नीरबहादुर कार्की हत्तारिँदै आइपुगे । उनले भने, ‘नआएको भएको ठूलो अवसर गुमाउने रहेछु ।’

चित्रकारहरू अग्निराज पौडेल, पदम लामा, विमल श्रेष्ठ ती महापुरुषको जन्मथलो भङ्गेरी गाउँ र उनीहरू जन्मिएको घरको काल्पनिक चित्र क्यानभासमा उतार्दै थिए । गुल्मीका मनकारी मूर्तिकार नरेन्द्र भण्डारीले श्रेष्ठद्वयको सालिक निःशुल्क बनाइदिने वचन दिए । बिनासूचना भँगेरी पुगेको भए पनि स्थानीयहरू थपिँदै ‘मिनी कोणसभा’ भन्न सुहाउने मानिस जम्मा भए । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र चार सहिदमध्येका गङ्गालाल जन्मेको घरको भग्नावशेष पनि बाँकी थिएन । ‘नेपाली जनतालाई राणाहरूको निरङ्कुश चङ्गुलबाट बाहिर ल्याउन हाँसीहाँसी प्राण उत्सर्ग गरेका ती महान् सहिद गङ्गालाल जन्मेको ठाउँमा उनको केही चिनुमानु नरहनु कति विडम्बना ! जनताका लागि गाँस, बास र कपासको व्यवस्था कम्युनिस्ट पार्टीले मात्र गर्नसक्छ भन्दै वर्गीय मुक्तिको उद्घोष गर्ने पुष्पलाल आफ्नो जन्मथलोमै गुमनाम हुनु कति भयङ्कर पीडाको कुरा !’ यस्तै पीडा पोखे स्थानीय कम्युनिस्ट नेताले ।

पुष्पलाल र गङ्गालालको पुख्र्यौली घर भँगेरी नभएर त्यहाँ जन्मिएका मात्र रहेछन् । स्थानीय कृष्णराम श्रेष्ठले भने, ‘उनीहरूका बुबा भक्तलाल रामेछाप मालअड्डामा खर्दार हुँदा वि. सं. १९७५ मा गङ्गालाल र १९८१ मा पुष्पलाल जन्मिएका हुन् ।’ कृष्णराम तथ्य सङ्कलन गर्न र सहयोग जुटाउन काठमाडौँमा दुईचारजनालाई भेट्न पनि पुगेछन् । जगदीश घिमिरेले सुझाएअनुसार उनी पुष्पलालका भाइ विजयलालको घरमा पुगेछन् । ‘लौ न, ती महापुरुषहरू जन्मेको ठाउँमा केही गर्नुपर्यो’ भन्दै निकै मान्छे गुहारेछन् । आश्वासनबाहेक केही नपाएपछि रित्तो हात फर्केछन् ।
दुईतीन घन्टाको कविता वाचन, चर्चापरिचर्चा, भाषण र चित्रकारीपछि लाग्यौँ रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारतिर खाना खान ।

इन्द्र श्रेष्ठ
…१ बजे जगातीमा गाडी आइपुग्यो । गाडीमा केही चिनेका, विगतका कार्यक्रमहरूमा जानुभएका अरू परिचित र अपरिचित अतिथि, स्रष्टाहरू पनि हुनुहँुदो रहेछ । यात्राका यात्रीहरू आफ्नै सुरमा थिए । बस चालकले आफ्नै गतिमा बस गुडाइरहेका थिए । बनेपा, धुलिखेल, भकुन्डे, मङ्गलटार, नेपालथोक, रातामाटा, झाँगाझोली, खुर्कोट, सेलेघाट, बेतिनी, हुलाकडाँडा, ल्याङ्ल्याङको बाटो भएर अँध्यारो नहुँदै भँगेरी पुग्यौँ । हिँडिरहेको बाटो भए पनि स्रष्टाहसँग यात्रा गर्नुको आनन्दै भिन्नै थियो । गङ्गालाल–पुष्पलाल जन्मिएको भूमि भँगेरीमा हितप्रसाद उपाध्याय जूनमाया सुवेदी साहित्य प्रतिष्ठानले विगत वर्षमा झैँ कार्यक्रम सञ्चालन गर्नुभयो । अशोक कमरेडकै नेतृत्वको माक्र्सवादी साहित्य प्रतिष्ठानले सुरुमा कार्यक्रम गर्दा सिस्नु फाँडेर स्रष्टाहरूले कविता वाचन गरेको इतिहास स्मरण गराउनुभयो । वक्ताहरूले गङ्गालाल, पुष्पलालको योगदानका विषयमा चर्चा गर्नुभएको थियो ।

अघिल्लो वर्ष यसै संस्थाको नेतृत्व लगानीमा नरेन्द्र भण्डारीले सहिद गङ्गालाल र कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको प्रतिमा निर्माण गर्नुभएको थियो । विगत वर्षमाझैँ प्रमुख अतिथि, विशेष अतिथिको आसन ग्रहण गराउनुसँगै परिचय कार्यक्रम राख्नुभयो । प्रमुख अतिथि महिलानेत्री शान्ता श्रेष्ठ, प्रा. सुरेन्द्र के.सी, प्रा. पुष्कर लोहनी, अखिल (क्रान्त्तिकारी) का अध्यक्ष पूर्णबहादुर सिंहलाई मञ्चमा बोलाउनुभयो । परिचयसँगै मनमा लागेका सहिद गङ्गालाल–पुष्पलाल र यात्राका विषयमा कुरा राख्नुभयो । मैले पनि परिचयसँगै सिर्जनानगरको सिर्जनायात्रा सफल हुने कामना गरेँ । राजनीतिक परिस्थिति र दुर्घटनासम्बन्धी परिचय राखिनँ तर अशोक सुवेदीजीले २०७२ साल वैशाख २९ गते खिम्तीमा ने.क.पा. माओवादीले सञ्चालन गरेको उद्धार र पुनर्निर्माण तथा राहत कार्यक्रमको समयमा भूकम्पमा परी दुवै खुट्टा भाँचिए पनि वैशाखीको सहारामा कार्यक्रममा आउनुभएको छ भन्नुहुँदा सबै उपस्थितहरूले मतिर आँखा लगाउनुभयो । क्यामेराम्यानहरूले मतिर देखाउनुभयो । राष्ट्रिय सहिद गङ्गालाल, उत्पीडित सर्वहारा वर्गको मुक्तिका लागि कम्युनिस्ट पार्टी स्थापना गर्ने व्यक्तिको जन्मलोमा आयोजित कार्यक्रममा मेरो व्यक्तिगत जीवनको परिचय दिन उचित ठानिनँ । वक्ताहरूले आआफ्ना क्षमता, वर्गदृष्टिकोण, बुझाइअनुसार गङ्गालाल–पुष्पलालको त्याग, तपस्या र योगदानका विषयमा मन्तव्य राख्नुभयो ।

प्रमुख अतिथि शान्ता श्रेष्ठ पत्रपत्रिका समाचारको माध्यमबाट परिचित थिए तर प्रत्यक्ष परिचित हुने अवसर पाएको थिइनँ । केही समयअगाडि रातो खबरमा कृष्ण सेन ‘इच्छुक’ का विषयमा पहिलो भेट नै अन्तिम भेट भयो भन्ने उहाँको संस्मरण पढेको थिएँ तर गङ्गालाल, पुष्पलालको जन्मभूमिमा उहाँको भौतिक उपस्थिति साँच्चिकै महत्वपूर्ण हुने नै भइहाल्यो । जीवनको ८३ वर्षकी आदरणीय दिदी महिलानेत्री, राजनीतिज्ञ तीन लालको भूमिमा पाउनु खुसीको कुरा थियो ।

हीरामणि दुःखी
…सिर्जनानगरबाट स्थानीय पार्टीका कमरेडहरूसहित पन्ध्र–सोह्रजनाको टोली कठजोतर्फ उकालो लाग्यो । कवि हितप्रसाद उपाध्यायको जन्मथलो ‘नयाँघर’ को भग्नावशेष अवलोकन गर्दै हामी बिहान कठजोर गाउँमा पुग्यौँ र कृष्णलाल अधिकारीको जन्मथलोमा भेला भयौँ । त्यहाँ हामीले सानो कार्यक्रम आयोजना गर्यौँ । चार–छवटा कविता वाचन र मन्तव्यसहित सङ्क्षिप्त गोष्ठी सम्पन्न भयो । कार्यक्रम गर्दै गर्दा सुब्बा कृष्णलाल अधिकारीका नजिकका नाति पिताम्बर अधिकारी र कृष्णलाल जन्मेको जमिनका जग्गाधनी शान्ता सुवेदी एवम् उनका छोरा सागर सुवेदीसँग त्यस स्थानमा स्मारक बनाउने सल्लाह भयो । अभियानकर्मीहरूका बीचमा त्यो प्रस्तावलाई पारित गर्यौँ र जग्गाधनीसँग जमिन माग गर्यौँ । जग्गाधनी शान्ता एवम् छोरा सागरले तत्काल स्वीकार गरे र भने, ‘यो पिछडिएको ठाउँमा स्मारक बनाएर राष्ट्रिय चर्चाको पर्यटकीय स्थान बन्छ भने हामीलाई थोरै जमिन प्रदान गर्न कुनै समस्या छैन । हामी यो प्रस्तावलाई सहर्ष स्वीकार गर्छौं ।’ यति भन्दै स्मारक शिलान्यासका लागि घरबाट कोदालो लिएर खन्न थाले पनि । उनीहरूको यो महानताप्रति हामी सबै उपस्थित अभियानकर्मीहरू नतमस्तक बन्यौँ र सम्मानमा जोडदार ताली बजाएर शिलान्यास गर्यौँ । कति महान् र विशाल छ जनताको हृदय । कति फराकिलो छ उनीहरूको छाती जसले एउटा महान् कार्यका लागि आवश्यक पर्ने जमिन निःशुल्क प्रदान गर्न तयार भए । कुुनै दबाब महसुस गरेनन् र सहर्ष स्वीकर गर्दै नेपालका राजनेताहरूलाई चुनौती थिए ।

त्यसपछि हामी मन्थलीतर्फ झर्यौँ । त्यहाँबाट पुष्पलाल र गङ्गालाल जन्मेको भूमि रामेछापको भँगेरीका लागि बस पकड्यौँ । बस धुले बाटो हुँदै रामेछापतर्फ उकालो लाग्यो । बेलुका रामेछापबजारमा बास बस्यौँ र भोलिपल्ट २७ गते बिहान भँगेरीमा आएर एउटा कार्यक्रम गर्यौँ । त्यहाँ पनि पुष्पलाल र गङ्गालाल श्रेष्ठ जन्मेको भूमि अर्कैको नाममा पथ्र्यो । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ र राणाविरोधी आन्दोलनका सहिद गङ्गालाल श्रेष्ठको जन्मभूमिमा उहाँहरूको त्याग, बलिदान र अमूल्य योगदानको चर्चा गर्दै सानो आकारको तर गुणात्मक प्रकृतिको साहित्यिक गोष्ठी सम्पन्न गर्यौँ । अशोक सुवेदी, ईश्वरचन्द्र ज्ञवाली, लेखनाथ न्यौपाने, स्थानीय बासिन्दा कृष्णराम श्रेष्ठ, नीरबहादुर कार्कीलगायतले गङ्गालाल र पुष्पलाल श्रेष्ठको व्यक्तित्वका बारेमा चर्चा गर्नुभयो । शोभा दुलाल, आरसी न्यौपाने, धर्मेश पोख्रेल र मैले कविता बाचन गर्यौँ । मैले छोटो मन्तव्य पनि राखेँ । आयोजक संस्थाका अध्यक्ष अशोकजी जहाँ पनि कार्यक्रमको अध्यक्षता गर्दै कार्यक्रम सञ्चालक बन्नुपर्ने अवस्था थियो ।

यसरी हामीले पुष्पलाल र गङ्गालालको जन्मभूमिमा गुणात्मक प्रकृतिको कार्यक्रम गरेर त्यो स्थानलाई राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय चर्चाको स्थानका रूपमा भव्य स्मारक बनाउने वाचा एवम् प्रतिबद्धता जनायौँ ।

पुष्पलाल श्रेष्ठले जन्माएको पार्टीबाट नेपालका चारजना कम्युनिस्ट नेताहरू प्रधानमन्त्री र दर्जनौँ मन्त्री भइसकेका छन् । अहिले पनि कम्युनिस्टहरूको नेतृत्वमा सरकार छ । पुष्पलालका नाममा प्रतिष्ठान गठन गरिएका छन् । गङ्गालालका नाममा पनि गठन गरिएका छन् । यस्ता थुप्रै शिक्षण संस्था, प्रतिष्ठान र स्वास्थ्य संस्थाहरूले पुष्पलाल, गङ्गालाल र कृष्णलालहरूको जन्मभूमिका बारेमा सिन्को पनि भाँच्न सकेका छैनन् । तर साहित्यको विकास र समाजको मुक्तिको हुटहुटीले बर्सेनि व्यक्तिगत लगानीमा स्रष्टाहरूलाई रामेछापसम्म पु¥याउने, तीन लालको जन्मघडेरीमा पुर्याएर गोष्ठीहरू गर्ने अशोकजीको काम देखेर हामी खुसी भइरहेका थियौँ । नेपाली समाजले यसको सिको र मूल्याङ्कन कहिले र कसरी गर्ने होला खै ?

पञ्चायतकालदेखि अहिलेसम्म सहिद गङ्गालालहरूका नाममा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाउने र पुष्पगुच्छा चढाउने गरिन्छ तर त्यो सराद्दे संस्कृतिमा सीमित बन्दै गएको छ । पुष्पलालले जन्माएको पार्टीले दर्जनौँ सन्तान जन्माएको छ, देशको शासनसत्तामा नेताहरूलाई पु¥याएर शासक बनाएको छ तर उनीहरू हिँड्दै पाइला मेट्दैको संस्कृतिबाट मुक्त हुन सकेका छैनन् । राजनीतिलाई सहयोद्धा लेखनाथ न्यौपानेले भनेझैँ साँच्चिकै व्यवसाय बनाइएको छ र आफ्नो निजी स्वार्थ अनि व्यक्तिगत महत्वाकाङ्क्षा पूरा गर्ने, आफ्ना सन्तान, नाताकुटुम्ब र चौकेचम्चेहरूको नाफाघाटामा फन्को मार्ने कार्यबाट अलग गर्न सकेको अवस्था छैन । सङ्घर्षको मैदानमा हुँदा निकै चर्को आदर्शका कुरा गर्ने तर सरकारमा पुगेपछि आफ्ना बानी, बचन र प्रतिबद्धताहरूलाई बिर्सेर निहित स्वार्थमा डुुब्ने सामन्तवादी संस्कृतिबाट नेपालका कम्युनिस्टहरू पनि अछुतो रहन सकेनन् । माओवादी नेताहरूकै संस्कार हेर्ने हो भने पनि युद्धकालमा सुरक्षा दिने, सल्लाह दिने जनता, कार्यकर्ताहरूलाई सरकार र शक्तिमा जाँदा लात हान्नु, आफ्नै परिवार र नाताकुटुम्बप्रति विश्वास गर्नु र उनीहरूकै घेरामा रहनुलाई सुरक्षित ठान्ने सामन्तवादी संस्कार हाबी हुन पुग्यो । यसले इमानदार कार्यकर्ता एवम् जनतामा अविश्वास बढ्दै जान थाल्यो । यस्तो प्रवृत्तिका विरुद्ध गङ्गालाल, पुष्पलाल एवम् कृष्णलालहरूका स्मारक, प्रतिष्ठान आदि निर्माण गर्न जमिन प्रदान गर्ने ती किसान जनताको चेतनाभन्दा कम्युनिस्ट नेताको चेतना माथि छ भनेर कसरी भन्न सकिएला ? जनताको पङ्क्तिबाट गरिने त्याग, बलिदान, समर्पण र उच्च आदर्शपूर्ण भावनाले ठेक्कापट्टामा लिप्त हुने, आर्थिक अनियमितता गर्ने, परिवारवादबाट मुक्त हुन नसक्ने सर्वहारा पार्टीका नेताहरूका लागि चुनौती होइन ?

यसरी यसपटक तीन लालको जिल्लाको नामले स्थापित र बेथान, दोरम्बालगायतका महान् बलिदानबाट वर्गसङ्घर्षलाई उचाइमा उठाउने योद्धाहरूको जिल्ला रामेछापको साहित्यिक यात्रा भव्यतापूर्वक सम्पन्न गर्दै हाम्रो टोली काठमाडौँ फर्कियो ।
महिमा साप्ताहिक, १ वैशाख, २०६८

मधुसूदन पाण्डेय
…चैत २६ गते हामी लाग्यौँ रामेछापको भँगेरीतर्फ । भँगेरी कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ तथा सहिद गङ्गालाल श्रेष्ठको जन्मथलो हो । हाल त्यस स्थानमा पुरानो घर छैन । उनीहरू जन्मिएको घर रहेको स्थानलाई खाली राखिएको छ । त्यसमा एउटा जुनारको बोट छ । त्यो जग्गालाई ढुङ्गाको पर्खालले घेरिएको छ । त्यसै स्थानमा हामीले साहित्यिक कार्यक्रम गर्यौँ । प्रतिष्ठानले केही वर्षदेखि कवि हितप्रसाद उपाध्यायको जन्मस्थल सिर्जनानगर, प्रथम साहित्यिक सहिद कृष्णलालको जन्मथलो कठजोर र सहिद गङ्गालाल तथा नेकपाका संस्थापक महासचिव पुष्पलालको जन्मस्थल भँगेरीलाई जोडेको रहेछ देशभरका स्रष्टा उपस्थित गराएर । भँगेरीमा पनि एकातिर साहित्यिक कार्यक्रम चल्दै थियो भने अर्कोतर्फ अराप, क्षितिज र विमल क्यानभासमा कला पेन्टिङ गर्दै थिए । त्यहाँ पनि साहित्यिक कार्यक्रमको प्रमुख आतिथ्य ‘पथिक’ ले गरेका थिए । त्यहाँको कार्यक्रम त्यति लामो गरिएन, ९ः१५ देखि ११ः१५ सम्म मात्र चल्यो ।

साहित्यिक कार्यक्रम सम्पन्न हुँदा उता कलाकारहरूले पुष्पलाल, गङ्गालाल र गङ्गालालको घरको पेन्टिङ सिध्याइसकेका थिए । ११ः३० बजेतिर हामी रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारतर्फ लाग्यौँ । हाम्रा लागि खानपिनको व्यवस्था त्यहीँ गरिएको थियो । १२ः३० मा खाना खाइवरि हामी १ः१५ मा लाग्यौँ प्रथम सांस्कृतिक सहिद, मकैको खेतीका लेखक सुब्बा कृष्णलाल अधिकारी जन्मिएको गाउँ कठजोरतर्फ ।

नरेन्द्र भण्डारी
लालभूमिमा दोस्रो दिन

२६ गते बिहानै धुलो उडाउँदै स्रष्टाले खचाखच बस भँगेरीतिर उकालो लाग्यो । प्रमुख अतिथि क. पथिक । क. मदन, क. गगन, क. सुदर्शन सबैलाई यात्रका अभियन्ता तथा आयोजक क. अशोक सुवेदीले नेतृत्व गरिरहनुभएको थियो । एक घन्टाको यात्रापछि हामी नेकपाका संस्थापक पुष्पलाल र प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ दाजुभाइ जन्मेको ठाउँ भँगेरी पुग्यौँ । म रोमाञ्चित बन्दै थिएँ । ती ऐतिहासिक व्यक्तित्वहरूको जन्मस्थल कस्तो होला ? कता होला ? मेरो उत्सुकता बढिरहेको थियो । हामी सबै त्यस ठाउँमा पुग्दा पहिलोपटक भँगेरी टेकेकाहरू स्तब्ध देखिन्छन्। दुई लाल जन्मिएको स्थानमा सिस्नुको झाङ र एउटा जुनारको बोट देखिए । सानो १० हातको वर्गाकार स्थानबाहेक अरू केही रहेनछ !

केही छिनमा वरपरका बासिन्दा जम्मा भए । कार्यक्रम सुरु भयो । कविता वाचन गरियो । स्थानीय बासिन्दाको चासोको विषय त्यस ठाउँमा केही बनोस् भन्ने आशा र चासो पनि रहेछ । कमरेड अशोकको नेतृत्वमा तीनचार वर्षदेखि सयौँ स्रष्टा र संस्कृतिकर्मीहरू भने निरन्तर पुगेका रहेछन् तर शासनसत्तामा रहेका कम्युनिस्ट नामधारीहरू भने आश्वासन दिएर हिँडेपछि फेरि फर्किएका रहेनछन् । ठाउँ हेर्दा शासकका आँखा नपुगेको जस्तो देखियो ।

त्यहाँको वातावरण हेरिसकेपछि अग्निजीले स्थानीय बसिन्दाको कुरालई आधार बनाएर पुष्पलाल–गङ्गालाल जन्मिएको घरको चित्र बनाउनुभयो । यसैगरी प्रेम र विमलजीले पुष्पलाल र गङ्गालालको चित्र बनाउनुभयो । मलाई मनमा लाग्यो– मेरो हातमा छिनो र हथौडा हुन्थ्यो भने म पनि त्यहीँ एउटा ढुङ्गामा पुष्पलाल–गङ्गालालको आकृति कुद्थेँ हुँला । तर मेरो साथमा ती औजार थिएनन् । आफ्नो छोटो मन्तव्यमा मैले हामीलाई रामेछाप पु¥याउने हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठानको आयोजनामा स्थानीय बासिन्दाको साथ लिएर आफ्नो परिश्रमको मूल्य नलिई सालिक बनाइदिने प्रतिज्ञा गरेँ । मलाई त आफूले सामान्य प्रस्ताव राखेजस्तो लागेको थियो तर आयोजकदेखि प्रमुख अतिथिसम्म, स्थानीय बासिन्दादेखि सम्पूर्ण स्रष्टाहरूले समेत बधाई दिनुभयो । ललितकला सङ्घमाथि एउटा गहन जिम्मेवारी थपियो । हामीले यो प्रतिबद्धता पूरा गर्ने प्रण गर्यौँ ।

कार्यक्रम करिब दुई घन्टासम्म सञ्चालन भयो । कमरेड पथिक, कमरेड अशोक, कमरेड निभा, कमरेड सुदर्शन, कमरेड विष्णु चौलागाईंसँगै मैले पनि अनुभूतिहरू राखेँ । स्थानीय अभिभावकहरू र गौरीशङ्कर उमाविका प्रमुख नीरबहादुर कार्कीलगायतले अभियानको सराहना गर्नुभयो । कविहरूले क्रान्तिकारी भावका कविता सुनाउनुभयो । कार्यक्रम सफल भयो ।

कार्यक्रमपछि हामीलाई भोकले सताउन लागिसकेको थियो । रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछापबजारमा खानाको व्यवस्था गरिएको रहेछ । डाँडाबाट दक्षिणतिर महाभारतशृङ्खलाको पुछारमा सुनकोसी बगिरहेको थियो । सुनकोसीको काखमा रहेको खुर्कोट र सहिद ऋषि देवकोटा ‘आजाद’ को बस्तीले क्रान्तिकारीहरूलाई लालसलाम र गद्दारहरूलाई धिक्कार गरिरहेको जस्तो लाग्यो । हामी पनि क्रान्तिको पक्षपोषण र नवसंशोधनवादी दलालहरूको भण्डाफोर गर्ने अभियानमा थियौँ । पूर्वतिर सालु देखियो । मकैको खेतीका लेखक कृष्णलाल अधिकारीविरुद्ध चन्द्रशमशेरलाई पोल लगाएर मार्न लगाउने भोजराज काफ्ले र वर्तमानमा जनयुद्धमाथि गद्दारी गरेर प्रतिक्रियावादलाई सघाउने पुष्पकमल दाहाल–बाबुराम भट्टराईहरूलाई दाँज्न मन लाग्यो । त्यसकै उत्तरतिर कृष्णलालको गाउँ कठजोर दलाल र गद्दारहरूलाई चुनौती दिएर सतिसालझैँ उभिइरहेको थियो ।
वातावरण र कार्यक्रमबाट प्रभावित भएर मलाई पनि कविता लेखूँलेखूँ लाग्यो । कार्यक्रममा मैले पनि कविता सुनाएँ :
पुष्प–गङ्गा
म तिमीलाई भेट्न तिमी जन्मेको ठाउँमा आएँ
तिमीलाई मैले जुनारको पुष्पमा भेटेँ
लालुपातेको सानो बोटको पुष्पमा भेटेँ
अनेकथरीका फूलसँगै गुलाबको पुष्पमा भेटेँ
वरिपरि ढुङ्गा र बारले घेरेको सम्झनाको पुष्पमा भेटेँ
खिन्न पनि लाग्यो मलाई
तिमी जन्मेको ठाउँमा
तिमीलाई त सिस्नुको पुष्पमा पो भेटेँ
तिम्रो आदर्श बोकेका चेलाहरूले
यो पुष्परूपी ठाउँमा
सिस्नुसमेत फाँड्नसकेका रहेनछन्
सकेका रहेनछन् अझै झारपतिङ्गर र फोहोर सफा गर्न
तिम्रो सम्झना दिलाउने सुगन्ध छर्न पनि सकेका रहेनछन्
हामी पनि लामबद्ध भएका छौँ
फोहोर सफा गर्ने अभियानमा…
मोहनलाल घिसिङ
…रामेछापमा गङ्गालाल–पुष्पलाल–कृष्णलालको जन्मथलो भ्रमण गरेर वृत्तचित्र वा चलचित्र बनाउने इच्छा धेरै कोसिस गर्दा पनि सफल नभइरहेको अवस्थामा २०६९ सालमा पनि जाने इच्छा हुँदाहुँदै अन्तिममा आएर सकिनँ । अशोकजीको वचन पूरा गर्छु भन्दै थिएँ, २०७० सालमा मेरो फिलिम सुटिङका कारण त्यो वचन असफल भयो । ०७१ सालमा चाहिँ म थला पर्ने गरी बिरामी भएँ । फेरि योजना विफल भयो । यसपालि ०७२ मा भने बल्ल संयोग मिल्यो ।

सधैँभरि यूटुबमा मेरो भिडियो फिल्म धेरै हेर्ने मेरो दर्शक अनु वाइबा ऐतिहासिक साङ्गीतिक दस्ताबेज लालबस्तीको नायिका बन्न पुगिन् । लालबस्तीकी नायिकाको सानो उमेरदेखि नै एउटा भिडियो खेल्ने धोको रहेछ । त्यसकै फलस्वरूप फेसबुकमा मसँग धेरै कुरा भएपछि एक दिन प्रत्यक्ष भेटेर कुरा गरौँ भन्ने प्रस्ताव आयो । त्यसपछि दिन, समय र ठाउँको निधो गर्यौँ । हाम्राबीच एकआपसमा चिनजान छैन । आफूले लगाएर आउने लुगाको रङ बताउँदै हामीले बौद्धको तामाङ गुम्बामा भेट्यौँ अनि धेरै कुराहरू भए । नायिकाले भनिन्, ‘मेरो घरमा सासूससुरा र श्रीमान् हुनुहुन्छ । मैले सानै उमेरदेखि एउटा भिडियो खेल्ने धोको लिएर बसेकी छु । मेरो श्रीमान्सँग भेटौँ न ।’

उनले यति भनेपछि हामीले रत्नपार्कमा भेट्यौँ । कुरा गर्दै जाँदा नायिकाका श्रीमान्ले भने, ‘दाइ, म उसको श्रीमान् हुँ । मेरा बाउआमा र मैले तपाईंलाई कुनै लाञ्छना वा आरोप लगाउनेछैनौँ । तपाईंको चरित्रहत्या गरेमा हामी जबाफदेही हुन्छौँ ।’ उनले यति भनेर नाता जोड्दै जाँदा त आफ्नै नाताभित्र पो परिछिन् नायिका त । अनि मैले एउटा गीत उनको मोबाइलमा सार्न दिएँ । उनले त २२ वटा गीत पो सारिछिन् । केही दिनपछि उनले ‘दाइ, म तपाईंले खेल्न दिए गीतमा भिडियो सुटिङ गर्ने थिएँ’ भनिन् । मैले ‘हुन्छ’ भनेँ ।

नभन्दै नायका बहिनीलाई ल है अबचाहिँ चैच २४–२५–२६ गते भिडियोका लागि रामेछाप जाने भइयो भन्दा बहिनीले र उनका श्रीमान्ले हुन्छ हामी तयारीमा छौँ भनेपछि हामी एउटा ठूलै बस लिएर रामेछापतिर बढ्यौँ ।

हामी धुलिखेल पुगेपछि चियापान भयो र फेरि यात्रा सुरु भयो । मैले क्यामेराम्यान सुनिललाई भनेँ, ‘भाइ, क्यामरा खोल ।’ क्यामेरा म्यान भाइ भन्छन्, ‘किन सर ?’ मैले भनेँ, ‘भाइ, हामीले धेरै कुरा सिक्नु छ । ल ल खिच्न सुरु गरिहालौँ, मैले जानेको कुरा सिकाउँदै जान्छु, सिक्दै जानु । ल सुरु… ।’ अनि सुरु भयो सुटिङ । हामी त्यो यात्रा बसको अगाडि सिटमा बस्यौँ । मैले ऐतिहासिक घटना–परिघटना नाइकालाई सुनाउने गरेँ । सुटिङ गर्दा बसभित्र भएका रामेछाप यात्राका यात्री डा. सुरेन्द्र केसी, पुष्कर लोहनी, शान्ता श्रेष्ठलगायत सबै यात्रीहरूले भन्नुभयो, ‘यो मोहनलाल घिसिङले के गरेको हो के गरेको, खै कुरै बुझ्न सकिएन । ख्यालख्याल हो कि साँचो हो ।’

सुटिङमा मेरो आफ्नै एउटा गीतको भिडियो गर्ने भनेर लगेको क्यामरा र अशोकजीले सबै कार्यक्रम खिच्न लगेको क्यामरा सुभास गजुरेललाई मेरै कथा र गीति भिडियोतिर पो प्रयोग गरिसकेछु । मलाई नै थाहा भएन ।

काभ्रे, सिन्धुली कटिसकेपछि हामी खुर्कोटको पुल तरेर सेलेघाट हुँदै बेतिनी लाग्छौँ । त्यसपछि हाम्रो यात्रीबस सुस्तरीसुस्तरी अगाडि बढेर ल्याङल्याङ पु¥याउँछ । हाम्रो चालक नेपाली सेनाबाट पेन्सन भइसकेको भूपू सैनिक रहेछन् । उनले हाम्रो यात्रा सफल बनाइदिए । उनलाई मेरो हृदयदेखिकै धन्यवाद र लालसलाम ।

त्यसपछि हामी रामेछापको भँगेरी पुग्यौँ । गाडीबाट ओर्लेपछि मलाई किनकिन डा. सुरेन्द्र केसीसँग ठट्टा गर्न मन लाग्यो । म हाँसीहाँसी व्यङ्ग्यगर्न थालेँ– डाक्टरसाप, सरकारमा पुग्ने र पुग्न नसक्ने ठूला पार्टीभित्र आफ्नै सहकर्मी, उस्तैउस्तै हैसियतमा छन् भने आफू नेता वा मन्त्री बन्नका लागि अनेक जालझेल र खुराफात गर्ने चलन छ । आफ्नो प्रतिद्वन्द्वीलाई पछार्न पार्टी अध्यक्षसँग खुराफात गर्छ । राजदूत बनाएर पठाएपछि त्यो पार्टीमा आफ्नो हालीमुहाली र हैकम चलाउँछन् । एस म्यानले पछि मात्र अलि बुझ्छ । अनि अर्काे छ विश्लेषक । कुनै पार्टीभित्र शक्ति, कार्यकर्ता र गुट नभएपछि ऊ अन्तिममा राजनीतिक विश्लेषक हुनेबाहेक उसको केही विकल्प हुँदैन…।

यति कुरा गर्दै र हाँस्दै अघि बढ्दा हामी गङ्गालाल–पुष्पलालको जन्मस्थल पुगिसकेका हुन्छौँ । हामी गङ्गालाल–पुष्पलालको एउटै ढुङ्गामा कुँदेर बनाइएको सालिकको वरिपरि माहुरीले रानोलाई घेरेझैँ झुम्मिएर सबै यात्रीको परिचय साटासाट गर्छौं । आयोजक संस्थाका अध्यक्ष अशोक सुवेदी उद्घोषणका क्रममा भन्नुहुन्छ– हामी तीन लाल– गङ्गालाल, पुष्पलाल र कृष्णलालको जिल्लामा आइपुगेका छौँ र यतिबेला दुई लाल– गङ्गालाल–पुष्पलालको जन्मस्थलमा उभिएका छौँ । संयोगले आयोजक संस्था रामेछापका विद्रोही किसान शिवलालका पनाति, चन्द्रलालका नाति कवि हितप्रसाद उपाध्यायका सुपुत्रले आफ्ना बाबाआमाका नाममा स्थापना गर्नुभएको हो । यो यात्राको वृत्तचित्र बनाउन तम्तयार भएर मोहनलाल आउनुभएको छ भन्नुहुँदा सबैजना हाँसे र मतिर हेरे ।

त्यसपछि हाम्रो ऐतिहासिक साङ्गीतिक दस्ताबेज लालबस्ती निर्माणको क्रम अघि बढ्छ । सबै दृश्यलाई क्यामेरामा कैद गर्दै छायाङ्कन सुरु हुन्छ । हामीसँगै यात्रा गरिरहेका कयौँ यात्रीलाई पनि यात्राका सबैजना वृत्तचित्रका पात्र बन्छौँ भन्ने थाहा थिएन । हुनत यसप्रकारको घटना मेरा लागि पहिलोचाहिँ होइन । किनभने मैले जति पनि चलचित्रहरू बनाएँ, ती सबै बिनास्क्रिप्ट तयार भएका हुन् ।

भँगेरीमा बोल्ने क्रममा डा. सुरेन्द्र केसी, शान्ता दिदी, पुष्कर लोहोनी, पूर्णबहादुर सिंहलगायत सबैले ऐतिहासिक मन्तव्य राख्नुभयो । नवनायिका अनु वाइबा पनि मेरो शैली र तरिका देखेर छक्कै परिन् । अशोक सुवेदीजीले लग्नुभएको क्यामरा म्यान मोहनविक्रम बस्नेत अनि आमा गीतको छायाङ्कन निर्देशनका लागि जानुभएका लगेको बहुचर्चित कलाकार सुभास गजुरेलले मेरो काम गर्ने शैली थाहा पाउनुभयो । मैले उहाँलाई पनि लाल बस्तीको कलाकार बनाइछाडेँ । त्यही भएर सबै यात्री रमाइलो दङदास देखिन्थे ।

दिनेश सङ्ग्रौला
…समय ५ बजिसकेको थियो क्यार । त्यसपछि सुनकोसीको फलामे पुल तरेर पारि तर्यौँ । अब हामी सुनकोसीलाई बिदा गरेर तामाकोसीलाई पछ्याउँदै सिन्धुलीबाट रामेछाप जिल्लामा प्रवेश गरिसकेका थियौँ । हामी सेलेघाट, बेतिनी हुँदै अघि बढिरह्यौँ । बाटोमा भएका बस्तीहरूमा माटो र काठका घरहरू भत्किएका देखिन्थे । टिनका छाप्रामा बसेका भूकम्पपीडितहरूको दयनीय जीवन बसबाट पनि टड्कारो देखिन्थ्यो तर हामी मूकदर्शक मात्र भयौँ । जे देख्यौँ हृदयमा राखेर अगाडि बढिरह्यौँ किनकि हाम्रो यात्रा साहित्यिक यात्रा मात्र थियो । हाम्रो पहिलो गन्तव्य भँगेरी थियो । बसमा साथीहरू थाकिसकेका थिए । बाटो पनि अप्ठ्यारो थियो तर रमाइलो थियो ।

हाम्रो बस गोधूली साँझतिर भँगेरी पुग्यो । बसबाट सबै झरेर पुष्पलाल र गङ्गालालको सालिक भएतिर अगाडि बढ्यौँ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल र सहिद गङ्गालाल श्रेष्ठ जन्मिएको ठाउँमा दुई लालका सालिक बनाएर भुइँमै राखिएको थियो । ती सालिक अशोक सुवेदीले बाबाआमाका नामको साहित्यिक संस्थाका नममा आफ्नै खर्चमा निर्माण गर्नुभएको रहेछ । कम्युनिस्टका जन्मदाता पुष्पलालको जन्मस्थानमै राज्यले ध्यान नदिएको, नेताहरू पनि कहिल्यै नगएको, वार्षिकोत्सव मनाए पनि राजधानीमा मात्रै केन्द्रित हुने परम्पराले भँगेरी ओझेलमा परेको देखियो । तीन लालको जन्मस्थलको अवस्था कस्तो रहेछ भन्ने कुरा प्रतिष्ठान नै बनाएर अशोकजीले आँखा देखाइदिनुभयो । शान्ता दिदीलगायत हामी सबैले सालिकमा माला अर्पण गर्यौँ । अशोकजीले सालिक स्थापना गरेको इतिहासदेखि स्थानीयका नाममा रहेको जग्गा उपलब्ध गराइदिन पहल भइरहेको जानकारीसमेत गराउनुभयो । शान्ता दिदीले पुष्पलाल–गङ्गालालको योगदान, २००६ सालमा भएको कम्युनिस्ट पार्टीको स्थापनालगायत तीनैलालको योगदानका बारेमा मन्तव्य दिनुभयो । सुरेन्द्र केसी र पूर्णबहादुर सिंहले पनि श्रेष्ठ दाजुभाइको योगदानका बारेमा बोल्नुभयो ।

प्राडा. नन्दीश अधिकारी
…लालभूमिको यात्रा शीर्षक सङ्ग्रहमा जम्मा १२ वटा शीर्षकका रचनाहरू समाविष्ट छन् । लालभूमि भनेर यहाँ तीन लालको नामले प्रसिद्ध कृष्णलाल, गङ्गालाल र पुष्पलालको जन्मस्थानलाई सम्बोधन गरिएको छ । सामान्यतः यस स्थानलाई हामीले रामेछापका नाममा चिन्दै आएका हौँ । यही रामेछापलाई यस सङ्ग्रहमा लालभूमि नामकरण गरिएको छ । लालभूमिको अर्थ रातो भूमि पनि हुन्छ । नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने प्रथम व्यक्तिको जन्मस्थान मात्रै नभएर विद्रोही चेतनाको आरम्भकर्ता र क्रान्तिचेतनाका आरम्भकर्ता सहिदहरूको पनि जन्मस्थान भएकाले रक्तचेतना भूमिका अर्थमा पनि लालभूमि भन्न सकिने स्थिति छ । तर यहाँ तीन लालको भूमि भएकैले यसलाई लालभूमि भनी सम्बोधन गरिएको होला भन्ने अनुमान सहजै गर्न सकिने स्थिति पनि छ । यसका साथै यो भूमि रक्तचेतना/लालचेतनाले युक्त पनि हो किनभने यहाँ रक्तक्रान्ति÷जनयुद्धका बेलामा पनि सहादतको उत्कर्ष देख्न पाइन्छ । उदाहरणका रूपमा बेथानदेखि दोरम्बासम्मका घटना प्रख्यात नै छन् । जे भए पनि रामेछाप लालभूमि नै हो । यसमा मत बझाउनुपर्ने आवश्यकता छैन । तीन लालका नाममा लालभूमि भनिएको होस् अथवा लालचेतनाका नाममा लालभूमि भनिएको होस्, जे भए पनि यो लालभूमि नै हो ।

उक्त लालभूमिको यात्रामा गएका व्यक्ति÷व्यक्तित्वहरूले आफ्नो यात्राको अनुभूतिलाई समेटेर भाषाका माध्यमले लिखित रूपमा अभिव्यक्त गर्ने क्रममा निर्माण भएका रचनाहरू यसमा समाविष्ट छन् । सम्भवतः यसैकारण सङ्ग्रहकै नाम लालभूमिको यात्रा राखिएको हो । यसमा अटाएका रचनाहरूका आआफ्नै विशिष्टता छन् । तीन लालको यो भूमिलाई कम्युनिस्टहरूको मक्कामदिना बनाउन सके नेपालकै पर्यटन विकासमा पनि सहयोग पुग्ने विचारसहितको अनिल शर्माको रचना यसमा पहिलो रचनाका रूपमा तीन लालको भूमिमा अग्रजहरूको सम्झना शीर्षकमा रहेको छ भने अन्तिममा जय दाहालको अनुभूति समेटिएको ऐतिहासिक भूमिको यात्रा शीर्षकको विवरणात्मक रचना रहेको छ । यसरी नै अन्य रचनाहरूमा लेखनाथ न्यौपानेको तीन लालको भूमि ः यात्रा, पात्र र प्रवृत्ति शीर्षकको रहेको छ । यसमा न्यौपानेको आफ्नो यात्राको विवरणात्मक अनुभूति, स्थानको ऐतिहासिक परिचय, आफ्नै विगतको स्मरण, तीन लालका बारेमा व्यक्त विचार, नेपाली राजनीतिक आन्दोलनसम्बन्धी आफ्नो अनुभूति आदिलाई प्रकट गरेर समग्र परिचय दिन खोजिएको रचना रहेको छ । चौथो रचनाका रूपमा हीरामणि दुःखीको तीन लालको भूमिबाट फर्केपछि शीर्षकको आफ्नो विचारसहितको विवरणात्मक रचना रहेको छ भने पाँचौँ स्थानमा खेम थपलियाको तीन लालको भूमिमा टेक्दा शीर्षकमा लेखिएको रचना परेको छ । यसलाई उनले विभिन्न शीर्षकमा शीर्षकीकरण गरेर एउटा पूर्ण आलेख बनाउने प्रयास गरेको देखिन्छ । छैटौँ स्थानमा लालभूमिको यात्रा र सातौँमा तीन लालको भूमिमा जनविद्रोहको उद्घोष शीर्षकका रचना रहेका छन् । छैटौँ र सातौँ स्थानमा रहेका दुवै रचना यसका सम्पादक अशोक सुवेदीका हुन् । सुवेदीको पहिलो रचनाले २०६५ साल चैत २४ देखि २७ सम्मका अथवा भनौँ यस यात्राका सम्पूर्ण गतिविधिको विवरण र आफ्नो अनुभूतिलाई समेटेको छ भने सातौँ वा यसमा परेको सुवेदीको दोस्रो रचनाले संस्कृतिकर्मीद्वारा गरिएको जनविद्रोहको उद्घोषमाथि प्रकाश पारेको छ । आठौँ रचनाका रूपमा ज्योति शर्माको साहित्यले हराभरा रामेछाप शीर्षकले आफ्नो साहित्यिक यात्राको अनुभूतिलाई समेटेको छ । नवौँ रचना वीरेन्द्र थपलियाको जीवनकै अविस्मरणीय र प्रेरणादायी रामेछापयात्राले लेखकको अनुभूतिलाई समेटेको छ । दसौँमा विनोद पौडेलको सिर्जनानगर र साहित्यिक तरङ्गले यो साहित्यिक अभियानमाथि विशेष प्रकाश पारेको छ । एघारौँ रचना मीरा सुवेदीको सिर्जनानगरमा फुलिरहेछन् सिर्जनाका पूmलहरूले यस भूमिलाई स्रष्टाहरूको उर्बर भूमिका रूपमा प्रस्तुत गरेको छ । बाह्रौँ रचना धर्मेश पोखरेलको तीन लाल भूमिको अविस्मरणीय यात्राले काठमाडौँदेखि रामेछाप यात्राको विवरण प्रस्तुत गरेको छ ।
यसप्रकार उपर्युक्त सबै रचना र रचनाकारले काठमाडौँदेखि रामेछापको तीन लालको भूमिको यात्राकै वर्णन र विवरण प्रस्तुत गरेका छन् । तर, यसो हुँदाहुँदै पनि सबै रचनाहरू एकआपसमा आआफ्नै मौलिकता र विशिष्टता बोकेर एकअर्कामा छुट्टिएका छन् । यिनमा कसैले तीन लाललाई विशेष जोड दिएका छन् भने कसैले तीन लालका साथै त्यो भूमि, प्रकृति, त्यहाँको ऐतिहासिकता र त्यस भूमिको राजनीतिक–सामाजिक चेतनामाथि पनि प्रकाश पार्ने प्रयास गरेका छन् । समग्रमा भन्नुपर्दा आपूm त्यस ठाउँमा नपुगे पनि त्यहाँको सामान्य जानकारी लिन यो सङ्ग्रह उपयोगी हुनेछ ।

ज्योति शर्मा
…रामेछाप राणाशासनदेखि सम्पूर्ण सामन्ती व्यवस्थाका विरुद्ध राजनीतिक एवम् साहित्यिक क्षेत्रबाट बलिदान दिने र चेतना जगाउने तीन लालको भूमि भनेर चिनिन्छ । निरङ्कुश राणाशासनविरुद्धको आन्दोलनमा वि.सं. १९७० को दशकमा कलमबाट विद्रोह बोलेका कृष्णलाल अधिकारी ‘मकैको खेती’ लेखेर प्रथम साहित्यिक सहिद बन्नुभयो । निरङ्कुश राणाशासनकै विरुद्धमा लड्ने क्रममा हाँसीहाँसी मृत्यु अँगाल्ने गङ्गालाल श्रेष्ठ र सामन्ती चिन्तन र प्रवृत्तिका विरुद्ध सर्वहारावर्गको मुक्तिका पक्षमा लड्न नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गर्ने पुष्पलाल श्रेष्ठलाई पनि रामेछापले जन्माएको हो । यसरी तीन लाल हुँदै बलिदानीको क्रम रोकिएन । पुरानो सत्ता ध्वंस पारी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने महान् उद्देश्य लिँदै नेकपा माओवादीद्वारा गरिएको १० बर्से जनयुद्धका क्रममा बेथानको मोर्चामा प्रथम महिला छापमार सांस्कृतिक सहिदका रूपमा अर्को ऐतिहासिक बलिदान दिइन् दिलमाया बम्जनले । यसरी रामेछापले हरेक सङ्घर्षमा आफूलाई अग्रपङ्क्तिमा उभ्यायो ।
रामेछापको साहित्यिक क्षेत्रको योगदान देखेर पनि म दङ्ग परेँ । एउटै भौगोलिक क्षेत्रका यति धेरै मानिसहरू साहित्यिक हुन सक्दा रहेछन् भनेर मैले पहिलोपटक अनुभव गर्न पाएँ । काठमाडौँको धुलो, धुवाँ, राजनीतिक अस्थिरता, नेताहरूको दिनहुँको कलहको वरिपरि रहेकी मलाई लागेको थिएन रामेछाप गएर म यति धेरै उत्साहित हुन्छु । घुमफिर गर्दा अलिकति मनमा शान्ति र दिमागमा स्वच्छता आउँछ भन्ने हिसाबले म रामेछाप गएकी थिएँ । तर त्यहाँ पुगेपछि यस्तो लाग्यो एकपटक घुम्न, अध्ययन गर्नैपर्ने ठाउँ रहेछ रामेछाप । रामेछाप सिर्जनानगरका कवि हितप्रसाद उपाध्याय सुवेदीको स्मृतिमा गरिएका कार्यक्रममा सहभागी बालबालिकाका सिर्जना देख्दा र सुन्दा जोकोही पनि स्पष्ट हुन सक्छ– रामेछापको साहित्यिक यात्रा अझ धेरै अगाडि जानेछ । सानासाना भाइबहिनीहरूका रचनाभित्र लुकेको सहिदको सपना, प्रकृतिको बयान, देशको चिन्ता गर्दै नेताहरूप्रतिको व्यङ्ग्यात्मक प्रस्तुति ती सबैभित्र भविष्यका महान् साहित्यकारको मुहार स्पष्ट देख्न सकिन्थ्यो ।

दुर्योधन बस्नेत
…नेपालमा सामन्तवादको नाइके राजतन्त्र ढले पनि विविध क्षेत्रमा सामन्तवाद यथावत् रहेको स्थिति भएकाले यसका विरुद्धमा, यसको समूल अन्त्यका लागि सबै लाग्नुपर्ने कुरामा सबै वक्ताहरूले जोड दिनुभएको थियो । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिब क. पुष्पलाल, निरङ्कुश राणाशासनको विरोध गरेका कारण बलिदान गर्नुभएका प्रथम विद्यार्थी सहिद गङ्गालाल श्रेष्ठ र प्रथम सांस्कृतिक सहिद कृष्णलाल अधिकारीको जन्मस्थल भएका कारण पनि नेपालको कम्युनिस्ट आन्दोलनमा रामेछाप जिल्लाको अत्यन्तै ठूलो महत्व रहेकाले उनै तीन लाललाई स्मरण गर्दै उनीहरूप्रति श्रद्धासुमन व्यक्त गर्ने काम पनि भएको थियो ।

श्यामबहादुर भावुक
त्यो सर्लाहीबाट सधैँ दिने साथ कान्छी बैनी हुन् मीरा
मलङ्गवाबाट ज्यानैसमेत दिने माइली बैनी इन्दिरा
विमल, विवेक र लता, विनिताले सघाउँदै आका छन्
अशोक सुवेदीले आफन्तजनबाट औधी माया पाका छन् ।

ज्वाइँ, भान्जा–भान्जी खुर्कोटमा भेटी चिनाजानी गर्यौँ नि
दालमोठ, च्यूरा, बिस्कुट, काँक्रो खाँदै फेरि बसमा चढ्यौँ नि
सुनकोसी तरी उकालोमा चढी सेलेघाट बेतिनी
ल्याङ्ल्याङेको बाटो उड्ने धुलो माटो झगडेचौर भेटिनी ।

रामेछाप बजार घुम्ने थियो रहर तर पुग्यौँ भँगेरी
यसै मनको धोको पारीकन पोको हिँड्यौँ त्यता नहेरी
घामले आँखा चिम्ल्यो जूनले चिहाउन गो हामी कविहरूमा
भँगेरीमा पुग्यौँ कवि सबै झुक्यौँ दुई लालको सालिकमा ।

चिनाजानी भयो धु्रव श्रेष्ठसँग परिवार र छिमेकी
ती मनकारी थिए जुनार खान दिए राम्रै मान्यौँ भँगेरी
गङ्गालाल र उनै पुष्पलालको चिनो जन्मथलो भाकेर
हितप्रसाद र जूनमायाजस्तै आदर्श भाव राखेर ।

अशोक सुवेदीले सालिक बनाइदिए धन्यवाद दिन्छु म
यस्तै महान् व्यक्ति जन्माइदेओस् भनी राष्ट्रलाई भन्छु म
पूर्णबहादुर सिंहद्वारा लिखित पुस्तकको लिन्छु नाम
शैक्षिक आन्दोलन र एकीकृत क्रान्ति लोकार्पण–भयो काम ।

देशले गर्ने काम अशोक सुवेदीले एक्लै गर्दै आ’काछन्
जता गए पनि अशोकले अनि देशकै गीत गा’काछन्
परिवारभन्दा देशकै गरी चिन्ता बाँचेका छन् अशोक
कमाउने कुरा अशोकले भन्छन्– कैले पनि नसोध ।

आस्था घिमिरेले बोलिन् पुस्तकबारे भँगेरीमा आएर
आक्रोश व्यक्त गरे गुरु राजेन्द्रले देशको गाथा गाएर
सहिदलाई ढोगी भँगेरीलाई छोडी आठ बजे रातिमा
गाउँदै लोकभाका, घुम्दै बनपाखा हाँस्दै–खेल्दै साथीमा ।

जय दाहाल
…कठजोरको कार्यक्रम सकेर हाम्रो टोली मन्थलीबजार झर्यो र साँझ रामेछापबजार पुग्यो । बासगाँस होटेलमै भयो । भोलिपल्ट २७ गते बिहान ८ बजे हाम्रो टोली रामेछाप गाविस वडा नं. २ भँगेरी पुग्यो । सोही ठाउँमा नेकपाका संस्थापक महासचिव पुष्पलाल र सहिद गङ्गालाल जन्मिनुभएको थियो ।
त्यस ठाउँमा छरछिमेकी, बुद्धिजीवी, मजदुर, किसान र क. पुष्पलालका नातागोताको ठूलो समूह भेला भयो । पार्टीका कमरेडहरू पनि उपस्थित हुनुभयो । त्यहाँ पुष्पलाल र गङ्गालालको सम्झना गर्दै ईश्वरचन्द्र ज्ञवाली, लेखनाथ न्यौपाने, हीरामणि दुःखी र अशोक सुवेदीले बोल्नुभयो । आरसी न्यौपाने, शोभा दुलाललगायतले कविता वाचन गर्नुभयो । कार्यक्रमको अध्यक्षता अशोक सुवेदीले गर्नुभएको थियो ।

सन्दर्भसूची
सिद्धिचरणका जेल संस्मरण
भुवनलाल प्रधान, सहिद परिचय, गङ्गालाल, काठमाडौँ नगर पञ्चायत २०४३ ।
नौलो बिहानी मासिक वर्ष १, अङ्क १, फागुन, २०५४
डा. राजेश गौतम, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपाल प्रजा–परिषद्को भूमिका, दोस्रो संस्करण, २०६२
शिवकुमार डाँगी, सङ्घर्षका साठी वर्ष : नेपाली विद्यार्थी आन्दोलनको गौरवशाली इतिहास, सम्पादन : अशोक सुवेदी र अरूहरू, प्रकाशक : सरस्वती पोखरेल, २०६४)
अशोक सुवेदी, नेपालका प्रथम साहित्यिक सहिद कृष्णलाल अधिकारी र मकैको खेती, प्रकाशक : हितप्रसाद उपाध्याय–जूनमाया सुवेदी साहित्य प्रतिष्ठान, २०६७ ।
लालभूमिको यात्रा, २०६७
रामेछाप जिल्लाका साहित्यकार र कवि हितप्रसाद उपाध्याय सुवेदी, २०६७
लालबस्ती, २०७१
बन्द कोठादेखि युद्ध–कला सङ्ग्रहालयसम्म, नौलो बिहानी मासिक, २०७५
हसिनादेवीसँगको अन्तर्वार्ता, २०६४
(साभार : ‘क्रान्तिवीर सहिद गङ्गालाल श्रेष्ठ’ पुस्तकमा प्रकाशित अशोक सुवेदीको लेख)

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :