पार्टी पुनर्गठन दिवसका अवसरमा शुभकामना आदानप्रदान


कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तु जिल्लाले पार्टी पुनर्गठन दिवसको अवसर पारी शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको जनाएको छ ।

जिल्लाको शिवराज न.पा. ९ अञ्चलपुर, बुद्धभूमि न. पा. ३ वक्तापुर, वाणगङ्गा न. पा. ३ बभनी, शुद्धोधन गा.पा. ६ बाँसखोरलगायत ठाउँमा नेकपाले विशेष कार्यक्रम आयोजना गरेको हो । शुभकामना आदानप्रदान कार्यक्रममा जिल्ला इन्चार्ज जुझारुले एकीकृत जनक्रान्तिले उचाइ हासिल गरेको र श्रमिक जनताको विजय सुनिश्चित रहेको बताए । दलाल पुँजीपतिहरू नाङ्गिँदै गएको र उनीहरूले जनतामा छरेको भ्रम मेटिँदै गएकाले जनतालाई एउटा अन्तिम लडाइँका लागि तयार रहन उनले अपिल गरे ।

त्यस्तै अर्को कार्यक्रमलाई सम्बोधन गर्न पुगेका जिल्ला सेक्रेटेरी शेरमानले सहिद तथा बेपत्ता परिवारका सपना पूरा गर्न एकपटक आफूहरू सहिद हुन तयार रहेको उद्घोष गरे । उनले भने, ‘हिजो पनि जनताका सपनाका लागि हाम्रा सपनाहरू बलिदान गरेका हौँ । आज पनि जनतालाई बचाएर बलिदान दिन तयार छौँ । एकदुईजना गिरफ्तार गर्दैमा क्रान्ति रोकिँदैन ।’

नेकपाका अर्का जिल्ला नेता सुनीलले पनि एकीकृत जनक्रान्ति नै अबको मुक्तिको बाटो भएको बताए । उनले देश बेच्नेहरूलाई जनताले ठेगान लगाउने भन्दै क्रान्तिको ज्वारभाटा छिट्टै विस्फोट हुने बताए ।

कार्यक्रममा सहिद तथा बेपत्ता परिवार, नेता–कार्यकर्ता तथा शुभेच्छुकदेखि सयौँको सङ्ख्यामा जनताको उपस्थिति थियो । कार्यक्रममा आजीवन क्रान्तिकारी विचारधारामा रहेर कम्युनिस्ट कित्तामा उभिएका पुराना नेताहरूलाई सम्मानसमेत गरिएको थियो । शिवराज ९ बाट जमलाल विक ‘राजन’ र वाणगङ्गा १० बाट यमबहादुर सुनार ‘अशोक’ लाई इन्चार्ज, सेक्रेटेरीलगायतले अभिनन्दन गरेका थिए । नेपाल कम्युनिस्ट पार्टीले ६ वर्षअघि वैद्य समूहसँग विद्रोह गरी नयाँ पार्टी पुनर्गठन गरेको थियो । सोही अवसरमा देशभर विभिन्न कार्यक्रमहरू सम्पन्न भएका हुन् ।

२०७६ मंसिर ९ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :