कुमार पौडेलको हत्याको वास्तविकता

नेपाल कम्युनिस्ट पार्टीका जनकपुर ब्युरो सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज क. कुमार पौडेलको वर्तमान दलाल पुँजीवादी सत्ताले नियन्त्रणमा लिई कायरतापूर्वक हत्या गर्यो । २०७६ असार ५ गते सर्लाही जिल्लाको लालबन्दी नपाको लखन्ती खोलामा दिनको करिब २ बजे कुमार पौडेलको हत्या गरिएको थियो । त्यसपछि यस घटनाबारे विभिन्न अड्कलबाजी र बहसहरू भइरहेका छन् । यसबारे पार्टीका तर्फबाट विभिन्न तरिकाद्वारा खोज तथा अनुसन्धानकार्य भइरहेको छ । यस विषयमा आयोग निर्माण भई प्रारम्भिक निचोड पनि दिइसकेको छ । यी सबैका आधारमा यस घटनाका वास्तविकतालाई यस लेखमार्फत प्रस्ट पार्न चाहन्छौँ ।

दलाल सत्ताको वर्गीय चरित्रअनुसार यसले साम्राज्यवादको दलाली गर्ने अर्थात् सेवा गर्ने र स्थानीय दलालहरूको संरक्षण गर्नुपर्ने अनिवार्य दायित्व र स्वाभाविक प्रक्रियाभित्र पर्दछ । एकीकृत जनक्रान्तिलाई कसरी नियन्त्रण गर्ने भन्ने केन्द्रीय सत्ताको योजना र स्थानीय दलालहरूको संरक्षण गर्ने सत्ताको चरित्रको कारणले कमरेड कुमारको हत्या गरियो ।

के थियो केन्द्रीय सत्ताको योजना ?

नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद प्राप्त गर्ने लक्ष्य लिएर राजनीतिक सङ्घर्षमा अगाडि बढिरहेको छ । त्यसको प्रभाव देशव्यापी रूपमा विस्तार हुँदैछ भने अन्तर्राष्ट्रिय रूपमा पनि प्रचारप्रसार हुँदैछ । यति बेला नेपालको दलाल संसदीय पुँजीवादी सत्ताका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा नेकपाको राजनीतिक तथा साङ्गठनिक गतिविधि देखापरेको छ । एकीकृत जनक्रान्ति आवश्यक परे दलाल सत्ताको जुनसुकै हर्कतको प्रतिरोध गर्ने घोषित मान्यताका साथ अगाडि बढेको छ । यस्तो अवस्थामा दलाल सत्ताले एकीकृत जनक्रान्तिलाई रोक्ने विषयमा विभिन्न बहस, योजना र षड्यन्त्र गर्दै आएको छ । यसले कहिले राजनीतिक षड्यन्त्रको जालभित्र वार्ताको कुरा गर्दछ । कहिले नेता–कार्यकर्ताको गिरफ्तार गरेर हत्या गर्ने योजना बुन्छ । कहिले केही सुधार गरेर जाने र वास्तै नगर्ने भनी सोच्छ । तर कुनै उपायले पनि एकीकृत जनक्रान्ति नरोकिने र लगातार विजयको दिशामा जाने देखेपछि केन्द्रिय दलाल सत्ता बहुलाएको छ । यसरी बहुलाउँदै जाँदा कहिले पार्टीका महासचिव क. विप्लव लगायतका केही महत्वपूर्ण नेताहरू ३०/३५ जनाको हत्या गर्ने योजना बनाउँदछ । कहिले महत्वपूर्ण कार्यकर्ताको गिरफ्तार गर्ने र नेताहरूलाई एक्ल्याउने योजना बनाउँदछ त कहिले जनयुद्धमा जस्तै युद्ध पिपासुको भूमिकामा जान खोजदछ । तर ठोस निष्कर्षमा पुग्न दलालहरूलाई निक्कै कठिनाई भइरहेको थियो । पछिल्लोपटक भने दलाल सत्ता विभिन्न आन्तरिक अन्तरविरोधको बाबजुद केही महत्वपूर्ण नेता–कार्यकर्ताको हत्या गर्ने योजनामा पुग्यो । यसै क्रममा कमरेड कुमार पौडेलको हत्या गरियो । उनीहरूको यो शृङ्खला जारी छ । यद्यपि क. तीर्थ घिमिरेको हत्यामा संलग्न मुख्य अपराधी सञ्जीव राईलाई पार्टीले बदला लिएपछि भने दलाल सत्ता पनि आफ्नो योजनामा समीक्षा गर्न बाध्य भएको छ ।

क. कुमारको हत्या केन्द्रीय योजनामा गरियो । प्रहरी प्रधान कार्यालयबाट खटिएका एक इन्स्पेक्टर, दुई हबल्दार र एक सिपाहीको टोलीले कुमार पौडेललाई नियन्त्रणमा लिई कायरतापूर्वक हत्या गर्यो । यस प्रक्रियामा प्रहरी प्रधान कार्यालयको टोली, क्राइम ब्रान्च जनकपुरको टिम र राष्ट्रिय अनुसन्धान सर्लाहीको घुमुवा टोली परिचालन गरिएको थियो । यद्यपि क. कुमार पौडेलको प्रारम्भमै हत्या गर्ने निष्कर्षमा केन्द्रीय सत्ता पुग्नुमा केही अन्तर्राष्ट्रिय साम्राज्यवादको दलाली र केही स्थानीय दलालहरूको संरक्षण गर्नुपर्ने बाध्यताले भूमिका निर्वाह गरेको छ ।

को हुन् अन्तर्राष्ट्रिय शक्तिहरू ?

१) सर्लाही, महोत्तरीलगायत जिल्लाहरूमा कार्यक्षेत्र बनाएर काम गरिएको सागरनाथ बन परियोजना विदेशी डलर पचाउने संस्था हो । यसले त्यस क्षेत्रमा झन्डै ४२०० हेक्टर जमिनमा बन विस्तार गर्ने योजनाका नाममा विदेशबाट पैसा ल्याई त्यस क्षेत्रका करिब १० हजारको सङ्ख्यामा रहेका सुकुमबासीहरूको बस्ती उठाई वृक्षरोपण गर्न चाहन्छ । विदेशीहरूले त्यसमार्फत नेपाललाई माटो, पानी र पर्यावरणका लागि प्रयोगशाला बनाई परीक्षण गरिरहेका छन् । तर सुकुमबासी उठाउने उसको योजना नेपाल कम्युनिस्ट पार्टी र त्यसको सर्लाही जिल्ला नेतृत्व कुमार पौडेल बाधक बनेको निष्कर्ष निकालेका थिए र छन् । यसले गर्दा सागरनाथ बन परियोजनासँग समबन्धित देशी–विदेशी सबै शक्तिले नेपालको केन्द्रीय सत्तासँग सुकुमबासी आन्दोलनको प्रमुख नेतृत्व क. कुमार पौडेललाई किनारा नलगाई त्यो डलर पचाउन नपाइने निष्कर्षसहित बारम्बार अनुरोध र दबाब दिइरहेका थिए । त्यसैले एकिनका साथ भन्न सकिन्छ– पश्चिमाहरूले पनि कमरेड कुमार पौडेलको हत्याका लागि दबाब दिइरहेका थिए ।

२) नेकपा जनकपुर ब्युरोमार्फत् मुख्यतया सर्लाही र धनुषामा योजनाबद्ध ढंङ्गले सुदखोरविरोधी सङ्घर्षको अपिल गरिरहेको थियो । त्यसमा सर्लाही जिल्लामा सुदखोरविरोधी आन्दोलनको नेतृत्व क. कुमार पौडेलले गरिरहनुभएको थियो । सर्लाहीमा अहिले एक खर्बभन्दा बढी रकम जमिनसँग सम्बन्धित कारोबारमा भारतीय पुँजी परिचालन भएको छ । यसले नेपालको जमिन षड्यन्त्रपूर्ण तरिकाबाट सुदखोरमार्फत भारतीयहरूको हातमा गैरहेको छ । पछिल्लो चरणमा सर्लाहीमा करिब एक दर्जन सुदखोरहरूसहित सुदखोर श्याम प्रदेशीसम्मको उजुरी पार्टीले लिएर कारबाहीप्रक्रिया अगाडि बढाउँदै थियो । यसप्रकारका सङ्घर्ष र विगतमा चुरे भाबर आन्दोलनमा कमरेड कुमार पौडेलले निर्वाह गरेको देशभक्तिपूर्ण भूमिकाका कारण दक्षिण पनि नेकपा र सर्लाहीका प्रमुख नेता क. कुमारलाई किनारा लगाउनैपर्ने बुझाइमा पुगेको थियो । त्यसको दबाब पनि नेपालको केन्द्रीय सत्तालाई पर्यो ।

को हुन् स्थानीय दलाल ?

१) केही स्थानीय कथित जनप्रतिनिधि र भ्रष्ट ठेकेदारहरूले सर्लाहीमा जनताको श्रमबाट आएको रकम ठूलो मात्रामा ब्रह्मलुट पारे । सर्लाहीको विकास बजेट बालुवामा पानी खन्याएको जस्तै भयो । त्यसलाई रोक्न सर्लाहीका जनतासँग मिली नेकपाले विभिन्न प्रकारका सङ्घर्ष गर्दै आएको थियो । ती सङ्घर्षको नेतृत्व क. कुमार पौडेलले गर्नुभएको थियो । यसप्रकारको सङ्घर्षले केही कथित जनप्रतिनिधि र ठेकेदार निकै आत्तिएका थिए । क. कुमार पौडेल हत्याको करिब २ महिनाअगाडि बागमती नगरपालिकाका मेयर भरत थापाको आर्थिक व्यवस्थापन २ नं. प्रदेश सांसद डिल्ली उप्रेतीसहित ७ जनाको टोली काठमाडौँ डेलिगेसन गयो । उनीहरूले केपी वली, प्रचण्ड, बादल, नारायणकाजीलगायत नेताहरूसँग आलोपालो गरी भेट गरे । त्यहाँ २ वटा विषय थिए– पहिलो, उनीहरूको पार्टीको जिल्ला सचिव को बनाउने भन्ने आन्तरिक विषय थियो भने दोस्रो, नेकपा र मूलतः क. कुमारको विषय थियो । त्यो डेलिगेसनपछि प्रचण्डले आफ्नै पार्टीको एउटा पक्षलाई ‘तपाईंहरू विप्लवसँग मिली हाम्रो पार्टीका कार्यकर्तालाई दुःख दिने ? न तपाईंहरूलाई छोडिन्छ, न त विप्लवकाहरूलाई’ भनी सर्लाहीको सम्भावित घटनाको पूर्वसङ्केत गरे । अर्को, उनले आफ्नो सचिवालय टिममा सर्लाहीका विषयमा त्यसप्रकारकै अर्थ लाग्ने गरी छलफल गरेको पनि सार्वजनिक नै भयो । यी सबै घटनाले के पुष्टि गर्दछ भने सर्लाहीका स्थानीय दलालहरूको संरक्षणका लागि केन्द्रीय सत्ताका प्रतिनिधिलाई बारम्बार दबाब दिने काम भइरहेको थियो । यसप्रकारको डेलिगेसन टोली अरू थप २ वटाले क. कुमारलाई किनारा लगाउन दबाब दिएका थिए ।

२) लालबन्दी ५ स्थित नेपाल आयाल निगमले खरिद गरेको १५ बिघा १० कट्ठा १२ धुर जमिन खरिदमा करिब २२ करोड घोटाला भएपछि मिथिला स्वायत्त जनपरिषद्ले उक्त जमिन एक वर्षपहिले कब्जा गरेको थियो । त्यसपछि बन, मालपोत, नापी, प्रहरी प्रशासनलाई घुस र भ्रष्टाचारको आरोपमा निकै दबाब परेको थियो । त्यसपछि त्यस क्षेत्रमा काम गर्न आउने भ्रष्ट कर्मचारीलाई नेकपा र त्यसका सर्लाही नेता क. कुमार निकै चुनौती बनिरहेको महसुस गरे जसले गर्दा उनीहरूले स्थानीय दलालमार्फत आउने मोटो रकममा बाधा पुग्ने महसुस गरे । त्यसको असर सर्लाहीबाट केन्द्रमा भ्रष्टहरूलाई जाने मोटो कमिसनको प्रतिशतमा पनि पुग्यो जसले गर्दा केन्द्रीय र जिल्लाका भ्रष्टहरू क. कुमारलाई किनारा लगाउन सरकारलाई दबाब दिन थाले ।

क. कुमारको हत्याको बदला

क. कुमारको रगत हजारौँ सुकुमबासीहरूका लागि बगेको छ । सर्लाहीका भ्रष्ट कथित जनप्रतिनिधि र ठेकेदारका विरुद्ध बगेको छ । कमिसनखोर र घुसखोर कर्मचारीहरूका विरुद्ध बगेको छ । पश्चिमा र दक्षिणका विदेशी एजेन्टका विरुद्ध बगेको छ । जनयुद्ध र जनआन्दोलनका महान् सहिदहरूको सपनाका लागि बगेको छ । आमश्रमजीवी नेपाली जनताको मुक्तिका लागि बगेको छ । सारमा एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद निर्माणका लागि बगेको छ । त्यसैले क. कुमारको रगत न्याय, समानता र मुक्तिका लागि बगेको छ जुन रगत कहिल्यै खेर जानेछैन । त्यसको बदला जनता, पार्टी र क्रान्तिले अनिवार्य रूपमा लिनेछ । हामी कुमारको बलिदानलाई साक्षी राखेर कसम खान्छौँ– दलाल सत्ताको हत्याको जरुर प्रतिरोध गर्नेछौँ । क. कुमारको रगतबाट हज्जारौँ क्रान्तिकारीहरूको जन्म हुनेछ र क्रान्तिप्रक्रियामै त्यसको बदला लिइनेछ । हत्यापछि पार्टीका महासचिव क. विप्लव, पूर्वी कमान्ड इन्चार्ज क. विषम र जनकपुर ब्युरो इन्चार्ज क. अरुणले सार्वजनिक वक्तव्य निकाली उक्त घटनाको घोर विरोध तथा भत्र्सना गर्नुभएको छ । पार्टीका महासचिव क. विप्लवले सार्वजनिक गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘पार्टी फासिवादी सत्ताद्ववारा हत्या गरिएका कुमार पौडेललाई महान् सहिद घोषणा गर्दछ र क्रान्तिको प्रक्रियामा बदला लिने प्रतिबद्धता व्यक्त गर्दछ ।’ त्यसैले क. कुमारको हत्यामा संलग्न योजनाकार, दबाब दिने दलालहरू र हत्यामा संलग्न सबैलाई कुमारको रगतले एकएक गरी पोल्नेछ ।

२०७६ कार्तिक २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :