भारतीयद्वारा नेपालको प्रहरीचौकीमा बम विस्फोट


काठमाडौँ : भारतले नेपालको भूभाग आफ्नो नक्सामा पारेको विरोधमा नेपालमा भारतीय कदमविरुद्ध आन्दोलन चर्किरहेको समयमा भारतीय नागरिकले रौतहटको इशनाथ नगरपालिका– ४ को मठिया प्रहरी चौकीमा बम बिस्फोट गराएका छन् । विस्फोटबाट एक प्रहरी जवान घाइते भएको बताइएको छ ।

मङ्गलबार दिउँसो भएको विस्फोटमा परी घाइते हुनेमा प्रहरी जवान रञ्जितकुमार यादव छन् । उनको पाखुरामा चोट लागेको छ । विस्फोटबाट चौकीमा सामान्य क्षति भएको छ ।

विस्फोटमा संलग्न एकजना भारतीय नागरिक र उनी सवार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहारको ढाका भन्ने स्थानका चन्दनकुमार रहेका छन् । उनले किन विस्फोट गराएका हुन् र उनलाई कसले परिचालन गरेको छ भन्ने खुलेको छैन । हाल नेपालमा भारतले कालापानीसहित नेपाली भूमि गाभिएको नक्सा सार्वजनिक गरेपछि भारतीय हस्तक्षेपकारी कदमविरुद्ध चर्को नाराबाजी भइरहेको बेला भारतीय नागरिकले नेपालको प्रहरीचौकीमा बम विस्फोट गराउनु रहस्यको विषय बनेको विश्लेषकहरूले बताएका छन् ।

२०७६ कार्तिक २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :