भारतीय साम्राज्यवाद नेपाल छोड्

नेपाली भूमिलाई आफ्नो नक्सामा गाभेर सार्वजनिक गर्दै भारतीय साम्राज्यवाद फेरि एकपल्ट अत्यन्त नग्न, घृणित र उत्ताउलो रुपमा प्रस्तुत भएको छ । भारतले हालै प्रकाशित गरी सार्वजनिक गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रसमेतलाई आफ्नो भूभागभित्र समावेश गरेपछि देशभक्त, राष्ट्रवादी, क्रान्तिकारी शक्तिहरू साम्राज्यवादी हस्तक्षेप र अतिक्रमणविरुद्ध सडक सङ्घर्षमा उत्रिएका छन् । यतिबेला सडक देशभक्त जनतामय बन्दै गएको छ र सच्चा हृदयले यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । नेपालमाथिको भारतीय साम्राज्यवादी हस्तक्षेप अत्यन्त निन्दनीय, घृणित र असह्य मात्र छैन, यसले प्रतिरोधको समेत माग गरेको छ । देशभक्त नेपाली जनताको क्रियाशीलताले त्यो प्रतिरोध सङ्घर्षको सङ्केत गरेको छ । यो सलामयोग्य कार्य हो । आँखैअगाडि आफ्नै भूमि मिचिँदा पनि, जन्मभूमिमाथि परायाले बलात्कार गर्दा पनि प्रतिरोधमा नउठ्ने मन, हृदय र जीवन देशका लागि आवश्यक हुँदैन, घातक हुन्छ । त्यसैले जो आज साम्राज्यवादी हस्तक्षेप देखेर पनि नदेखेझौ गरिरहेछन्, ती साम्राज्यवादका मतियार हुन्, देशद्रोही हुन्, लेन्डुपका नयाँ संस्करण हुन् ।

उता भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेर नेपालमाथि फेरि आफ्ना खुनी पञ्जा र फणाहरू फिँजाएको छ, फैलाएको छ । यता साम्राज्यवादको पिट्ठु केपी वली सरकार साम्राज्यवादी हस्तक्षेपविरुद्ध सङ्घर्षमा उत्रिएका नेकपाका नेता–कार्यकर्ताहरूलाई गिरफ्तार गरेर हिरासत र जेल पठाउँदै नग्न र भद्दा रूपमा साम्राज्यवादको चाकरी गरिरहेको छ । केपी वली सरकारलाई भारतीय साम्राज्यावादले आफ्नो भूमिमाथि अतिक्रमण गरेकोमा होइन, देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व नेकपाले लेला र मुलुकमा राष्ट्रियताको आन्दोलन सफल होला भन्ने चिन्ता छ । ‘कसलाई के धन्धा…कसलाई खानको धन्धा’ भनेझैँ देशभक्त नेपालीलाई राष्ट्रियता, मुलुकको भूमिमाथि साम्राज्यवादी हस्तक्षेपको चिन्ता छ भने साम्राज्यवादको दलाल सरकारलाई राष्ट्रियताको आन्दोलन सफल होला र साम्राज्यवादी मालिकहरूको स्वार्थ पूरा नहोला भन्ने चिन्ता छ । यस्तो अवस्थामा राष्ट्रियता, जनतन्त्र र जनजीविकाको आन्दोलनसँगै दलाल संसदीय व्यवस्था र दलाल वली सरकारविरुद्ध वैज्ञानिक समाजवादी– साम्यवादी समाज निर्माणको आन्दोलन अर्थात् एकीकृत जनक्रान्तिलाई सफलताको दिशातर्फ उठाउनुको विकल्प छैन ।

भारतीय साम्राज्यवादले नेपाली भूमि अतिक्रमण गरेको यो पहिलोपल्ट होइन । भारतमा राज गरिरहेको बेलायती साम्राज्यवादसँग नेपालका कायर शासकहरू नतमस्तक भएर राष्ट्रघाती सुगौली सन्धि गर्दै नेपालको विद्यमान नेपाली भूभागजत्ति नै भूभाग बेलायती साम्राज्यवादलाई सुम्पिएपछि नेपाल बेलायती र भारतीय साम्राज्यवादको सिकार बन्दै आएको छ र नेपाली जनता बारम्बार यसको प्रतिरोध गरिरहेका छन् । नेपालका सुस्ता, महेशपुर, पशुपतिनगर, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत ७० भन्दा बढी ठाउँमा भारतीय साम्राज्यवादले ठाडै सीमा अतिक्रमण गरेको छ र हाल उसले तीमध्ये कालापनीलगायत कयौँ स्थानलाई आफ्नो नक्सामा पारेर सार्वजनिक गरेको छ । भारतीय साम्राज्यवादले नेपाली भूमि कालापानीमा आफ्नो सेना तैनाथ गरेको कयौँ दशक बितिसकेको छ । कालापानी क्षेत्र नेपालको भूभाग हो । काली नदीको उद्गम स्थल लिम्पियाधुरा हो । सुगौली सन्धिको धारा ५ अनुसार काली नदी नै नेपालको पश्चिम सिमाना हो । यो कुरालाई सन् १८५६ अघिका नक्सा, सन्धि–सम्झौतालगायतले स्पष्ट पारिसकेका छन् । यति अकाट्य तथ्यहरू हुँदाहुँदै पनि भारतले नेपालका कालापानीलगायत भूमिमाथि निरन्तर गरिरहेको हस्तक्षेप निन्दनीय र खेदजनक मात्र होइन, प्रतिरोधलायक छ । भारतीय साम्राज्यवादी हस्तक्षेपको खुलेर विरोधसम्म नगर्ने र सत्ता र कुर्सीका लागि उसको ताबेदारी गरिरहने नेपाली शासकहरूका हर्कत पनि कम खेदजनक छैनन् । ती पनि प्रतिरोधलायक छन् ।

देशभक्त नेपालीले नेपालको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वतन्त्रता, समानता र मुक्तिका पक्षमा निरन्तर सङ्घर्ष गरिरहनुपर्छ । भारतीय साम्राज्यवाद सार्वभौमिक समानताको सिद्धान्त एवम् अन्तर्राष्ट्रिय कानुनका विरुद्ध छ । सीमा अतिक्रमण र हस्तक्षेपजस्तो संवेदनशील विषयलाई अन्तर्राष्ट्रिकरण गर्नु नहुने मत राख्ने सत्ताधारी पार्टीका अध्यक्ष पुष्पकमल दाहालको भनाइ पनि अत्यन्त निन्दनीय र भत्र्सनायोग्य छ । देशभक्त नेपालीले यस्ता कायरतापूर्ण अभिव्यक्ति र हर्कतको पनि प्रतिरोध गर्नुपर्छ ।

भारतीय साम्रज्यवादले नेपालमाथि धेरै क्षेत्रबाट हस्तक्षेप गरिरहेको छ । उसले राजनीतिक, सांस्कृतिक, आर्थिकलगायत क्षेत्रमा निरन्तर हस्तक्षेप गरिरहेको छ । नाकाबान्दी नै लगाएर नेपाल र नेपालीमाथि थोपर्नुसम्म पीडा थोपरेको छ । हामीले भियतनाम, जनगणतन्त्र कोरिया, क्युबा, चीनलगायत मुलुकका जनता र आफ्नै वीर पुर्खाहरूबाट पाठ सिक्दै साम्राज्यवादलाई धुलो चटाउनुपद्धर्छ, तिनलाई डाँडो कटाउनुपर्छ र तिनका नेपाली एजेन्टहरूलाई परास्त गर्नुपर्छ । यसैबीच नेपालमाथि भारतीय साम्राज्यवादी हस्तक्षेप बढिरहेकै समयमा अमेरिकी साम्राज्यवादले नेपाल र नेपाल कम्युनिस्ट पार्टीलाई आतङ्ककारी भन्ने गलत, दुराग्रही, नियोजित रिपोर्ट तयार पारेर दुष्प्रचार गरेको छ । देशभक्त र क्रान्तिकारी नेपालीले यस किसिमका सबैखाले साम्राज्यवादी हर्कतहरूको प्रतिरोध गर्दै स्वतन्त्र, स्वाधीन र सम्पन्न नेपाल निर्माणका लागि एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुको विकल्प छैन । सम्पादकीय

२०७६ कार्तिक २७ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :