दलाल सरकारको फासिवादी दमन र प्रतिरोधको प्रश्न : समीर यात्री

samir yatriदलाल संसदवादी सत्ताको नेतृत्व गरिरहेको दलाल सरकार यतिवेला निर्लज्जतापूर्वक संसदीय फासिवादको अभ्यासमा उत्रिएको छ । विश्वकै सर्वाेत्कृष्ट भनिएको संसदवादी संविधान कार्यान्वयनको प्रारम्भमै फासिवादी हर्कत देखिनुले एकातिर यो संविधानको राष्ट्रघाती र जनविरोधी सारतत्वलाई सतहमा ल्याइदिएको छ भने अर्काेतिर यो संसदीय व्यवस्था कुकुरको टाउको देखाएर खसीको मासु बेच्ने थलो हो भन्ने सच्याईलाई फेरी एक पटक सर्वनग्न ढंगले पुष्टी गरिदिएको छ ।
दमनको श्रृंखला
कथित स्थानिय चुनावको नौटंकीका विरुद्ध खारेज अभियान चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीको शान्तिपूर्ण गतिविधिमाथि अघोषित प्रतिबन्ध लगाउँदै दलाल सरकारद्धारा देशैभरि राज्य आतंक मच्चाइएको छ । कालीकोट हत्याकाण्डसम्म पुग्दा दलाल सरकार संसदीय फासिवादमा पतन हुन पुगेको छ । दलाल सरकारको यो गौरकानुनी धरपकड र राज्य आतंकले संसदवादीहरुकै लोकतन्त्र र कानूनी राजको खिल्ली उडाइरहेको छ ।

शान्तिपूर्ण राजनितिक अभियान अन्तर्गतका कार्यक्रममाथि हस्तक्षेप गरिएको छ । जनसभा र साँस्कृतिक कार्यक्रममाथि समेत रोक लगाइएको छ । कैयौं ठाउँमा प्रहरीद्धारा प्रचार सामग्री खोस्ने , नेता कार्यकर्ता र कलाकारलाई गिरफ्तार गर्ने गरिएको छ । पछिल्लो समयमा यो हर्कत देशव्यापी राज्य आतंकको रुपमा देखा परेको छ । दलाल शासकहरुको ठाडो आदेशमा पार्टीका नेता कार्यकर्ता र शुभचिन्तक जनतालाई घरघरबाट गिरफ्तार गरिएको छ । घरमा सुतिरहेका नाबालक र महिलालाईसमेत मध्यरातमा विनाकारण पक्राउ गरिएको छ । समाचार संकलन गर्न हिडिरहेका पत्रकारलाईसमेत गिरफ्तार गरिएको छ । गिरफ्तार गरिएकालाई विभिन्न झुठ्ठा मुद्धामा फसाइएको छ भने धरौटीमा छुटेकालाई पुनः समात्ने गरिएको छ । कैयौै ठाउँमा परिवाजन र पत्रकारलाई भेट गर्नसमेत दिइएको छैन । अझ हास्यास्पद कुरा त के छ भने माओवादी केन्द्र्रका कार्यकर्ताले आफ्नो पार्टीमा प्रवेश गरार छुटाउने भन्दै बन्दी र उनीहरुको परिवारजनलाई मानसिक यातना दिने प्रतिक्रियावादी हर्कतमा उत्रिएका छन । यसले के पुष्टी गर्दछ भने यो फासिवादी दमन र धरपकडको योजनाकार र सुराकी प्रचण्ड गिरोह र उसका लठैतहरु हुन । र , यो गिरोह प्रतिक्रियावादमा पतनको जीवित दृष्टान्तको रुपमा यी घटनाक्रमलाई लिन सकिन्छ ।

दमनभित्रको रहस्य
दलाल प्रचण्ड–देउवा गिरोह न्वारनदेखिको बल लगाएर क्रान्तिकारी पार्टीका विरुद्ध जाइलाग्नुको कारण के हो त ? किन यो गिरोह आफ्नै संसदीय मूल्य, मान्यता, संविधान र लोकतन्त्रको खिल्ली उडाउँदै धोती खुस्किने गरी यो हर्कतमा उत्रियो त ? यसभित्रको रहस्य गम्भीर छ ।
पहिलो: प्रचण्ड गिरोह यतिवेला अतित्व रक्षाको अन्तिम लडाइमा पुगेको छ । वर्गिय र राष्ट्रिय आत्मासमर्पणवादमा पतन भएर साम्राज्यवादको वफादार नोकरमा परिणत भइसकेपछि यो गिरोहसँग साम्राज्यवादी प्रभुहरुले जोडिदिएको दलाल संसवादी सत्ताको डण्डा समातेर चुरीफुरी गर्न बाहेक अरु केही बाँकी छैन । अब योसंग क्रान्तिकारी विरासत बाकी रहेन । क्रान्तिकारी विरासतको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको हातमा आइसकेपछि त्यो विरासत भजाएर गुजारा चलाउने अवस्थाको पनि अन्त्य हुन पुग्यो । नेपाल कम्युनिस्ट पार्टीले इतिहासको गम्भीर शिक्षासहित २१ औ शदिको जनक्रान्तिको स्पष्ट मार्गचित्र प्रस्तुत गर्दै त्यस दिशामा पहल अगाडि बढाएपछि प्रचण्डको संसदवादी भुलभुलैया बेनकाव हुन पुग्यो । र , त्यसले क्रान्तिकारी धु्रविकरणको मार्ग प्रसस्त ग¥यो । यसबाट तिलमिलाउन पुगेको प्रचण्ड गिरोह दलाल सत्ताको आडमा नेकपामाथि दमनमा उत्रियो ।

दोस्रो : प्रचण्डमण्डीको गद्धारी र आत्मसमर्पणपछि नेपालको क्रान्तिकारी आन्दोलन सधैको लागि अन्त्य हुन्छ भन्ने साम्राज्यवादीहरुको निष्कर्ष गलत सावित भयो । प्रचण्डबाहेक यो देशमा अरु कसैले क्रान्ति गर्न सक्तैन भन्ने बज्रस्वाँठहरुको रामभरोसे बुद्धिले पनि हार खायो । प्रचण्डमण्डलीले टुकुचामा फ्याँकेको क्रान्तिको झण्डा उठाउँदै नेपाल कम्युनिस्ट पार्टीले नेपाली क्रान्तिको गौरवमय अभिभारा पुरा गर्ने दृढ संकल्प गरेपछि आज राष्ट्रिय , अन्तराष्ट्रिय रुपमा नयाँ तरंग पैदा भएको छ । श्रमजीवि वर्ग क्रान्तिप्रति आशावादी हुँदै गएको छ भने जनता र राष्ट्रका दुस्मनहरुको कित्तामा खैलाबैला मच्चिन थालेको छ । यो स्थितिले एकातिर नेपाली क्रान्तिलाई विसर्जन गरेर साम्राज्यवादको आशिर्वादमा सबैको “साझा नेता” बन्ने प्रचण्डको सपना चकनाचुर हुन पुगेको छ भने अर्काेतिर नेपाली क्रान्तिलाई रोक्न नसकेको कारण साम्राज्यावादको नजरमा प्रचण्डको भाउ गिर्न पुगेको छ । यसैबाट अत्तालिएको प्रचण्ड गिरोह नेकपाका विरुद्ध आक्रमक बन्न पुगेको हो ।

तेस्रो: विभाजनपूर्वको माओवादी जनमतलाई चुनावी परिणामको प्रमुख आधार बनाएर हौसिएको प्रचण्डमण्डली त्यो जनमत पुरै आफ्नो पोल्टामा हाल्न अनेक तिकडम ग¥यो । यस अन्तर्गत माओवादी जनमतको एउटा हिस्सा बोकेको बैद्यपक्ष र माओवादी पृष्ठभुमिकै बाबुरामको नयाँ शक्तिलाई चुनाव चिन्ह नदिने षडयन्त्र गरियो । चुनाव चिन्ह नपाएपछि बैद्यपक्षले स्वतन्त्र उम्मेद्धार उठाउनु पर्ने अवस्था आयो भने बाबुरामले फोरमको चुनाव चिन्ह प्रयोग गर्न प¥यो । यता जनताको विचमा बलियो जरा गाडेको नेपाल कम्युनिस्ट पार्टीको चुनाव खारेज अभियानले सबैभन्दा ठुलो क्षति माओवादी केन्द्रलाइ नै पुग्ने हिसावकिताव गरेर बसेको प्रचण्डमण्डली नेकपा माथि नियन्त्रण नगरे पत्तासाप हुने निष्कर्षमा पुग्यो । र, दलाल सत्ताको आडमा निर्लज्ज ढंगले फासीवादी दमनको साहारा लिन पुग्यो ।
प्रतिरोधको प्रश्न
प्रचण्ड–देउवामण्डलीको फासिवादी दमनका विरुद्ध देशैभरि प्रतिरोधहरु भएका छन । तर ती कुनै उत्तेजनामा होइन, योजनाबद्धतामा भएका छन । प्रचण्ड–देउवा गिरोह चाहान्थ्यो, दमनलाई थेग्न नसकेर आत्मासमर्पण गरुन या छापामार युुद्धतिर फर्कुन । नेपाल कम्युनिस्ट पार्टीले क्रान्तिको कार्यदिशा नयाँ विकास गरिसकेको छ भन्ने कुरा बुझ्न प्रचण्ड–देउवा मण्डलीको लागि औकात बाहिरको कुरा हो । दलाल शासकहरुका सबै हर्कतहरुको उचित समयमा उचित हिसावकिताव हुन्छ । तर त्यो सबै कार्यदिशाद्धारा निर्दिष्ट योजनामा मात्र हुन्छ । यस अर्थमा आजको समयमा गरिने प्रतिरोध आधारभुत रुपले प्रयाप्त हुदै गएको छ ।

हाम्रो प्रतिरोधी संघर्षको प्राथमिकता विद्रोहात्मक जनकार्वाहीको विकास हो । जनताको आफ्नै पहलकदमी र सहभागिताको विचबाट सम्पन्न हुने जनकार्वाहिमा मात्र जनताले अपनत्व र विजयको अनुभुत गर्ने अवस्था रहन्छ । यो कथित स्थानिय चुनाव खोरज अभियान अन्तर्गत भएका थु्रपै जनप्रतिरोधहरुले जनकार्वाहिको असाध्यै सुन्दर नमुना प्रस्तुत गरिसकेका छन । यसलाई अझै नयाँ उचाइमा उठाउदै र नयाँ पुराना सबै खाले प्रतिक्रान्तिकारी तत्वहरुको भ्रम चिर्दै दलाल सत्तामाथि अन्तिम प्रहारको तयारीमा गम्भीरतापूर्वक जुटौं ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :