मतदान केन्द्रमै बम विष्फोट

Bomb_Blastअम्बिका चन्द/काठमाडौं, असार १२ः स्थानीय निर्वाचनको मिति नजिक आइरहेको र मौन अवधि शुरु भइसकेको बेला देशव्यापी रुपमा निर्वाचन विरोधी गतिविधिहरु पनि तीव्र बनिरहेका छन् । आइतबार दिनभरी देशका दर्जनौं ठाँउमा बम विष्फोटका खबरहरु प्राप्त भइरहँदा सोमवार चुनाव हुने भनिएका स्थानहरुमा मतदान केन्द्रहरुलाई लक्षित गरी थुप्रै ठाँउमा बम विष्फोटहरु भएका छन् । सोमबार बिहानै कञ्चनपुरस्थित मतदान केन्द्रमा बम विष्फोट भएको छ । भीमदत्त नगरपालिका–४ पर्ने भृकृटी मा.वि.मा रहेको मतदान केन्द्रमा उक्त विष्फोट भएको हो । विष्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ । कञ्चनपुरमै जिल्ला निर्वाचन कार्यालयको वाहनमा बम प्रहार भएको जनाइएको छ । यस्तै गुल्मीको मदाने गाँउपालिका–७ दीपक मा.विमा रहेको मतदान केन्द्रमा पनि २ वटा बम विष्फोट भएको छ । विष्फोटबाट कुनै मानविय क्षति नभएको जनाइएको छ । गए राती नै प्यूठान र गुल्मी सिमावर्ती क्षेत्रमा केही राउन्ड गोली चलेको स्थानीयले बताएका छन् । यस्तै पूर्वको सुनसरी, मोरङका विभिन्न स्थानहरुमा गएराती बम विष्फोट भएको खवर छ । उता कैलालीको धनगडी उपमहानगर पालिकाका मेयर पदका उम्मेदवार निरप ओडको वाहनमा तोडफोड भएको छ भने अन्य एमाले र माओवादी केन्द्रका उम्मेदवारहरुको घरमा कालो झण्डा गाडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :