अपराध र अस्थिरताको चाङमा वली सरकार

दलाल पुँजीवाद कतिसम्म अपराधको चाङमा पुरिएको हुन्छ भन्ने प्रमाण मुलुकमा भइरहेका एकपछि अर्को घटनाक्रमले प्रमाणित गर्दै गएका छन् । समाजवादको डिङ हाँक्दै र कम्युनिस्ट झन्डाको दुरुपयोग गर्दै सरकारमा बसेको केपी वलीमण्डली र यो सत्ताका रक्षकहरूका अपराधकाण्डहरू एकपछि अर्को उदाङ्गो हुँदै गएपछि दलाल पुँजीवादमाथि प्रश्नमाथि प्रश्न उभिएका छन् ।

दलाल पुँजीवादी व्यवस्थाका सभामुख कृष्णबहादुर महरा महिलामाथिको यौनकाण्डका कारण जेल पुगेका छन् । यसलाई यौनकाण्ड मात्र नभएर राजनीतिक काण्ड र सत्तासीन पार्टीभित्रको शक्तिसन्तुलनको असरका रूपमा पनि हेरिएको छ । उनलाई बचाउन सरकारी नेकपाका शक्तिकेन्द्रहरूले गरेका अनेकौँ प्रयत्नहरू असफल भएपछि उनी केही समयका लागि भए पनि जेलको छिँडीमा पुग्न बाध्य भएका छन् । यही सत्ताका संरक्षकमध्येको एक नेपाली काङ्गे्रसका नेतासमेत रहेका सांसद मोहम्मद अफताब आलमद्वारा झन्डै सवा दशकअघि गराइएको सामूहिक हत्याकाण्डले ठूलै सनसनी मच्चाएको छ । दलाल पुँजीवादका रक्षकहरूले मच्चाएको गौरको सामूहिक हत्याकाण्ड पनि क्रमशः उकुच पल्टिएको घाउसरह बल्झिरहेको छ । यही सत्ता गौर हत्याकाण्डका नायकहरूलाई नागरिकको घोडा चढाइरहेको छ । सरकारी पार्टीकै दोलखाका अर्का सांसद हत्याकाण्डमा मुछिएका छन् । यी त भए नाङ्गै आँखाले देख्न र बुझ्न सकिने अपराधका केही काण्डहरू । एनसेल ठगी, निर्मला बलात्कार र हत्याका साथै यीभन्दा धेरै अनगिन्ती हत्या, अपराध, भ्रष्टाचार र राष्ट्रघातका काण्डहरूको चाङमा पुरिएको सरकार र दलाल पुँजीवादी व्यवस्था क्रमशः नाङ्गेझार हुँदै गएका छन् ।

वली सरकारका गृहमन्त्री अर्थात् यो व्यवस्थाका एक प्यादा रामबहादुर थापा देश दौडाहामा निस्किएर सरकार र व्यवस्थाका सामु देखिएका चुनौती र व्यवधानहरू क्रमशः घट्दै गएको भन्दै कुर्लिरहेका छन् । उनलाई लागिरहेको होला विद्रोहीहरूलाई हत्या, दमन, धरपकड, जेल, नेल र हतकडी भिराइदिएपछि सत्ता र सरकारले गरेका लाखौँ गल्तीहरू ढाकछोप हुनेछन् । राष्ट्रघात र जनघातहरू छोपिनेछन् । उनले ‘मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र’ का रूपमा देशमा बढ्दै गएको जनविद्रोहलाई सङ्केत गरेको बुझ्न कुनै कठिनाइ छैन । तर वली, प्रचण्ड र रामबहादुरहरूले लगाएको प्रतिबन्धलाई चुनौती दिँदै देशभर एकैसाथ सडक आन्दोलन सुरु भएको छ र नेकपा नेता वीरजङ्गलगायतको गिरफ्तारी र झूट्टा मुद्दाविरुद्ध विगत दुई सातामा देशभर सयाैँको सङ्ख्यामा मशाल जुलुस, प्रधानमन्त्रीको पुतलादहन, विरोधसभा, चक्काजाम र प्रदर्शनहरू भएका छन् । देशभर क्रान्तिकारी शक्तिका बैठक र प्रशिक्षणहरू सञ्चालन भइरहेका छन् ।

जनता यो सरकार मात्र होइन, व्यवस्थासँगै असन्तुष्ट र आक्रोशित छन् । सिङ्गो राज्यसंरचना लगाएर गोयबल्स शैलीमा दोहोरो मुठभेडको हल्ला फिँजाएर ढाकछोप गर्न खोजिएको नेकपा सर्लाहीका जनप्रिय नेता कुमार पौडेलको हत्यालाई राष्ट्रिय मानवअधिकार आयोगले नै हत्या ठहर गरेर अपराधीहरूलाई तत्काल कारबाही गर्न आदेश दिइसकेको छ तर रामबहादुर थापाहरू कुमार पौडेलहरूको रगतको आहालमा पौडी खेल्दै जनताको न्यायपूर्ण विद्रोहलाई ‘मुलुकलाई अस्थिरतातर्फ धकेल्ने षड्यन्त्र’ देखिरहेका छन् । सत्तासीनहरूलाई रतन्धो रोग लागेको सर्वसाधारणले पनि छ्याङ्गै देखेका छन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को हावादारी गफ लगाएर देश सञ्चालन गर्ने जिम्मा लिएका केपी वली आफ्नै स्वास्थ्यका कारण थलापरेका छन् । प्रधानमन्त्री त शारीरिक रूपमा अस्वस्थ छन् तर शासन सञ्चालन गर्ने प्रायः सबै शासकहरू मानसिक, वैचारिक, दार्शनिक, सांस्कृतिक रोगले ग्रस्त रहेको गृहमन्त्रीको हालैको धम्की र सरकारमा आसीन नेताहरूको अस्थिर चरित्रले देखाइरहेको छ । दलाल पुँजीवादका नयाँ ठेकेरदार पुष्पकमल दाहालको पछिल्लो समयको छट्पटीले पनि यो व्यवस्था कति कमजोर धरातलमा उभिएको रहेछ भन्ने देख्न कुनै कठिनाइ छैन ।

राजनीतिक, आर्थिक, सांस्कृतिक सबै क्षेत्रबाट तहसनहस हुँदै गएको मुलुकको एक मात्र निकासका रूपमा नेकपाले वैज्ञानिक समाजवादको कार्यक्रम अघि सार्दै एकीकृत जनक्रान्तिका माध्यमबाट त्यो सफलता चुम्ने उद्देश्य लिएर विद्रोह अघि बढाइरहेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका प्रश्नहरू असरल्ल भएर जनता निरास भइरहेको समयमा नेकपाले अघिसारेको वैज्ञानिक समाजवाद स्थापनाको आन्दोलन एक मात्र सही समाधानका रूपमा देखिएको छ । सम्पादकीय

२०७६ कार्तिक २० गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :