जग्गा फिर्ता नगरे उत्तम र नवीन पुनलाई कडा कारबाही गर्ने नेकपाको चेतावनी

पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीले शनिबार पोखरा महानगरपालिका वडा नं. २३ चापाकोटस्थित साढे ३७ रोपनी जमिनमा झन्डा गाड्दै किसानलाई उक्त जग्गा फिर्ता नगरे कडा कारबाही गर्ने चेतावनी दिएको छ । उत्तम पुन र नवीन पुन समूहले सञ्चालन गरेको नेपाल सहकारी संस्था लिमिटेडंले बिनासूचना स्थानीय किसानहरूको उक्त जमिन सहकारीका नाममा पास गरेको थियो ।

पार्टीको झन्डा गाड्दै नेकपाका कार्यकर्ताले कुनै पनि व्यक्ति वा संस्थाले उक्त जमिन खरिदबिक्री वा वितरण गरेमा सशक्त कारबाही गर्ने भन्दै कारबाही किन भन्ने पर्चासमेत वितरण गरेको छ । उक्त पर्चामा नेपाल सहकारीका सञ्चालकद्वय उत्तम पुन र नवीन पुनले किसानहरूको जग्गा फिर्ता नगरी नक्कली दलाल खडा गरेर तेस्रो व्यक्तिलाई जग्गा दिने काम सुरु गरेकोमा आपत्ति जनाइएको छ ।

२०५७ सालमा स्थानीय किसानहरू देवीरमण चापागाईं, पूर्णाखर सुनार, कृष्णप्रसाद अधिकारी, कुलप्रसाद पराजुली, बलराम अधिकारी र गोपालप्रसाद पराजुलीले नेपाल सहकारी संस्था लिमिटेडबाट संयुक्त रूपमा ९ लाख रुपैयाँ ऋण लिएका थिए । पीडित गोपालप्रसाद पराजुलीले गाईपालनका लागि ऋण लिएको बताए । उनले किस्ता बुझाउने क्रममा सहकारीकै सेयर सदस्यहरूबीच विवाद उत्पन्न हुँदा सहकारी काठमाडौँ सारिएको र किस्तासमेत बुझाउन नपाएको गुनासो गरे ।

ऋणको आधा साँवा र ब्याज बुझाइसकेपछि एकाएक सहकारी नै उक्त स्थानबाट हट्नु र काठमाडौँको कुन ठाउँमा छ भन्ने जानकारी नदिने कार्यले उत्तम पुन र नवीन पुन समूहको नियतवश ठगी गर्ने उद्देश्य रहेको पुष्टि हुने किसानहरूको भनाइ थियो ।

१० वर्षपछि बल्लतल्ल सहकारी काठमाडौँमा भेटेपछि सरसल्लाह हुँदा एकमुष्ठ २५ लाख रुपैयाँ बुझाएर संस्थाका नाममा पास भएको उक्त जमिन फिर्ता गर्ने सहमति भएको थियो । पीडित देवीरमण चापागाईंले भने, ‘जे भए पनि हामी अब जग्गा पाउँछौँ भन्ने सोचेर २५ लाख बुझाउन गयौँ तर संस्थाले चलखेल गरेर जमिन अरूलाई नै बेच्न थाल्यो ।’

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :