आन्दोलनको मोर्चामा सशक्त रूपमा डट्न निर्देशन

काठमाडाैँ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) सेती–महाकाली क्षेत्रीय समन्वय समितिले आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई आन्दोलनको मोर्चामा सशक्त रूपमा डटिरहन निर्देशन गरेको छ । सङ्गठनले प्रेसविज्ञप्ति जारी गरीकार्यर्ताहरुलाई अनुरोधसहित उक्त निर्देशन गरेको हो ।

सङ्गठनका संयोजक वीरेन्द्र शाहद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अहिले देशमा कथित कम्युनिस्टको खोल, सत्ता, सरकार र बन्दुकको आडमा केपी, पुष्पकमल, बादल कम्पनीको लुटपाट र आतङ्क चलिरहेको छ । मानवअधिकारको चिरहरण भएको छ र विद्यार्थीहरू स्वतन्त्रतापूर्वक बोल्न, पढ्न र लेख्न पाउने मौलिक हकलाई समेत खोसेर केपी बादल पञ्चायत कालका सामन्ती, कुकर्मी र अधर्मीजस्तै नयाँ रूपमा देखिएका छन् । यसका विरुद्ध हामी अविचलित भई कठिन सङ्घर्षमा अगाडि बढिरहेका छौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसै सन्दर्भमा मिति ०७६ असोज ०७ गतेका दिन अखिल (क्रान्तिकारी) कैलालीका अध्यक्ष पदम काफ्लेलाई गिरफ्तार गरिएको थियो । पछि जिल्ला अदालत कैलालीबाट ९० हजार धरौटी तोकेर कारागार चलान गरिएको थियो । कानुनी सङ्घर्ष र जेल मोर्चामा सङ्घर्ष गर्नुको साटो सङ्गठनको नीतिविपरीत जेलबाट मुक्त हुन पदम काफ्लेद्वारा जनतामारा दलाल राज्यको प्रशासन र प्रहरीसमक्ष आफू स्वतन्त्र हुने निवेदनसहित आत्मसमर्पण गरेर रिहा भएकाले सङ्गठनको कैलाली जिल्ला अध्यक्ष र सम्पूर्ण जिम्मेवारीबाट अनिश्चित कालका लागि पदम काफ्लेलाई निलम्बन गरिएको जानकारी यसै प्रेसविज्ञप्तिमार्फत सम्प्रेषण गर्दछौँ । साथै सङ्गठनका सम्पूर्ण कमरेडहरूलाई भ्रममा नपरी आन्दोलनको मोर्चामा सशक्त रूपमा डटिरहन विशेष अनुरोध गर्दछौँ ।’

२०७६ कार्तिक १० गते आइतबार प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :