नेपालगञ्जमा नेकपा नेता रणविर असुरक्षित भएपछि गुलरिया कारागार सरुवा

राजनीतिक आस्थाका कारण गत वैशाख ५ गते बाँकेको कोहलपुरबाट गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन पिविएम भरत बम ‘रणविर’ यतिखेर बर्दियाको गुलरिया कारागारमा छन् । ६० दिन लामो प्रहरी हिरासतपछि अदालतले नेता रणविरलाई कारागार चलान गरेको थियो । अदालतको आदेशसँगै नेपालगञ्ज कारागारमा रहेका नेता बमलाई कारागार भित्रै कुटपिट गरेको खबर बाहिरिए सँगै राजनीतिक वृत्तमा चासो बढेको थियो भने, राष्ट्रिय मानवअधिकार आयोग लगायत नागरिक समाजले कारागार भित्रै बन्दी कुटपिट गर्नु गम्भीर मानवअधिकार हनन भएको भन्दै ध्यानाकर्षण भएको बताउदै आएका थिए ।

कारागारका नाईके बन्दी र कारागार प्रशासनको मिलेमतोमा कारागारमा गैरकानुनी काम भएको देखेपछि नेता बमले सुरुमा असन्तुष्ट पोखे । कारागारका जेलर भरतराज पाण्डे लगायतलाई कारागारभित्र लागु औषध जस्तो गम्भीर बिषय जो कानुनले समेत बर्जित गरेको छ र सोही मुद्दामा धेरै युवाको जिन्दगी जेलको छिडिमा बितेको त्यहीँ लागुऔषधको सहज कारोबार र प्रयोग गर्ने काम गम्भीर गैरकानुनी अपराध भएको भन्दै यस्तो नगर्न खबरदारी गरे । तर जब त्यो कुरा कारागारका जेलर र कतिपय भित्रका कारोवारीलाई चित्त बुझेन तब भित्रभित्र षड्यन्त्र सुरु भयो । लागुऔषधको बारेमा चुप नबसे जे पनि हुने धम्की लागुऔषध कारोवारीले दिए तब विद्रोही नेता रणविरले त्यसको प्रतिवाद गरे । त्यसपछि कारागार भित्रैका केही बन्दीको योजनामा रणविरमाथि हातपात प्रयास भयो । त्यसपछि रणविरमाथि हातपात प्रयास भएपछि कारागारका अन्य बन्दीहरुले आक्रोस व्यक्त गर्दै जेलरको लापरबाहीले यस्तो भएको भन्दै असन्तुष्टि पोखे तब नेता रणविरमाथि कुटपिट गरियो । कारागारभित्र लागुऔषध कारोवार हुने गरेको तथ्य बाहिर ल्याएको नेता भरत बम ‘रणवीर’माथि असोज १० गते राति नेपालगञ्ज कारागारभित्र योजनाबद्ध ढंगबाट हातपात भयो ।

नेपालगन्ज कारागारमा कारागारका जेलर पाण्डे तथा चौकीदार सहितको मिलिमत्तोमा अरु कैदीहरुलाई प्रयोग गरेर उहाँमाथि हातपात भएको घटना वाहिर आएको हो । सो घटना बाहिर आएपछि सुरक्षाको चुनौति वढेका कारण देखाउदै नेता रणविर लगायत ५ जना पार्टी आस्थाका बन्दी नेताहरुलाई वर्दिया जिल्लाको गुलरिया कारागारमा असोज १५ गते सरुवा गरिएको हो ।

सुरुमा नेता रणविरलाई एक्लै सरुवा गर्न खोजिएको थियो तर कारागार भित्रमा राजनीतिक बन्दीहरुले एक्लै सरुवा गर्दा असुरक्षित हुने भन्दै एक्लै नजान अनुरोध गरेपछि सबैले दबाब दिएपछि पार्टीका अन्य ५ जना स्थानीय नेताहरूसहित सरुवा गरिएको हो । सो घटना सँगै राष्ट्रिय मानवअधिकार आयोग, नागरिक समाज, सञ्चारजगत लगायतले नेपालगञ्ज कारागार भित्रको बिषयलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएका थिए ।

त्यस लगत्तै राष्ट्रिय मानवअधिकार आयोग, नेपालगञ्जका सञ्चारकर्मी, नागरिक समाजले नेता भरत बम ‘रणविर’लाई नेपालगञ्ज कारागरमै पुगेर भेटघाट र पछिल्लो अवस्थाबारे जानकारी लिइरहेका थिए । घटनाले चौतर्फी चर्चा र सर्वत्र आलोचना भएपछि नेता रणविरलाई नेपालगञ्ज कारागारबाट बर्दियाको गुलरिया कारागार सरुवा गरियो ।

नेता रणविर भन्छन् कारागारभित्र म माथि हातपात गर्ने गम्भीर प्रकृतिको योजना बनाएको कुरा यथार्थ हो । कारागार भित्र विभिन्न किसिमका गैरकानुनी कामहरु पनि हुँदा रहेछन् । जुन अहिलेको प्रचलित कानुनले समेत बर्जित गरेको छ । यस्ता खाले कामहरु गर्नु हुँदैन भनि मैले कारागार प्रशासनसँग असहमति राख्दै गर्दा कारागारका चौकीदार लगायतका केही मिलेर म माथि हातपात र कुटपिट भयो र अझै गम्भीर प्रकृतिको कुटपिट गर्ने योजना बनाएको कुरा बुँझे थाहा पाए तसर्थ म थप असुरक्षित भएको महसुस गरेको हुँ ।

कारागार भनेको मानिसहरुलाई सुधार्ने गृह भन्दा पनि विगार्ने गृह रहेछ भन्ने मेरो घटनाले पुष्टि गर्दछ । भित्र गुट्का, चुरोट, सुर्ति त सामान्य नै भयो । तर चरेस, लागुऔषध जाँड रक्सी समेत प्रयोग हुने गरेको देखेपछि यस्तो गर्नु हुदैन भनेर मैले विरोध गरेको हो । अधिकांश लागुऔषधका मुद्दामा भित्र बस्ने व्यक्तिहरु थिए ।

जहाँ सम्म उनीहरुलाई हामी जस्तो मान्छे भित्र भएपछि सुधार्नु पर्छ भन्ने सोंचले यस्तो गर्नु हुँदैन भनेको हो । तर त्यहाँ यदि त्यो बन्द भयो भने चौकीदार जेलरहरुको कमाई खाने धन्दा बन्द हुदोरहेछ । त्यहाँका नाईकेहरुले त्यस्ता अवैध चिजहरुभित्र पुर्याएपछि महंगो मुल्यमा बेच्ने र कमाउने धन्दा हुदोरहेछ । जसले गर्दा हातपात गर्ने योजना बनाएछन् ।

मुख्यतः म माथि हातपात गर्ने योजना कारागारका जेलर भरतराज पाण्डेको निर्देशनमा कारागारका चौकीदार भरत फडेरा र कारागारभित्र रासनपानी आपूर्ति गर्दै आएका ठेकेदार मानबहादुर शाहीको संलग्नतामा कैदी शेरबहादुर कसेरा, गगन शाही, नमराज केसी लगायतले हातपात र आक्रमण गरेका हुन यो कुरा त्यहाँका अन्य कैदी बन्दीहरुलाई समेत प्रष्ट छ ।

राष्ट्रिय मानवअधिकार आयोगको टोली र केही पत्रकारहरु कारागार आउनु भएको थियोे मैले उहाँहरूलाई समेत प्रष्ट भनेको छु । मैले लागुऔषध प्रयोग गरिरहेको कुरा विरोध गर्दा हातपात भएको हो भनेर । कारागारबाट नेता रणविरले भने नेपालगञ्ज कारागारमा हाम्रो सुरक्षा थिएन । हामी माथि जतिवेला पनि जुन अवस्थाको पनि पुनः हातपात हुन सक्ने अवस्था थियो । हामीले यहाँ भन्दा बाहिर पठाइहोस भनेका थियौं । त्यसैले यता पठाईएको हो ।

कारागारभित्र असुरक्षित भएका नेता रणविरले भने मेरो घटनाका योजनाकार र दोषीलाई कार्वाही हुनुपर्छ । जेल अपराध बढाउने गृह होइन कि साँच्चिकै व्यवहारमा सुधार गृह राज्यले बनाउनु पर्छ । जेलको व्यवस्थापकिय पक्ष पनि सुधार गर्नु पर्छ । क्षमता भन्दा बढी मानिसहरु राख्नु हुँदैन, क्षमता अनुसार राख्नु पर्छ भन्ने मेरो जोड छ ।

(बर्दियाको गुलरिया कारागारमा पुगेका जनपत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेसँग गरिएको कुराकानीको सम्पादित अंश)

२०७६ कार्तिक २ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :