असलको घरमा प्रहरीको छापा, फेरि टाँसियो पक्राउ पुर्जी

सल्यान : नेकपाका तत्कालीन केन्द्रीय सदस्य चन्द्रबहादुर खड्का ‘असल’ को घरमा प्रहरीले छापामारेको छ । सल्यानको दार्मा गाउँपालिका ५ बछेलामा पर्ने असलको घरमा प्रहरीले लगातार तीन दिन छापामारेको उनको परिवारले जनाएको छ । शुक्रबार बिहान एक्कासि प्रहरीले घर घेरा हालेर कोठाकोठामा छापामारेको असलकी आमाले बताइन् । उनले भनिन्, ‘यहाँ दिनदिनै प्रहरी आइरहन्छ । हिजो त घरका पूरै कोठा सर्च गर्यो । पहिले खसी किन्न आएका हौँ भनेर घर हेर्थे । हिजो त एक्कासि घर घेरा हालेर कोठा सर्च गरे ।’

प्रहरीले घरमा असोज ३० गते बुधबार असलविरुद्ध पक्राउ पुर्जी टाँसेको छ । यसअघि असोज १२ गते बम विस्फोटको आरोप लगाई ३५ दिने पक्राउ पुर्जी टाँसेको प्रहरीले यसपटक अभद्र व्यवहारको आरोपमा १५ दिने पक्राउ पुर्जी टाँसेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट २०७६ भदौ १३ गते जारी भएको पक्राउ पुर्जी असोज ३० गते टाँसिएको हो । पक्राउ पुर्जीमा नेपाल सरकारलाई वादी र असललाई प्रतिवादी बनाइएको छ ।

२०५५ साल कात्तिक २९ गते नेपाल प्रहरीबाट हत्या गरिएका बुबा माधु खड्काका जेठा छोरा असल त्यतिबेला खुट्टामा गोली लाग्दा पनि भागेर बाँचेका थिए । बुबालाई प्रहरीले गोली हानेर हत्या गर्दा उनी पनि घरमै थिए ।

जनयुद्धकालमा जनमुक्ति सेनामा आबद्ध असल नेकपाका युवा नेताका रूपमा परिचित छन् । नेकपालाई सरकारले प्रतिबन्ध लगाएको छ ।

यसअघि नेता असललाई सरकारले विभिन्न समयमा पक्राउ गरेर दुःख दिइरहे पनि अदालतले छाड्न आदेश दिँदै आएको थियो ।

२०७६ कार्तिक २ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :