बढ्दो अन्तरसाम्राज्यवादी सङ्कट

post imरातो खबर विश्लेषण/काठमाडौं, असार ११: एकातिर अन्तरसाम्राज्यवादी सङ्कट बढिरहेको छ भने अर्कोतिर साम्राज्यवादीहरूले क्षेत्रीय युद्धहरूलाई विश्वयुद्धसम्म विस्तार हुनबाट रोक्दै पनि आएका छन् । तर एकातिर टाल्न खोज्दा अर्कोतिर भ्वाङ पर्ने स्थिति पनि बन्दै गएको छ । त्यसो त समाजवादी क्रान्ति र कम्युनिस्ट धारा पनि रक्षात्मक अवस्थामा छ ।
सन् १९९० मा बर्लिनको पर्खाल ढलेपछि एकछत्र हैकम गर्दै आएको अमेरिकी स्वर्गमा भूकम्पका धक्काहरू महसुस गर्न थालिएको छ । अमेरिकाको उक्साहटमा सिरियामा साउदी अरेबियाले सेना पठाउने मनसाय व्यक्त गर्नासाथ रसियाले त्यसो गरिएमा साउदी अरबमा आक्रमण गर्ने धम्की दिएपछि साउदी सरकार र अमेरिका हच्किएका छन् । आइएसआईका विरुद्ध लडिरहेको भनिएको रसियाको सेना अमेरिकी स्वार्थका विरुद्ध सिरियामा लडिरहेको छ । त्यसबाट अमेरिका चिढिएको छ ।

युरोपमा एकपछि अर्को आक्रमण भएको छ । पेरिस हमलाले थकित–गलित बूढो युरोप ब्रसेल्समा भएको भयानक हमलापछि उठ्नै नसक्ने गरी घाइते भएको छ । डरलाग्दो विषय त के छ भने युरोपमा आयातित नभएर स्थानीय नागरिक नै युरोपको स्वार्थका विरुद्ध आत्मघाती आक्रमणमा उत्रिएका छन् । पछिल्लो ब्रसेल्स आक्रमणपछि पश्चिमाहरूको धारणामा गम्भीर प्रभाव परिरहेको छ । बल प्रयोग गरेर मुस्लिम समुदायको प्रतिरोध साम्य पार्न सकिन्न भन्नेतिर सोच्न थालेको देखिन्छ । अर्कोतिर पश्चिमाहरू थाक्न थालेको पनि प्रस्ट देखिन्छ । गत महिना मात्र भ्याटिकन सिटीका एक धर्मगुरुले एकजना मुस्लिमको गोडा ढोक्दै क्रिस्चियन धर्म मुस्लिम समुदायको विरुद्ध नभएको बताएका थिए । त्यसैगरी क्युबा भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति ओबामाले आतङ्कवादी हमलाका कारण सम्पूर्ण मुस्लिम समुदायप्रति नकारात्मक धारणा राख्न नहुने बताएका थिए जब कि बिल क्लिन्टनले मुस्लिमविरुद्धको सङ्घर्षलाई ‘दुई सभ्यताका बीचको सङ्घर्ष’ घोषणा गरेका थिए । यी घटनाहरूले के सङ्केत गर्छन् भने पश्चिमाहरू सङ्कटमा छन् र उनीहरू डुब्दै गरेको महसुस गर्न थालेका छन् । यसै बेला समुद्रमा फालिएको भनिएको ओसामा बिन लादेनको शव नक्कली भएको र उनी जीवितै रहेको चर्चाले युरोप झनै त्रसित देखिन्छ ।

आफ्नो कार्यकालको उत्तराद्र्धमा ओबामाले शत्रु राष्ट्र भन्दै आएको क्युबाको भ्रमण गरेका छन् । त्यसक्रममा उनले क्युबाका राष्ट्रपति राहुल क्यास्ट्रोसँग गोप्य भेटवार्तासमेत गरे । ५० वर्षपछि क्युबा र अमेरिकाका राष्ट्रप्रमुखको त्यो वार्तालाई विश्लेषकहरूले अमेरिकाको घद्दो शक्ति र ओरालो यात्राको सङ्केत ठानेका छन् । मार्च १९ मा क्युबाको राजधानी हवानामा ओबामा रहेकै बेला क्यालिफोर्नियाबाट प्रकाशित एक अमेरिकी अखबारले ओबामाको व्यङ्ग्यचित्र प्रकाशित गर्दै अमेरिकी घद्दो प्रभावको सङ्केत गरेको थियो । क्युबालाई आत्मसर्पण गराउन नसकिने देखपेछि ९० वर्षपछि अमेरिकी राष्ट्रपतिको पहिलो क्युबा भ्रमण अर्थपूर्ण थियो ।

सिरिया, क्रिमियाका घटनादेखि पुटिनद्वारा वार्सा सैन्य गठबन्धनको विघटनलाई ‘रसियाको ऐतिहासिक भूल’ घोषणा गरेका छन् । उनले साम्राज्यवादद्वारा सबैभन्दा धेरै प्रहार भएका रुसी नेता जोसेफ स्टालिनलाई ‘महान् रुसी देशभक्त’ भनेका छन् । यसै वर्ष लेनिन स्मारकका लागि क्रेमलिनले ३ लाख अमेरिकी डलर खर्च गर्दैछ । लाग्छ रसियामा पुनर्जागरण सुरु भएको छ । रुसी पुनर्जागरणलाई पश्चिमाहरूले रुसको स्टालिनीकरण भनेका छन् । अमेरिका र पश्चिमी शक्तिहरू रसियाका विरुद्ध नाकाबन्दीसहित प्रचारयुद्धलाई तीव्र पारेका छन् । पानामा पेपर्सको सनसनीपूर्ण प्रचार त्यसैको एक अङ्ग हो ।

विश्व शक्तिमा उदाइरहेको चीनको भूमिकालाई कौतुहलपूर्ण ढङ्गले हेरिएको छ । साङ्घाई समूह, आसियान समूह हुँदै चीन–रुस मोर्चा ब्रिक्स बैङ्कसम्म विस्तार भएको छ । युरोपले ब्रिक्सलाई विश्व बैङ्कको सौताका रूपमा हेरेको छ । उता रेशम मार्गलाई पश्चिमले विस्तारवादी षड्यन्त्र भनिसकेको छ । एक क्षेत्र, एक मार्ग नारासहित रेशममार्ग तीव्र गतिमा अघि बढिरहेको छ । जुन दक्षिणपूर्वी एसिया हुँदै स्पेन सोझिएको छ । रेशम मार्ग तिब्बत, नेपाल हुँदै दिल्ली पु¥याउने प्रस्तावले दक्षिण एशिया तरङ्गित भएको छ ।

चिनियाँ सागर क्षेत्रमा चीनको हस्तक्षेपले जापान, फिलिपिन्स, दक्षिणकोरियालगायत अमेरिकी गठबन्धनमा चिडचिडाहट पैदा भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले चीन विश्वशक्ति भैसकेका कारण त्यसैअनुसारको भूमिका निर्वाह गर्नुपर्ने बताइसकेका छन् । जसलाई चीनको विदेश नीतिमा गुणात्मक परिवर्तन हुनसक्ने अनुमान गरिँदैछ ।  

यसै वर्ष उत्तरकोरियाले रसियालाई ‘यस वर्षको सबैभन्दा हितैषी मित्र’ घोषणा गरेको छ । अमेरिकाको दुश्मन राष्ट्र उत्तरकोरियाले रसियालाई वर्षकै निकट मुलुक घोषणा गर्नुको सन्देश बुझ्न कठिन छैन । चीन, रसिया र अमेरिकी तनावको अभिव्यक्तिका रूपमा अमेरिका–उत्तरकोरिया तनावलाई हेरिएको छ । अमेरिकी राष्ट्रपतिको चुनावमा चीन र रसिया सबैभन्दा चर्चामा छन् ।  विश्वमा भएका उथलपुथल र आर्थिक सङ्कटको निकास कसरी हुनसक्छ त ? त्यस विषयमा अर्थशास्त्रीहरूका बीचमा एकरूपता छैन । कतिपयले त्यसलाई तेस्रो विश्वयुद्ध क्षेत्रीय यद्धका रूपमा प्रकट हुनसक्ने अगुमान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :