एकीकृत जनक्रान्तिको अर्जुनदृष्टि

तिलक मल्ल ‘क्षितिज’CPN-UML-flag
हरेक सिद्धान्त, विचार, दृष्टिकोण, कार्यदिशा र आन्दोलनका आफ्नै निशानाहरू हुन्छन् । त्यही निशानाको सही विश्लेषण र संश्लेषणबाट मात्रै अर्जुनदृष्टि प्रयोग गर्न सकिन्छ र सफल हुन्छ । मुख्य कुरा सही विचार र सही निशाना हुन्छ । यस सङ्क्षिप्त लेखमा नेपालमा माओवादीले चलाइरहेको नयाँ आन्दोलन कसका विरुद्ध केन्द्रित छ ? यसै विषयमा केन्द्रित रहेर छलफल गर्ने प्रयास गरिएको छ ।
विषय प्रवेश
नेपाल बहादुरहरूको देश हो । अर्को भाषामा हिम्मती र साहसीहरूको देश हो । इमानदारी, निडरपन, पराक्रम, सहनशीलता, धैर्यवान्, लगनशील र आँट नेपालीहरूको ऐतिहासिक विशेषता हो । बरु शासक वर्गले यसलाई दुरुपयोग गरे । अङ्ग्रेजहरूका विरुद्ध लड्दा होस् वा पछिल्लो खण्डमा माओवादी जनयुद्धसम्म आउँदा यसको सानदार पुष्टि भएको छ । अङ्ग्रेजका अत्याधुनिक अस्त्रका अगाडि खुकुरी, तरबार, भाला, ढुङ्गा आदिको सहाराबाट अङ्ग्रेजहरूलाई आच्छुआच्छु बनाएको कुरा हरनेपाली र स्वयम् अङ्ग्रेजहरूलाई थाहा छ । माओवादी जनयुद्धसमेत विदेशी तालिम, फोर्टिफिकेसन र हतियारका विरुद्ध जनताको आफ्नै पहलकदमी र कमसल शक्तिबाट प्रतिरोध गरेर झन्डैझन्डै नेपाललाई मुक्त बनाइसकेको स्थिति सबैसामु प्रस्टै छ ।
नेपालमा विभिन्न सङ्घर्षहरू, खास गरेर राणाविरोधी सङ्घर्ष, पञ्चायतविरोधी सङ्घर्ष, झापा आन्दोलन फेरि पञ्चायतविरोधी सङ्घर्ष, माओवादी जनयुद्ध र पछिल्लो १९ दिने आन्दोलन भएका छन् । यी आन्दोलनहरू सिद्धान्त, विचार स्वार्थमा केन्द्रित थिए र जनसहभागितामा आधारित थिए । यी आन्दोलनहरूका पनि निशानाहरू थिए । निशानाहरूको सङ्क्षिप्त चर्चा गरौँ ।
राणाविरोधी सङ्घर्ष
जहानिया राणा शासन पनि झन्डै १०० वर्षजति नेपालमा चल्यो । शिक्षा, स्वास्थ्य, रोजगार, स्वाधीनता, समानतालाई कैद गरेर एकतन्त्रीय शासन चलाइरहेका जनता सचेत सङ्गठित हुँदै जाँदा जनता र राणाहरूका बीच सङ्घर्ष चल्यो । त्यतिबेलाको जनताको एउटा मात्र निशाना राणा शासनको अन्त्य थियो । जनताको अर्जुनदृष्टि राणा शासनलाई अपदस्थ गर्नु थियो । त्यसै आन्दोलनमा दशरथ चन्द, धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गङ्गालालजस्ता वीरहरूले बलिदान गर्नुप¥यो । अन्ततः जनताले आफ्नो निसानालाई गोल गर्दै गर्दा भारतको सहयोगमा राणा, काङ्ग्रेस, पञ्चायतको त्रिपक्षीय सम्झौतामा टुङ्गियो । त्यतिबेला पनि जनताले आफ्नो हातमा सत्ता लिने सम्भावना थियो, तर टुङ्गियो । उक्त आन्दोलनको निसाना सामन्तवादी जहाँनिया राणा शासन थियो ।
झापा आन्दोलन
यसबारे व्यापक समीक्षा, विश्लेषणभन्दा पनि झापा आन्दोलनको कम्युनिस्ट वर्गीय पक्षधरतासहितको सामन्तवादविरोधी आन्दोलन नै हो । पञ्चायती व्यवस्था रहेको सामन्तवादी संरचना बदल्न आन्दोलन चलाएको प्रस्टै छ । तत्कालीन झापाली नेतृत्वमा रहेको निम्न पुँजीवादी रोमान्स, चीनको अन्ध नक्कल, राजनीति र फौजी तालमेलको अभाव, निसाना छनोटमा गल्ती गर्नु अन्ततः नेतृत्वमा आएको विचलन र पलायनले यो आन्दोलन टुङ्गियो । जेहोस्, त्यति बेलाको निसाना सामन्तवादी पञ्चायती राज्य संरचना नै थियो ।
२०४६ को जनआन्दोलन
यस आन्दोलनमा पनि नेपाली जनताको व्यापक सहभागिता थियो । खास गरेर एकतन्त्रीय, पञ्चायती व्यवस्था र सामन्तवादी नै जनताको मुख्य निसाना थियो । यसमा पनि भारतकै प्रत्यक्ष निर्देशनमा एकतन्त्रको ठाउँमा बहुदल थपेर आन्दोलन टुङ्गियो ।
माओवादी जनयुद्ध
वर्गीय उत्पीडन, जातीय उत्पीडन, क्षेत्रीय उत्पीडन, लैङ्गिक उत्पीडनविरुद्ध सङ्घर्ष चल्यो । खास गरेर सामन्तवादी राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध जनताले निसाना बनाए । नयाँ जनवादी राज्यव्यवस्था स्थापना गर्नु यसको उद्देश्य थियो । यसले देशलाई एक ढङ्गले रूपान्तरण ग¥यो । जनताको युगौँदेखिको आकाङ्क्षा पूर्णतातिर जाँदै थियो । जनताले आफ्नो हातमा सत्ता लिँदै थियो । त्यो पनि मूल नेतृत्वको राजनीतिक आत्मसमर्पणबाट टुङ्गियो
१९ दिने जनआन्दोलन
माओवादी भिषण फौजी एवं राजनैतिक आन्दोलन राजाको कू को विच १९ दिने जन आन्दोलन पनि नेपाली जनताको सहभागिताको उत्कर्ष नै मान्नुपर्दछ । त्यति बेला जनताको निशाना गणतन्त्र थियो अथवा राजतन्त्रको अन्त्य थियो । यसमा पनि माओवादीहरूको जनवादी गणतन्त्र थियो भने संसदीय पार्टीहरूको उद्देश्य बुर्जुवा लोकतन्त्र थियो ।
जेहोस् १९ दिने जनआन्दोलनले राजतन्त्रको विधिवत् बिदाइ ग¥यो र लोकतान्त्रिक गणतन्त्र स्थापना ग¥यो । यसै बीचमा प्रचण्डले माओवादी जनयुद्धको विधिवत् अन्त्यको घोषणा गरे । यहाँ केही आन्दोलनको मात्रै चर्चा गरियो । देशका सबै सङ्घर्ष, आन्दोलन र विद्रोहको उल्लेख गरिएन । हालसम्मका आन्दोलनको नेतृत्व विचार, निशाना र स्वार्थ आआफ्नै थिए । कति बेला कसले नेतृत्व ग¥यो र कसले पहलकदमी लियो भन्ने कुराले पनि धेरै महत्व राख्छ । त्यसबारे पनि अहिले धेरै चर्चा नगरौँ ।
हामीले गर्न खोजेको बहसचाहिँ नेपालमा धेरै आन्दोलनहरू देखेको, भोगेको र पछिल्लो खण्डमा माओवादी जनयुद्ध र १९ दिने जनआन्दोलनपछि पनि देशमा अब किन आन्दोलन ? अब केका लागि क्रान्ति ? अबको निशाना के ? यी विषयमा आम जनसमुदाय, शुभेच्छुक, समर्थक र विरोधीसमेतलाई प्रस्ट पार्न जरुरी छ । त्यसैको पृष्ठभूमिस्वरूप यी विषय उठाइएको छ ।
आन्दोलन किन ?
ने.क.पा. माओवादीले एकीकृत जनक्रान्तिको विचारधारात्मक दिशानिर्देशबाट आन्दोलन चलाइरहेको छ । पार्टी स्थापनाको पृष्ठभूमिबाटै आन्दोलनमा छ । नेपाली समाज आधारभूत रुपमा बदलिएको छैन । राजतन्त्रको ठाउँमा, गणतन्त्र छ । एकतन्त्रको ठाउँमा लोकतन्त्र छ तर राज्य संरचना, राज्य परिचालन, जनताको जीवनस्तर फेरिएको छैन । १ जना पुजारीको ठाउँमा दर्जनौँ पुजारी मात्र देखिएका छन् । लोकतन्त्र र गणतन्त्र लुटतन्त्रमा बदलिएको छ । गणतन्त्र त अराजकतन्त्र, भ्रष्टाचार, कमिसन र राष्ट्रघातमा बदलिएको छ । त्यसो भएर नै अर्को आन्दोलनको जरुरी छ ।
अब केको क्रान्ति
नेपालमा थुप्रै आन्दोलनहरू भए । ती आन्दोलनहरू जनताको अपेक्षा, आकाङ्क्षाभन्दा बाहिर गएर टुङ्गिए । केही मुट्ठीभर व्यक्तिको स्वार्थमा जनताको बलिदान खेर फालियो । हालसम्म सञ्चालित आन्दोलनहरू निष्कर्षमा पुगेनन् र पुग्न दिइएन । अब निष्कर्ष निकाल्ने आन्दोलन जरुरी छ ।
नयाँ आन्दोलनको निशाना के हो ?
छलफलको केन्द्रीय विषय यही नै हो । नेपालमा लोकतन्त्र र गणतन्त्र रहेको कुरा साँचो हो तर नेपालको लोकतन्त्र र गणतन्त्रलाई दलालतन्त्रले कैद गरेको छ । बुझ्नुपर्ने कुरा नै यही हो । एकीकृत जनक्रान्तिको माध्यमद्वारा, नेपालको लोकतन्त्रलाई स्वाधीन बनाउनुपर्छ । यही विधिद्वारा गणतन्त्रलाई मुक्त बनाउनुपर्छ ।
हो त नेपालमा राजतन्त्र गयो, लोकतन्त्र आयो । गणतन्त्र आयो । सामन्तवादी संरचनामा फेरबदल भयो भन्ने कुरा रूप र शब्दमा सही हो तर जनताको जीवनमा सही होइन । लोकतन्त्र र गणतन्त्र आफैँमा महत्वपूर्ण राजनीतिक परिवर्तनका प्रतिनिधि व्यवस्थाहरू हुन् तर ती महत्वपूर्ण निधिलाई दलालतन्त्रले बन्धक बनाइराखेको छ । लोकतन्त्र र गणतन्त्रको देशमा भ्रष्टाचार, कमिसनखोर, कालोबजारी, राष्ट्रघात, जनघात यो कसरी सह्य हुन्छ ? राज्यको संरचना पुरानै छ । सत्ता चरित्र पुरानै छ ।
लोकतान्त्रिक देशमा निर्लज्ज रूपमा विदेशी हस्तक्षेप छ । यो कसरी स्वीकार्न सकिन्छ ? लोकतान्त्रिक गणतन्त्र देशका राजनीतिक शक्तिहरू कसरी विदेशी इशारामा नाचिरहेका छन् ? हामी सबैले देखेका छैनौँ र ? कार्यालय सहायक (पीएन) देखि प्रधानमन्त्री (पीएम) सम्म विदेशीको हरियो सङ्केतबाट निर्णय हुन्छ । आर्थिक क्षेत्रमा पनि राष्ट्रिय पुँजीपति र राष्ट्रिय पुँजीलाई दलाल पुँजीले कैद गरेको छ । हामीले वैदेशिक सहयोग लिन सक्छौँ तर वैदेशिक परनिर्भरता हैन । लोकतान्त्रिक गणतन्त्र भएको देशमा अर्थतन्त्र केही मुट्ठीभरको हातमा छ । जो विदेशी गोटी बनेका छन् । जसले दिनरात राष्ट्रिय पुँजी र राष्ट्रिय पुँजीपतिलाई विस्थापित गर्छन् । राष्ट्रिय महत्वका नेपाली उद्योगहरू बिक्रीवितरण हुनु, नेपाली पुँजीपतिहरू कङ्गाल हुँदै जानु, यसैका उदाहरण हुन् ।
निष्कर्ष
स्पष्ट भएको तथ्य के हो भने निष्कर्षको आन्दोलन अथवा निर्णायक आन्दोलनको जरुरी छ । जुन युद्ध, आन्दोलन, क्रान्ति जे भने पनि आतङ्कबाट हैन । नेपाली आवश्यकताबाट बुझ्नुपर्छ । अब एकीकृत जनक्रान्तिको निशाना भनेको दलालतन्त्र हो । नेपालको राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र, प्रशासनिक क्षेत्र, व्यावसायिक क्षेत्र, समग्रमा सत्ताको केन्द्रमा रहेको दलालतन्त्रलाई प्रहार गरेर धुजाधुजा नबनाएसम्म नेपाल स्वतन्त्र र समृद्ध हुँदैन ।
शाब्दिक र आर्थिक दृष्टिकोणले लोकतन्त्र भनेको जनतन्त्र पनि हो । नेपालको दलालतन्त्रलाई परास्त गर्ने हो भने देश स्वाधीन हुन्छ, जनगणतन्त्र उदाउँछ । एउटा स्वाधीन नागरिक, स्वाधीन, राष्ट्र प्रशासक, देशभक्त तथा स्वाधीन राजनेता, जोकसैका लागि पनि दलालतन्त्र बाधक बनेको छ ।
देशको राजनीतिक सङ्कट र अस्थिरताको पछाडि दलालतन्त्र लुकेको छ र सबै क्षेत्रमा घुसेको दलालतन्त्र परास्त गर्न जरुरी भएको छ । निश्चित रूपमा युगौँदेखिको अधुरो र अपूरो जनताको आकाङ्क्षा र सपना पूरा गर्न स्थायी शान्ति, समृद्धि र स्वाधीन नेपालका लागि आमजनताले केन्द्रीकृत प्रहारस्वरूप दलालतन्त्रमाथि अर्जुनदृष्टि लगाउनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :