सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु, २ घाइते


दोलखा : अविरल वर्षापछि बढेको खोलाले कालिञ्चोक गाउँपालिका–९ स्थित सुन्द्रावती खोलाले कार बगाउँदा एक जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । तामाकोशी गाउँपालिका–३ जफेका २४ वर्षीय अनिश पोखरेलको मृत्यु भएको छ भने सोही कारमा सवार तामाकोशी गाउँपालिका–३ का ३१ वर्षीय विकज पोखरेल र चालक रामेछापको लिखु तामाकोशी गाउँपालिका–२ का पवन पौडेल घाइते भएका छन् ।

घाइते दुवैको अवस्था सामान्य रहेको र उनीहरुको सदरमुकाम चरिकोटमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सिङ्गटीबाट चरिकोटतर्फ आउँदै गरेको बा १९ च ४३९० नम्बरको कार गएराति साढे ११ बजेको समयमा सुन्द्रावती खोला तर्ने क्रममा बाढीले बगाएको थियो ।

अविरल वर्षासँगै खोला बढेकाले घटना भएको स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराका अनुसार मृतकको शव परीक्षणकालागि चरिकोट अस्पताल ल्याइएको र कारलाई मेसिन प्रयोग गरी निकाल्ने तयारी भइरहेको बताए ।

२०७६ भदौ २० गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :