हृदयको तार छुटिएको कुरा

कविता

जिन्दगी भनेको भेटिनु हो
छुटिनु पनि
कयौँ जिन्दगी छुटिँदै–छुटिँदै
चलिरहेको छ
स्कुल पढ्दापढ्दै छुटियो
यात्रामा जुटियो
क्रान्तिकारी भैयो
त्यो कम्पायमान युद्धमा
आँखाअघि चिहान खनेर
सहिद साथीसँग छुटियो
अनि छुटिनु नियति बन्यो
गोरखाबाट
अछामबाट
प्युठानबाट
अर्घाखाँचीबाट
भोजपुरबाट
छुटिरह्यौँ
छुटिरह्यौँ हामी
शान्तियात्रामा आएपछि
रगतसँग जोडिएको
सम्बन्ध छुट्यो
रगतसँग साटिएको
हतियारसँगको सम्बन्ध छुट्यो
सत्तासँगको सम्बन्ध छुट्यो
जीवनसङ्गिनीसँगको साथ छुट्यो
हामीले गरेको वाचा छुट्यो
हिँडेको बाटो छुट्यो
अनि छुटे
सुप्रिमो प्रचण्ड
‘विद्वान्’ भट्टराई
शालीन पोस्टबहादुर बोगटी ‘दिवाकर’
देवेन्द्र ‘सुनील’
दीनानाथ शर्मा
मणि थापा
ल्यारक्याल लामा अनि राधा ज्ञवालीहरू
अन्य कयौँकयौँ साथीहरू
अनि किरण छुट्नुभो
बादल छुट्नुभो
सीपी गजुरेल छुट्नुभो
एक दिन मलाई बोकेर
हवाईजहाज पनि छुट्यो
घर छुट्यो
देश छुट्यो
चियाकपमा आँधी ल्याउने साथीहरू छुटे
अहिले अरबमा छु
सम्झिरहेको छु
बिछोडका दिनहरू
गाइरहेको छैन कुनै आधुनिक गीत
के मान्छेले प्रेममा मात्र धोका खान्छ ??

२०७६ भदौ १३ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :