रूढिवाद र उपभोक्तावादविरुद्ध तीज पर्व

तीज पर्व ठ्याक्कै यति बेलादेखि सुरु भएको हो भन्ने मिति निर्धारण गर्न सकिँदैन तैपनि यो उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । विशेषगरी तीज भारतभन्दा पनि नेपालमै बढी मनाइने पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउने गर्छन् । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ ।

युगौँदेखि रूढिवाद र अन्धविश्वासले महिलाहरूलाई जकडिरहेको छ । त्यसमाथि पनि नयाँ–नयाँ फेसनहरूका कारण धार्मिक विश्वास बोकेको हिन्दु सांस्कृतिक पर्व तीज झनै महँगो बन्दै गएको छ । यसले भविष्यमा यो पर्वकै कारण नारीहरूले अझै नकारात्मक पीडाहरू भोग्नुपर्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

हिन्दु धर्म, संस्कृति अनि हिन्दु नारीहरूको ताजका रूपमा रहेको हरितालिका तीजमा बिस्तारै पश्चिमा शैली हाबी हुँदै गएको छ । कसैले हेरोस्– नहेरोस्, नाच राम्रो होस्–नहोस सुर न तालका छाडा गीत बजारमा भित्रिएका छन् । हाउभाउ, अभिव्यक्ति शैली मिलो्–नमिलोस्, उफ्रिरहेकै देखिन्छन् । नाच्ने शैलीमा पनि फरकपन आउँदैछ । दर खाने भनेर तीज आउनुभन्दा दुई महिनाअघिदेखि देखासिकी गर्दै ठूलाठूला पार्टी प्यालेसमा तीजको दर खाने परिपाटीले ठाउँ लिइरहेको छ भने सकीनसकी आकाश छुँदो भाउका गरगहनाको तडकभडक देखिनसक्नुको छ ।

धर्म र परम्परासँग जोडिएका थुप्रै चाडपर्वहरू हाम्रो समाजमा स्थापित छन् । तीमध्ये तीज पर्वलाई नेपाली हिन्दु महिलाहरूले एक महान् पर्वका रूपमा मनाउँदै आएका छन् । तीजको अवसर पारी एक ठाउँमा भेला भएर नेपाली दिदीबहिनीहरूले आफूहरूमाथि भएका सामाजिक, सांस्कृतिक, पारिवारिक, अन्याय, अत्याचार, हिंसा र घरपरिवारका समस्याका साथै आफ्ना मनका कथा, व्यथा गीतका रूपमा पोख्ने प्रचलन छ । संस्कार, रीतिरिवाज र संस्कृतिका नाउँमा कतिपय चाडबाडहरूमा वर्चस्व जमाएका प्रचलनहरू रूढिवाद र अन्धविश्वासलाई महिलाहरूमाथि जबर्जस्ती थोपर्ने पुरुषवादी समाजको प्रोपगान्डा मान्न सकिन्छ । यसको फलस्वरूप कृष्णअष्टमी, तीज र पञ्चमीको व्रत बस्ने र व्रत बसेमा विवाहित महिलाहरूका श्रीमान्को आयु बढ्ने, अविवाहित किशोरीहरूले राम्रो र धनी श्रीमान् पाउनेजस्ता कुसंस्कारबाट नेपाली महिलालाई ग्रसित बनाएएको छ । अर्कोतर्फ तीजलाई माइत जाने, मीठो खाने, राम्रा लुगा र गहना लगाउने चाडका रूपमा पनि हेरिन्छ । जसरी पनि मीठो खाने राम्रो लुगा र गहना लगाउनैपर्ने प्रचलनको गलत अर्थ लगाउँदै गरिने तडकभडकका कारण आज समाजमा तीज पर्व विकृतिका रूपमा स्थापित हुनुको प्रमुख कारक बनेको छ । यसो हेर्दा तीज पर्वले एकातिर आफ्नो पीडा पोख्न पाउने, बर्सौंदेखि माइती नगएका महिलाहरू पनि माइत जान पाउने स्वतन्त्रतामाथि नै ग्रहण लाग्ने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

प्रवासमा रहेका नेपाली चेलीहरूले पनि आआफ्नै तरिकाबाट तीज मनाउने गर्छन् । सबै दिदीबहिनी एक ठाउँमा जम्मा हुने र मीठामीठा नेपाली परिकार दरका रुपमा खाने गर्छन् । मातृमूमि र प्रियजनहरुबाट बिछोडिनुको दुःख, पिर र वेदनालाई महिलाहरु गीतका माध्यमबाट पोख्ने गर्छन् । महिलाहरू तीजको दिन रातो सारी र छड्के तिलहरीमा झपक्क गहना लगाएर निकै उत्साहित हुँदै नाच्ने र गाउने गरेको देख्न पाइन्छ । दिदीबहिनीहरू त्यसरी एक ठाउँमा भेला भएर एकआपसमा शुभकामना साटासाट गर्दै खुसी र आत्मीयता बाँडेको देख्दा त्यो कुनै प्रवासको भूमि नभएर हाम्रै मातृभूमि नेपाल नै हो किजस्तो भान हुन्छ ।

त्यस्तै कैयौँ चेलीहरूले प्रवासमा पनि नेपालमा गरिएजस्तै दिनभर पानीको थोपासम्म नपिएर आफ्ना श्रीमान्को लामो आयु तथा कुमारी चेलीले राम्रो जीवनसाथी पाऊँ भनेर व्रत बस्ने चलन छ । अनि दिनभरको व्रत, श्रीमान् सँगै हुनेले बेलुका श्रीमान्को खुट्टा धोएको पानीलाई जल खाएको भन्दै व्रत तोड् नेसम्मको अन्धविश्वास कायमै छ । मानिसले मानिसको खुट्टाको पानी खाने यस्तो खराब परम्परा नेपालमा युगौँदेखि चली आएको छ । यसले नार ी–पुरुष समान हौँ भन्ने समानतावादी नारालाई नै ओझेलमा पारिरहेको देखिन्छ भने महिलाहरूको यही अन्धविश्वासले महिलामाथि पुरुष हावी हुने वातावरण निर्माण गरिरहेको छ । तसर्थ यस्ता रूढि र अन्धविश्वासलाई हामी महिलाहरूले नै हटाउनु पर्दछ । आफ्नो हक र अधिकारका लागि आवाज उठाउन अति नै जरुरी छ ।

महिलाहरूले यस चाडलाई पुरानै तरिकाले मनाउनुभन्दा पनि अधिकार प्राप्तिका लागि सहयोगी बनोस् भन्ने उद्देश्य राखेर मानिसमानिसबीचको विभेद, शोषक र शोषितबीचको खाडल, महिला र पुरुबीचको असमानता, महिलामातिको उत्पीडनको अन्त्यका लागि अवसरका रुपमा उपयोग गर्दा उचित हुन्छ । प्रगतिशील महिलाले यस चाडलाई रचनात्मक तरिकाले मनाउनका लागि अधिकतम प्रयत्न गर्नुपर्छ । पञ्चायतकालीन कालरात्रीका समयमा पनि महिलाहरूले यस वर्पलाई पञ्चायती तानाशाही व्यवस्थाको अन्त्य गर्न सहयोगी अवसरका रुपमा उपयोग गरेका थिए । माओवादी जनयुद्धको समयमा त रुढि, अन्धविश्वास र जडतामा अधारित धेरै कुसंस्कार महिलाहरुले नै तोडेको गौरवाली इतिहास छ ।

यतिबेला देशमा जताततै बेथिति छ । जनता महँगीको मारले छट्पटाएका छन् । भ्रष्टाचार, लुटतन्त्र, बलात्कार, हत्या र हिंसा मौलाएको छ । चेलीहरु स्वदेश तथा विदेशमा बेचिन बाध्य छन् । नेपाली दाजुभाइ तथा दिदीबहिनी देशमै र विदेशमा पनि कौडीको भाउमा पसिना बेच्न बाध्य छन् । सत्ता, व्यवस्था र सरकारका अत्याचार र विभेदका विरुद्ध आवाज उठाउनेहरुलाई जेल र हिरासतमा कोचिएको छ । सरकारको विरोध गर्नेहरुलाई राजद्रोहीको उपमा दिँदै गोली हानेर मारिएको अवस्था छ । मुलुकको यस्तो भयावह स्थिति रहँदा महिलाहरूका गीत र नृत्यले यी सन्दर्भहरूलाई उठान गर्नु आवश्यक छ । केवल छाडा शैलीका गीत, नाचहरू, व्यक्तिगत लाभ, आकाङ्क्षा र कसैका भजनकीर्तनहरू गाउने अवस्था यो होइन !

पछिल्लो समयमा २०६२–६३ को जनआन्दोलनपछि महिलाहरूका पक्षमा केही उपलब्धिहरू प्राप्त भए पनि सत्ताको स्वेच्छाचारी र तानाशाह कदमले ती खासिँदै गएको अवस्था छ । प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्ने, थप प्राप्तिका लागि जनक्रान्तिमा लामबद्ध हुनुपर्ने आवश्यकता छ । जेजति अधिकार कागजमा सीमित छन्, नेपाली महिलाहरूले त्यसको समेत उपभोग गर्न पाएका छैनन् । ती अधिकारहरूलाई व्यवहारमा लागू गर्न, थप उपलब्धिहरु हासिल गर्न र परम्परावादी समाजलाई चुनौती दिनका लागि सीमित उपलब्धिहरूको संरक्षण र उपभोग गर्दै थप हकअधिकार सुनिश्चितताका लागि सङ्घर्ष गर्दै अगाडि बढ्नुपर्छ । त्यसले नै नेपाली महिलाहरूले मनाउने तीज पर्वलाई मात्र नभएर महिला मुक्ति आन्दोलनलाई एउटा नयाँ आयाम दिनेछ ।

आफ्नो लोकसंस्कृतिको जगेर्ना गर्नु राम्रो पक्ष हो । यसलाई हामीले रमाइलाको रूपमा लिनुपर्छ । चाडपर्वका नाममा अस्वस्थ प्रतिस्पर्धा, अश्लीलता प्रदर्शन, महँगा गरगहना र लत्ताकपडाको होडबाजी गरेर तीजलाई विकृतिका रुपमा मनाउँनु हुँदैन । तीज पर्वले बोकेको रूढिवादी परम्पराका विरुद्धमा सङ्घर्ष गर्दै सामन्ती पुरुषप्रधान सामाजिक संरचना र उपभोक्तावादी पुँजीवादी अश्लीलता र छाडापनका विरुद्ध आन्दोलनका रूपमा यस चाडलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता छ ।

२०७६ भदौ १२ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :