सहिद प्रतीक्षालयमा सरकारी आगो !

केपी वली–रामबहादुर थापा गृह प्रशासनले यही भदौ ५ गते चितवन जिल्लाको राप्ती नगरपालिका वडा नं. ११ स्थित ओनेबाङमा निर्माण सम्पन्न हुनै लागेको सहिद प्रतीक्षालय भत्काइदिएको छ । नेकपा स्रोतका अनुसार स्थानीय सरकारी पार्टीका भ्रष्ट प्रतिनिधिहरूको योजनामा बन्चरो, आरो, गैँती, घन र लाइटर बोकेका केही एजेन्ट र भ्रष्ट जनप्रतिनिधिको निर्देशनमा आएको प्रहरी जत्थाले उक्त प्रतीक्षालय ध्वस्त बनाएको हो । प्रहरीले ओनेबानमा पुगेर प्रतीक्षालय निर्माणमा सहभागी श्रमिक जनतालाई धम्क्याउने, आतङ्कित पार्ने काम पनि गरेको छ । सरकारको यो हर्कत अत्यन्त निन्दनीय छ । यो हर्कतको जस्तो शब्दमा भत्र्सना गरे पनि कमै हुन्छ ।

प्रहरीले केही बहुलट्ठीहरूको योजना र आदेशमा सहिदको नाममा निर्मित प्रतीक्षालय किन भत्कायो होला ? यो कुरा बुझ्न कुनै गाह्रो छैन । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले स्थानीय जनसमुदायको सहयोगमा ओनेबाङमा सहिद स्मृति प्रतीक्षालय निर्माण गरिरहेको थियो । उक्त प्रतीक्षालय निर्माणका लागि स्थानीय जनकल्याण सामुदायिक बनले निःशुल्क काठ उपलब्ध गराएको थियो । करिब सात लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न हुन लागेको प्रतीक्षालयका लागि नेकपा राप्ती नगर समितिले आर्थिक सहयोग गरेको थियो । नगरको १० र ११ वडाको बीच ओनेबाङ भञ्ज्याङमा निर्माणाधीन उक्त प्रतीक्षालय जनयुद्धमा चितवनबाट बलिदान गरेका सहिदहरू ईश्वरीप्रसाद खनाल ‘प्रतीक’ हरिबाबु सेढाईं, गमबहादुर तामाङ र एकीकृत जनक्रान्तिका महान् सहिदहरूको स्मृतिमा निर्माण भएको थियो ।

जनयुद्ध र एकीकृत जनक्रान्तिका सहिदको स्मृतिमा निर्माण भएको सहिद चौतारो भत्काउन किन दिए होलान् गृहमन्त्री रामबहादुर थापाले आदेश ? निकृष्टता र निर्लज्जताको पराकाष्टा यो घटनाले जनयुद्धकालमा शाहीसत्ताका रक्षकहरुका हर्कतहरूलाई पुनःस्मरण गराइदिएको छ । जनयुद्ध कालमा आधारइलाकाहरूमा मुस्किलले घुस्न सफल दुस्मनले महान् सहिदहरूको स्मृतिमा निर्मित सहिदद्वार, प्रतीक्षालय र भवनहरू भत्काइदिएको र आगो लगाइदिएको घटना जनयुद्धमा सामेल प्रायः सबैको मानसपटलमा ताजै छ । चितवनमा प्रहरी र भिजिलान्तेले प्रतीक्षालय नष्ट गरेको घटनाले शाहीसेनाले रोल्पाको जलजला पहाडमा महान् सहिहरूको सम्मान र स्मृतिमा निर्मित प्रवेशद्वार भत्काइदिएका र रुकुमको खारामा जनताको बस्तीमा आगो लगाइदिएका कुख्यात घटनाको नकारात्मक घटनाको स्मृति गराएको छ ।

राजनीतिक चेत भएका सबैलाई थाहा छ, हिजो जनयुद्धमा झैँ आज पनि मुलुकमा दुई सत्ता छन् । पुरानो सत्ताको रक्षा र नेतृत्व केपी वली, पुष्पकमल दाहाल र रामबहादुर थापाहरूले गरेका छन् भने नयाँ सत्ताको नेतृत्व र रक्षा नेपाल कम्युनिस्ट पार्टीले गरेको छ । पुरानो रत्ताको रक्षक सरकारले संविधान जारी गर्नुअघि नै नेकपाले रत्नपार्कबाट जनसरकार र जनसंविधान घोषणा गरेको हो । एकीकृत जनक्रान्ति सम्पन्न गरेर नेपालमा वैज्ञानिक समाजवाद ल्याउने उद्घोषसहित दलाल पुँजीपतिहरूका विरुद्ध क्रान्ति गरिरहेको नेकपाले यतिबेला राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयहरूलाई केन्द्रमा राखेर आन्दोलन गरिरहेको छ । देशभर समानान्तर सत्ता सञ्चालित छ । आधारइलाकाहरू निर्माण भइरहेका छन् । जनन्यायालयहरू क्रियाशील छन् । जनताले जनयुद्धको स्मरण गर्दै नेकपाको नेतृत्वमा सञ्चालित एकीकृत जनक्रान्तिलाई सहयोग र समर्थन गरिरहेका छन् । तर यो सरकार जनता र नेकपाका बीचको गहिरो सम्बन्धमा खाडल बनाउने र जनता र पार्टीबीच अविश्वास उत्पन्न गरिदिने षड्यन्त्र गरिरहेको छ । सहिद प्रतीक्षालय भत्काउनुको अर्थ हो– यो सरकार महान् सहिदहरूको त्याग, शौर्य र बलिदानको अपमान गर्न चाहन्छ र जनताको रगत र पसिना नष्ट गर्न चाहन्छ । यसको अर्थ हो– आजको सत्ता पनि हिजोको राणाकालीन सत्ता, पञ्चायतकालीन सत्ता, शाहीकालीन र संसदीय सत्ताकै निरन्तरता हो किनकि हिजोका सत्ताहरूले जनताका पक्षमा गरिएका कामहरूको अवमूल्यन मात्र होइन, तिरस्कार गरेका थिए । अस्वीकार गरेका थिए र नष्ट गरेका थिए । लोकतन्त्रको जामा लगाएर नक्कली समाजवादको मुखुन्डो लगाएको केपी वली–पुष्पकमल दाहालको कम्युनिस्ट नामको सामाजिक फासिवादी सरकारले विगतका कुरूप विरासतहरूलाई नै दोहोर्याको छ ।

यतिबेला दलाल संसदीय व्यवस्था अत्यन्त बदनाम भएको छ । राष्ट्रघात, जनघात र अलोकप्रिय कामकारबाहीहरूका कारण यो व्यवस्थाकै दिनगन्ती सुरु भएको अनुभूति सबैतिर हुँदै गएको छ । एकातिर व्यवस्थाको खराबी, सरकारको अलोकप्रियता र अर्कातिर नेकपाले अघि सारेको जनक्रान्तिको लोकप्रिय नीति र कार्यक्रमका कारण नेकपाप्रति जनविश्वास र जनसहभागिता अत्यधिक बढ्दै गएको छ । यस्तो अवस्थामा नेकपाले सहिदको सम्मान र स्मृतिमा निर्माण गरेको प्रतीक्षालय नष्ट गरेर सरकारले फासिवादको निकृष्ट नमुना प्रस्तुत गर्दै आफफ्नै आयु घटाएको छ । हिटलरले भविष्यका शत्रु ठान्दै लाखौँ यहुदी बालबालिकालाई ग्याँसच्याम्बरमा हालेर हत्या गरेझैँ वली सरकारले नेकपाका नेता–कार्यकर्ताहरूपछि जनसत्ताले निर्माण गरेका प्रतीक्षालयहरू ध्वस्त गरेर फासिवादी अनुहार देखाएको छ । जनयुद्धकै प्रक्रियाबाट आएका गृहमन्त्री रामबहादुर थापाले जनयुद्धका सहिदका नाममा निर्मित प्रतीक्षालय भत्काउन निर्देशन दिएर कस्तो समाजवादको परिकल्पना गरेका होलान्, अब त्यो बुझ्न र त्यसको प्रतिरोधको बाटो तय गर्न कसैलाई अलमल छैन । सम्पादकीय

२०७६ भदौ ११ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :