नेकपाका नेता विश्वसहित तीनजना सर्वोच्चको आदेशमा रिहा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता लालबहादुर ओली ‘विश्व’सहित ३ जना रिहा भएका छन् । रोल्पाका स्थानीय नेता विश्वसँगै अखिल क्रान्तिकारी नेता बुद्धहाङ नेम्वाङ र कृष्णबहादुर शाही सर्वाेच्च अदालतको आदेशमा रिहा भएका छन् ।

सर्वोच्च अदालतको चौथो पटकको आदेशमा नेता विश्व रिहा भएका हुन् । यसअघि रिहा लगत्तै पुनः गिरफ्तार गर्दै आएपनि शुक्रबार भने रिहा भएका छन् । नेता विश्वका छोरा विनोद ओलीले गैरन्यायिक तरिकाले थुनामा राखेको भन्दै तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा चौथो पटक रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायधीस सपना प्रधान मल्ल र प्रकाश ढुंगानाको संयुक्त इजलासले विश्वसहित तीनै जनामाथि लगाइएका आरोप पुष्टी नभएको भन्दै रिहा गर्न आदेश दिएको थियो । रोल्पाको गंगादेव गाउँपालिका –३ का स्थायी बासिन्दा विश्व १ सय २७ दिनपछि रिहा भएका हुन् ।

बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको पक्षमा अधिवक्ता कपिलचन्द्र पोख्रेल, अधिवक्ता कान्तिराम ढुंगाना र अधिवक्ता दयाराम पोख्रेलले बहस गरेका थिए ।

सर्वोचको आदेश अनुसार जेठ २४ गते पहिलो पटक थुनामुक्त भएका ओलीलाई सोहि दिन दोस्रो पटक गिरफ्तार गरी रोल्पा जिल्ला प्रशासन कार्यालयमा लगिएको थियो । रोल्पामा प्रहरीले ओलीलाई संगठित अपराध र एनसेल टावर आगजनी सम्बन्धि मुद्दा लगाएको थियो तर सर्वोच्चको आदेशानुसार उनी साउन १० गते दोस्रो पटक मुक्त भएका थिए तर सोही दिन पुनः तेस्रो पटक गिरफ्तार गरी प्युठान लिएको थियो ।

त्यसैगरी अखिल क्रान्तिकारीका नेता नेम्वाङलाई प्रहरीले साउन २४ गते सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरेको थियो । त्रिचन्द्र क्याम्पसमा अध्ययनरत नेम्वाङ १४ दिनपछि रिहा भएका हुन् ।

बाँके चिसापानीका शाही भने लामो समय पछि रिहा भएका छन् । उनलाई राज्यद्रोह, संगठित अपराध सम्बन्धी मुद्दा लगाइएको थियो । नेकपामा संलग्नताको आरोपमा गिरफ्तार गरिएका शाहीलाई चेत्र ११ गते गिरफ्तार गरिएको थियो ।

अदालतको आदेश लगत्तै शाहीलाई प्रहरीले पुनः गिरफ्तार गरेर बाँके, बर्दिया, कैलाली कारागार र फेरि बर्दिया घुमाइएको थियो । सर्वोच्चले बन्दसहित उपस्थित गराउन दिएको आदेश दिएपछि उनलाई बर्दियाबाट सर्वोच्च अदालत ल्याइएको थियो ।

त्यसैगरी पत्रकार तथा साहित्यकार खेम थपलियाको रिहाइको माग गर्दै परेको रिटमा शुक्रबार सुनुवाइ भएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंको जवाफसहित सोमबार बन्दसहित उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ ।

थपलियालाई रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले रिट दायर गरेका थिए ।

२०७६ भदौ ७ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :