विनायकवासीद्वारा पक्राउ पुर्जी बोकेका प्रहरीको प्रतिकार

विनायक : विद्यार्थी नेता हर्कबहादुर विकलाई पक्राउ गर्ने पुर्जी टाँस्न घरमा पुगेका प्रहरी टोलीलाई स्थानीय बासिन्दाले प्रतिकार गरेका छन् । प्रहरी पुर्जी बोकेर सोमबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका २ धाउखानीस्थित विकको घरमा पुगेको थियो ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य विकको घरमा प्रहरीले पक्राउ पुर्जी टाँस्न खोज्दा स्थानीयले प्रतिकार गरेको समाचारमा जनाइएको छ । पुर्जी बुझ्न र टाँस्न नदिएर स्थानीयले प्रहरीलाई तुरुन्त नफर्किए नराम्रो हुने बताएका थिए ।

प्रहरी टोली घरमा पुगेर पुर्जी टाँस्न तयारी गर्दैगर्दा स्थानीय भेला भएर सामूहिक रुपमा प्रतिकार गरेका थिए । स्थानीयको अवरोध तथा प्रतिकारका कारण पुर्जी नटाँसीकनै प्रहरी फिर्ता भएको थियो । प्रहरीले पुर्जी बुझ्न र हस्ताक्षर गर्न आग्रह गरेको भए पनि स्थानीय बासिन्दा तयार नभएपछि प्रहरी फिर्ता भएको बताइएको छ ।

जिल्ला अदालत मङ्गलसेनको ३५ दिने म्याद टाँस्न प्रहरी विकको घरमा पुगेको स्थानीयले बताएका छन् ।

यसअघि तत्कालीन नेकपा–माओवादीले २०७० सालमा दोस्रो संविधानसभाको चुनाव बहिष्कार गर्न आह्वान गरेसँगै उक्त गाउँमा शून्य मतदान भएको थियो ।

२०७६ भदौ ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :