साथी म बन्दी छु

गीत


फलामे ढोका पर्खालभित्र साथी म बन्दी छु
न्यायको गीत गाउँदै हिँड्दा साथी म बन्दी छु ।
विदेश हैन, युवाको पौरख देशभित्रै पोख्न देऊ
प्यारीको साथमा पसिनाधारा माटोमा रोप्न देऊ
दिदी र बहिनी पराईको देशमा बेचिन नदेऊ
भनेर युवा आवाज बोल्दा साथी म बन्दी छु ।
ढुकुटीमाथि त्यो लामो हात, देश भो बर्बाद
मटोको माया गर्छु भन्नेलाई छैन क्यै पर्बाह
भ्रष्टको धन जफत गर, राज्यको बनाऊ
भनेर देशको हितमा बोल्दा साथी म बन्दी छु ।
दक्षिणको साँढे डुक्रिन्छ सधैँ हामीलाई हेप्दछ
चोरेर लान्छ त्यो जङ्गे पिलर सिमाना मिच्दछ
घरभित्रका मतियार तिनका लघारौँ एक भै
भनेर देशको स्वाभिमान गाउँदा साथी म बन्दी छु ।
मान्छेले मान्छे ठगेर खाने चलन मेटाइदिऊँ
विभेदका पर्खाल ढालेर सबै समान बनाइदिऊँ
सुखले जिऊन् नेपालीजन शान्तिले बाँच्न देऊ
भनेर देशको समृद्धि गाउँदा साथी म बन्दी छु ।

नख्खु कारागार, न्यु बिल्डिङ, बल्खु

२०७६ भदौ ५ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :