हजारौंको संख्यामा हङकङमा फेरि सरकारविरोधी प्रदर्शन


काठमाडौं : बिगत दुई महिनादेखि आन्दोलन गर्दै आएकाहरु हङकङमा फेरी प्रदर्शनमा उत्रिएका छन् । स्थानीय भिक्टोरिया पार्कमा भेला भई उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । भारी बर्षाको परवाह नगरी दशौं हजारको संख्यामा भेला भएकाहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए ।

नागरिक समाज र मानव अधिकारवादी संस्था सी.एच.आर.एफले प्रदर्शन आयोजना गरेको हो । गत हप्ता हङकङ विमानस्थलमा हिंसात्मक प्रदर्शन भएपछि शान्तिपूर्ण प्रदर्शन गरिएको हो । सुरक्षाकर्मीहरुले पनि प्रदर्शनकारीलाई भिक्टोरिया पार्कमा मात्र भेला हुने अनुमति दिएका छन् ।

गत सोमबार र मंगलबार प्रदर्शकारीले विमानस्थल नै कब्जा गरेपछि एशियाका व्यस्त विमानस्थल मध्येको हङकङ विमानस्थलमाबाट सयौं उडान प्रभावित भएका थिए । बिरोध प्रदर्शन चर्कंदै गएपछि हङकङमा रहेका चिनिया जनमुक्ति सेना परिचालन हुन सक्ने चिन्ता ब्यक्त हुने गरेको छ । हङकङको सीमा क्षेत्र सैनिक बल थपेपछि चीनले त्यसको तयारी गरेको आंकलन गरिएको छ । अपराध र बलात्कार आरोपीलाई मुख्य भूमी चीनमा सुपुर्दगी गर्ने सम्बन्धी बिधेयक ल्याएपछि त्यसको बिरुद्धमा आन्दोलन चर्किएको हो ।

चीनले भने हङकङमा बाह्य शक्तिले हस्तक्षेप गरेको आरोप लगाउँदै अर्धस्वायत्त क्षेत्रमा भएको त्यस्तो हस्तक्षेप अस्वीकार्य हुने जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता जेङ सुआङले बेइजिङले हङकङकी नेतृ क्यारी लामलाई निरन्तर समर्थन गर्ने बताए । ‘हङकङको संसदीय मामिलामा भइरहेका बाह्य हस्तक्षेपको हामी कडा विरोध गर्दछौँ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रस्तावित कानुनप्रति ‘केही राष्ट्रले’ गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको चीनले आरोप लगाएको छ । तर, ती राष्ट्रबारे चीनले केही उल्लेख नगरे पनि अमेरिकाले विपक्षीलाई उचालेको उसले संकेत गरेको छ । चिनियाँ सञ्चारमाध्यमहरूले विदेशी शक्तिहरूले चीनलाई ‘चोट पुर्‍याउन’ हङ‌कङमा विध्वंस निम्त्याउन खोजेको आरोप लगाएका छन् । केही दिनअघि हङकङका विपक्षी नेताहरूले अमेरिकी विदेशमन्त्री पोम्पेओ र सभामुख नेन्सी पेलोसीसँग भेट गरेका थिए ।

२०७६ भदौ २ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :