‘प्रचण्ड’–काङ्ग्रेस गठबन्धन सरकार गम्भीर राष्ट्रघाततिर

२५ गते राजधानीमा बृहत् सभा

imagesकाठमाडौँ  नेकपा (माओवादी) ले यही भदौ २५ गते राजधानी काठमाडौँमा बृहत् प्रदर्शन र सभा गर्ने भएको छ । पुष्पकमल दाहाल–काङ्ग्रेस संयुक्त गठबन्धन सरकारले माथिल्लो कर्णाली, अरुण तेस्रो, नौमुरे, चिसापानी, कालापानीलगायत जलस्रोतका क्षेत्रमा गर्न लागेको राष्ट्रविरोधी गतिविधि र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न भारत भ्रमणमा उनले गर्नसक्ने राष्ट्रघातका विरुद्ध जनतालाई सचेत बनाउन राजधानीमा विशाल ¥याली तथा सभा गर्न लागेको माओवादीले जनाएको छ ।
नेपालको राजनीतिक इतिहासमा सत्ताबाहिर हुँदा राष्ट्रवादी तथा देशभक्त देखिएका शक्तिहरू सत्तामा पुग्ने प्रक्रियामै चुकेर राष्ट्रघाती हुने गरेका छन् । विदेशीहरूले आफ्नो स्वार्थका लागि सत्तामा विभिन्न पात्रहरूलाई फेरबदल गरिरहन्छन् । नेपालको राजनीतिक सत्तामा राष्ट्रघाती सुगौली सन्धिपछि भारतीय विस्तारवाद–साम्राज्यवादले निरन्तर हस्तक्षेप गरिरहेको छ । सुगौली सन्धि हुनुअघि देशभक्त जनता र योद्धाहरूले अंग्रेज साम्राज्यवादविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गर्दागर्दै पनि शासकहरूको स्वार्थका कारण नेपालले गम्भीर राष्ट्रघात बेहोर्नुपरेको थियो । नेपाली जनताले अहिलेसम्म पनि त्यही नियति बेहोर्नु परिरहेको छ । नेपाली जनता जस्तोसुकै प्रतिकूलतालाई चिरेर भए पनि भारतीय विस्तारवादविरुद्ध लडिरहन चाहन्छन् तर शासकहरू जनताको भावनाविरुद्ध राष्ट्रिविरोधी गतिविधिमा संलग्न भइरहेका छन् ।
राणा शासक जङ्गबहादुरले अङ्ग्रेजको चाकरी गरेकै भरमा नयाँ मुलुकको शासक बन्ने अवसर पाएका थिए । सोही घटनालाई अवसरका रूपमा लिँदै र षड्यन्त्रमा बदल्दै उनले नेपालको राज्यसत्ता हत्याए । त्यसपछि समग्र राणाशासकहरू नेपालको राष्ट्रिय हितका पक्षमा देखिएनन् । अन्तिम राणा शासक मोहनशमशेरले प्रधानमन्त्री पदका लागि दिल्लीमा राष्ट्रघाती सन्धि गराएको कालो इतिहास हाम्रासामु छ । त्यसपछिका शासकहरूका राष्ट्रघातका शृङ्खला कसैबाट छिपेका छैनन् । उदाहरणका लागि मातृकाप्रसाद कोइरालाले कोसी सम्झौतामा गरेको राष्ट्रघात, बीपी कोइरालाले गण्डक सम्झौतामा गरेको राष्ट्रघात, महेन्द्रले कालापानीमा भारतीय सेना राख्न दिएर पञ्चायती व्यवस्था टिकाउन गरेको राष्ट्रघात, गिरिजाप्रसाद कोइराला र केपी ओलीहरूले टनकपुर–महाकालीमा गरेको राष्ट्रघात, पुष्पकमल दाहालले नौमुरेमा गरेको घात, बाबुराम भट्टराईले बिप्पामा गरेको राष्ट्रघात, नेपालको एयरपोर्टमा भारतीय एयरमार्सल राख्न गरेको पहल, सुशील कोइराला प्रधानमन्त्री हुँदा लिपुलेकमा भारत–चीन सम्झौतामा भएको राष्ट्रघात यसका केही उदाहरण मात्र हुन् ।
अहिले पनि नेपाल–भारतका सिमानाका सयौँ क्षेत्रमा भारतको अतिक्रमण जारी छ । भारतले नेपालको सीमा क्षेत्रमा नेपाली भूभाग डुब्ने गरी बाँध र सडकहरू बनाइरहेको छ । त्यसले नेपाली बस्ती डुब्दा नेपाली जनजीवन अस्तव्यस्त हुने गरेको छ । यस्तो सन्दर्भमा पुष्पकमल दाहाल प्रधानमन्त्री भए पनि यसका विरुद्ध चुँसम्म बोलेका छैनन् । अझै सधैँ राष्ट्रघात र जनघातको इतिहास बनाएको काङ्ग्रेससँगको सहकार्यमा सरकार बनाउनु भनेको यसअघि भएका राष्ट्रघाती क्रियाकलापलाई वैधानिकता दिनु र राष्ट्रघातका नयाँ शृङ्खला थप्नु नै हो । त्यसैले नेपाली जनता यो सरकारसँग झनै चनाखो भइरहनुपर्छ । त्यसका विरुद्ध आन्दोलनका लागि पनि तयार रहनुपर्छ । भदौ २५ गते राजधानीमा हुने बृहत् सभाले राष्ट्रघातको शृङ्खलालाई चुनौती दिँदै राष्ट्रघातीहरूलाई अवश्य खबरदारी गर्नेछ ।
भारत नेपाललाई सधैँ र सबै क्षेत्रमा सिक्किम, फिजी वा भुटानजस्तो बनाउन चाहन्छ । भारतले पटकपटक नाकाबन्दी लगाएर र राजनीतिक पार्टी तथा नेताहरूलाई प्रभावित पारेर राष्ट्रघातका शृंखलाहरू बढाउने गरेको छ । राष्ट्रियताको सन्दर्भमा पुष्पकमल दाहाल प्रचण्डको कुनै सकारात्मक अडान छैन । कतिसम्म भने नक्कली राष्ट्रवादी केपी ओलीले पछिल्लोपटक मोदी सरकारसँग लिएको जत्ति अडान लिन पनि यो सरकारले सक्तैन । यो सरकारको निर्माण केपी ओलीलाई असफल पारी गम्भीर राष्ट्रघात गराउन ल्याइएको चर्चा सेलाउन नपाउँदै पुष्पकमल दाहालले आफ्नो पहिलो विदेश भ्रमण भारत नै हुने घोषणा गरेर आफ्नो उद्देश्य प्रस्ट पारिसकेका छन् । उनले यसअघिको प्रधानमन्त्रीत्व कालमा चीन पुगेर पनि आफ्नो पहिलो राजनीतिक भ्रमण भारत नै हो भनेको सन्दर्भ यहाँ महत्वपूर्ण छ । अघिल्लो सरकारमा आफ्नो न्वारानदेखिको बल लगाएर काठमाडौँ–निजगढ द्रुत मार्ग (फास्ट ट्र्याक) भारतीय ठेकेदारलाई दिएर छोड्ने प्रण गरेका र सधैँ भारतप्रति नतमस्तक रहेका मानिने विमलेन्द्र निधि यतिबेला काङ्ग्रेसका तर्फबाट सरकारको प्रतिनिधित्व गरिरहेका छन् । उनले फेरि उक्त फास्ट ट्र्याक मात्र नभएर अरु धेरै सम्पदा भारतलाई सुम्पेर सत्ता टिकाउने खेल खेल्ने कुरामा कुनै द्विविधा छैन किनभने नेपालको संसदीय राजनीतिमा ‘विकृतिका जनक’ मानिने शेरबहादुर देउवा, माओवादी जनयुद्ध समाप्त पार्न ज्ञानेन्द्र शाहलाई सत्ता सुम्पिएर पनि हजारौँहजार क्रान्तिकारीको कत्लेआम गर्ने, माओवादी नेताहरूको टाउकाको मोल तोक्ने शेरबहादुर देउवा र पुष्पकमल दाहालको गठबन्धन सत्तामा छ । विजातीय संसद्वादी गठबन्धन सहजतापूर्वक नेपाली जनताले बनाइदिएका होइनन् । यसका लागि भारतीय विस्तारवाद र तिनका नेपाली अनुयायीको लामो समयदेखिको गृहकार्य छ । प्रचण्डले निधिलाई विशेष दूतका रूपमा निधिलाई भारत भ्रमणमा पठाउनु र भारतीय शासकहरूलाई यो गठबन्धन निर्माणका क्रममा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नु यसको एउटा राम्रो प्रमाण हो ।
प्रचण्ड–काङ्ग्रेस गठबन्धन सरकारलाई आफूलाई क्रान्तिकारी भनाउँदै आएका मोहन वैद्यले बधाई दिएको सन्दर्भ पनि कहीँ न कहीँ यहाँ जोडिएर आएको बुझ्न सकिन्छ ।
नेकपा माओवादीले क्रान्तिकारीहरूबीच ध्रुवीकरण गरेर राष्ट्रघात, जनघातको प्रतिरोधको आरम्भ गरेको छ । हतियारको बलमा देशभक्त, जनवादी, क्रान्तिकारी शक्तिहरूलाई पाखा लगाउने संसद्वादी शक्तिलाई चुनौती दिँदै नेकपा (माओवादी) का महासचिव विप्लवले युद्धले सामना गरिने चेतावनी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :