कार्यदिशाको सफलता

नेकपा माओवादीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा सफलताको सिँढी चढिरहेको छ । नेकपा माओवादीको नेतृत्वमा गतसाता आरम्भ भएको क्रान्तिकारी ध्रुवीकरणले यो कुराको संकेत गरेको छ । ध्रुवीकरणका आधारहरूको चर्चा गर्दै महासचिव कमरेड विप्लवले भन्नुभएको छ ः मालेमा विशेषतः सर्वहारा सांस्कृतिक क्रान्तिप्रतिको समान बुझाइ, नयाँ जनवाद र वैज्ञानिक समाजवादप्रतिको विश्वास, सत्तालाई हेर्ने समान दृष्टिकोण, एकीकृत जनक्रान्तिप्रतिको सहमति, सर्वहारावर्गीय कम्युनिस्ट पार्टीको मान्यता र क्रान्तिकारी धु्रवीकरणको आवश्यकताप्रति सहमतिका कारण यो सम्भव भएको हो ।
महासचिव विप्लवले ध्रुवीकरण घोषणासभामा सम्बोधन गर्दै प्रतिक्रियावादी सत्ताले देश र जनतालाई सधैँ धोका दिएकाले लड्नुको विकल्प बाँकी नरहेको धारणा व्यक्त गर्नुभएको छ । उहाँले नेकपाको आन्दोलनमा मनमोहन, रायमाझीदेखि मोहनविक्रम सिंह हुँदै मदन भण्डारी र प्रचण्ड–बाबुराममण्डलीसम्मले आफ्नो वर्गप्रति गरेको दलाली, गद्दारी र घातलाई पनि चुनौती दिँदै नेकपा (माओवादी) लाई बन्दुकको अन्त्य, युद्धको अन्त्यका लागि बन्दुक बोक्न र युद्ध लड्न बाध्य नपार्न चेतावनी दिनुभएको छ । वर्गसंघर्षकै माध्यमबाट आएको प्रचण्ड–बाबुराममण्डलीले वर्गघात गर्दै देश र जनताको मुक्ति र रक्षामा देखाएको चरम निराशालाई चिर्न कमरेड विप्लवले गर्नुभएको यो सम्बोधन र उहाँको नेतृत्वमा आरम्भ भएको क्रान्तिकारी ध्रुवीकरणले क्रान्तिकारी आशावादलाई नयाँ उचाइबाट उठाएको छ । CPN-UML-flagअब प्रस्ट भएको छ ः प्रचण्ड–बाबुरामलगायत संसद्वादीहरूको एउटा केन्द्रीकरण प्रतिक्रियावादमा केन्द्रीकृत हुँदै गएको छ । यसले एमालेलाई पछ्याउँदै पछि पार्ने गति समातेको छ भने नेकपा (माओवादी) ले क्रान्तिकारीहरूको केन्द्रीकरण र ध्रुवीकरणको नेतृत्व गरेको छ ।
अब के कुरा प्रस्ट भएको छ भने नेकपा (माओवादी) नेपालको एक मात्र क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टी हुनुले यसको काँधमा नेपाली श्रमजीवी जनता र नेपाल राष्ट्रको अहम् दायित्व छ । यो दायित्व अन्तर्राष्ट्रिय सर्वहारा वर्गको दायित्वसँग अन्तरसम्बन्धित पनि छ । पार्टी उक्त अभिभारा निर्वाह गर्न चाहन्छ र दृढसङ्कल्पित पनि छ । यसका निम्ति माओवादी पार्टीको नेतृत्वमा सञ्चालित एवम् विकसित नेपाली जनयुद्धका १० वर्षका उपलब्धिहरूको रक्षा गर्न, ०६३ सालयताको प्रतिक्रान्तिमाथि क्रान्तिकारी हस्तक्षेप गर्न र नेपाली क्रान्तिको बाँकी अभिभारालाई माओवादी फत्ते गर्न चाहन्छ । अतः राष्ट्रिय मुक्ति एवम् जनवादी क्रान्ति पूरा गरी राष्ट्रको स्वाधीनता र नेपाली जनताको जनवादी राज्य व्यवस्था स्थापना गर्ने लक्ष्यका साथ माओवादी अघि बढिरहेको छ । यो लक्ष्य पूरा गर्न जनता आशावादी हुनुपर्छ । नेता र कार्यकर्ता दृढ र प्रतिबद्ध हुनुपर्छ । हिजो जनयुद्ध लड्दा बलिदान गरेका महान् महान् सहिदका परिवार, बेपत्ता योद्धाका परिवार र घाइतेअपांग योद्धाहरू इमानदारीसाथ क्रान्तिमा लामबद्ध हुनुपर्छ । गतसाता राजधानीमा नेकपा माओवादीसँग भएको ६ माओवादी–क्रान्तिकारी पार्टी समूहहरूको ध्रुवीकरणले सहिद–बेपत्ता परिवारमा आशा जगाइदिएको छ, घाइते अपांग योद्धाहरूमा दृढता र जनतामा पुनः आशा जगाइदिएको छ ।
एकीकृत जनक्रान्तिको विकास गर्दा वर्तमान विश्वका विकसित विशेषतालाई गम्भीरताका साथ ध्यान दिँदै नेकपा माओवादीले यसको विशेषताका रूपमा भूमण्डलीकृत राज्य स्वरूपको साम्राज्यवाद, विज्ञान र प्रविधिमा गुणात्मक विकास, साम्राज्यवादी अर्थव्यवस्थाको निगम चरित्र, युद्ध प्र्रविधिको चमत्कारीपूर्ण विकास र सूचनाप्रविधिको विकासमा युगीन छलाङ, अहिलेको विश्वका विकसित विशेषताले एक्काईसौँ शताब्दीको विश्वको पहिचान दिएको छ । नेपाल अर्धऔपनिवेशिक एवम् अर्धसामन्ती देशबाट नवऔपनिवेशिक र दलाल पुँजीवादी देशमा फेरिएको निष्कर्ष माओवादीको छ । भूपरिवेष्ठित देश उत्तरमा चीन, पूर्व, पश्चिम र दक्षिण तीनतिर भारतीय सिमाना भएको, राज्यसत्ता र समाजमा दलाल पुँजीवादको प्रभाव, गाउँ र सहरको निकट सम्बन्ध, मध्यमवर्गको उल्लेख्य विस्तार, जातीय, क्षेत्रीय, लैङ्गिक र सामाजिक एवम् सांस्कृतिक विभेद तथा राष्ट्रवादी शक्तिको प्रभावजस्ता विशेषताका कारण नेपालको क्रान्तिको मौलिक स्वरूप एकीकृत जनक्रान्ति हुने माओवादी निष्कर्ष छ । सोही निष्कर्षलाई ध्यान दिँदै नेकपा माओवादीले एकीकृत जनक्रान्तिमा गोलबन्द हुन सबै इमानदार क्रान्त्किारी कम्युनिस्टहरूलाई आह्वान गरेको थियो । फलस्वरूप यतिबेला क्रान्तिकारी माओवादीबीच ध्रुवीकरण आरम्भ भएको छ । यो ध्रुवीकरणले नै नेपालमा अधुरो रहेको क्रान्तिलाई पूरा गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :