पार्टीमा प्रतिबन्धपछि बन्दीहरूको भेटघाटमा पनि प्रतिबन्ध


काठमाडौं : सरकारले जेल र हिरासतमा रहेका नेपाल कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तालाई आफन्तसँगको भेटघाटमा प्रतिबन्ध लगाएको छ । हाल नख्खु कारागारमा रहेका नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र केन्द्रीय सदस्य माइला लामासँग उनीहरूका आफन्तलाई समेत भेटघाटमा प्रतिबन्ध लगाइएको छ । भेटघाटकालागि कारागारमा पुगेका आफन्तहरूलाई प्रहरीले ओली र लामाका आफन्त भनेपछि माथिको आदेश भनेर गेटबाटै फर्काइदिने गरेको छ ।

गत फागुन २८ गते पार्टीमाथि प्रतिबन्ध लगाएपछि गिरफ्तारी तथा धरपकड तीव्र पारेको सरकारले अहिले बन्दी जीवन बिताइरहेका नेता–कार्यकर्तालाई भेटघाटमा प्रतिबन्ध लगाएको हो । परिवार तथा आफन्तलाई समेत सहजरूपमा भेटघाट गर्न नदिएको भन्दै उनीहरूका परिवारले आपत्ति जनाएका छन् । आइतबार लामाकी पत्नी मनु तामाङले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै माइलाको भेटघाटमा गएका आफन्तलाई समेत माथिको आदेश भन्दै भेट्न नदिएको बताएकी छिन् ।

छोरी र आफन्तहरू नेता लामालाई भेट्न नख्खु जेलमा गएका थिए । तर प्रहरीले माथिको आदेश भन्दै छोरीलाई समेत भेट्न नदिएर जेलको गेटबाटै फर्काएपछि मनुले मार्मिक शब्दमा फेसबुकमा छोरीको तस्बिर पोस्ट गर्दै भनेकी छिन् ‘आज यिनले आफ्नो बाबालाई भेट्न माथिको आदेश कुर्नुपर्ने ? यिनका के दोष थिए र प्रचण्ड महोदय ! के बन्द पर्खालभित्र यिनले आफ्नो बाबालाई बम र गोली पु¥याउलान् र ? वाह !.. प्रचण्ड ! तिम्रो गणतन्त्र !’

यस्तै हेमन्तप्रकाश ओली ‘सुदर्शन’की श्रीमती अम्बिका चन्दओलीले पनि आफूलाई सुरुसुरुमा जाँदा प्रहरीले दुव्र्यवहारसमेत गरेको बताइन । सुरुसुरुमा जाँदा त गेटका प्रहरीले जान नदिने मात्र होइन, निकै हप्कीधप्की गरेको उनको भनाइ छ । उनले भनिन, ‘एक दिन त एकजना गोरो वर्णकी लिखुरी महिला प्रहरीले किन यस्तो गरेको भन्दा के भन्यौ रे ? फेरि भन त भनेर चप्पल र कपालसमेत खोल्न लगाइन् । त्यस दिनबाट ती महिलालाई जेलको गेटमा देखेकी छैन । त्यहाँको सुरक्षा प्रमुख अर्जुन खत्री हुनुहँुदो रहेछ । उहाँले भने तपाईं मात्र आउनु होला, अरूलाई नल्याउनु होला भन्नु भयो । माथिको आदेश हो भनेर अलि नम्र व्यवहार गर्नु भयो । त्यसपछि मलाई जान अलि सहज भयो । म अलि अस्ति गएर छोरीकालागि चारवटा मुडा किनेर ल्याएकी थिएँ । त्यसपछि ससुरा, छोरी र मलाई पनि खासै सन्चो छैन । अरू सानातिना काममा पनि म व्यस्त भैरहेकी हुन्छु । त्यही भएर जान पाएकी छैन । शुक्रबार–शनिबारबाट भेटघाटमा निकै कडा गरेको छ रे ।’

ओली र लामाजस्तै अन्य आस्थाका बन्दीहरूलाई पनि प्रहरीले जेलमा सहज रूपमा भेट दिने गरेको छैन । श्रीमती, आमा, बुबा र छोराछोरीलाईसमेत नाता प्रमाणित गरेको कागज चाहिन्छ भनेर भेट्नकालागि निकै दुःख दिने गरेको बन्दीका परिवारहरूको भनाई छ । नेकपाका नेता–कार्यकर्ताबाहेक अरू बन्दीहरूको हकमा भने त्यस्तो अप्ठेरो छैन । चोरी, डकैती ज्यान मार्ने उद्योग, बहुविवाह बैङ्किङ कसुरलगायत मुद्दाका बन्दीहरूलाई भने नागरिकता वा कुनै परिचय खुल्ने प्रमाण पत्र भएमा भेटघाट गर्न दिने गरेको छ । यस विषयमा त्यहाँका प्रशासन र प्रहरी प्रमुखहरू भने माथिको आदेश भनेर पन्छिने गरेका छन् ।

२०७६ साउन २० गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :