नेकपाकी नेत्री भृकुटी जेल चलान

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीकी नेत्री धीरेन्द्रा उपाध्याय ‘भृकुटी’ लाई अदालतले पुर्पक्षका लागि जेल चलान गरेको छ । बिहीबार ललितपुर जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश शिव रानाभाटको एकल इजलासले नेत्री भृकुटीलाई पुर्पक्षका लागि जेल चलान गर्ने निर्णय गरेपछि उनलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो ।
भृकुटीका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुङ्गाना र रामकृष्ण भण्डारीले बहस गरेका थिए ।

पूर्वसभासद्समेत रहेकी कालीकोटकी नेत्री भृकुटी अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की केन्द्रीय महासचिवसमेत हुन् । उनलाई प्रहरीले साेमबार काठमाडौँको बूढानीलकण्ठबाट गिरफ्तार गरेको थियो । पछिल्लो समय सरकारले वार्ता गर्ने हल्ला फैलाएर आफ्नो पार्टीका नेता–कार्यकर्तालाई दमन गर्ने, गिरफ्तार गर्ने र व्यापक धरपकड गरेको भन्दै त्यसको विरोधमा नेकपाले काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्दको आह्वान गरेको अघिल्लो दिन नेत्री भृकुटीलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :