कुमार पौडेललाई नियन्त्रणमा लिएर गोली हानिएको मानवअधिकारवादी सङ्गठनहरूको निष्कर्ष

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता कुमार पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको विभिन्न मानवअधिकारवादी सङ्गठनहरूको प्रतिवेदनले जनाएको छ । मानवअधिकारका क्षेत्रमा सक्रिय विभिन्न संस्थाहरूले घटनाको अध्ययन–अनुसन्धान गरेपछि नेकपाका सर्लाही इन्चार्जसमेत रहेका पौडेल प्रहरीसँगको मुठभेडमा मारिएको भन्ने कुरा गलत भएको निष्कर्ष निकालेका छन् । पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो भिडन्त वा मुठभेडबाट भएको हो भन्ने विश्वसनीय आधार नदेखिएको प्रतिवेदनको निष्कर्ष छ ।
सामूहिक रूपमा तयार पारिएको प्रतिवेदनमा प्रहरीले भिडन्तका नाममा नियन्त्रणमा लिएर पौडेलको हत्या गरेको उल्लेख छ । ‘पौडेलको दोहोरो भिडन्तमा नभई नियन्त्रणमा लिएपछि हत्या गरिएको हुनसक्ने यथेष्ट सम्भावना छ’, प्रतिवेदनमा उल्लेख छ । विगत केही वर्षदेखि मुठभेडका नाममा व्यक्तिहत्याको शृङ्खला बढेको पनि प्रतिवेदनमा उल्लेख छ ।
इन्सेक प्रदेश २ का संयोजक राजु पासवानले घटनाको प्रकृति र विभिन्न दृष्टिले अध्ययन गर्दा पनि पौडेल समूह र प्रहरीबीच भिडन्त भएको नदेखिएको बताए । उनले भने, ‘घटना गम्भीर प्रकृतिको हो । त्यसैले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय न्यायिक छानबिन समिति गठन हुनुपर्छ । पोस्टमार्टम रिपोर्ट अस्पतालले दिन नमानेकाले घटना दबाउने प्रयास भइरहेको आशङ्का छ ।’

प्रतिवेदन सार्वजनिक गरेका संस्थाले विभिन्न ६ बुँदे मागसमेत राखेका छन् । ती संस्थाले निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन, घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन तथा दण्डहीनता अन्त्य र कथित मुठभेडका नाममा व्यक्तिहत्याजस्तो जघन्य अपराधमा संलग्न संस्था वा व्यक्तिलाई उत्तरदायी बनाउन माग गरेका हुन् ।
प्रहरीले नियन्त्रणमा लिएर पौडेलको हत्या गरेको भन्दै नेपाली काङ्ग्रेसले संसद्को बैठकसमेत अवरोध गर्दै आएको छ । पौडेल हत्याको चौतर्फी विरोध भइरहेको छ ।

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :