रहस्यवाद र शङ्काको सौन्दर्यशास्त्र

रहस्यबाट मानवको भौतिक शरीर वा विचारको धुन देख्न, अनुभव गर्न नसक्ने विषय हो । यसलाई रहस्यवादीहरूले टुनामुना, बोक्सी, झाँकी आदि अन्धविश्वासका रूपमा प्रयोग गर्दछन् । रहस्यवादीको भौतिक शरीर हुँदैन । नेपाली कम्युनिस्ट आन्दोलनका नेता मोहन वैद्य ‘किरण’ लाई माक्र्सवादी दर्शन क्षेत्रका ज्ञाता मानिन्छ । स्वच्छ भौतिकवादी दार्शनिक मानिएका कमरेड किरणले नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापहरू रहस्यमय छन् । बुझ्नै सक्दैनन् भन्ने भनाइ आधिकारिक रूपमा आएकाले शङ्का उत्पन्न भएको छ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले लिएको राजनीति र कार्यनीति कार्यदिशाको यो किसिमले गलत वा सही छन् भन्ने भनाइ आएको भए सबभन्दा राम्रो हुन्थ्यो । रहस्यवादको माक्र्सवादसँग कुनै साइनो छैन । वली–प्रचण्डमण्डलीका कारण यसरी जनताको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका गतिविधिलाई आतङ्ककारी, समाजविरोधी क्रियाकलाप हुन् भन्दै प्रतिबन्ध लगाएका छन् । कमरेड किरणले पनि सोही भाषा प्रयोग नगरी रहस्यमय बताएर सोही भनाइको पुष्टिमा बल पुर्याएको देखिन्छ ।

विप्लव कमरेडका पक्षमा लागेर तत्कालीन नेकपा माओवादीबाट सम्बन्धविच्छेद गरी बौद्ध भेला गर्ने हस्तीमध्ये एक हुन् कमरेड किरण । किरणको अकर्मण्यताका कारण पार्टीले क्रान्तिकारी लाइन लिन सकेन भन्दै कमरेड किरणसँग सम्बन्धविच्छेद गरी अल्पमत लिएर अर्को पार्टी गठन गरेका हस्ती कमरेड विप्लव सयुक्त छँदा दुईतीन सयजनाको समेत प्रदर्शन गर्न नसक्ने पार्टीले पार्टीसँग सम्बन्धविच्छेद गरी अर्को पार्टी निर्माण गरेको एक वर्षभित्र करिब आधा लाख नेता–कार्यकर्ता सहिदमञ्चमा उपस्थित गराई आठौँ महाधिवेशन गरेको सभामा उपस्थित नभए पनि कमरेड किरणले विभिन्न मन्तव्यद्वारा अवश्य भौतिक आँखाले देखेकै हुनुपर्दछ । यो कसरी रहस्यवाद भयो ? रहस्यवादले भने कस्तो आँखा चिम्म गरी बन्द गरेमा संसार हाम्रो … गायब हुन्छ भनेजस्तो आँखा बन्द गर्नुभएको अवश्य होइन होला । अकर्मण्यतावाद, उदारवाद, श्रद्धावाद, आदर्शवाद आदिका विरुद्ध सङ्घर्ष गरेर क्रान्तिलाई अघि बढाउने कुरामा केही कमी–कमजोरी रहे पनि कमरेड किरणबाट शास्त्रीय रूपमा भए पनि दर्शनमा सबै कम्युनिस्ट समूहरूले जुन शिक्षा र प्रेरणा प्राप्त गरेका थिए । अहिले आएर विप्लवको विश्वास गर्ने नाममा रहस्यवादलाई स्थान दिनाले अरू सबै क्रान्तिकारी राजनीतिमा समाजवादी सिद्धान्त पर्दापछाडि गएको देखिन्छ ।

नेपाल कम्युनिस्ट पार्टीले आठौँ महाधिवेशन गरेको छ । जनवादी केन्द्रीयता रूपमा पार्टीको दस्ताबेज माथिदेखि तलसम्म छलफल गरी महाधिवेशनमा एक मतले पास गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको अध्ययन गरी भारतलगायत साम्राज्यवाद, दलाल पुँजीवादी संसदीय व्यवस्था र नेपाली जनताबीचको अन्तर्विरोध मुख्य अन्तरविरोध किटान गरेको छ । नेपालको हालको सामाजिक अर्थ राजनीतिक स्थितिको मूल्याङ्कन गरी एकीकृत जनक्रान्तिको कार्यनीति पास गरेको छ । वैज्ञानिक समाजवाद सामाजिक न्यायसहितको प्रजातन्त्र किटान गरेको छ । यसभित्र गाँस, बास र कपास, शिक्षा, स्वास्थ्य र रोजगारीमाथि आम जनसमुदायको सहज पहुँचको सुनिश्चित गरिएको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविका सुनिश्चित गरेको छ । क्रान्तिकारी भूमिसुधार आधुनिकीकरण, रोजगारी, अभिवृद्धि, पुँजी सञ्चिति र उक्त सञ्चित तथा कृषि उपजका आधारमा औद्योगिकीकरण आदि पार्टीका आर्थिक नीति रहेका छन् । जनवादी केन्द्रीयताको रूपमा माथिदेखि तलसम्म चुस्त र क्रियाशील पार्टी समितिहरू गठन भएका छन् । पार्टी समितिअन्तर्गत जनसेना, जनपरिषद्, जनअदालत गठन भएका छन् । अर्को महाधिवेशन नभएसम्म नेपाल कम्युनिस्ट पार्टीका क्रियाकलापहरू यही महाधिवेशनले प्रारित गरेका प्रस्तावअनुसार चलिरहेका छन् । हाल यस पार्टीलाई कमरेड विप्लवले नेतृत्व गरिरहेका छन् । अब भन्नुस् कहाँ छ रहस्यवाद ? कसरी भयो रहस्यमय ? रहस्यवादले मूर्त वस्तुलाई पनि अमूर्त रूपमा पेस गर्ने गर्छ । यस्ता मूर्त कुराहरूलाई अमूर्त र रहस्यमय भन्नाले कतै कमरेड किरण कुरा पो रहस्यमय भयो कि ?

२०७६ साउन १७ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :