हावाहुरी पीडितद्धारा वडा कार्यालयमा तालाबन्दी


धनगढी : हावाहुरी पीडितलाई राहत वितरणमा बदमासी भएको भन्दै धनगढी उप–महानगरपालिकाका वडा नम्बर १२ को कार्यालयमा ताला लगाइएको छ । वडा नम्बर १२ का हावाहुरी पीडितहरुले वास्तविक पीडितको सूचि राहत पाउनेमा नराखिएको भन्दै वडा कार्यालयमा ताला लगाएका हुन् ।

धनगढी उप–महानगरपालिकाभित्र रहेका वडा कार्यालयले प्रहरी मुचुल्का सहित पठाएका पीडितहरुको नाम समावेश नगरी गैर पीडितलाई राहत वितरण गरेपछि बदमासी भएको उनीहरुको आरोप छ । उप–महानगरपालिकाको वडा नम्बर १२ जुगेडाका अधिकांश पक्की घर भएका र क्षती नभएका परिवारले राहत पाएपछि पीडितहरु विरोध गर्दै आएका थिए ।

धनगढी उप–महानगरपालिकालाई प्रदेश सरकारले हावाहुरी पीडितकालागि राहत विवरण गर्न एक करोड २७ लाख ६५ हजार दिएको थियो । प्रतिपरिवार पाँच हजार र १० हजारका दरले राहत वितरण गर्न कार्यविधि बनाइएको छ । तर घरमा क्षती नभएका, पक्की घर भएका र राजनीतिक पहुँच भएकाहरुले राहत पाएको स्थानीयहरुले बताएका छन् ।

गत जेठ २३ गते गएको हावाहुरीका कारण धनगढी उप–महानगरपालिकामा मात्र दुई हजार पाँच सय ५० घरमा आंशिक क्षती र तीन घरमा पूर्ण क्षती भएको तथ्याङक थियो ।

२०७६ साउन १५ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :