अखिल (क्रान्तिकारी)द्वारा चौलागाईलाई तुरुन्त रिहा माग (विज्ञप्तिसहित)

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)का ताम्सालिङ व्युरो संयोजक मुकुन्द श्रेष्ठले सोमबार विज्ञप्ति निकाली संगठनले कम्युनिस्ट विद्यार्थी अभियान –२ सञ्चालन गर्दै आइरहेको बेला अभियानबाट त्रसित फासिवादी रामबहादुर गृह प्रशासनले शनिबार सिन्धुपाल्चोक जिल्ला संयोजक रविन्द्र चौलागाईलाई इन्द्रावती गाउँपालिका नवलपुरबाट गिरफ्तार गरी चौतारा जिल्ला अदालतमा राजद्रोहको मुद्दा चलाएकोमा घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै नेकपाले माइला लामाको गिरफ्तारीविरुद्ध साउन १५ गते आयोजना गरेको बन्दको समर्थनसहित ताम्सालिङ व्युरो अन्तरगतको सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखाका सम्पूर्ण शैक्षिक संस्था, यातायात व्यवसायी र आम जनसमुदायलाई बन्दमा सहयोग गर्न विशेष अनुरोध गरेका छन् ।

ताम्सालिङ व्युरो संयोजक मुकुन्द श्रेष्ठले विज्ञप्तिमा भनेका छन्, ‘केपी र पिके कम्पनीको सरकार भ्रष्ट, माफिया, कमिसनखोरी र दलालहरुको पक्षमा काम गरिरहेको छ भन्ने कुरा घामजत्तिकै छलंग भएको छ । कथित रेमिट्यान्सको नाममा नेपाली युवाहरुलाई विदेशमा बेच्ने, भारतीय मालिकहरुलाई खुसी बनाउन दशगजा क्षेत्रमा उच्च संरचनाह र बाँध बनाउन दिने र तराई डुबाउने, नेपालका प्राकृतिक स्रोत साधनहरु विदेशीलाई सुम्पने, देशलाई परनिर्भरता बनाउने, राज्यको सार्वजनिक शिक्षा र स्वास्थ्यलाई ध्वस्त पारेर महंगोमा नीजि शिक्षा र स्वास्थ्य अनिवार्य खरिद गर्नुपर्ने अवस्था सिर्जना गर्ने काम फासिष्ट सामाजिक दलाल सरकारले गरिरहेको छ । हाम्रो गौरवशाली संगठन अखिल (क्रान्तिकारी) शिक्षा क्षेत्रमा भएको बेतिथि, माफियाकरण, नीजिकरण र पुँजीवादी शैक्षिक नीतिका विरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको कुरा सर्वविदितै छ र नेपालको प्राकृतिक स्रोत साधन र आजको विज्ञान प्रविधिसँग मेल खाने निःशुल्क वैज्ञानिक शिक्षाको पक्षमा निरन्तर वकालत र संघर्ष गर्दै आइरहेका छौं । हाल केपी–पिके सरकारले नेपाल कम्युनिस्ट पार्टीमाथि गैरकानुनी रुपमा लगाएको प्रतिबन्धपछि सयौंको संख्यामा अखिल (क्रान्तिकारी)का नेता कार्यकर्ताहरु पक्राउ गर्ने र यातना दिने काम निरन्तर रुपमा गरिरहेको छ र दोहोरो भिडन्तको नाममा पार्टीका नेता कार्यकर्ताहरुलाई समातेर हत्यासमेत गरिसकेको छ ।’

विज्ञप्तिमा अगाडि मुकुन्द श्रेष्ठले भनेका छन्, ‘यही शिलशिलामा संगठनको संगठनात्मक अभियान कम्युनिस्ट विद्यार्थी अभियान–२ निरन्तर चलिरहेको छ र हाम्रो यस अभियानबाट त्रसित फासिवादी रामबहादुर गृह प्रशासनले मिति २०७६÷०४÷११ गते संगठनात्मक अभियानकै क्रममा सिन्धुपाल्चोक जिल्ला संयोजक कमरेड रविन्द्र चौलागाईलाई इन्द्रावती गाउँपालिका नवलपुरबाट गिरफ्तार गरी चौतारा जिल्ला अदालतमा राजद्रोहको मुद्दा चलाएको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । वहाँलाई तत्काल विनासर्त रिहा गरियोस् अन्यथा संघर्षबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वंम केपी सरकार हुनुपर्नेछ । पार्टीले साउन १५ गते आयोजना गरेको बन्दमा ताम्सालिङ व्युरो अन्तरगतको सिन्धुपाल्चोक, काभ्रे, रामेछाप र दोलखाका सम्पूर्ण शैक्षिक संस्था, यातायात व्यवसायी आम जनसमुदायलाई बन्दमा सहयोग गर्न विशेष अनुरोध गर्दछौं ।’ विज्ञप्तिको पूर्णपाठ….

२०७६ साउन १३ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :