भ्यागुतो, सर्प र प्रचण्ड – भुसाल

Bhesh Raj Bhusalभेषराज भुसाल

प्रचण्ड एउटा चतुर खेलाडी अवश्य हुन् । उनले आँट नगरेको भए त्यतिबेलै त्यही समयमा जनयुद्धको सुरुआत हुन्थ्यो वा हुँदैनथ्यो यो पनि विचारणीय प्रश्न छ । जब महान् जनयुद्धले उच्चता प्राप्त गर्दै गयो देशको करिब ८० प्रतिशत भूभागमा जनसत्ताको नियन्त्रण हुँदै गयो । नेपालको इतिहासमा जनता सत्ता सञ्चालक बन्न पुगे तब तत्कालीन शाहीसत्ता राज्यको सम्पूर्ण शक्तिसहित विदेशी साम्राज्यवादी शक्तिलाई समेत साथमा लिएर दमनमा उत्रियो र क्रान्तिकारीहरूलाई आतङ्ककारीको बिल्ला लगायो । जनता, कार्यकर्ता, जनमुक्ति सेनाले बलिदानका उच्च कीर्तिमान कायम गरिसकेका थिए । केही केन्द्रीय सदस्यहरूले समेत बलिदानका कोटा चुक्ता गरिसकेका थिए । प्रचण्डलगायत सबै नेताहरूको टाउकाको मूल्य तोकिएको थियो । यही क्रममा रोल्पामा प्रचण्डले सेल्टर लिएको र त्यो सेल्टर छाडेको थोरै समयमै तत्कालीन शाहीसेनाद्वारा त्यही घरमा बम प्रहार भयो । एकातिर मालेमाको थप विकाससहित नेपाली क्रान्तिको ठोस कार्यशिक्षा निर्माण गर्न नसक्नु र अर्कोतर्फ दुस्मनका तर्फबाट मुख्य नेतृत्वमाथि नै हमला हुन थालेपछि नेतृत्वले समेत बलिदानी कोटा चुक्ता गर्नुपर्ने समय आउन थाल्यो । यस्तो बेलामा मूल नेतृत्वले वीरता र बलिदानका निम्ति आफूलाई तम्तयार बनाउनुको साटो आत्मसमर्पणको बाटो समात्न पुग्यो र वर्गसङ्घर्षको स्थानमा वर्गसमन्वयको पुँजीवादी बाटोमा अग्रसर हुँदै जाँदा आत्मसमर्पणवाद हावी हुँदै गयो । आज त्यही टाउकाको मूल्य तोक्नेसँग गठजोड गरी सत्तासुखको रसास्वादनमा डुबुल्की मार्दै आफू सफल भएको आत्मरतिमा रमाइरहेका छन् । यो अवस्था कतिदिन टिक्ला ?PRACHANDA IMAGE

कुनै यो नीतिकथाको माउ भ्यागुताको हविगत त बेहोर्नुपर्ने अवस्थामा प्रचण्ड पुग्लान् कि नपुग्लान् ? एकचोटि यो नीतिकथा सम्झने कि ?
एउटा सुन्दर पोखरीमा असङ्ख्य भ्यागुताहरू बसोबास गर्थे रे । एक दिन कतैबाट गोमन सर्प त्यस पोखरीमा प्रवेश गरेछ । सर्पले त्यही माउ भ्यागुतामाथि आक्रमण गर्न थालेछ । माउ भ्यागुताले सर्पसँग सम्झौताको प्रस्ताव अघि बढाउँदै भनेछ, हे नागराज ! यस पोखरीमा असङ्ख्य भ्यागुताहरू छन् । हजूरले मलाई नै किन आक्रमण गर्नुहुन्छ ? तपाईंलाई म दैनिक आहारा जुटाइदिइहाल्छु बरु तपाईंलाई म मन्त्री नै बनाइदिन्छु । भ्यागुताको यस्तो लाछी र आत्मघाती प्रस्ताव सुनेर चलाख सर्पले सहमति जनाएछ र दुवै मिली पोखरीको सत्ता चलाउन थालेछन् । माउ भ्यागुताले सोझासीधा, निमुखा भ्यागुताहरूलाई पालैपालो दैनिक रूपमा सर्पको भोजनका निम्ति बुझाउन थालेछ । यसरी दौडधूप, कुनै प्रतिकार र दुःखबिना दैनिक आहारा पाउन थालेपछि चलाख सर्पले आफ्ना नातागोतासमेतलाई बोलाउँदै पोखरीमा जम्मा गर्न थालेछ ।

समय बित्दै गयो । पोखरीमा भ्यागुताको सङ्ख्या घट्दै जान थाल्यो र सर्पको सङ्ख्या बढ्दै जान थाल्यो । चलाख भ्यागुताहरूले माउ भ्यागुताको आत्मघाती सम्झौताको परिणाम थाहा पाउँदै गए र तिनीहरू क्रमशः बाहिर निक्लन थाले । केही भ्यागुता भाग्दै जानु र अधिकांश सर्पहरूको आहारा बन्दै जाने क्रमले एक दिन त यस्तो अवस्था आएछ, त्यस पोखरीमा अन्य सबै भ्यागुताहरू सिद्धिएछन् र त्यही माउ भ्यागुतो मात्र बचेछ । भोका सर्पले त्यही माउ भ्यागुतोलाई झम्टन थालेछन् । सर्पसामु लाचार हुँदै माउ भ्यागुताले बिन्ती गर्न थालेछ हे, नागराज ! मैले तपाईंको यतिका वर्षसम्म सेवा गरेँ । के मेरो सेवाको कुनै मूल्य हुँदैन ? मलाई नखानुहोस् ! मलाई प्राणदान दिनुहोस् । यसो भन्दै ऊ रुँदैकराउँदै बिन्तीभाउ गर्न थाल्यो । सर्पले भ्यागुता ! तैँले उतिबेलै मेरो प्रतिकार गर्न आँट गरेको भए हजारौँ भ्यागुताहरूले मलाई थिचेर पनि मार्न सक्थ्यौँ । दुईचारजनाको ज्यान गए पनि भ्यागुताकै वंशनास हुने थिएन तर आफ्नो निजी स्वार्थ पूरा गर्न तँैले तेरा दाजुभाइ, इष्टमित्र, कुलकुटुम्ब, यहाँसम्म कि आफ्नै सन्तानसमेतले ज्यान गुमाउदा रमिते भएर मात्रै बसेको होइन ? कि मसँगै मिलेर आफ्नो जातिको अस्तित्व मेटाउन लागिस् । तँ कसैको भइनस् । अब मेरो कसरी हुन सक्छस् ? तँ त मेरो आहारा होस् भन्दै भ्यागुतालाई क्वाप्पै खाएछ र भ्यागुताको पोखरीमा सर्पको राज भएछ । केही चलाख र हिम्मती भ्यागुताहरू जो माउ भ्यागुताको आत्मघाती कदमका विरुद्ध विद्रोह गरे । तिनैले भ्यागुताको प्रजाति जोगाएका छन् रे ।

उपरोक्त नीतिकथाको माउ भ्यागुताले जस्तै प्रचण्डले वर्गवैरीसँग काँध मिलाएर करोडौँ श्रमजीवी जनसमुदायलाई, हजारौँ कार्यकर्ता र सयौँ नेताहरूलाई दलाल पुँजीवादको आहारा बनाएका छन् । बालकृष्ण ढुङ्गेललगायतलाई पकड्न र दलालको पञ्जामा पार्न उर्दी जारी गरिरहेका छन् । आफैँले निर्माण गरेको सेना र रगतले साटेका हतियार बुझाए । घाइते अपाङ्ग योद्धाहरूलाई अब मूर्खको संज्ञा दिन बेर छैन । जब मूल नेतृत्वले वर्गवैरीसामु आत्मसमर्पण गर्दछ त्यतिबेला इमानदार नेता, कार्यकर्ताहरूले हिम्मत र साहसका साथ विद्रोह गरेर नै आन्दोलनको रक्षा र समाजलाई अग्रगति पैदा गर्न सक्छन् ।

नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादका निम्ति सङ्घर्ष गरिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तक जनतामाथि फासिवादी दमन चलाइरहेका प्रचण्डले के हेक्का राख्न जरुरी छ भने तिमीले चाहेजस्तै क्रान्तिकारी शक्ति दमन गरेर सिद्धाउन र आफ्नो अस्तित्व जोगाउन सक्नेछैनौँ । कथमकदाचित त्यो शक्ति कमजोर भयो भने त्यसको भोलिपल्ट दलाल सत्ताद्वारा तिमीमाथि नै त्यो दमनको सुरुआत गर्नेछन् । विदेशी प्रभुका अगाडि जतिसुकै लम्पसार परे पनि तिनले तिमीलाई बाँकी राख्ने छैनन् । क्रान्तिकारी देशभक्त शक्तिमाथि प्रहार गर्न अहिले देशीविदेशी प्रतिक्रियावादीहरूले तिमीलाई उचालेका छन् । धाप मारिरहेका छन् । तिम्रो अस्तित्व जोगाइदिन हारेको चुनाव पनि जिताइरहेका छन् ।  

प्रचण्डले याद गर्नुपर्छ पोखरीबाट विद्रोह गरी भागेका भ्यागुताले भ्यागुता प्रजातिको अस्तित्व जोगाएजस्तै तिम्रो सैद्धान्तिक विचलन आत्मसुरक्षावाद, वर्गघात, जनघात र राष्ट्रघातका विरुद्ध विद्रोह गरेका नेता–कार्यकर्ताहरूले कम्युनिस्ट आन्दोलनको झन्डा त झुक्न दिने छैनन् र वैज्ञानिक समाजवादको स्थापनाका निम्ति आन्दोलन अघि बढाउनेछन् र बढाइरहेका पनि छन् । दलाल पुँजवादी सत्ताको विकल्प वैज्ञानिक समाजवाद नै हो भनी पुनःपुष्टि गरिरहेका छन् तर जुन दिन तिमीलाई सर्परूपी दलालहरूले आक्रमण गर्नेछन् त्यस बेला तिम्रा पक्षमा बोल्ने र तिम्रो मृत्युमा रुने कोही हुने छैनन् । तिम्रै आदेशमा वर्गवैरीका कित्तामा रहेका थुप्रैको ज्यान गएको छ । उनीहरूले त्यो कुरा भुलेका छैनन् । प्रचण्डलाई चेतना भया ।

रातो खबर साप्ताहिकबाट

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :