नेकपाका नेता श्रेष्ठ अदालतको आदेशमा रिहा लगत्तै पुनः गिरफ्तार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ इन्चार्ज विजय श्रेष्ठ ‘प्रज्वलन’लाई रिहा गर्न काभ्रे जिल्ला अदालतले आदेश दिएको छ । अदालतको आदेशमा रिहालगत्तै केपी–बादल गृह प्रशासनले पुनः गिरफ्तारी गरी रुपन्देही लिने तयारी गरिएको समाचार प्राप्त भएको छ ।

सोमबार भएको थुनछेकको बहसपछि अदालतले २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । गत जेठ १० गते ललितपुर जिल्ला अदालतको आदेशमा रिहा भएका नेता श्रेष्ठलाई प्रहरीले अदालत परिसरबाटै पुनः गिरफ्तार गरी काभ्रे पुर्याएको थियो ।

बन्दीको पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ता कपिलचन्द्र पोख्रेल लगायतले बहस गरेका थिए । यसअघि गिरफ्तार परेका नेकपाका अन्य नेताहरु भने सोही मुद्दामा बिना धरौटी रिहा भएका थिए ।

नेता श्रेष्ठलाई प्रहरीले गत चैत्र ८ गते काभ्रेपलाञ्चोक जिल्लाको विकट क्षेत्र डाँडापारीको खानीखोलाबाट पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’सँगै गिरफ्तार गरेको थियो ।

उनीहरुलाई हातहतियार तथा खरखजना, राजद्रोह, संगठित अपराध र विस्फोटक पदार्थ सम्बन्धी अभियोग लगाईएकोमा ललितपुर जिल्ला अदालतले जेठ १० गते केन्द्रीय सदस्य श्रेष्ठसहित चार जनालाई साधारण तारेखमा रिहा गरेको थियो । रिहा भएकामध्ये नेता श्रेष्ठ अदालत परिसरबाटै पुनः गिरफ्तार परेका थिए । नेता सुदर्शन भने नख्खु कारागारमा पूर्पक्षका लागि थुनामा छन् ।

२०७६ साउन ७ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :