प्रलेस, नेपालद्वारा स्रष्टा लामालाई यथाशिघ्र रिहा गर्न माग (विज्ञप्तिसहित)


काठमाडौं : प्रगतिशील लेखक संघ, नेपालका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी र महासचिव समीर सिंहले सोमबार विज्ञप्ति निकाली जनवादी कलाकार एवंम प्रलेस, नेपालका पुर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तारीप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको र स्रष्टा माइला लामालाई यथाशिघ्र रिहा गर्न विशेष माग गरेका छन् ।

अध्यक्ष र महासचिवको विज्ञप्तिमा भनिएको छ, ‘जनवादी कलाकार एवंम प्रलेस, नेपालका पूर्व केन्द्रीय सल्लाहकार माइला लामाको गिरफ्तरीको समाचारप्रति हाम्रो संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ । जनताको ठूलो संघर्ष पश्चात प्राप्त भएको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई यतिखेर कम्युनिस्ट सरकारले नेतृत्व गरिरहेको छ । यस स्थितिमा शान्ति, विकास र समृद्धिको जनचाहना पनि उत्तिकै जीवन्त छँदैछ । तर नेपाली राजनीतिमा पछिल्लो चरणमा देखिएका केही अस्वाभाविक परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभास हुनु निश्चय पनि सुखद कुरा हुन सक्दैन । यसर्थ हाम्रो संस्था वार्ता संवादका माध्यमबाट सहअस्तित्व र मेलमिलापको भावनालाई उच्च प्राथमिकतामा राख्दै राजनैतिक समस्याको समाधान गरिनु पर्दछ भन्ने ठान्दछ ।’

अन्त्यमा गिरी र सिंहको विज्ञप्तिमा भनिएको छ, ‘नेपालका सबै वामपन्थी लेखकहरुको साझा मोर्चा हुनुको हैसियतले पनि प्रगतिशिल लेखक संघ कुनै पनि लेखकलाई राज्यको तहबाट अमर्यादित व्यवहार गरिनु हुँदैन र अनावश्यक चुनौतिको सामना गर्नुपर्ने अवस्था आउनु हुँदैन भन्ने मान्यता राख्दछ । अतः प्रगतिशिल लेखक संघका पूर्व सल्लाहकार एवंम स्रष्टा माइला लामालाई यथाशिघ्र रिहा गर्न यो संघ विशेष माग गर्दछ । साथै सबै लेखक स्रष्टालाई राज्यले आफ्नै राष्ट्रिय पुँजीका रुपमा ग्रहण गर्न पनि विशेष अपिल गर्दछ ।’ विज्ञप्तिको पूर्णपाठ…

२०७६ साउन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :