जनताको घरदैलोबाट महासचिव विप्लवलाई चिठी


कमरेड महासचिव
लालसलाम !
हामी यतिखेर जनमैदानमा छौँ । महान् विचार र वैज्ञानिक राजनीतिक कार्यदिशाले रोगी हुन दिएकै छैन । हामीलाई विश्वास छ, तपाईं नयाँनयाँ खोजमा तल्लीन हुनुहुन्छ । वैचारिक रूपमा सुस्पष्ट र कर्तव्यनिष्ठ अनि वैज्ञानिक समाजवादी नेपालको सुन्दर खाकासहित गहन जिम्मेवारीबोधले चमचमाइरहनुभएको छ भन्ने कुरामा दुईमत छैन । हामी सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ अन्तर्गत तमोर क्षेत्रमा अहोरात्र क्रियाशील छौँ । हाम्रो समूहमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवार र विभिन्न जिल्ला, क्षेत्रवाट खटिएका होनहार कमरेडहरू उत्साहजनक ढङ्गले क्रियाशील हुनुहुन्छ । हाम्रो टोली केही ज्वलन्त तथ्यहरूसँग एकाकार भएर सत्यको अन्वेषण गरिरहेको छ । ती तथ्यहरू केही रोचक, केही सोचक, केही घोचक भएकाले यो खुलापत्रमार्फत प्रेषित गर्दैछु ।

तथ्य नं. १) हाम्रो अभियानले २०३६ सालको खोकु–छिन्ताङको किसान तथा महिला विद्रोहको कडीलाई जोडेको छ । त्यस बेलाका लडाकु योद्धाहरू र यातनापीडित महिलाहरूसँग भेटको अवसर मिल्यो । गर्भवती अवस्थामा निर्घात यातना खेप्नु परे पनि सकुशल जन्माएका राता नानी म त ज्युँदो सहिद भन्दै सगर्व आज क्रान्तिमा सामेल भएका छन् । त्यहाँ उदेकलाग्दो कथा के भेटियो भने खोकु– छिन्ताङमा भोकमरीले हैरान पारेपछि चिउरी उसिनेर धेरै छाक टार्न विवश राई बन्धुहरूलाई तत्कालीन मालेको निर्देशनमा चिहान उधिन्ने अभियान चलाइएछ । असी–नब्बेवटा चिहान उधिनेर भेटिएका सुनका गहना र चाँदीका बाला बेचेर धरानबाट चामल खरिद गरी बाँचेर पन्चे सामन्तहरूसँग लडेका रहेछन् । ताकालीन सूर्यबहादुर थापा प्रशासनले चिहान उधिन्ने अज्ञात समूहको खोजी गर्ने उर्दी जारी गरेछ गाउँका टाठाबाठा पन्चे–मण्डलेहरूलाई । तर उल्टै पन्चेहरू कतिसम्म लोभी हुँदा रहेछन् भने त्यो तरिका आफैँ पो सिकेर कमाइ गर्न थालेछन् । कालीकोटे महिलाहरूझैँ छोटे सामन्तहरूसँग लडेका छिन्ताङे महिलाहरूको कथा सुन्दा गौरवले छाती ढक्क फुल्न पुग्यो । ती लडाकु महिलाहरू वृद्ध हुँदासमेत लरतरो कुरा गर्न अझै पनि रुचाउँदैनन् । जुझारु बहस नै मन पर्छ उनीहरूलाई । मदन भण्डारीहरूलाई कोदोको बासी ढिँडो खुवाएर भूमिगत कालमा आड दिएका रहेछन् टेकबहादुर राईहरूले । तर ती राई बन्धुहरूको सपना र जुझारु प्रवृत्तिमाथि अराजकताको बिल्ला भिराई निषेधको प्रपञ्च रचिएछ । अराजक गतिविधिका कारण दमन भएको, ‘दक्षिणपन्थी पुष्पलाल समूह’ ले माले पस्यो भनी हल्ला फिँजाएका कारण दमनकारी हत्याको घटना भएको संश्लेषण गरी खोकु–छिन्ताङको वर्गसङ्घर्ष तहसनहस भएको व्यथाको घाउ अझै चह¥याइरहेको भेटियो । एकीकृत जनक्रान्तिको चर्चा गर्दा गहभरि आँसु झारेर दृढ इच्छाशक्तिका साथ सङ्गठित भए ती जोदाहाहरू । हामीले बलिदानको गौरवगाथाले लछप्पै भएको अपेरा प्रस्तुत गर्दा सारा दर्शकका आँखा रसाए । यो त थबाङको पूर्वी–नेपाली सन्तान पो हो भन्ने अनुभूति भयो हामीलाई । मलाई यतिखेर फोन आइरहेका छन्– तपाईंहरू हामीलाई छोडी जाँदा मन खिन्न भयो भनेर । हामी तपाईंहरूकै मान्छे हौँ । नभुल्नु है, केरा पाकेका छन्, खाना आउनोस्, कहीँ दुःख पाइरहनुभएको छ कि ? कतै दलाल राज्यसत्ताको झम्टाइमा पो पर्नु भो कि ? कति प्रगाढ स्नेहको कर्णप्रिय स्वर कानमा गुञ्जायमान हुन पुग्छ क्रान्तिप्रेमीजनहरूको । यही त हो हाम्रो कमाइ । उत्प्रेरणा अनि उत्साहजनक ऊर्जा ।

तथ्य नं. २) हामी अझै जनभावनाको गहिराइतिर पौडिरह्यौँ अनि भेट्टायौँ, राई खलक धेरै श्रेणीमा विभक्त हुन बाध्य बनाइएको विवशता । उत्पादन सम्बन्ध हेर्दा सुक्खाग्रस्त क्षेत्र घोषित । हाय ! हातमुख जोड्नै गाह्रो । मजदुरी गरेर बाँच्न विवशहरुको सङ्ख्या बढिरहेको छ । त्यहाँ पानी चुहाएर खेर फाल्नु भनेको शरीरको रगत चुहाएजस्तै छ । मनलागी पानी पिउन पनि पीर लाग्छ । उनीहरूको छाक नै बन्द हुन्छ कि भनेर ।

तथ्य नं. ३) यसै क्रममा अर्को उदेकलाग्दो पेसा सुन्न पाइयो । एकजना अठार वर्षीय युवक हाम्रो नजिक आइपुगे । हाम्राबारे सोधपुछ गरे । हामीले आवश्यक कुरा गर्यौँ । उनको कम्मरमा खुकुरी थियो । टर्च पनि चानचुने थिएन । लामोठूलो । अर्को कुनै कालोकालो लामो छाताको खोलजस्तो वस्त्र माला लगाएझैँ । मेरो मनमा कुतूहल जाग्यो र सोधेँ– कति कक्षामा पढ्छौ भनेर । नौ कक्षा पढेर छोडेको भने उनले । किन छोडेको त भनी तुरुन्तै मैले प्रश्न गरेँ । बाबाआमालाई पाल्नुपर्ने भएकाले भन्ने जबाफ आयो । वृद्ध बाबाआमा पनि साथमै आउनुभएको रहेछ । ऊः उहाँहरू नै हो भनेर चिनाए । अनि के पेसा गरेर बाबाआमा पाल्छौ त भन्दा त्यस्तैत्यस्तै जबाफ आयो । । रातको करिब नौ बजिसकेको थियो । यति राती किन झोलीतुम्बा बोकेको त भनी फेरि सोधेँ । म त अहिले जङ्गल पस्ने हो भने ती हँसिला भाइले । । मलाई झनै आश्चर्य लाग्यो । किन ? फेरि सोधेँ । चमेरा समात्न भने उनले । किन समात्ने भनेर मैले सोधिहालेँ । त्यसै खेल्नलाई भनेर अलि लजाएको आभास दिए उनले । यति भनेर उनी हामीवाट बिदा भए ।

स्फूर्तिवाला ती कलिला राई युवकका बारेमा जानिफकारसँग सोधपुछ गर्दा उनको कथा बुझ्न पाइयो । वास्तविक रूपमा खेतीपातीविहीन ती युवकले रातबिरात चमेरा समातेर बिक्री गरी आमाबाबालाई पाल्दा पो रहेछन् ! बच्चा जन्मँदा अनिवार्य रहेछ परेवा वा चमेरा महाभारतको राई संस्कारमा । उनको पढ्ने इच्छा अब के पूरा होला त शेरधन राईको मैमत्त राजमा ? अहँ ।

तथ्य नं. ४) हामी अभियात्रीका पाइला अझैँ अगाडि बढे । भेटिइन् करिब ३०–३५ वर्षकी अपाङ्गता भएकी महिला । बैसाखीको भरमा भिराइलो घरको डिलमा उभिएर हामीलाई हँसिलो मुद्रामा स्वागत गरिन् ती दलित महिलाले । जो आए पनि आफ्ना कथाव्यथा सुनाएर चित्त बुझाउनु उनको दैनिकी नै बनिसकेको रहेछ । यसै क्रममा हामीले पनि चासोका साथ सोध्यौँ उक्त अवस्था आइलाग्नाको कारणबारे । कारण यस्तो रहेछ– गोठालो जाँदा खुट्टामा ठक्कर लाग्यो । नजिक अस्पताल छैन । टाढा जाने पैसा छैन । गाउँघरकै ओखती गरिन् । जसले जेजे भने त्यसै गरिन् । सन्चो भएन । बरु उल्टै हिँड्नै गारो भयो । ऋणको जोहो गरेर धरान अस्पतालमा जाँदा क्यान्सरको सम्भावना छ, चितवन जानोस् भने डाक्टरले । पुगिन् त्यहाँ । भयो उपचार । फेरि बल्झियो । पटकपटक उपचार भयो तर पनि सञ्चो भएन । अन्त्यमा घुँडादेखि नै खुट्टा काटियो । उनका श्रीमान् जनयुद्धकालका माओवादी रहेछन् । प्रचण्डमण्डली एमालेको टाङमुनि छिरिसक्यो । एमालेहरू माओवादी बिल्कुल मन पराउँदैनन् । उनीहरू उपयोग गर्ने वा माओवादी अस्तित्व नै नामेट पार्न चाहन्छन् । यो अवस्थाबाट हिजोका माओवादी तर्सेका पनि छन् । तर पनि पहुँचवाला र द्रव्यपिसाच नामधारी माओवादीलाई उनीहरूको रक्षा गर्ने फुर्सद छैन । तसर्थ ती बबुरा माओवादीले दुःख नपाई कसले पाउला त ? तर त्यसको उपाय हामीसँग छ र हुनुपर्छ । हामी कृत्रिम खुट्टाको व्यवस्था गर्न सकौँला भन्न हिचकिचाएनौँ । गहभरि आँसु टिलपिल पारी हात जोड्दै उनले भनिन्– केही उपाय लाग्छ भने खुट्टा हालिदिएमा बालबच्चा पाल्न सजिलो हुन्थ्यो । उनको अन्तरमनको आशामा भरोसा दिलाई एकीकृत जनक्रान्तिको विचारमा सपरिवारलाई सहमत र सङ्गठित गराई हाम्रो यात्रा अघि झन् अघि बढिरह्यो ।

तथ्य नं. ५) अर्को गाउँमा पुग्दा ६ दिने आन्दोलनमा घाइते भएका पाका माओवादी भेटिए । सुनाए सबै कथाव्यथा । हाल उनी सुगर अनि रक्तचापका रोगी छन् । उनका सबै आवश्यकता पूरा गरिदिने कसम खाई सभासद् जितेका महोदयको नाकमुख देखिँदैन । उनीहरू सरापिरहेका छन् प्रचण्डमण्डलीलाई । ती आक्रोशित अनि बेचैनजनहरूले हामीलाई भने सत्कारयुक्त व्यवहार गरे । हामीले एकीकृत जनक्रान्तिको विचार पस्कियौँ । गरे विप्लवले गर्छन् । हामीलाई उनको विश्वास छ किनभने प्रचण्डलगायत अरू सब बडेमानका नेताहरू दलाल संसदीय व्यवस्थामा सोत्तर बनिसके तर विप्लवमा लोभ, लालसा र डर देखिएन । आँटी र विवेकशील मान्छेकै खाँचो छ यो देशमा । विदेशीहरूका सामु झुक्नु हुँदैन । स्वार्थी र षड्यन्त्रकारी सम्झौता गर्नु हुँदैन । कति राम्रो सुझाव । यसरी चित्तप्रसन्न भएर क्रान्तिमा टुटेको आफ्नो कडी सगर्व जोडेर नवीकरण गरे नेपाल कम्युनिस्ट पार्टीमा । गाउँ नै सङ्गठित भयो । हामीप्रति गुनासो थियो ढिला गर्नु भो भन्ने । कुरा ठिकै हो । ढिला गर्नु भनेको संसद्वादी रोग नै हो । संसद्वाद भनेको भोलिवाद पनि त हो ।

तथ्य नं. ६) हामीमध्ये राजमार्गले जोतिरहेको स्थानतिर पुग्दा त अर्को अत्याचार देख्न करै लाग्यो । स्काइभेटरले पहाड खोतलेर बाटोमुनिका गाउँबस्तीको उठीबास लगाइरहेको छ । किन त्यसो ग¥यो भन्दा ठेकेदारले चट्टानको व्यवस्थापन गरी बाटोमुनिका खेतबारी, घरहरू जोगाउन सक्थ्यो तर उसको कमाइमा धक्का लाग्छ । गाउँलेको उठीबासमा ठेकेदारको लुट मौलाउँदा तमोर तीरका गाउँबस्ती आक्रोशित भएका छन् । क्षतिपूर्तिको कुनै व्यवस्था गरिदिएका छैनन् गाउँ, वडाप्रमुखहरूले । भुलभुलैयामा भोट असुल्नेहरूले जनताको रक्षा गर्नुपथ्र्यो । तर सङ्कटग्रस्त सामाजिक दलाल सरकार र दलाल संसदीय व्यवस्थाको प्रतिनिधिले जनताको हितमा काम गर्नुलाई जात फ्याल्नु गहतको झोलमा भनेझैँ ठान्न पुगेको अवस्था देख्दा थुइक्क भन्न मन लाग्यो ।

तथ्य नं. ७) जहाँ पुग्यो त्यो समस्याले नसताएको कुनै गाउँ नै छैन । त्यो आम समस्या हो खानेपानीको । एक नं. प्रदेशमा करिब २० अर्ब बजेट छ । अर्को साल अझै थपिएला नै । तर के धनकुटाको साँघुरीगढीमा तमोरको पानी लिफ्ट प्रणालीद्वारा आपूर्ति गर्न सक्छन् त मुख्यमन्त्री र अर्थमन्त्रीज्यूले ? कम्तीमा राईले राईको व्यथा बुझ्नु अन्यथा हुनेछैन । तर पानीजहाजका बेलुनदार गफको उडान भर्नेहरूको सपनाको खेतीमा २६९ मिटर अग्लो कोसी ब्यारेज भारतद्वारा तयार भइछाड्यो भने आसपासको बस्ती नै डुबानमा पर्ने सन्त्रासको सास्ती खेपिरहेका छन् उपेक्षित तमोरतीरबासी जनसमुदाय । मस्तिष्कमा यही कुराको तरङ्ग पैदा गर्दै हाम्रो यात्रा तेह्रथुमतिर हुइँक्कियो । धरान झरेर नाना तमोर तरेर आयौँ हामी धनकुटाको व्यथा बोकेर । यही गीत गुनगुनाउँदै तेह्रथुमको छथर पुगियो ।

तथ्य नं. ८) तेह्रथुमको छथरदेखि तमोरतीर पुग्दा त हौ झनै सारोगारो । कहालीलाग्दो मरुभूमि बिर्साउने सुक्खाग्रस्त क्षेत्र देखियो । तीन वर्षदेखि कुनै याममा पनि पानी परेकै छैन रे । त्यहाँका लिम्बू नानाहरूसँग नानाथरी भलाकुसारी गरियो । भक्कानिँदै उनीहरूले एउटै कुरा कहिरहे । जुन गाउँ, जुन बस्ती पुगे पनि उस्तै कथा उही व्यथा । पानीको मूल भेटाउनु भनेको आकाशको तारा झारेसरह हुनेछ । तिर्खाले काकाकुल हुँदा पिसाब खाएका दिन सम्झन्छन् लिम्बू नानाहरू । अन्नको अभावले मकैका घोगा थिचेर पकाई खाएका दिनको कथा आफ्नो माइतीलाई हालसम्म नसुनाएको कुरा सुन्दा कस्तो भयो होला यो मन ! हामीले आँखैले देख्यौँ– गाईगोरुहरू तिर्खाले छट्पटाएर तमोर पुग्छन् । केही दिन उतै बास बसी मनग्गे पानी खाएर आउँछन् । ती गाईगोरुले पिसाब फेर्ने एउटै ठाउँ तयार पारिएको हुन्छ । त्यही पिसाबलाई पानीका रूपमा मदिराका लागि प्रयोग गरिन्छ । हरियाली कतै छैन । बलौटे माटो उराठलाग्दो ती हिमाङ्दिङ, फाक्चामारा, परेवाथोक, सिन्जिवा, बतासे, हाकपारा र पञ्चकन्याका पखेरीहरू । अचल सम्पत्ति चटक्कै छोडी झरे लिम्बू समुदायहरू मोरङ, विराटनगर र धरानतिर । त्यहाँ झरेर मजदुरी र अधियाँ खेतीको भरोसामा गुजारा चलाउन करै लाग्यो । उनीहरू भन्छन्, शेरधनहरूलाई भोट, हाम्लाई चोट । यस्तै हो यो देशको हालत । एमालेले एकछत्र जितेको छथरमा जनजीवन नियाल्यो भने कहालीलाग्दो छ । उता गाउँपालिका भकाभक डोजरले जोत्दै ट्याङ्करमा पानी ल्याइदिने ललीपप देखाउँदै तमोरतीर बाटो पु¥याइरहेको छ । तर लिम्बू दाजुभाइ के बुझ्छन् भने यिनीहरुले तमोरको गिट्टीबालुवा देखेका छन् । क्रसर उद्योग चलाउँछन् । बालुवा बिक्री गरी खान्छन् । कुरो ठिकै हो हौ नानाहरूको ।

तथ्य नं. ९) पूर्वको एमाले बढी बाठो छ । चास्नी मिसाएका गोलीको खेती गर्न खप्पिस छ । तर ऊ वैचारिक रूपमा भने दरिद्र छ । ऊ माक्र्सवादका कुरा गर्दैन जनतामाझ । बरु मासुभातका कुरा गरी लट्ट्याउँछ । राणाशासन र पन्चेशासनमा विदेशी रकमी शैली मिसाएर सामाजिक दलाल पुँजीवादको खेती गरिरहेको छ । राजनीतिक मञ्चबाट सत्य कुरा बोल्न र राजनीतिक नारा लेख्न प्रतिबन्ध छ कथित नामधारी कम्युनिस्ट राजमा । काङ्ग्रेस बबुरो पीडामा छ । पञ्चायती भूतप्रेतहरू जता बलियो उतै ढलियो भनेझैँ एमालेमा लपेटिएको अनि कमाउधन्दा जता उतै चपटिएको पाइयो । केही लत्रेका माकेहरू डाहाग्रस्त छन् । सबैलाई सत्तोसराप गर्छन् । उज्यालो कतै देख्दैनन् । डिप्रेसनग्रस्त र जँड्याहा जिन्दगीलाई जनताले रुचाएका छैनन् ।

तथ्य नं. १०) घुस्याहा पुलिस (एमाले हनुमान) हरूको बिगबिगी छ । प्रमुखहरूबाट पनि घुस खान खप्पिस ती पुलिसहरूको एउटा तरिका सुन्दा तीनछक परियो । एमाले गाउँप्रमुखले चिठी लेखी आफ्नो पार्टीअनुकूल काम गरिदिन अनुरोध गर्दा रहेछन् । माथिको आदेश चाहिन्छ भनी खप्पिस पुलिसले दलाली गरी ज्युनार गरेपछि जनता तर्साउने, वडा अध्यक्षहरूलाई धम्क्याउने धन्दा गर्दा रहेछन् । विप्लव माओवादीवाट तिमीहरुलाई खतरा छ । हामीलाई यसो हेरचाह गर्नुपर्¥यो । हामी सुरक्षा दिन्छौँ भन्दारहेछन् । घुस खाने क्या राम्रो तरिका ! क्या बात् एमालेको सर्वसत्तावादी तुजुप ? अभियानदेखि अत्तालिएर तेह्रथुममा एमाले र प्रशासनको मिलोमतोमा बाउन्नसाले काङ्ग्रेसी रबैया दोहो¥याइयो । जस्तो वडा अध्यक्षलाई खतरा छ । एनसेल हान्छन् । खसीबाख्रा खाइदिन्छन् । घरघरबाट जबरजस्ती मान्छे हिँडाउँछन् । चोर पसे जङ्गल भाग, सरसामान लुट्छन् जोगाऊ, सबै जनताले पुलिसलाई खबर गर आदि । एमालेले आफ्नो पार्टीपङ्क्तिमा अर्को फर्मान जारी गर्छ, कसका घर बसे ? कतिजना छन् ? तुरुन्त खबर गर, सेना–पुलिस आउँछ । लडाइँ हुन्छ । फेरि उस्तै दिन दोहोरिन्छ । जनताले दुःख पाउँछजस्ता फत्तुर बोल्दै श्वेतआतङ्क फैलाएर जनता तर्साउने एमालेले हामीलाई भने सुटुक्क खबर पठायो– हाम्रो धेरै भण्डाफोर नगरिदिनोस् भनेर । यसको दोहोरो चाल क्या कमाल पुँजीवादको छाया, इन्द्रेणीराज । सीडीओलाई कुरा गर्दा ठूलो दबाब छ महायातनामा छु । सबैलाई समात्नु भन्ने छ । कुरो बुझ्नोस् भन्ने खबर आउँछ । हैन । जनजीविका, राष्ट्रियता र जनतन्त्रको प्रश्नमा जनतामा छलफल र जनताका समस्या, सुझाव सङ्कलन गर्दा जेलनेल भोग्नुपर्ने ? यो कस्तो लोकतन्त्र ? विभिन्न बहानामा दलालहरूको अगुवाइमा जनताको चुलोचौकोसम्म विदेशीहरू पुगेर अस्मितामाथि खेलबाड गर्ने, धर्मनिरपेक्षताका नाममा क्रिस्चियनमार्फत साम्राज्यवाद हुल्ने र गरिब निमुखा जनसमुदायको हुर्मत लुट्ने नियति कम्ती डरलाग्दो छ र ?

तथ्य नं. ११) आज नेपाली जनतालाई क्रान्तिबाट विमुख पार्न विभिन्न नामका धर्मको खेती गरिएको पाइयो । युवकयुवतीहरू बेरोजगारी महामारीको ताईमा तड्पिरहेका छन् । दलालको प्रलोभनमा परी ताईरूपी नियतिबाट उछिट्टिएर विदेशी भुङ्ग्रोमा छट्पटाउन बाध्य भएका छन् । यस्तो कहालीलाग्दो अवस्थाले नेपालको स्वाधीनतामाथि गम्भीर प्रश्नचिह्न खडा गरिदिएको छ । यसरी दलालमार्फत विदेशतर्फ कल्कलाउँदा मानव पैठारी गर्ने सामाजिक दलाल सरकारले के गाउँघरका बुढा बाबा र आमाको मुखमा माड र सिटामोल दिन सकेको छ त ? अहँ ।

तथ्य नं. १२) हामी सुक्खाग्रस्त क्षेत्रको गहिरो अध्ययन गरी मोरङमा पुग्दा कथाव्यथाका पोकाहरु त्यहाँ पनि कम्ती छैनन् । एमालेको कार्यकर्ता नभएकै कारण एकजना निमावि इङ्लिस शिक्षक पन्ध्र वर्षदेखि करार सेवा गर्न बाध्य छन् । अब त उमेर हदसमेत नाघेकाले अस्थायी जागिर पनि पाउँदैनन् उनले । यसरी ध्वस्त पारियो योग्य मान्छेहरूलाई । उनले शिक्षक पेसा छोड्छु भन्दा पनि सुख पाउँदैनन् र दरबन्दीमा पनि राखिँदैन । उनको अयोग्यता र दोष भनेको एउटै मात्र छ– उनी गर्धन काटिए पनि कोसी, अरुण तमोर बेच्ने, भ्रष्टाचारी, तस्कर, बलात्कारी, हत्यारा, महँगी र चर्को करको खेती गर्ने अत्याचारी, नामधारी कम्युनिस्ट सरकारवाला एमाले हुन रुचाउँदैनन् । उनी अडानमा छन् । उनको एउटै पुकार छ– यो अत्याचारी जहानियाँ, निरङ्कुश शासनको भद्दा अनुकरणको अन्त्येष्टि गर्ने कोही जन्मेको छ भने बाँकी जिन्दगी उसैलाई हुनेछ । गाउँमा बचेखुचेका युवाहरू बताउँछन्– सरकारको यस्तै रबैया हो भने नलडी हुँदै हुँदैन । यो त अति भो । भोट हाल्नु गल्ती हो । बाँच्नै गारो भयो भनेर । यस्तै किसिमका आक्रोश, घृणा, पीडा असरल्ल पोखिँदा वातावरण गरमजोसयुक्त बनाउन र जनसमुदायलाई वैकल्पिक उपाय रोज्न अभियान सफल भएको छ ।

तथ्य नं. १३) आज हाम्रो अभियान जहाँ पुगेको छ सबै हाँसीखुसी छन् । चित्तप्रसन्न भएर सङ्गठित भएका छन् । कोही त अभियात्री बनेर लामबन्दी लागिसकेका छन् । हामीलाई माओको लम्बे अभियानको नेपाली आयामजस्तै अनुभूति भैरहेको छ । सामाजिक दलाल सरकारले अत्तालिएर पुलिस प्रशासन उकासिरहेको छ । जनसागरमा प्रशासनिक गोहीहरू पनि छन् अनि ह्वेल माछाहरू पनि छन् । एकापसमा लुकामारी चलिरहेको छ । यही हो एकीकृत जनक्रान्तिको मर्म । हामीले गोहीलाई गतिले उछिनिरहेका छौँ । हाम्रा अल्छीपनाहरू दूर भैरहेका छन् । जनसमुदायमा क्रान्ति–प्रतिक्रन्तिका परिदृश्यले अर्को नयाँ लडाइँको टेलरझैँ प्रत्याभूति दिलाइरहेको छ । फेरि उस्तै दिन त आउँदैनन् भनेर सोध्छन् जनता जनार्दन । ठ्याक्कै उस्तै त होइन, वैज्ञानिक प्रकारको, जित जनताको हुने क्रान्ति अवश्य हुन्छ, गर्नुपर्छ । सामाजिक दलाल सरकारको आतुरीमा दलाल सत्ताले थोपर्ने युद्धको जबाफ एकीकृत जनक्रान्तिले दिनुपर्छ भनिरहेका छौँ हामी ।

तथ्य नं. १४) हामी जुन गाउँठाउँमा पुग्यौँ, अर्को एउटा रमाइलो पक्ष भेट्टायौँ । पार्टी र नेतृत्वको नाम स्पष्ट सुन्न पाएको वा सुन्ने फुर्सद भएको देखिएन । एकाबिहानै उठी गोठालो, असरल्ल किसानी कामको चटारो । झमक्क साँझपख चुत्राले बेरेको टिनवाला घरमा पुगियो । खुइयः ग¥यो । ओलझोल, ओलन पियो । थकाइले गर्दा झुप्प निद्रामा प¥यो । यो त्यहाँका गोठाला किसान दाजुभाइको दैनिकी आज नियति नै बनिसकेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ लाई चिन्नुहुन्छ ? भन्दा तीन किसिमका नाम सुन्न पाइयो । यो देशमा केही गरे डिपलभ (डेभलप) विप्लवले गर्छ । अरू सब खरिदबिक्री भए । लम्पसार परे । कुरो नराम्रो त लाग्दै लागेन हौ ती सोझाजनहरूको । डिपलभको अर्थ गहिरो प्रेम हो । देश र जनताप्रति गहिरो प्रेम छ उहाँमा । डेभलपको अर्थ विकास र उन्नति हो । उहाँ उन्नत र वैज्ञानिक चेतनायुक्त भएको पौरखी युवा, क्रान्तिकारी कुशल नेता हो भन्यौँ । हाम्रा कुरा सुन्ने जोकोही प्रफुल्ल भए । चित्त प्रसन्न भएर सङ्गठित भए राई, लिम्बू बन्धुबान्धवहरू । अभियान अवधिभर पूर्वेली जनतासँग दिलचस्पीयुक्त जनशैलीका साथ पारिवारिकताको स्नेहमा लडिबुडी ग¥यौँ र त प्रशासनिक बाजहरूको झम्टाइमा परेनौँ ।

तथ्य नं. १५) हाम्रो टोली मोरङको थबाङजस्तै देखिने एउटा गाउँमा बास बस्न पुग्यो । त्यो गाउँका युवकयुवती, बुढापाका क्या मिजासिलो स्वभावका रहेछन् । सबैजना भेला भए । सुरुचिपूर्वक हाम्रो विचार र नीति ग्रहण गरे । सङ्गठित भए । हामीलाई ऊर्जाशील व्यवहारले आकर्षित गरे । उनकै गाँस, बास र कपासको न्यानोमा हामीले अगाडि बढ्ने योजना बनायौँ । एउटा सानो टुकडी अर्को गाउँमा पठायौँ । ठूलो हूल बेलुकीपख पुग्यौँ । एउटा घरमा दुईजना बहिनीहरू । हामी पुग्नेबित्तिकै हँसिलो मुद्रामा सत्कारयुक्त व्यवहारमा अग्रसर भएको पाइयो ।

उहाँहरू निकै खसी देखिनुहुन्थ्यो । किन यति खुसी र सहज ? मेरो मस्तिष्कमा कुतूहल तैरिरहेको थियो । उहाँहरूको मनोविज्ञान गहिरो गरी पढिरहेँ मैले । हामीलाई खानपान र बिस्तराका लागि ज्वाइँलाई झैँ व्यवहारले आफ्नो सत्कारको पहिचान दिनुभयो । डराएर होला कि असाध्यै प्रशिक्षित भएर होला कि ? किन कलिला बहिनीहरू यति सक्रिय ? खुल्दुली पलाइरह्यो । गाउँका सबैजनालाई बोलाई मैले प्रशिक्षण दिएँ । सबै सङ्गठित हुनुभयो । बिहान हामी केहीजना त्यहीँ बस्यौँ । बाँकी टोली अघि बढ्यो । ती बहिनीहरूसँग राम्ररी सोधपुछ गर्दा उहाँहरू नन्दभाउजू हुनुहुँदो रहेछ । भाउजूले हाम्रो टोली आएको कुरा माइतीलाई जानकारी दिँदा माइतीतर्फका एकजना चेतनशील व्यक्तित्वले हाम्राबारेमा सिफारिस गरिदिनुभएको कुरा खुल्यो । उहाँहरू विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीका नेताहरू हुनुहुन्छ । अत्यन्त राम्रा मान्छे हुनुहुन्छ । यस्ता मान्छे पहिले कहिल्यै तिम्रो–हाम्रो घरमा आएनन् । राम्रोसँग खानाबस्नको व्यवस्था गर्नू । उहाँहरूले भनेको मान्नू । उहाँहरू हाम्रा लागि घरदैलो गरिरहनुभएको छ । यस्तो भनेको रे ! अनि हामीदेखि तर्सने कुरै भएन नि ।

सानो सहयोग भैगोभैगो भन्दाभन्दै छोडेर हामी प्रफुल्ल हुँदै अघि बढ्यौँ ।

विचार र व्यवहारले जनताको मन जित्नसके जनता कति खुल्छ र आफ्नो सक्कली अनुहार देखाउँछ भन्ने कुराको यो मीठो नमुना हो ।

तथ्य नं. १६) जब हाम्रो अभियान शानदार रूपमा सफल हुँदै गयो । युवाहरू हामीलाई भेट्न ओइरिन थाले । परिणामस्वरूप उही गाउँमा हामी, उही गाउँमा प्रहरी । प्रहरी प्रशासनलाई सूचना जान छोड्यो । बरु उनीहरूको गतिविधिको सूचना आउन थाल्यो । हाम्रो टोली जनताको दैनिकीमा एकाकार भयो । जनभोजको आयोजना गर्न पनि पछि परेनौँ । मिठोमसिनो बाँडीचुँडी खान थाल्यौँ । चुनावी ब्वाँसाको कन्याइजस्तै भोजभन्दा जनभोजले जनतालाई सम्मानको अनुभूति दिलाउँछ । यो कम्युनिस्ट सभ्यता पनि त हुन सक्छ । हाम्रो टिमले कुनै गल्ती गरे भन्नुहोला है नानाहरू । हैनहैन, हामीलाई रमाइलो लागिरहेको छ । हामी त दुःखी– गरिब । एक्ला गोठाला । तपाईंहरू आएपछि धेरै भरोसा पलाएको छ । हामी दुःखी गरिबलाई आड दिनोस् । हामी तपाईंहरूलाई साथ दिन्छौँ । ती भोटवादीहरूले तर्साएर, आस देखाएर हैरान पारे । डरले भोट हालेको । भोलि अड्कोपड्कोमा प्रशासनिक अप्ठ्यारो आइनलागोस् भनेर । हौ बरा किसानी सुधो जिन्दगी ।

कमरेड महासचिव !

सत्य निरूपण : देश र जनताको आवश्यकता । एकीकृत जनक्रान्तिको सफलता । उत्पीडित वर्ग, राष्ट्र, समुदाय र लैङ्गिक एकता । यसै क्रममा पूर्वेली श्रमजीवी जनताका लागि एउटा ज्वलन्त आवश्यकता मुखरित भैरहेको छ । त्यो हो जनजीविकाको समस्या समाधान । कतै सुक्खाग्रस्त क्षेत्र काकाकूल छ, तमोरको पानी लिफ्टद्वारा आपूर्तिको कदम चाल्न खातिर बृहत् जनसङ्घर्षको खाँचो छ । साथै वैकल्पिक उपायका लागि सहयोगी, शुभचिन्तकहरूलाई अग्रसर गराउन जरुरी छ । सरकारी विद्यालयहरूको दुर्दशा हेर्न लायक छैन, त्यसको स्तरोन्नतितर्फ कदम चाल्न जरुरी छ ।

उत्पादनको क्षेत्र पनि दयनीय नै देखियो, कृषिविज्ञहरूको ध्यानाकर्षण गराउन जरुरी छ । गाउँघरमा स्वास्थ्योपचारका लागि असाध्य आवश्यकता छ । कम्तीमा स्वास्थ्य शिविर सञ्चालनको कदम चाल्न जरुरी छ । न्याय, निसाफ कुन चरीको नाम होझैँ देखियो । त्यसतर्फ सोचाइ पुर्याउनुपर्ने देखिन्छ । विकास निर्माणको जन–इरादा बढेकै छ । त्यसतर्फ प्राथमिक क्रममा कदम बढाउन जरुरी छ । आज दलाल राज्यसत्ताद्वारा जनसमुदायलाई राजनीतिक विचारको शून्यतातर्फ धकेलिएको छ । यसबारे विशेष रूपले सोच्न र कम्युनिस्ट जनसमुदाय निर्माणार्थ जन–स्कुलिङ सञ्चालन साथै पूर्वी नेपाल केन्द्रीकरणका लागि जनसभा आयोजना गर्न गरुरी छ । सारतः वैज्ञानिक समाजवादको प्रारूप जनसत्ताको आवश्यकता असाध्य खट्किएको पाइयो । जतिसुकै हर्कत गरे पनि र तानाबाना बुने पनि सङ्कटग्रस्त सामाजिक दलाल सरकार र दलाल संसदीय व्यवस्थाप्रति अरुचि नै छ पूर्वेली जनसमुदायको । सच्चा कम्युनिस्ट पार्टीको नेतृत्वमा जनसैन्यबलको उचित प्रयोग र जनसत्ताको जीवनशील अभिव्यक्तिलाई अझै सुदृढीकरण गर्न खातिर विशेष जोड गरे जनचाहना पूरा हुनेछ । केवल भूतकालीन थोत्रो संसदीय त्रासदीबाहेक ।

२०७६ साउन ६ गते सोमबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :